सिंगापुर : सिंगापुर, जिम्बावे र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले दोस्रो हार व्यहोरेको छ । डबल राउण्ड रोविन लिग अनुसार शीर्ष स्थानमा रहने टिमले उपाधि जित्ने यस खेलमा नेपालले जिम्बावेसँग दुवै खेलमा पराजित भएको हो । टेस्ट नेशन टिम जिम्बावे नेपालविरुद्धका दुवै खेल जित्दै शीर्ष स्थानमा उक्लिएको छ । जिम्बावेको ४ अंक छ भने नेपाल दोस्रो तथा सिंगापुर तेस्रो स्थानमा रहँदा दुईदुई अंक छ ।
अब नेपालले सिंगापुरविरुद्ध खेल्न बाँकी छ । अब त्यो खेलमा नेपालले सिंगापुरलाई पराजित गरेमा र सिंगापुरले फेरि जिम्बावेलाई पराजित गरेमा मात्रै नेपालले उपाधि जित्ने अंकगणीतिय सम्भावना रहने छ । मंगलबार भएको खेलमा नेपाललाई ४० रनले पराजित गर्दै जिम्बाबेले उपाधि होड कायमै राखेको हो ।
जिम्बावेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर १२० रनमा रोकिन पुग्यो । नेपालको शुरुआत राम्रो हुन सकेको थिएन । इशान पाण्डेका ठाउँमा आज खेलेका पवर्न शर्राफ कप्तान पारस खड्कासँग ओपनिङ आएपनि उनले खाता खोल्न सकेनन् ।दोस्रो विकेटको रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । ऐरीले ४ रनमात्रै जोड्न सके ।
तेस्रो विकेटको रुपमा कप्तान पारस खड्का १२ रन जोडेर पेभेलियन फर्किए । खड्का आउट हुँदा ३३ रन बनाएको नेपालका लागि आरिफ शेख र विनोद भण्डारीले नेपालको पारि अघि बढाएका थिए । तर ५४ रन पुग्दा आरिफ शेख आउट हुन पुगे । आरिफले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाएका थिए । नेपालले पाँचौं विकेटको रुपमा कुशल मल्ललाई ६२ रन हुँदा गुमाएको थियो । मल्लले ९ बलमा १ चौकाको मद्दतले ५ रन बनाएका थिए ।
सोमपाल कामी छैटौं विकेटको रुपमा ७ रन बनाएर आउट भएका थिए । नेपालका लगि विकेटकिपर व्याट्सम्यान करण केसीले नेपालको स्कोर १ सय रन कटाएका थिए । १०६ रन हुँदा सातौं विकेटको रुपमा करण १८ रन बनाएर आउट भए । १० बल फेस गरेका करणले १ चौका र १ छक्का प्रहार गरेका थिए । १८ औं ओभरमा १११ रन रहेका बेला विनोद भण्डारी आउट भएपछि नेपालको झिनो आसा पनि सकिएको थियो । भण्डारीले ३३ बलमा ३५ रन बनाएका थिए ।
१८.५ ओभरमा सुसन भारी आउट हुँदा नेपालले ९ विकेट गुमाएर ११५ रन बनाएको थियो । अन्तिमसम्म क्रिजमा रहेका सन्दीप लामिछाने र अभिनास बोहराले क्रमश ५ र ३ रन बनाएर नट आउट रहे । २० ओभरमा नेपालले १२० रन बनाउँदा ९ विकेट गुमाएको थियो । जिम्बावेका सिन विलियम्सले तीन विकेट लिएका थिए । सिंगापुरको इन्डियन एसोसियन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनायो ।
नेपालले पहिलो ओभरमा नै विकेट लिन सफल भयो । नेपालका लागि सन्दिप लामिछानेले जिम्बावेको खाता नखुल्दै विकेट लिन सफल भए । जिम्बावेका ओपनर ब्रायन चारी खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि ३० रनमा नेपालले दोस्रो सफलता हात पार्यो ।
सोमपाल कामीले रेगिसलाई मात्र ६ रनमा आउट भए । त्यसको लगत्तै नेपालले तेस्रो विकेट लिए । सन्दिपले नेपालको स्कोर ३८ रन हुँदा ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो विकेट लिन सफल भए ।
जिम्बावेका पिटर मोर १४ रनमा आउट भए । चौथो विकेटका लागि कप्तान सिन विलियम्स र टिनोटेन्डा विच ६० रनको साझेदारी भएको थियो । जसमा टिनोटेन्डालाई सोमपाल कामीले २० रनमा आउट भए । सोमपालको यो ब्यक्तिगत दोस्रो विकेट हो ।
त्यसपछि जिम्बावेका कप्तान सिनलाई पारस खड्काले ५३ रनमा आउट गरेपछि नेपालले पाँचौ सफलता हात पार्यो । सो बेला जिम्बावेको स्कोर एक सय १२ रन थियो । जिम्बावेका लागि रिचमन्डले १७ रन बनाए भने बुर्लले २८ रनको योगदान गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies