काठमाडौं : कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्र ‘चिठ्ठी’को पोष्ट प्रोडक्सनको कार्य पूर्णरुपमा सम्पन्न भएको निर्माण पक्षले बताएको छ ।
एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र चिठ्ठीमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर ‘खवपु’, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, कृष्ण भट्टराई, डेविल सिंह, रश्मि भट्ट, उद्धव भट्टराई, राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सरोज कोइरालाको संगीत, शिब परियार, बेनिसा पौडेल, बसन्त अर्यालको स्वर रहेको चिठ्ठीमा डा.कृष्णहरि बराल र कमला जोशीको शब्द रचना रहेको छ । चलचित्रमा एउटा शिवताण्डव भजनसमेत रहेको छ । जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् ।
जीवन पराजुली एवम् राजन खरेलको छायाँकन रहेको चलचित्र चिठ्ठीको काठमाडौं, काभ्रेपलाञ्चोक, ललितपुरलगायतका रमणीयस्थलमा छायाँकन गरिएको छ । चलचित्र २०२४ भित्रै प्रदर्शनमा आउने अनुमान गरिएको छ । सञ्चारकर्मी कमला जोशी निर्माता रहेको चलचित्रका निर्देशक माधव राज खरेल हुन् ।
काठमाडौंः नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं तथा साँस्कृतिक संस्थानको संयुक्त आयोजनामा भारतकी प्रतिष्ठित कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा तीन सदस्य समुहद्वारा ‘कथक नृत्य वाचन कार्यक्रम काठमाडौंमा गरिएको छ ।
विगत ३५ वर्षदेखि शास्त्रीय नृत्यको कथक विधामा सक्रिय रहेकी नृत्य कलाकार फड्केको समुहद्वारा भगवान् शिव, कृष्ण, दुर्गा, पशुपतिनाथ र तीन तालमा आधारित छ वटा कथक नृत्यको प्रस्तुति मङ्गलवार काठमाडौंमा भएको थियो । उनलाई युवा कलाकार सुरवी सिन्त्रे र रसिका गाङ्गलले नृत्यमा साथ दिएकी थिइन् ।
सो समूहले नेपालका तीन स्थानमा प्रस्तुतिहरु दिने कार्यक्रमअनुसार दोस्रो प्रस्तुति असोज १७ गते विराटनगरस्थित आरोहण गुरुकुलमा र तेस्रो प्रस्तुति १९ गते पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा रहने छ ।
काठमाडौं : चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा लघु चलचित्र ‘संघर्ष’ उत्कृष्ट भएको छ । विलक्षण क्रियसन प्रा.लि. र स्टार वान इन्टरटेनमेन्ट प्रा.लि.द्वारा आयोजित चौथो सर्ट फिल्म फेस्टिभल तथा अवार्ड समारोहमा संघर्ष उत्कृष्ट भएको हो । अवार्ड समारोहमा सहभागी एक दर्जनभन्दा बढी सर्ट फिल्मबाट संघर्ष उत्कृष्ट भएको हो ।
यस्तै चरित्र भूमिकामा उत्कृष्ट चरित्र अभिनेताको अवार्ड चलचित्र संघर्षबाटै प्रेम पाण्डेले जितेका छन् । चलचित्र संघर्षबाटै उत्कृष्ट सम्पादकको अवार्ड शाहिल खानले हासिल गरेका छन् ।
सो प्रतियोगितामा उत्कृष्ट अभिनेताको अवार्ड सर्ट फिल्म कहानी एकादेशकोबाट सागर लम्साल बलेले जितेका छन् । यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र प्रवासीको जीवनबाट अभिनेत्री सरिता लामिछानेले हासिल गरेकी छिन् ।
यस्तै उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड सर्ट फिल्म ए हिडन लाइफबाट राजन खरेलले प्राप्त गरे भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र दुर्गमण्डुबाट माधव राज खरेलले हासिल गरेका छन् ।
सर्ट फिल्म अवार्ड २०२३ को निर्णायकमा अभिनेता आर्यन सिग्देल, अभिनेता बीरेन्द्र हमाल, अभिनेता तेज गिरी र चलचित्र निर्देशक दिनेश राउत रहेका थिए ।
काठमाडौं : ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’को सातौं संस्करणमा सिनियर र जुनियर केटा र केटी गरेर यी ४ विजेता चुनिएका हुन् ।
प्रतियोगितामा जुनियर केटातर्फ ब्रबिम बराल र सिनियर केटातर्फ आरुष भट्टराई विजेता बन्दा जुनियर केटीतर्फ सायुरी कडेल र सिनियर केटीतर्फ अक्क्षयनी दाहालले उपाधि चुमे ।
त्यस्तै प्रतियोगितामा जुनियर केटातर्फ सम्भव जैन फष्ट रनअप, आर्देन सुवेदी सेकन्ड रनरअप चुँनिदा सिनियर केटातर्फ भियोम गोयल फष्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप हुन सफल भए ।
त्यस्तै प्रतियोगितामा जुनियर केटीतर्फ सदिक्षा जिसी फष्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअप बन्दा सिनियर केटीतर्फ सावलिन महर्जन फष्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल स्पर्धामा सम्पूर्ण देवापाटे (प्रिन्सिपल माछापुच्छ्रे स्कुल तथा एकडेमिक निर्देशक), लव कार्की (संचारकर्मी), पुनम भट्ट (अफिसर अर्थमन्त्रालय), मुकुन भुषाल (अभिनेता), जयराम अधिकारी (मातृभुमि स्कुलका कोर्अडिनेटर), प्रदीप बज्राचार्य (अध्यक्ष टिम नेपाल) लगायत निर्णायक रहेका थिए । हेर एण्ड मेकअप पार्टनरको रुपमा मन्जुमेकअप स्टुडियोले साथ दिएको थियो ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता नियमित आयोजना हँुदै आएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । प्रतियोगिताको डान्स कोरियोग्राफर संयुक्त स्थापित रहेका थिए ।
७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी अवसरको अलवा दावा एचएमसी नेपाल प्रा.लि.को तर्फबाट गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।
कार्यक्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खड्का, चलचित्र सेन्सर बोर्डका पूर्व सदस्य राजेश महर्जनलगायत चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
काठमाडौं : अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ परेको दिनदेखि तीन दिन अर्थात आइतबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिए पनि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हाजिरी जमानीमा रिहा गरेको हो ।
उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । रिहा भएपछि अनमोल केसी निर्माता सुनिलकुमार थापाको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका छन् ।
फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको थियो ।
काठमाडौं : आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको थियो । फिल्म ‘रावायण’ फिल्मका लागि एड्भान्स लिएर काम नगरेको र रकम पनि फिर्ता नगरेको भन्दै निर्माता सुप्रिया कटुवालले दायर गरेको उजुरीपछि अनमोल पक्राउ परेका थिए ।
अनमोललाई पक्राउ परेरेको दिनबाट आइतबारसम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो । अनमोललाई पुन: सोमबार अदालतमा उपस्थित गराउनुपर्ने हुन्छ ।
काठमाडौं : संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को ‘तिमीलाई म कति माया गर्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगति महरा, वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’लगायतले संयुक्तरुपमा गीत सार्वजनिक गरेका हुन् ।
थापाको संगीत रहेको गीतमा संगीतकार स्वयम् र अञ्जु पन्तको स्वर तथा प्रल्हाद शाहको शब्द रहेको छ । यस्तै माधव शर्माले निर्देशन गरेको गीतको भिडियोमा लाइन र लालना चिमरियाको अभिनय, नवराज उप्रेतिको छायाँकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ ।
कार्यक्रममा संगीतकार थापाले गीतलाई उत्कृष्ट बनाउन हरसम्भव कोसिस गरेको भन्दै अब दर्शक तथा समीक्षकबाट प्राप्त हरेक प्रतिक्रिया आफूलाई स्वीकार्य हुने बताए ।
यस्तै प्रमुख अतिथि सदस्य सचिव महराले आफूले संगीतकार थापाका गीतहरु सुन्ने गरेको भन्दै यो गीत पनि निकै मन परेको बताइन् । उनले थापा जस्ता अथाह प्रतिभाका धनी संगीतकारहरुलाई कसरी राज्यले थप सेवा सुविधा प्रदान गर्दै संरक्षण गर्न सक्छ त्यसमा आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् । गायिकासमेत रहेकी सदस्य सचिव महराले संगीतकार थापाको सिर्जना गीतमा प्राण भर्न सफल रहने गरेको भन्दै मुक्तकण्ठले प्रशंसासमेत गरिन् ।
कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंहले आफू संगीतकार थापाको ठुलो प्रशंसक रहेको बताए । जहिले पनि केही न केही नवीनतम् सिर्जना पस्कने थापाको खुबी रहेको भन्दै उनले भने, ‘संगीतमा साधना र संस्कारले ठूलो अर्थ राख्छ, यी सबै कुरा संगीतकार थापामा छ । उनको साधना र तपस्या संगीतमा झल्कने गरेको छ ।’
यस्तै संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले थापा संगीतकार संघले मात्र नभएर सिंगो नेपाली संगीतले नै गर्व गर्ने संगीतकार भएको बताए । जस्तोसुकै परिस्थितिमा पनि निरन्तर संगीतमै सक्रिय रहेको भन्दै उनले संगीतकार थापा सक्रिय मात्र नभएर उत्कृष्ट संगीत साधक भएको पनि बताए ।
यस्तै चर्चित गायक शिव परियारले आफू संगीतकार थापाको सिर्जनाको फ्यान भएको बताए । केही गीतमा सहकार्यसमेत गरेको भन्दै शिवले आफू उनको संगीतमा गीत गाउन सधैं आतुर रहेको समेत बताए । संगीत पढेर, बुझेर सिर्जनामा लागेकोले पनि उनको सिर्जनामा संगीतप्रतिको समर्पण झल्कने उनी बताउँछन् । यस्तै गायक परियारले कलाकार चिमरियाको प्रसंसा गर्दै नेपाली म्युजिक भिडियो क्षेत्रले एउटा राम्रो कलाकार पाएको जनाए ।
कार्यक्रममा संगीत गुरु श्री केसी, फिल्म सोसाइटी नेपालका महासचिव राजेश बिसुराल, राष्ट्रिय लोक सांस्कृतिक संघका महासचिव योगेन्द्र उपाध्याय, व्युटि पेजेण्ट एशोसियसनका महासचिव निशु कान्त झा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति राइट ट्युनका कार्यकारी निर्देशक शाहीले आफूलाई संगीतकार थापाको सिर्जना मन परेकैले आफ्नो कम्पनीले लगानी गरेको जनाए । उनले आफ्नो कम्पनीले उत्कृष्ट सिर्जना गर्ने हरेक श्रष्टासँग सहकार्य गर्दै अघि बढ्नेसमेत बताए ।
नेपाली श्रव्यदृश्य क्षेत्रमा अलग पहिचान बनाउन सफल लेखक तथा निर्देशक हुन्, गणेश सुवेदी । चलचित्र, वृत्तचित्र, टेलिभिजन कार्यक्रम वाहेक गीतकार एवम् साहित्यकारको परिचय समेत छ उनको । यसका अलावा हिमालयन इन्टरनेशनल अवार्डका अध्यक्ष एवम् गोल्डेन हर्स इन्टरनेशनल अवार्डका कार्यक्रम संयोजक गणेश सुवेदी नेपाल सांस्कृतिक महासंघका केन्द्रीय महामन्त्री समेत हुन् । गोल्डेन हर्स फिल्मस प्रा.लि.ले क्यानडामा आयोजना गर्न गइरहेको दोस्रो गोल्डेन हर्स इन्टरनेशनल अवार्ड तथा नेपाली चलचित्र तथा गीतसंगीत क्षेत्रको विकास र प्रवर्द्धनसँग सम्बन्धित विभिन्न विषयमा गणेश सुवेदीसँग मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
दोस्रो गोल्डेन हर्स इन्टरनेशनल अवार्ड क्यानडामा नै आयोजना गर्नुको कारण ?
नेपाल सांस्कृतिक सम्पदा, भाषा, कला, साहित्यमा दक्षिण एसियामा नै अग्रणी मुलुक हो । प्राकृतिकरूपले सम्पन्न मुलुक, हिमाल, पहाड र तराईको आकर्षक भुगोल र यहाँको विशिष्ट जनजीवन विश्वजगतका लागि नौलो विषय हो । नेपाली गीतसंगीत यहाँको मानवीय जीवन प्रेरणका स्रोत हुन् । गीतसंगीत यहाँको सम्पदा र संस्कार नै भएका छन् । चलचित्र क्षेत्रले विस्तारै फड्को मार्दै गइरहेको छ । एनालग प्रविधिबाट डिजिटल प्रविधिमा प्रविष्ट गर्दै गइरहेको अवस्थामा यस क्षेत्रको विकासका लागि गतिविधि सञ्चालन गर्नु सम्पूर्ण गीतसंगीत र चलचित्रकर्मीहरूको दायित्व पनि हो । यहाँको गीतसंगीत र चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्नु नै यसको मुख्य उद्देश्य हो । यसले नेपाली गीतसंगीत र चलचित्र क्षेत्रको प्रवर्द्धनमा ठूलो टेवा दिनेछ ।
नेपालमा अवार्ड कार्यक्रम आयोजना गर्दा र विदेशमा आयोजना गर्दा खासगरी सम्बन्धित क्षेत्र र मुलुकले कसरी लाभ लिन सक्छ ?
बजारको विस्तार नै हरेक उद्योग वा क्षेत्रको पहिलो रोजाइ हो । जबसम्म उत्पादनलाई व्यापकरूपमा वितरण गर्न सकिन्न तबसम्म उद्योगले प्रतिफल दिन सक्दैन । नेपाली चलचित्र र गीतसंगीत क्षेत्रको पहिलो बजार नेपाल नै हो । तर यसमै सीमित रहेर भोलिको पुस्तालाई यस क्षेत्रमा आत्मनिर्भर बनाउन सकिन्न । फेरि अर्को कुरा नेपाल सुन्दर एवम् आकर्षक मुलुक मात्रै नभएर प्राचिन संस्कार र सभ्यताको भण्डार पनि हो । फरक एवम् विशिष्ट शैलीका गीतसंगीत र चलचित्रका लागि नवीन कथा यहाँको विशिष्टता हो । नयाँ नयाँ कथानकलाई विश्व बजारमा पुर्याउनु हाम्रो प्राथमिकता पनि हो । त्यसैले विदेशी मुलुकमा आयोजना गरिने यस्ता अवार्डले नेपालको प्रवर्द्धन गर्छ । विश्वका चलचित्र एवम् गीतसंगीत पारखीका लागि नेपाल, नयाँ गन्तव्य बन्न सक्छ । हाम्रो उद्देश्य पनि नेपाली गीतसंगीत र चलचित्रको विश्वव्यापीकरण नै हो । अवार्ड कार्यक्रम विश्वका अन्य मुलुकमा समेत आयोजना गर्ने लक्ष्य आयोजकले लिएको छ ।
नेपालमा आयोजना हुँदै आएका अवार्डहरूबारे विभिन्न खाले जनगुनासोहरू आइरहेका छन् । यसलाई कसरी लिनुहुन्छ ?
मैले पनि सुनेको छु । यस विषयमा मेरो स्पष्ट धारणा के छ भने आयोजकले अपारदर्शीरूपले कार्यक्रम आयोजना गर्दा प्रश्नहरू उठ्ने गर्छन् । जबसम्म अवार्डलाई निश्चित कार्यविधिअनुरुप सञ्चालन गरिँदैन स्पष्ट मार्गचित्र अनुरूप प्रक्रिया अघि बढाइँदैन त्यहाँ स्वतः प्रश्न उठ्छ । सिक्दै अघि बढ्दै गरेको अवस्थामा यस्ता खाले कमी कमजोरीहरू हुन जान्छन्, तर हामीले आयोजना गर्ने अवार्ड कार्यक्रमहरू निश्चित मापदण्ड निर्धारण गरी, पारदर्शी तवरले सबै सरोकारवालासँग समन्वय गरी आयोजना गर्दै आएका छौं । गुनासो नै नआउने गरी गतिविधि गर्ने गरेका छौं । तर पनि कहीँकतै कमीकमजोरी भएमा सुधार्दै लानेछौं ।
तपाईंहरूले आयोजना गर्ने अवार्डको छनोट प्रक्रिया र विधि के हो ?
सर्वप्रथम त हामीले आवेदनका लागि खुला आह्वान गर्छौं । प्रतिस्पर्धाका लागि सम्बन्धितलाई आग्रह गर्दछौं । सबैको पहुँचका लागि हाम्रो कम्पनीको वेबसाइटमा समेत फारम भर्न मिल्ने गरी व्यवस्था मिलाएका छौं । आफैं उपस्थित भएर वा अनलाइनमार्फत निःशुल्क आवेदन दिन मिल्छ । त्यसका लागि गीतसंगीत र चलचित्र क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तित्वहरू रहेको निर्णायक समितिका सदस्यहरूले आवेदकहरूको आवेदनका आधारमा सम्बधित क्षेत्र र विषयको अध्ययन अनुसन्धान गरी उत्कृष्टताका आधारमा उत्कृष्ट पाँच प्रतिस्पर्धीको छनोट गर्ने गर्दछन् । छनोटमा परेका उत्कृष्ट पाँच प्रतिस्पर्धीहरू मध्येबाट पुनः छनोट गरी उत्कृष्टताका आधारमा अवार्ड विजेता छनोट गरी अवार्ड समारोहमा घोषणा गरेर अवार्ड तथा प्रमाणपत्र प्रदान गरिन्छ ।
अब फरक प्रसंगमा जाउँ, तपाईं नेपाली गीतसंगीत र चलचित्र क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ, पेशाप्रति सन्तुष्ट हुनुहुन्छ ?
शतप्रतिशत सन्तुष्ट छु । पेशाप्रतिको इमान्दारिता र लगनशीलताले मलाई यो क्षेत्रमा टिक्न सहज भएको छ । कामप्रति झुकाव राख्ने कारण नै कामको लागि भौतारिनु पर्ने अवस्था छैन । फेरि मैले लेखन, निर्देशन, स्वरांकन, उपन्यास वाचन, स्टेज कार्यक्रमहरूमा उद्घोषण लगायतका कार्यहरू समेत गर्ने गर्दछु । श्रव्यदृश्य तथा प्रकाशनका कार्यमा अनुभव भएका कारण पनि आजसम्म खाली बस्नु परेको छैन । एउटा सन्तुष्ट जीवन बाँचेको छु । मनोरञ्जन उद्योगमा इमान्दारितापूर्वक लाग्ने मान्छे भोको छैन नेपालमा, यो मेरो कन्फिडेन्ट हो ।
तपाईं लामो समयदेखि लोकतान्त्रिक अभियानमा पनि सक्रिय हुनुहुन्छ । नेपाली कला, संस्कृति, गीतसंगीत र चलचित्रको लोकतान्त्रिकरण अवस्था कस्तो पाउनु भएको छ ?
हो म नेपाली कांग्रेस पार्र्टीको शुभेच्छुक भ्रातृसंस्था नेपाल सांस्कृतिक महासंघमा आवद्ध छु । महासंघको केन्द्रीय महामन्त्रीको रूपमा जिम्मेवारी निभाउँदै आएको छु । यो राजनीतिक विचारधारामा संलग्न भएको पनि लामो समयदेखि नै हो । हामीले उठाउने विषय पनि मुलुकका भाषा, कला, संस्कृति, साहित्य, चलचित्र, गीतसंगीत, रितिरिवाज, चालचलन, मेलापर्व लगायतका विषयको संरक्षण एवम् प्रवर्द्धन नै हो । यस अवधिमा कला, संस्कृतिलगायतका विषयमा लोकतान्त्रिक विचारधाराको प्रतिनिधित्व भएको छ । खुला प्रतिस्पर्धा छ । यस क्षेत्रमा संलग्न व्यक्तित्वहरूले राम्रो आयआर्जन गरेका छन् । सरकारले पनि यस क्षेत्रमा राम्रो वातावरण बनाउँदै लगेको छ । केही कमीकमजोरीहरू नभएका होइनन् तर पनि हामी ‘लोकतान्त्रिक समाजवादका लागि लोकतान्त्रिक संस्कृति’ भन्ने नाराका साथ सबैको सम्मान, सुरक्षा र पहिचानका लागि एकजुट भएर अघि बढेका छौं ।
तपाईंसँग नेपाली गीतसंगीत र चलचित्रलाई विश्व बजारमा पुर्याउने स्पष्ट मार्गचित्र के छ ?
गीतसंगीत र चलचित्रको हिजोको अवस्था र आजको अवस्थामा धेरै परिवर्तन आएको छ । परिस्थिति बदलिएको छ । अहिले हामीकहाँ दक्ष प्राविधिक तथा होनहार कलाकारहरू उपलब्ध छन् । एनालग प्रविधिलाई डिजिटल प्रविधिले विस्थापित गरेको पनि धेरै समय भइसकेको छ । यसको भरपुर फाइदा उठाउँदै नेपाली श्रव्यदृष्य सामग्रीहरू विश्व बजारमा विचरण गर्न थालिसकेका छन् । विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरू, कार्यक्रमहरू र व्यावसायिक चलचित्र घरहरूमा समेत नेपाली चलचित्रहरू चल्न थालेका छन् । यसमा नेपाली संस्करणका यस्ता अवार्ड समारोहहरूले अझै महत्वपूर्ण भूमिका खेल्ने छ । त्यसैगरी नेपालका दुरदराजमा रहेका नवीन कथाहरू एवम् सुन्दर पर्यटकीय गन्तव्यहरूलाई विश्व बजारमा पुर्याउन पनि यस्ता कार्यक्रमले मलजल गर्ने गर्दछन् । यो नेपाली गीतसंगीत र चलचित्र उद्योगका लागि अत्यन्त सकारात्मक कुरा हो र यही नै मेरो एउटा स्पष्ट मार्गचित्र हो ।
काडमाडौं : देउडा सांस्कृतिक मञ्चको आयोजनामा 'देउडा आइडल-२०८०' हुने भएको छ । आयोजकले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा संस्कृतिसँगै भेषभुषाको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजन गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । देउडा आइडलको अडिसन कर्णाली र सुदूरपश्चिमका १९ जिल्लामा सञ्चालन हुने छ । प्रत्येक पालिकामा प्रतिभा छनोटका लागि अडिसन हुने आइडलका संयोजक महेश कुमार औजीले बताए ।
देउडा आइडलको प्रायोजनमा हिमाल डेन्टल हस्पिटल गरेको छ भने कार्यक्रमको प्रत्यक्ष प्रशारण टिभी टुडे टेलिभिनले गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनक राज पन्तले देउडा आइडल सुदूर र कर्णालीका प्रतिभाहरुका लागि उत्कृष्ट मञ्च भएको बताए । साथै पन्तले ब्रोडकास्ट पार्टनरको हैसियतले कार्यक्रम सम्पन्न गर्नमा टिभी टुडेले पनि सक्दो सहयोग गर्ने बताए ।
यस्तै वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले देउडा आइडललाई सफल पार्न सम्पूर्ण देउडाप्रेमी जनताले सहयोग गर्ने बताए । जोशीले अबको दश वर्षमा देउडा गीत सारा नेपालीले गाउने बताए । कार्यक्रमका संयोजक औजीले देउडा संस्कृतिलाई जीवन्त बनाउनका लागि देउडा आइडल आयोजन गर्न लागिएको जानकारी दिए । लामो समयको प्रयासपछि देउडा आइडल गर्ने अवस्थामा पुगिएको औजीको भनाइ थियो ।
यस्तै गायक तथा संगीत साधक तिलक सिंह पेलाले देउडा आइडल मानसखण्डको संस्कृतिलाई संरक्षण गर्नका लागि कोसेढुंगा सावित हुने बताए । देउडा आइडलको पुरस्कार राशी अर्को पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ । आइडलको निर्णायक मण्डलमा नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुन रहने छन् । दिनेश खड्काले निर्देशन गर्ने देउडा आइडल मंसिरदेखि टेलीभिजनमा प्रशारण गर्ने तयारी गरिएको छ । आइडलसम्बन्धी थप जानकारी अर्को पत्रकार सम्मेलनमार्फत गरिने आयोजकले जनाएको छ ।
काठमाडौं : रियालिटी शो 'एनआरएन द सिंगर' को लागि भोटिङ खुला भएको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ शुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो । प्राप्त अडियोबाट छनोट गरिएका उत्कृष्ट ४० कलाकारका प्रस्तुतिहरु स्पेस फोरके टेलिभिजनबाट प्रसारण भइसकेका छन् ।
पहिलो सिजनमा विश्वभरबाट १३ दिनको अवधिमा ३७ देशबाट ३१२ प्रतिस्पर्धीले भिडियो अडिसन दिएको र प्रशारण योग्यबाट उत्कृष्ट ४० जना छनोट गरिएको थियो । टेलिभिजनबाट प्रशारण भएको सोही भिडियोबाट उत्कृष्ट २० मा जजहरुले नै छनोट गरेका हुन् ।
अडिसनका बेला प्राप्त भएका उत्कृष्ट ४० मध्येबाट जजहरुले २० जनाको भिडियो छनोट गरेका थिए । सोही २० जनाबीच फेरि प्रतिस्पर्धा गरेर १५ जना छनोट गरिएको छ । अबको एपिसोडमा उत्कृष्ट १५ को प्रदर्शनपछि उत्कृष्ट १२ छनोट हुनेछन् ।
अहिले उत्कृष्ट १५ मा लोकेन्द्र दूधराज, एरिक लिम्बु सम्बाहाम्फे, युक्ति विमली, शिशिर थापा, केदार कार्की, राधिका पोखरेल, कृष्ण खवास, प्रदीप कोयू राई, विष्णु क्षेत्री र कर्मा दोङ तामाङ रहेका छन् । यस्तै गुण मगर निशु, भीम शेर्मा लिम्बू, सुवासचन्द्र पुनमगर, लाक्पा डेन्डी शेर्पा र भेषबहादुर गुरुङ रहेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा उत्पादन गरिएको कार्यक्रममा अब उत्कृष्ट १५ बाट १२ जना छनोटका लागि भोटिङ खुला गरिएको छ । त्यसका लागि खल्ति एपसँग सहकार्य गरिएको युनिटेकका कार्यक्रम उत्पादक सुरज राइले जानकारी दिए । भोटिङका लागि अक्टोबर १ अपरान्ह ५ बजेसम्मको लागि समय दिइएको छ ।
एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई नेपालबाट रहेका छन् भने युकेबाट शर्मिला बर्देवा र रुपककुमार शाहीसमुदा अस्ट्रियाबाट जोडिएका छन् ।
१५ जनाबाट उत्कृष्ट १२ मा पुग्दा २५ प्रतिशत भोटिङको नम्बर जोडिने छ भने ७५ प्रतिशत निर्णायकको नम्बर हुने छ । उत्कृष्ट १२ बाट १० मा जाँदा भोट र निर्णायकको बराबर ५० प्रतिशत हुने छ भने उत्कृष्ट १० बाट ग्रान्ड फिनाले (फाइनल) मा पुग्ने छ । ५ जनाको छनोट गर्दा भने ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ । तर, ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ उपाधि जित्न सफल हुनेछन् ।
उपाधि जित्नले नगदरु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउने कार्यक्रमका उप संयोजक प्रवीण गुरुङले जानकारी दिए ।
अक्टोबर १ मा उत्कृष्ट १५ को प्रस्तुति स्पेस फोर के टेलिभिजनमा नेपालको समय अनुसार राति १० बजे प्रसारण हुने छ । अक्टोबर ५ मा उत्कृष्ट १२ को प्रस्तुति प्रसारण पछि अक्टोबर ९ मा सेमिफाइनल (उत्कृष्ट १०) को प्रस्तुति प्रसारण गरेर फिनालेका लागि उत्कृष्ट ५ जनाको छनोट गरिने छ । फिनाले अक्टोबर १५ मा काठमाडौंमा आयोजना गरिने छ ।
खल्ती एपबाट कसरी भोट गर्ने ?
शुरुमा खल्ती एप ओपन गर्ने, त्यसपछि इन्टरटेनमेन्ट सेक्सनमा जाने । अनि एनआरएन द सिंगर देखिने छ । त्यसपछि मन पर्ने प्रतिस्पर्धीलाई ट्याप गरेर भोट गर्न सकिने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies