बिकाश काफ्ले/मध्यान्ह
पाल्पा : कमल भट्टराई र ममता कोइरालाको देशभक्ती गीत ‘जे गरे नि चल्छ नेपालमा’ बजारमा आएको छ । देशको समसामायिक अवस्थालाई चित्रण गरिएको गीतमा नेताहरुको कार्य शैली, देशले भोग्नु परेको समस्या र जनताका पीडालाई दर्शाइएको छ ।
कमल भट्टराईको शब्द र संगीत रहेको गीतको भिडियो पाल्पामा छायांकन गरिएको हो । गायक स्वयं भट्टराई र गायिका ममताका अलावा भिडियोमा आयाम कार्की, सोम आले, लेखनाथ ढकाल लगायतका कलाकारलाई देख्न सकिन्छ ।
धेरैजसो माया प्रेममा आधारित गीत मात्र बजारमा आइरहेको अवस्थामा फरक शैलीको देशभक्ती गीत दर्शकसामू ल्याउँदा आफुलाई धेरै खुसी लागेको र गीतले सचेतनात्मक सन्देश दिने गायिका कोइरालाले बताइन् । माया प्रेम केन्द्रित गीत भन्दा देशभक्ती र जनताका गीत गाउँदा फरक अनुभव र सन्तुष्टि मिल्ने उनको भनाइ छ ।
लामो समयदेखि गीत संगीतको क्षेत्रमा क्रियाशिल भट्टराईले देशको अहिलेको अवस्थाले युवा पुस्तामा नकारात्मक असर पुगेकोले आफुहरुले फरक शैलीको गीत प्रस्तुत गरेको मध्यान्ह दैनिकलाई बताए । व्यवसायिक गीतले केवल मनोरञ्जन मात्र दिने तर देशभक्ती गीतले सन्देश दिने भएकाले आफुहरुले देशभक्ती गीत बजारमा ल्याएको बताए ।
गायक भट्टराई र गायिका कोइरालाले यसअघि पनि पाल्पा-बुटवल सडकका कारण भोग्नु परेको समस्या र त्यस क्षेत्रका जनताले भोग्नु परेको धन जनको क्षतीका बारेमा गीत बजारमा ल्याइसकेका छन् । यस गीतले पनी आफुहरु धेरै आशावादी रहेको उनीहरु बताउँछन् ।
गीतको भिडियोलाई आयाम कार्कीले निर्देशन गरेका छन् भने सन्तोष बस्यालको छायांकन/सम्पादन रहेको छ । ईन्द्र जिसीको संगीत संयोजन रहेको गीतको भिडियोलाई आर एम एफ क्रियशनले निर्माण गरेको हो । भर्खरै सार्वजनिक भएको गीतको भिडियोलाई धिताल फिल्मसले बजारमा ल्याएको हो ।
नेपाली गीत, संगीतको क्षेत्रमा मुकारुङ परिवारको अतुलनिय योगदान रहेको छ । मुकारुङ परिवारमा कुनै ब्यक्ति छैनन जो गीत, संगीतमा नलागेका होस् । सबै जना आफ्नो विधामा चर्चित छन् । को–को छन् त यो क्षेत्रमा मुकारुङ परिवारका सदस्य भन्ने कुरा पाठक तथा संगीतका पारखिहरुलाई थाहा नै होला । सन्दर्भ हो संगीतकार पारस मुकारुङको । कुनै समयका चर्चित संगीतकार पारस मुकारुङ हालै सम्पन्न संगीतकार संघ नेपालको १० औँ साधारण सभाले अध्यक्षमा चयन गरेको छ ।
नेपालका गायक, संगीतकार र रचनाकारले उमेरमा गरेका रचनाको संरक्षण, संबद्र्धनमा जुट्दै आएका मुकारुङ उनीहरुका अधिकारका लागि लड्न ढिला भएको र आफु निरन्तर उहाँहरुको हितको पक्षमा लागिरहेको बताउँछन् । गीत, संगीतको क्षेत्रमा बिबिध समस्याहरु रहेको र बिस्तारै समाधान हुने कुरामा विश्वस्त रहेका संगीतकार मुकारुङ पछिल्लो समय पाइरेसी आम सर्जकको टाउको दुखाइको विषय बनेकोमा भने चिन्तित देखिन्छन् । झण्डै तीन दशकदेखि संगीत सिर्जनामा सकृय पूर्वि जिल्ला भोजपुरका स्थानीय वासिन्दा संगीतकार मुकारुङका थुप्रै सिर्जनाहरु श्रोता रुचिका रहे, जसमाः आधा उमेर निद्रैमा बित्यो..., खोटाङ हलेशी..., अँधेरीमा जुन फुल्दा.... लगायतका छन् । संगीतकार संघ नेपालका अध्यक्ष रहनु भएका पारस मुकारुङले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको संक्षिप्त कुराकानी :
बधाई छ तपाईंलाई
धन्यवाद ।
बिगतमा कस्ले के गर्यो भन्दा पनि तपाईंको कार्यकालमा श्रष्टाहरुले महसुस गर्न सक्ने पक्ष के हुनेछ ?
संगीतकार सङ्घ नेपाल विगत दश वर्षदेखि श्रष्टाहरुको प्रतिलिपि अधिकारलाई सुनिश्चित गर्नको लागि लागिपरिरहेको संस्था हो । विगतमा धेरै कामहरु भएका छन् भने रिजल्ट आउन बाँकी कामहरु केही छन्, यो कार्यकाल पूर्णरुपमा परिणाम मुखी हुनेछ ।
पेशागत हितको लागि बुँदागत रुपमा तालिका बनाउनु भएको छ कि, एकमुष्ठ एजेण्डा ल्याउँदै हुनुहुन्छ , र कस्तो हुनेछ ?
पेशागत हितका लागि गर्नुपर्ने धेरै बुँदाहरु छन् तथापि हामीले श्रष्टाहरुको रोयल्टी सँगसँगै उनीहरुको आर्थिक र नैतिक अधिकारलाई सुनिश्चित गर्न सक्यौं भने यो नै सबै भन्दा ठूलो उपलब्धि हुनेछ ।
यो सिर्जनशील विद्या भएकोले गीत, संगीतको क्षेत्रलाई विवादरहीत बनाउन के गर्नु पर्ला र यसमा संघको भूमिका कस्तो रहन्छ ?
तपाईंलाई थाहा हुनुपर्छ जहाँसम्म अहिले केही स्रष्टाहरुको समस्याको समाधान हामिले खोजिरहेका छौं । संगीतकार संघ नेपालको भूमिका जहिले पनि व्यवस्थित संगीत क्षेत्रको निर्माणको लागि स्रष्टा अधिकारको सुनिश्चितता गर्नु रहने छ ।
गीत, संगीतको कुरा गर्नु पर्दा एउटै पेशामा लाग्नेहरुको पनि अनेक संस्था जन्मेका छन् । एउटै छाताभित्र समेटिन सकिन्न ?
भिन्न, भिन्न पेशाका पेशाकर्मीहरुको संस्था हुनु भनेको एकदम राम्रो कुरा हो किनभने यसले आफ्नो पेशालाई मजबुत बनाउँछ । तर तपाईंले भने जस्तो सबै यस्ता संस्थाहरूलाई मिलाएर संगीतकर्मिहरुको छाता संस्था बन्दा खेरी अवश्य राम्रो हुन्छ ।
कुनै कार्यालयको कर्मचारी वा ब्यवसायमा संलग्न नभएका स्रष्टाको आर्थिक अवस्था कमजोर भएको प्रायः देखिन्छ । त्यस्ता श्रष्टाहरुको बृध्दावस्थाको लागि भविष्यमा संघले के के गर्न सक्छ ?
मैले माथि नै भनिसके स्रष्टाहरुको आर्थिक र नैतिक अधिकारको सुनिश्चितता नै हाम्रो प्रमुख उद्देश्य हुनेछ भनेर । आर्थिक अधिकारको सुनिश्चितताले सम्पूर्ण स्रष्टाको आर्थिक हैसियत सवल बनाउनेछ भने हामीले स्रष्टाहरुको दुःखमा संस्थासंगै हुनुपर्छ भन्ने उद्देश्यले संगीतकर्मी कल्याणकारी कोषको स्थापना गरेर दुःखमा परेका स्रष्टाहरुलाई सहयोग गर्दै आइरहेका छौं, यो कार्यकालमा यसलाई अझ मझबुत बनाउने छौं ।
गीत, संगीत भन्ने वित्तिकै देश काल परिस्थितिलाई सुष्मरुपले अध्यायन गरी सोही अनुसारको सिर्जना प्रष्फुटित हुने र व्यक्त गर्ने विद्या, बैधिक पक्ष हो । यहाँ पनि शोशणको चर्चा हुने गर्छ नि ?
अवश्य पनि सिर्जना भनेको सामान्य अर्थमा लिन नहुने बिधा हो, यो बौद्धिक क्षेत्रमा शोषण गर्नेहरु निश्चित रुपमा सजायको भागिदार हुनेछन् ।
प्रतिभाले भन्दा पनि पैसाले टिक्ने क्षेत्र भन्छन् नि, तपाईं के भन्नु हुन्छ ?
यो कुरामा मेरो पुर्ण विमती छ । प्रतिभा र साधनाले खारिएको स्रष्टा सधैं यो क्षेत्रमा टिकिरहन्छन् । पैसाले सिर्जना क्षेत्रमा स्थापित हुनु असम्भव छ । यदि त्यसो हुँदो हो त संसारका धेरै धनाड्यहरु सर्जकको रुपमा विश्व परिचीत हुन्थे होला ।
अन्त्यमा ....?
कोरोना कहरका कारण विश्व नै प्रभावित बन्यो । गीत, संगीतको क्षेत्रमा पनि प्रभाव पार्यो । रेकर्डिङ स्टुडियोहरु बन्द रहे, आपसी भेटघाटमा दुरी रह्यो । बिस्तारै वातावरण सहज हुँदैछ संगीत सिर्जनाका कामहरु हुन थालेको छ यो खुशीको पक्ष हो । सम्झनु भएकोमा मध्यान्ह दैनिक परिवारलाई धन्यवाद ।
काठमाडौं : नेपाली म्युजिक भिडियो निर्देशनको क्षेत्रमा चल्तिको नाम हो आदित्य बुढाथोकी । पछिल्लो समय म्युजिक भिडियो निर्माण क्रम बडेकोले बुढाथोकीलाई फुर्सद छैन । झण्डै डेढ दशक अघिदेखि म्युजिक भिडियो निर्देशनको क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ बिशंखु नारायण, गोदावरीका स्थानीय हुन् ।
आफूलाई निर्देशनमा अब्बल बनाउँदै लगेका बुढाथोकीले दुई दर्जन बढी भिडियो निर्देशन गरिसके । शुक्रबार वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले राजधानीमा आयोजित कार्यक्रममा निर्देशक बुढाथोकीको कामको मूल्यांकन गर्दै ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत गरेको छ ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कला, साहित्य जगतका बिशिष्ट ब्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । निर्देशक बुढाथोकीले प्रताप दासको स्वर रहेको ‘ढुंगा मुडा..’ बोलको भिडियोबाट सर्वोत्कृष्ट अवार्ड पाएका हुन् ।
नयाँ पुराना प्रायः सबै गायक, गायिकाको गीतको भिडियो निर्देशन गरिसकेका बुढाथोकीका भिडियोहरु प्रायः चर्चामा रहेने गर्छ । मै राम्री, खुकुरीको दाप, नबोलेनी हासी राख, यो झरीमा तिमीसँगै, सम्झनाको, माया गर्ने मान्छे, ढुंगा मुढा, आमा, हे सानु, पूर्णिमाको रात, ‘कान्छी को, मेरो सास, करेन्ट लाग्छ, के भाको मलाई लगायत गीतको भिडियो निर्देशन गरिसकेका छन् ।
काठमाडौं : राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान नेपालको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको टोखामा सम्पन्न भएको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनीसँगै वर्तमान अध्यक्ष रमेश विजीको उपस्थिति रहेको कार्यक्रममा प्रमुखअतिथिको रुपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी सहभागी थिए ।
समारोहमा संगीतकर्मी कृष्ण गन्धर्वलाई १५ हजार सहित ‘लोक बहादुर स्मृति पुरस्कार’, ११ हजार नगद सहितलोक पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सिताराम बडाल तथा नेपालीलोक संगीतमाविद्यावारिधी गरेका डा. राम प्रसाद घिमिरेलाई सम्मान गरियो । उनीहरुसँगै कोभिडको समयमा कलाकारहरुलाई सहयोग पुर्याएका पृथ्वी थकाली र विनोद श्रेष्ठ पनि सम्मानित भए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका नगर प्रमुख अधिकारीले प्रतिष्ठानको भवन निर्माणका लागि पूर्व अध्यक्ष बद्री पंगेनीसहित उनको टीमले खेलेको भूमिकाको प्रशंसा गरे । ‘तपाईंहरुले प्रतिष्ठान स्थापना गर्ने जुन अठोट गर्नुभयो, त्यसका लागि बद्री पंगेनीको ठुलो हात छ । यो काम जुगजुग बाँचिरहन्छ । प्रतिष्ठान हाम्रो सम्पत्ति हो । यसको संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो कर्तव्य हो । प्रतिष्ठानका लागि नगरपालिकाले सक्ने सहयोग गर्नेछ,’ अधिकारीले भने ।
प्रतिष्ठानका महासचिव सुवास केसीले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानलाई कोरोनाको समयमा सहयोग गर्ने सहयोगी हातहरुलाई सम्मानका साथै आजीवन सदस्य बनेका संगीतकर्मीहरुलाई पनि कदर तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
समारोहमा बोल्दै प्रतिष्ठानका वर्तमान अध्यक्ष रमेश बिजीले प्रतिष्ठानलाई दिवंगत श्रष्टाहरुको बैकुण्ठ तथा पुण्यभूमि बनाउने योजना सुनाए । उनले भने, ‘बाजा संग्रहालय, संगीतालय स्थापना गर्ने सपनाले मुर्त रुप लिँदैछ । मलाई आफ्ना अनुभव साटेर आफुलाई सहयोग गर्ने पुर्व अध्यक्षहरुप्रति आभार व्यक्त गर्दछु ।’
साधारणसभा पश्चात आयोजित बन्द शत्रमा प्रतिष्ठानको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । अहिलेको प्रतिकुल अवस्थामा पनि अत्यधिक संगीतकर्मीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा भावी योजनाको घोषणा पनि गरिएको थियो ।
भावी योजनाअनुसार प्रतिष्ठानले अघिल्ला कार्यकालहरुमा गर्दै आइरहेका महत्वपुर्ण कार्यहरुलाई निरन्तरता, लोकबाजा संकलन सहितको संग्रहालय स्थापना, संगीत विकास बोर्ड गठन प्रक्रियामा पहल, हालसम्म गठन नभएका जिल्ला र विदेश शाखाहरुमा संगठन विस्तारका साथै निस्क्रिय रहेका जिल्लाहरुलाई क्रियाशिल, अनुशासित, मर्यादित, व्यवस्थित र चलायमान गराउन पहल तथा रोयल्टी पाइरेसी सम्बन्धी सम्बन्धित सरोकारवालाहरुसँग बसी स्पष्ट धारणा ल्याउन पहल तथा लोक दोहोरी आचारसंहिता समेत तयार गर्ने लगायतका विषयहरु रहेका छन् ।
वि.सं २०५७ साल असोज १६ गते स्वर्गीय लोक गायक लोक बहादुर क्षेत्रीको सम्झनामा नवलपरासीको अरुण खोलामा भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगितामा उपस्थित गायक गायिका एवं निर्णायक मण्डलका अग्रजहरुको भेलापश्चात अम्बर विरही गुरुङको अध्यक्षतामा १४ सदस्यीय तदर्थ समिति गठन भई त्यसको ७ महिनापश्चात वि.सं २०५८ वैशाख १४ र १५ गतेको राष्ट्रिय भेलामार्फत गैंडाकोटको उच्च मा.वि.बाट अम्बर विरही गुरुङकै अध्यक्षतामा प्रतिष्ठानको पहिलो कार्यसमिति गठन भएको थियो ।
तेजबहादुर बन/मध्यान्ह
इटहरी : कोरोना भाइरस ( कोबिड –१९ ) संक्रमणका कारण बिगत नौ महिनादेखि थला परेको चलचित्र घरहरू गत पुस २२ गतेबाट सञ्चालनमा आएका छन् । प्रदेश एकमा चलचित्र घरहरू सञ्चालनमा आएपनि दर्शकहरू नपाउँदा र समयमै फिल्महरू नपाएपछि हल सञ्चालकहरू अहिले मासिक लाखौ रूपैया घाटा बेहोर्न बाध्य बनेका छन । कोरोनाको त्रास जनमानसबाट हटदै गएपनि पर्याप्त शुचना नपाउदा र तिन वटै निकायका सरकारहरूले सिनेमा घरहरू प्रति बेवास्था गरिदिएको कारण हल सञ्चालकहरू मारमा परेको फिल्म निर्देशकहरूले बताउदै आएका छन ।
सिनेमा घरहरू खुलेर सञ्चालनमा आए तर दर्शक हलसम्म आउन अझै डराउने गरेकोले हल सञ्चालकहरू प्रत्यक्ष मारमा परेको इटहरीका कुशल चलचित्र निर्देशक तथा नेपाल चलचित्र कर्मी महासंघ प्रदेश १ का पूर्व सल्लाहाकार भिम लामाले मध्यान्हलाई बताए ।
इटहरीमा अत्याधुनिक र सेवा सुविधा सम्पन्न तीनवटा सिनेमा घरहरू मध्ये २ वटा पूर्णरूपमा सञ्चालन हुदै आएका छन् । इटहरीको आइतबारेमा चर्चित फिल्म निर्माता एवम निर्देशक छवि ओझाले सञ्चालनमा ल्याएका इलाइट सिनेमा घर र इटहरीकै मुख्य चौकको पूर्वदिशामा ब्यवसायी राजेश श्रेष्ठद्वारा निर्मित सेन्ट्रल प्लाजाको पॉचौं तलामा सिने फ्लेक्स सिनेमा घर सञ्चालनमा रहेको छ भने इटहरीकै पूर्व दिशामा टेंग्रा खोला छेउ बनेको इटहरी मलद्वारा सञ्चालित आइसिनेमा भने बिगत एक वर्ष देखि नै बन्द अवस्थामा रहेको छ ।
सञ्चालनमा रहेका दुइवटा हलहरू पनि अहिले दर्शक नपाएर प्रत्यक्ष मारमा परेका छन् । बिगत नौ महिनादेखि बन्द अवस्थामा रहँदा करोडौंको घाटा ब्यहोरी सकेको सिनेमा घरहरूले अहिले हलहरू सञ्चालनमा आइसक्दा पनि लाखौ घाटा ब्यहोर्नु परिरहेको आइतबारे स्थित इलाइट सिनेमा घरका सञ्चालक नवराज केसीले बताए ।
उनका अनुसार हलसंगै केहि नयॉ चलचित्रहरू पनि प्रदर्शनमा आएको तर दर्शकहरू सिनेमा घरसम्म आउन अझै डराएको कारण आफुहरु घर घर पुगेर टिकट बिक्री गर्नुपर्ने अवस्था आइपुगेको बताए । यसो गर्दा पनि मरेर ३० देखि ४० जना मात्र दर्शक हलसम्म आउने गरेको उनको भनाइ छ ।
यता इटहरीमा मात्र नभइ प्रदेश एकमा सञ्चालित सबै हलहरूको अवस्था पनि यस्तै रहेको छ । करीब २ दर्जन भन्दा बढी हलहरू रहेका भएपनि प्रदेश एकमा अहिले सिनेमा घरसम्म पुगेर फिल्म हेर्ने दर्शक अभाव देखिएको छ ।
दर्शक आउने आशमै हालै सेन्टी भाइरस चलाइयो तर मुस्किलले ३० जना मात्रै आइपुगे, यसरी कसरी चल्छ सिनेमा घर ? सुनसरीको झुम्कास्थित म्याजिक थ्रिडी चलचित्र हलका सञ्चालक एवम कलाकार परशुराम चौधरी प्रश्न गर्छन् । यता भर्खरै मात्र प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को प्रदेश एकमा प्रिमियर शो सम्पन्न गरिएको छ ।
कलाकार शिव श्रेष्ठ सहितको टोली प्रदेश एकको बिभिन्न सिनेमा घरहरू पुगेर फिल्म हेर्न अनुरोध गरेपनि दर्शक नपाउँदा आफै खिन्न बनेर काठमाण्डौ फर्किएका छन् । उनले प्रदेश एकको सिनेमाहलहरू बाटै तीनवटै सरकारले सिने क्षेत्रका लागि पनि राहत प्याकेज ल्याउनुपर्ने जस्ता जायज मागहरु राख्दै काठमाण्डौ फर्केका छन् ।
उत्कृष्ट शब्द, संगीतको मात्र भिडियो निर्माण, निर्देशन गर्दै आइरहेकी बबिता श्रेष्ठले निर्देशन गरेको पछिल्लो म्युजिक भिडियो अहिले सर्वत्र रुचाइएको छ । यहाँ दैनिक दर्जनौं नयाँ म्युजिक भिडियो बन्ने गर्छन् । लकडाउनको समय केही सुस्ताए झैं भएपनि अहिले एकपछि अर्को भिडियो सार्वजनिक गर्दै आइरहेकी निर्देशक हुन्, बबिता श्रेष्ठ । पछिल्लो समय सबैभन्दा बढी भिडियो निर्देशन गर्ने महिलामध्येमा पर्छिन् उनी । विगत एक दशकदेखि म्युजिक भिडियो निर्देशनलाई निरन्तरता दिँदै आइरहेकी बबिताले हालसम्म हजारौं भिडियो निर्देशन गरिसकेकी छन् । ललितपुर पुल्चोककी बबिता भबिष्यमा पनि म्युजिक भिडियो निर्देशनलाई नै निरन्तरता दिने बताउँछिन् ।
बबिता टिपिकल नेवारी परिवेशमा हुर्के, बढेकी र त्यही संस्कारमा रमाउँदै गरेकी भएकीले लोक दोहरी भन्दा पनि पप, अंग्रेजी र हिन्दी गीत बढी सुन्थिन्, दोहरी भन्ने नै थाहा थिएन । समयले उनलाई लोक दोहरी प्रति आकर्षित गरायो र निर्देशकसम्म बन्न पुगिन् । उनले सिन्दुर पोते, प्रदेशी चेली, नसिबैमा नलेखिएको कुरा, झुठो पिरती, बिधुवा, खोज्दै खोज्दै आउछु, पागल हुन्छु, नलाउ झुठो पिरती भाग २, लगायत अन्य सयौंै चर्चित लोक गीतका म्युजिक भिडियोहरु निर्देशन गरिसकेकी छन् । उनले निकट भविष्यमै ठूलो पर्दाको चलचित्र निर्देशन गर्ने सोच बनाएकी छन् । बबिता श्रेष्ठ निर्देशित हालै सार्वजनिक भएको ‘तिमि हिड्ने बाटो’ बोलको गीत हो । जसमा शब्द राजेन्द्र पुरीको छ भने लोक दोहरीकी चर्चित गायिका बिष्णु माझी, जया देवकोटाको स्वर रहेको छ ।
गीत, संगीतको माध्येमबाट पु¥याएको योगदानको कदरस्वरुप उनी संगीतकर्मी संघ म्युजिक अवार्ड, बोष्टर म्युजिक अवार्ड, नाट्यस्वरी म्युजिक अवार्ड, नेशनल पावर न्युज म्युजिक अवार्ड, बक्स अफिस म्युजिक भिडियो अवार्ड, सुन्दरादेवी म्युजिक अवार्ड, डकुमेन्ट्री फिल्म फेस्टिभल सम्मान, शिखर नेपाल सम्मान, पावर इन्टरनेश्नल मिडिया कला सम्मान, लिटल मिस एण्ड मिस्टर नेपाल आइकन २०१९ को जज लगायतका सम्मानबाट सम्मानित भइसकेकी छन् । अहिलेका ब्यस्त भिडियो निर्देशक बबिता श्रेष्ठले मध्यान्ह दैनिकको लागि सानु श्रेष्ठसँग गरेको संक्षिप्त कुराकानीः
केमा व्यस्त हुनुहन्छ ?
कोरना कहरका कारण केही समय बसेर नै बिताइयो । त्यही बीचमा अत्याधुनिक स्टुडियो खोलियो अहिले म्युजिक भिडियो निर्देशनमै व्यस्त छु ।
यस क्षेत्रमा आउँदाको अनुभव कस्तो छ ?
सजिलो, असजिलो मिश्रित अनुभव छ । महिला भएकै कारण काम गराउन अप्ठेरो मान्ने, प्राबिधिक र कलाकारले नपत्याउने आफुलाई भनेजस्तो सहयोग नगर्नेजस्ता थुप्रै समस्याको सामना गर्नुप¥यो । मेरो निर्देशनमा एउटा भिडियो बनेको थियो त्यतिबेला, त्यो भिडियोलाई सबैतिरबाट रुचाइयो । यस्तै अरु भिडियो बनाएर अघि बढ्ने सोचसँगै बिस्तारै काम गर्दै आज यो स्थानमा पुग्न सफल भएकी छु । अथक प्रयासले यो प्रतिष्ठा बनाएकी हुँ । हिजो मसँग काम गर्न हिचकिचाउनेहरु आज मसँग काम गर्न आतुर छन् । बिगत बिर्सेर वर्तमानमा कसरी समय सुहाउदो दर्शक रुचीको गीत, संगीत पस्कने भन्ने प्रति बढि चिन्तिछु ।
यस क्षेत्रमा प्रवेश गर्नुभएको कति भयो ?
सुरु त अलि पहिले नै गरेकी हुँ । यसैमा पुर्णरुपले लागेकी चाँही दशक भयो ।
तपाईंद्वारा निर्देशित प्रायः सबै भिडियो चर्चामा रह्योे । आफैलाई मन परेको चाहीँ कुन हो ?
हजार भन्दा बढी भिडियो बनाई सकेको छु । आफुले जन्माएका सृर्जनाहरु सबै सुन्दर लाग्नु स्वभाबिक भएपनि अहिलेसम्म थुप्रै चर्चित भिडियोहरु मध्ये गत साता सार्वजनिक भएको ‘तिमि हिड्ने बाटो..’ बोलको गीत मन पर्छ । जसमा शब्द राजेन्द्र पुरीको छ भने लोक दोहरीकी चर्चित गायिका बिष्णु माझी, जया देवकोटाको स्वर रहेको छ । मर्मश्पर्धी शब्द, सुहाउदो भिडियो ।
लोक, आधुनिक, पप कुनको भिडियो बढी बनाउन मनपर्छ ?
सबैलाई थाहा नै छ केही समय अघि मैले नेपालको महिला रेस्लर भगवती खड्कालाई लिएर एक्शन भिडियो बनाएकी थिए । जुन भिडियोले चर्चा पाएको थियो । आधुनिक गीतको पनि भिडियो बनाएकी छु । पछिल्लो समय दोहोरी गीत,संगीत प्रति सकृय भएकीले बबिताले दोहरी गीतकोमात्र भिडियो बनाउछे भन्ने परेको छ, शुभ चिन्तकहरुमा ।
कसले दियो त पहिलो भिडियो बनाउन ?
म मिडियामा काम गर्ने र रेडियोमा कार्यक्रम चलाउने भएकोले कलाकर्मीहरुसँग नजिक थिए । यसै मेसोमा एक जना गायकले म्युजिक भिडियो बनाउने बिचार गर्नु भएको रहेछ । कुरै कुरामा उहाँले मलाई के देखेर भिडियो निर्देशन गर्न दिनुभयो थाहा भएन । तर, कामको प्रतिफल भने राम्रै आयोे । सबैले राम्रो छ, यत्तिको क्षमता भएको मान्छेले भने जस्तो म्युजिक भिडियो निर्देशन गर्न सक्छ भनेर उहाँहरुको हौसलाले आत्मवल बढ्यो । उहाँहरुको आशिर्वादले आज आफ्नो पहिचानको उचाई बढेको महशुस गरेकी छु ।
दिनमा कति वटासम्म भिडियो गर्नु हुन्छ ?
सकेसम्म दिनमा एउटा भिडियो गर्दा राम्रो । कहिले काही परिस्थिति कस्ता बनिदिन्छ भने एकपछि अर्को गर्नु पर्ने हुन्छ । मैले दिनमै दुई/तीन वटासम्म म्युजिक भिडियो निर्देशन गरेकी छु । संख्यात्मक भन्दा पनि गुणात्मक काम राम्रो हुन्छ ।
भिडियो निर्देशनमा त तपाईंमात्र सकृय महिला निर्देशक हुनुहुन्छ नि ?
निर्देशन भनेको क्रियटिभ काम हो । त्यसैले महिलाले गर्न सक्दैन कि भन्ने भ्रम अरुमा हुन सक्छ । महिलालाई सुरुमा पत्याउँदैनन् । आफ्नो काम गर्ने तौरतरिका र खुबी देखाउदै उहाँहरुको मन जित्दै अघि बढ्ने हो कसले के भन्छ भन्ने कुराको वास्ता नगरी आफ्नो कर्ममा लाग्नु पर्छ । कर्ममा विश्वास गर्ने मानिस असफल हुँदैनन् । जहाँसम्म महिला निर्देशकको कुरा छ म एक्लो देखिएको जस्तोमात्र हो ।
लोक, दोहोरी क्षेत्रमा छाडापन बढिभो भन्छन् नि ?
म्युजिक भिडियोभन्दा पनि स्टेज कार्यक्रममा कलाकारहरुले प्रस्तुत गर्ने शब्द र अश्लिल हाउभाउका कारण छाडापन देखिएको हो । यस हिसाबले भन्नु पर्दा लोकदोहरी गीत, संगीतमा छाडापन देखिन्छ । त्यसो हुनुहुदैन । लोक कलासंस्कृति भनेको हाम्रो पहिचान हो, यसलाई सम्बद्र्धन र संरक्षण गर्नु सबैको दायित्व हुन्छ । हामीले बनाउने भिडियो गीतको मर्म अनुसारको हुन्छ, त्यसमा कुनै छाडापन हुन्न ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : "हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मुख्य नारा लिएर नोभेम्बर १०, २०१७ मा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले आफ्नो चौंथो साधारण सभा सम्पन्न गरेको छ । सलवा रोडमा अवस्थित ग्रिन रेस्टुरेन्टको सभा हलमा शुक्रबार सॉझ एक भव्य कार्यक्रमको आयोजना गरी सभा सम्पन्न गरेको हो ।
संस्थाका का.वा. अध्यक्ष शिवराम ढकालको सभापतित्व तथा प्रतिष्ठान वैदेशिक शाखाका केन्द्रीय सदस्य दुर्गा प्रसाद पंगेनीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम राष्ट्रिय गानसँगै अघि बढेको थियो । कार्यक्रममा नानु घलेले स्वागत मन्तव्य राखेकी थिइन् भने केकसमेत काटिएको थियो ।
सभामा ४५५ कतारी रियाल बचत रहेको कार्य प्रगति तथा आयव्यय विवरण पेस गरिएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख सल्लाहकार प्रभात त्रिपाठीले जननी सङ्गीतको मर्म अनुसार अगाडी बढ्नु पर्ने बताए । आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथि पंगेनीले कमीकमजोरी रहे पनि संस्थाले स्थापनाको चार वर्ष पुरा गरेकोमा खुसी व्यक्त गरेका थिए ।
महिला सचिव सन्ध्या अर्यालले सञ्चालन गरेको कार्यक्रमको समापन गर्दै सभापति ढकालले चौंथो साधारण सभासम्म आउँदा हिजोलाई नभुल्न र भोलिलाई सुन्दर बनाउनतिर ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार प्रेम चलाउने, सगुन बर्देवा लगायत कार्यसमिति तथा शुभेच्क्षुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
काठमाडौं : स्थापनाको छोटो समयमा नै रेष्टुरेण्ट पारखीमाझ लोकप्रिय बन्दै गएको निकोलस हस्पिटालिटीमा माघ ३ गते शनिबार कल्चरल डान्स हुने भएको छ ।
राजधानीको गोंगबु चोकबाट गणेशस्थानतर्फ करिब ५० मिटर दायाँ रहेको निकोलसमा शनिबार साँझ ६ बजेदेखि कल्चरल डान्स गरिन लागेको हो ।
निकोलसमा शनिबार सोही समयमा म्युजिकल नाइटसमेत आयोजना हुने निकोलसका सञ्चालक एवं युवा व्यवसायी यामबहादुर बुढाथोकीले जानकारी दिए ।
समुन्द्र ब्याण्डका अनिल गन्धर्वबाट हुने म्युजिकल नाइटको साथमा चर्चित नृत्य कलाकार शशीकला राईको कल्चरल डान्स हुनेछ ।
पाँच तारे होटलका सेफ र कुकहरुको कौशलबाट स्तरीय र मिठासपूर्ण परिकार उपलब्ध गराउँदै आएको निकोलस हस्पिटालिटीमा म्युजिकल नाइटको अवसरमा शनिबार ग्रीन टी फ्री गरिएको र कार्यक्रम बेलुकी ९ बजेसम्म चल्ने हस्पिटालिटीले जनाएको छ ।
काठमाडौं : दर्जनौं भिडियो निर्माण गरिसकेका कलाकारसमेत रहेका राजकुमार महर्जनले पहिलो पटक निर्देशन गरेको भिडियो सार्वजनिक भएको छ । निमा राय क्षेत्रीकोे स्वर, शब्द, सङ्गीत रहेको ‘छ भने माया मुसुक्क हाँसिदेउ..’ बोलको गीत भिडियो पोखरा आसपास क्षेत्रका रमणीय स्थानमा छायाँकन गरिएको छ ।
भिडियोमा क्रान्ति बराईली, अपेक्षा दवाडी, संगीता बनमालीलगायतका कलाकारको अभिनय छ । स्वरुप थापाको छायांकन रहेको भिडियो ह्वाइट पिजन मिडिया, डब्लु.पि. इन्टरटेन्टमेन्टको निर्माण भएको हो ।
काठमाडौं : दर्जन बढी हिट सिनेमा दिएका, चार दशक लामो समयसम्म निरन्तररुपमा चलचित्र क्षेत्रमा आफ्नो समय विताएका निर्देशक मदन घिमिरेद्वारा निर्देशित ‘काली दोभान’ गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतको भिडियोमा प्रकाश सपुत र मेलिसा कार्कीको मुख्य भूमिका रहेको छ । निर्देशक घिमिरेको यो पहिलो दोहरी भिडियो हो । यसमा सरोज आचार्य क्षेत्रीको शब्द, बाबुकृष्ण परियार र समुन्द्र परियारको स्वर रहेको छ । गीतमा बाबुकृष्ण कै सङ्गीत रहेको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies