प्रदिप ज्ञवाली/मध्यान्ह
सैनामैना : रुपन्देहीको सैनामैनामा बुधबारदेखि शुरु भएको छैटौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवको सांस्कृतिक कार्यक्रमतर्फ दर्शकहरुको आकर्षण उल्लेख्य मात्रामा बढ्दै गएको छ । महोत्सवमा कलाकारहरुको प्रस्तुति हेर्न दर्शकहरु झुम्मिने गरेका छन् भने त्यसले महोत्सवमा सांस्कृतिक आकर्षणसमेत थपेको छ ।
महोत्सवको क्रममा आयोजित मम्मी डान्स प्रतियोगिता, सैनामैना डान्सिङ आइडल, भजन प्रतियोगिता, र्याप प्रतियोगिता, नगरविद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, जिल्लास्तरीय दोहोरी गीत प्रतियोगिता, स्थानीय कलाकारको प्रस्तुति र स्थानीय कला संस्कृतिको प्रस्तुतिले महोत्सवमा पृथक आकर्षण थपेको छ ।
महोत्सवका क्रममा शनिबार लोक गायक पशुपति शर्माले सैनामैनाका दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । पशुपति शर्माको प्रस्तुतिमा दर्शकहरु साँझ अबेरसम्म झुम्मिएका थिए । त्यसैगरी महोत्सवकै क्रममा आइतबार चर्चित गायक दुर्गेश थापाको प्रस्तुति रहने महोत्सवको सांस्कृतिक संयोजक कृष्ण पोखरेलले बताए । त्यसैगरी लोकगायक दिपक गरौजा र गायिका विष्णु श्रीपालीको समेत प्रस्तुति रहने छ । सोमबार चर्चिय गायक चन्द्र शर्मा र खेम सेञ्चुरी एवम् गायिका रीतु शाहीलगायतले प्रस्तुति दिने छन् ।
महोत्सवकै क्रममा आयोजित मम्मी डान्स प्रतियोगितामा बुटवल तामनगरकी मेनुका राई प्रथम हुँदै नगद १५ हजार रुपैयाँ पुरस्कार हात पारेकी छिन् । त्यसैगरी देवदह चरंगेकी एली बुढा मगर दोस्रो हुँदै १० हजार र सैनामैना सालझण्डीकी निलकुमारी रास्कोटी तृतीय हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको मम्मी डान्स प्रतियोगिताकी संयोजक सिता क्षेत्रीले जानकारी दिइन् ।
‘आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवले सैनामैनासँगै यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवर्द्धन, धार्मिक एवम् सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न महोत्सवले सघाउ पुग्ने आयोजकले विश्वास लिएका छन् ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवको सांस्कृतिक कार्यक्रमले दर्शकहरुलाई छुट्टै मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला संस्कृतिको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी आयोजक समितिका सदस्य सचिव तथा संघका महासचिव लोकनाथ अधिकारीले महोत्सवबाट उद्योग व्यापारको प्रवर्द्धन, धार्मिक एवम् सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महोत्सवका अवसरमा सैनामैनाभित्र रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, सैनामैनाको पर्यटकीय सम्भावनाबारे गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिने भएको छ । महोत्सव साढे ३ लाख दर्शकले अवलोकन गर्ने तथा ५ करोड बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नुवाकोट सेवा समाज कतारले बडादशैं, दीपावली, नेपाल संवत् एवम् छठ पर्वको अवसरमा आयोजना गरेको ‘नुवाकोट सांगीतिक साँझ–२०२३’ भव्यरूपमा सम्पन्न भएको छ । समाजको कोष अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा आफ्नो सांगीतीक प्रस्तुति दिन नेपालबाट आमन्त्रित म्हेन्दोमाया कलाकार सौराम तामाङले म्हेन्दोमाया तथा सेलो भाकाका आधा दर्जन गीतहरू पस्किएका थिए ।
लोक तथा दोहोरी गायिका अमृता श्रीपाल ‘देउरालीलाई भेटी’ गीत गाउँदै स्टेज उक्लिएकी थिइन् । उनले फुलको थुङ्गा, घुम्तीघुम्ती रोड, डाँडा घरे साइँली, पञ्चेबाजालगायतका गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । कार्यक्रमको अन्त्यतिर स्टेज चढेका काठे भाकाका राजा मानिने नुवाकोटे गायक सरोज लामिछानेले मुसौरी, कहाँ होला र सुन जस्तो पित्तल, धानको बाला लसरी पसरी, हे मेरो सानु, कोठा भाडा तिर्दिने मै होनि, बदाम खाको सुन्तला छोडाकोलगायतका गीतहरू गाए ।
कतारमा रहेका गायक सूर्य लामा, सानुबाबु तामाङ, रामजी थापा मगर, राजन थोकर तामाङ, बद्री प्रसाद देवकोटा, रोशनी हिम्डुङ तामाङ, गुना मगर निशु, पुकार थापा लगायतका कलाकारहरूले प्रस्तुति दिएका थिए । समाजका अध्यक्ष दीपेन्द्र घले लामाको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले छोटो समयमा पनि सबै प्रक्रिया पूरा गर्दै तोकिएकै समयमा कार्यक्रम गर्न सफल भएकोमा समाजलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै सभापति लामाले कार्यक्रम सफल बनाउन उपस्थित सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रमलाई बिट मारेका थिए । समाजका महासचिव विकास तामाङले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिरा तामाङले स्वागत मन्तव्य राखेका थिए । नेपालबाट आमन्त्रित कलाकारहरूलाई आयोजक र सिन्धुपाल्चोक सेवा समाजले मिलेर मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए भने प्रमुख अतिथि भट्ट र गायिका गुना मगर निशुलाई आयोजकले सम्मान पत्रद्वारा सम्मान गरेको थियो ।
काठमाडौं : नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच शेयर बाँडफाँडको विषयमा सहमति भएको छ । नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले गठन गरेको वार्ता टोलीको बिहीबार बसेको बैठकमा दुवै संस्थाले ५०, ५० प्रतिशत शेयर बाँडफाँड गर्ने सहमति जुटेको हो ।
चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार फिल्म ‘दिमाग खराब’ रिलिज भएको मिति कात्तिक २४ गतेदेखि नै यो व्यवस्था लागू गर्न दुवै पक्ष सहमत भएका हुन् । अब नेपाली फिल्मले हलमा प्रदर्शन हुञ्जेल ५० प्रतिशत शेयर पाउनेछन् ।
यसअघि प्रदर्शनको पहिलो र दोस्रो हप्ता प्रदर्शक र निर्माताले ५०/५० प्रतिशत सेयर बाँडफाँड गर्थे । तर तेस्रो हप्तादेखि निर्माताले जम्मा ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउँथे ।
‘दिमाग खराब’का निर्माताले फिल्म हलमा चलुन्जेल ५० प्रतिशत सेयर नपाए प्रदर्शन नै स्थगित गर्ने चेतावनी दिएका थिए । यसपछि संघले फिल्मका निर्मातासँगै चलचित्र निर्माता संघसँग सेयर बाँडफाँडको विषयमा छलफल गर्न वार्ता टोली नै गठन गरेको थियो । तीन दिन लामो छलफलपछि नेपाली फिल्मलाई ५० प्रतिशत सेयर दिने विषयमा सहमति जुटेको हो ।
शेयर बाँडफाँडसँगै चलचित्र संघ र निर्माता संघबीच अन्य सहमति पनि भएको छ । सहमति अनुसार अबदेखि चलचित्र हलमा लाग्नुअघि नेपाली फिल्मको तीन मिनेटसम्मको ट्रेलर १५ दिनसम्म हलले सित्तैमा बजाइदिनेछ । यसअघि डेढ मिनेटको ट्रेलर मात्रै हलले बजाइदिने गरेको थियो । साथै हलहरुमा पोस्टर लगाउन निर्माताहरुले हल सञ्चालकलाई पैसा तिर्नुपर्ने अवस्था थियो । अबदेखि पोस्टर टाँस्न पनि पैसा तिर्नु नपर्ने भएको छ ।
निर्माता संघको तर्फबाट गठित टोलीमा पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रवीन्द्रसिंह बानियाँ र कृषा चौलागाईं सदस्य रहेका थिए । चलचित्र संघको तर्फबाट गठित वार्ता टोलीमा पूर्व अध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा लगायत सदस्य थिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नुवाकोट सेवा समाज दोहा कतारद्वारा आयोजित "नुवाकोट सांगीतिक साँझ २०२३" मा आफ्नो प्रस्तुति दिन नेपालबाट आमन्त्रित कलाकार कतार आइपुगेका छन् । समाजको कोष अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा प्रस्तुति दिन चर्चित लोक तथा दोहोरी गायिका अमृता श्रीपाल, काँठे लोक तथा दोहोरी गायक सरोज लामिछाने र म्हेन्दोमाया गायक सौराम तामाङ बुधबार राति कतार आइपुगेका हुन् ।
कलाकारहरूलाई स्वागत गर्नका लागी हमाद विमानस्थलमा समाजका अध्यक्ष दीपेन्द्र घले लामा, महासचिव विकास तामाङसहित समाजका कार्यसमितिका विभिन्न पदका पदाधिकारीलगायतका व्यक्तित्वहरू पुगेका थिए । कलाकार कतार आइपुगेसँगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष लामाले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए ।
शुक्रबार साना सिङ्गल नजिकै रहेको ग्रान्ड रिगल होटेलमा दिउँसो १२ बजेदेखि शुरु हुने कार्यक्रममा उपस्थित भएर सँगै रमाउन आमन्त्रित कलाकारहरूले कतारवासी नेपालीलाई आग्रह गरेका छन् । कतारमा रहेका स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने कार्यक्रममा प्रवेशका लागि ५० र १०० रियालको टिकटको व्यवस्था गरीएको समाजका महासचिव लामाले बताए । मध्यान्ह राष्ट्रिय दैनिक उक्त कार्यक्रमको आधिकारिक सञ्चार सहयोगीका रूपमा रहेको छ ।
काठमाडौंः भरतपुर महानगरपालिकाले ‘भिजिट भरतपुर २०२४’ अभियान सञ्चालन गर्ने भएको छ । महानगर र पर्यटन बोर्डद्वारा आज आयोजित ‘सरोकारवाला निकायसँग अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा’ भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जनाइएको हो ।
महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरलाई पर्यटकीय सहरका रुपमा परिचित गराउन सन् २०२४ लाई भ्रमण वर्षका रुपमा अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । मध्य नेपालको उत्कृष्ट गन्तव्यका रुपमा रहेको चितवनको भरतपुर महानगरपालिका ‘भ्रमण वर्ष’ अभियान सञ्चालन गर्ने पहिलो स्थानीय सरकार रहेको भन्दै यो अभियान महानगरको मात्र नभइ समग्र मुलुकको रहेको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्राकृतिक सौन्दर्यताको पहिचान गरी पर्यटन प्रवर्द्धन गर्न महानगरले चालेको पहल ऐतिहासिक रहेको बताइन् । पर्यटन क्षेत्रको संरक्षण र प्रवर्द्धनमा देखिएका कानुनी बाधालाई समीक्षा गरी समाधानतर्फ मन्त्रालय प्रयासरत रहेको उनको भनाइ थियो ।
‘प्राकृतिक पर्यटकीय गन्तव्यका रुपमा रहेको नेपालका सम्भावित क्षेत्रलाई पहिचान गरी पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्न खोज्नु आफैँमा सुन्दर पक्ष हो । काठमाडौं घुम्न आउने पर्यटक चितवन गन्तव्य बनाउन सक्नुपर्छ’, राज्यमन्त्री ठकुरीले भनिन्, ‘एक क्षेत्रमा आएका पर्यटकलाई अन्य क्षेत्रमा आकर्षित गर्न सक्नेगरी काम गर्नुपर्छ । पर्यटन प्रवर्द्धन गर्न महानगरले चालेको अभियानले भ्रमण वर्षले ऐतिहासिक र सुन्दर चित्र कोरेको छ ।’
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले महानगरले चितवनमा लुकेका गन्तव्यलाई प्रकाश पार्न थालेको ‘भ्रमण वर्ष २०२४’ अभियान उपयुक्त समय रहेको भन्दै यस अभियानलाई सफल पार्न बोर्ड प्रतिबद्ध रहेको बताए ।
महानगरका आर्थिक विकास महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले मुलुकको प्रमुख आयस्रोतका रुपमा रहेको पर्यटन क्षेत्रको प्रर्वद्धन र विस्तार गर्न थालिएको अभियान प्रभावकारी हुने बताए । यहाँका सम्भावित स्थानको प्रसारप्रचार गरी पर्यटक भित्राउन सकिनेमा उनले जोड दिए ।
महानगरका पर्यटन विज्ञ सल्लाहकार डा. विश्व सुवेदीले आर्थिक समृद्धिको लागि यस अभियान आवश्यक रहेको भन्दै भ्रमण वर्षलाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५२ कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिए ।
नाटा (नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) महासचिव कुमार थपलियाले महानगरसँगै चितवनका पर्यटकीय गन्तव्यलाई पनि समेट्नु पर्नेमा जोड दिए । गैरआवासीय नेपाली सङ्घका उपमहासचिव सोम सापकोटाले भरतपुरका साथै समग्र मुलुकको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय गरी ईन्टरनेटको माध्यमबाट प्रसारप्रचार गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, पर्यटन समितिका उपसभापति अचुत गुरागाइँले पर्यटन बोर्डमा भएको बजेट कार्यान्वयन गर्न कार्यविधि नहुँदा पर्यटन क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न नसकिएको बताए । ‘विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्धार, विविध प्राकृतिक सम्पदाले समृद्ध महानगर भरतपुर हो’, उनले भने, ‘यहाँको सांस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक भू–बनोटलगायत आधारले पर्यटनको प्रमुख गन्तव्यका रुपमा विस्तार गर्न सकिने देखिएको छ ।’
पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नाराका साथ भरतपुर भ्रमण वर्ष अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगरका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने, प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाको प्रचारप्रसार गरी पर्यटकको सङ्ख्या र बसाइँ अवधि वृद्धि गर्ने उद्देश्यले महानगरले निजी क्षेत्रसँग सहकार्यमा पहिलो पटक अभियान सञ्चालन गर्न लागिएको महानगरका उपप्रमुख अधिकारीले जानकारी दिए ।
भ्रमण वर्षमा अन्तर्राष्ट्रिय सफारी मार्ट, लगानी सम्मेलन, हेरिटेज म्याराथन, सरकार एवं सम्वद्ध पक्षको बैठक तथा भेला, जङ्गल फेस्टिवल, युवा तथा महिला सम्मेलन, साहित्यिक कार्यक्रम, र्याली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार, ट्राभल एजेन्सी तथा टुर अपरेटरको सम्मेलन, विज्ञ समूहसहितको कार्यशाला गोष्ठी, खेलकूद प्रतियोगिता, पर्यटन तथा वातावरणसँग सम्वद्ध दिवस, जातीय सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा फुड फेस्टिवललगायत क्रियाकलाप निरन्तर आयोजना गरिने आज आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।
काठमाडौंः केही समयसम्म चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुनःचलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय भएकी छिन् । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उनले बताइन् ।
‘म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ ? भन्ने जिज्ञासा राख्नुहुन्थ्यो । म विविध कारणले केही समय विश्राममा रहे पनि अलग भने भएको थिइन्’, अभिनेत्री थापाले भनिन् ।
उनले आफू चिनिएको चलचित्रकर्मबाट आउँदा दिनमा पनि लामोसमय नटाढिने बताइन् । उपहार चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोदकुमार पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । उनले अभिनेत्री थापासँग लामो समयदेखि काम गरिरहेको स्मरण गर्दै चलचित्रमा तीन अभिनेत्रीलाई मुख्य पात्रका रुपमा प्रस्तुत गरेको बताए ।
रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र फागुन २५ गते प्रदर्शन तय भएको छ । चलचित्र वितरण काठमाडौं उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।
काठमाडौंः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारको छाता संस्था ‘इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)’ले अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ ।
महिला निर्देशकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यही मङ्सिर ९ गते महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागिएको महोत्सवकी निर्देशक सङ्गीता श्रेष्ठले जानकारी दिइन् । ‘चलचित्र क्षेत्रलाई आफ्नो रचनात्मक सिर्जनाबाट संसारभरि चिनाउन सक्ने सशक्त महिला निर्देशक हामी कहाँ छन् । तर सामाजिक दृष्टिकोण, कम प्राथमिकता र अवसर तथा प्रोत्साहनको कमीले यो क्षेत्रमा महिला निर्देशकको उपस्थिति कम देखिन्छ । यस्ता महोत्सव उहाँहरूलाई उपयोगी हुनाका साथै अवसर हुन् सक्छन्’, उनले भनिन् ।
आइर्वाटका नेपाल च्याप्टरकी अध्यक्ष इच्छा गुरुङले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् । नेपाल चलचित्र विकास बोर्डको सभाहलमा महोत्सव आयोजना गरिने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकको सहभागिता जनाउने तथा नेपाललगायत विभिन्न देशका महिला निर्देशकले निर्देशन गरेका चलचित्र प्रदर्शन गरिने छन् । महोत्सवमा नेपाली लघुचलचित्र प्रतिस्पर्धाका विजेतालाई ‘अवार्ड’ प्रदान गरिने छ ।
काठमाडौं : दिवंगत कलाकार, संगीतकार तथा गायक रोबिन तामाङको सम्झनामा रोबिनको व्याण्ड ‘रोबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । गायक रोबिनको निधनपछि व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक व्याण्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ । एक्सिसले नेपाल टुर अन्तर्गत काठमाडौंमा पहिलोपटक ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत आफ्नो गीत सुनाउन लागेको हो ।
व्याण्डले कार्यक्रममा आफ्ना चर्चित गीतहरु ‘मुस्कान’, ‘अधुरो प्रेम’, ‘मेरो प्रेम’, ‘सात समुन्द्र पारी’ र पछिल्लो रिलिज ‘पाइला’ सुनाउनेछ ।
कार्यक्रममा रोबिन एण्ड द न्यू रिभोल्युसनका सदस्यहरुसँग मिलेर अन्य गायकहरुले ‘नेपाल’, ‘भुलमा भूल्यो’, ‘केटाकेटी’, ‘दम मरु दम’, ‘चिसो चिसो’ र ‘जति माया लाए पनि’लगायतका गीत पनि सुनाउनेछन् ।
कार्यक्रमका लागि टिकटहरु ई–सेवामा उपलब्ध रहेको आयोजकले जनाएको छ । गायक रोबिनको गत जुलाई ४ मा निधन भएको थियो ।
काठमाडौं : चेतबहादुर बुढाथोकी र मनिषा घोरासैनीले ‘चाचरी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । चेतबहादुरको शब्द, रामकृष्ण थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् ।
चेतबहादुर आफैंले निर्देशन गरेको भिडियोमा कृष्ण रसालको कोरियोग्राफी रहेको छ । भिडियोमा शिला गजुरेल, मनिषा घोरासैनी र चेतबहादुर बुढाथोकीको अभिनय छ ।
काठमाडौं : ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, लगायतका ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजार भन्दा बढी गीत लेखेका लोकप्रिय गीतकार समीर अञ्जानलाई काठमाडौंमा शनिबार अभिनन्दन गरिएको छ । लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिबार उनलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो ।
विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका समीरले कार्यक्रममा बोल्दै नेपाली भाषा धेरै प्रिय रहेको र युद्धमा बोल्दा पनि माया गरेको जस्तो लाग्ने किसिमको मिठासपूर्ण रहेको बताए ।
गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले संघले विभिन्न समयमा गीतकारको सम्मान गर्दै आएको भन्दै यसपटक समीर अञ्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको र यो अवसरका लागि लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरप्रति आभार व्यक्त गरे । कार्यक्रममा बोल्दै साहित्यकार वसन्त चौधरीले समीर अञ्जान कसैका लागि पनि अञ्जान नाम नभएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies