एजेन्सी : रुसको दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच क्रेमलिनमा भेटवार्ता भएको छ । साथै वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा चिनियाँ राष्ट्रपतिले जोड दिएका छन् ।
दुई राष्ट्रपतिबीच चीन र रुस सम्बन्ध र आपसी हितका विषयमा गहन छलफल हुनाका साथै पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याउने सम्बन्धमा विचार आदानप्रदान भएको थियो ।
राष्ट्रपति सीले समकक्षी पुटिनको निमन्त्रणामा रुसको राजकीय भ्रमण गर्न पाउँदा आफू खुसी भएको उल्लेख गर्दै १० वर्षअघि आफू राष्ट्रपति निर्वाचित भएपछि आफू पहिले रुसको भ्रमणमा आएको तथा उक्त भ्रमणको सम्झना आफ्नो स्मृतिमा आज पनि ताजा रहेका बताए ।
राष्ट्रपति सीले विगत १० वर्षदेखि आफू र राष्ट्रपति पुटिन निकट सम्पर्कमा रहेको तथा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को २०औँ राष्ट्रिय अधिवेशनबाट आफू केन्द्रीय समितिको महासचिवमा पुनः निर्वाचित भएपछि रुसी नेता पुटिनले तत्काल बधाई सन्देश पठाएकोमा धन्यवाद व्यक्त गरे । साथै उनले आफू केही दिनअघि मात्र चीनकाो राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पनि तत्काल बधाई ज्ञापन गर्नुभएकामा राष्ट्रपति पुटिनप्रति आभार व्यक्त गरे ।
चिनियाँ राष्ट्रपतिले आगामी वर्ष रुसमा राष्ट्रपतीय निर्वाचन हुने र नेता पुटिनको सबल नेतृत्वमा रुसले देशको विकासका साथै कायाकल्प गर्ने उल्लेख गर्दै राष्ट्रपति पुटिनप्रति रुसी जनताको दृढ समर्थन रहनेमा आफू विश्वस्त रहेको बताए । चीनले जहिले पनि स्वतन्त्र परराष्ट्र नीतिलाई समर्थन गर्दै आएको, चीन– रुस सम्बन्धलाई अझ सुदृढ बनाउन बेइजिङले आफ्नो मौलिक हित र विश्वको प्रचलित प्रवृत्तिका आधारमा रणनीतिक छनोट गरेको उनले स्पष्ट गरे ।
चीन–रुस सम्बन्ध आजको अवस्थामा पुग्नुमा दुई राष्ट्रबीचको ऐतिहासिक सम्बन्धको सुदृढ आधार रहेको तर्क गर्दै चीन र रुस एकअर्काका सबैभन्दा ठूलो छिमेकी एवम् रणनीतिक साझेदार भएका दोहोर्याए । दुवै देशले आफ्नो समग्र कूटनीति र विदेश मामिलासम्बन्धी नीतिमा आफ्नो सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका चिनियाँ राष्ट्रपतिले उल्लेख गरे ।
चीन रुससँगको रणनीतिक सम्बन्ध सुदृढ गर्न दृढ रहेको बताउँदै राष्ट्रपति सीले चीन र रुस दुवै राष्ट्र राष्ट्रिय विकास, विश्व बहुध्रुवतालाई समर्थन तथा अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रका लागि काम गर्न प्रतिबद्ध रहेका उल्लेख गरे ।
चिनियाँ राष्ट्रपतिले दवै देशले विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई अझ सुदृढ बनाउनका साथै संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय मञ्चमा समन्वय र सहयोगलाई बलियो बनाउँदै विश्व शान्ति र स्थायित्वको आधार खडा गर्नुपर्नेमा जोड दिए ।
रुसको राजकीय भ्रमण गरेकोमा राष्ट्रपति पुटिनले सीप्रति आभार व्यक्त गर्दै बितेका १० वर्षमा विकासका सबै क्षेत्रमा चीनले गरेको प्रभावशाली एवम् उत्कृष्ट उपलब्धिको सराहना गरे । राष्ट्रपति सीको सबल नेतृत्वमा त्यो संभव भएको भन्दै त्यसले चीनको राष्ट्रिय राजनीतिक प्रणाली र शासन प्रणालीको सामथ्र्यलाई प्रमाणित गरेको रुसी राष्ट्रपतिले बताए ।
राष्ट्रपति सीको नेतृत्वमा चीनले निर्धारण गरेका विकास र समृद्धिका लक्ष्यहरू सफलतापूर्वक हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउँदै राष्ट्रपति पुटिनले दुवै पक्षको ठोस् प्रयासले हालैका वर्षमा रुस–चीन सम्बन्धले विभिन्न क्षेत्रमा फलदायी नतिजा दिएको उल्लेख गरे । उनले द्विपक्षीय व्यावहारिक सहयोगलाई अझ सबल बनाउन, अन्तरराष्ट्रिय मामिलामा सञ्चार र सहकार्य गर्न मस्को सधै प्रतिबद्ध रहेको बताए ।
वार्ताका क्रममा युक्रेन मुद्दामा पनि दुवै पक्षबीच गहन विचार आदानप्रदान भएको थियो । राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताए । उनले विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।
यसैबीच संयुक्त राज्य अमेरिकाले युक्रेनमा युद्ध अपराध रोक्न चिनियाँ राष्ट्रपतिले रुसी राष्ट्रपतिलाई दबाब दिनुपर्नेमा जोड दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले राष्ट्रपति सीलाई आफ्ना रुसी समकक्षीलाई युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाउन आग्रह गरेका छन् । प्रवक्ता जोन किर्बीले युद्धविरामको खोजी पर्याप्त नहुने पनि बताएका छन् ।
प्रवक्ता किर्बीले भनेका छन्, ‘राष्ट्रपति सीले राष्ट्रपति पुटिनलाई युक्रेनी शहर, अस्पताल र विद्यालयमा बमबारी बन्द गर्न, युद्ध अपराध र अत्याचार रोक्न र आफ्ना सेना फिर्ता गर्न दबाब दिनुहुनेछ भन्नेमा अमेरिका विश्वस्त छ ।’
जापानका प्रधानमन्त्री फुमियो किशिदा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको अप्रत्यासित भ्रमण गर्दै छन् । उनले रुसको युक्रेनप्रति ऐक्यबद्धता र समर्थन जनाउने अपेक्षा गरिएको छ । जापान र चीनले एकअर्कालाई क्षेत्रीय प्रतिद्वन्द्वीका रूपमा हेरेपनि युक्रेनमा रुसी आक्रमण भएदेखि टोकियोले किएभलाई मानवीय, आर्थिक र गैर–घातक सैन्य सहायताको प्रदान गर्दै आएको छ ।
एजेन्सी : बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले मंगलबार जानकारी दिएका छन् । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको छ ।
पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य रहेको छ । खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषद्का नेता ४२ वर्षीय आतिफ मुन्सिफ खानको सोमबार राति इस्लामाबादबाट ३३ किलोमिटर उत्तरमा रहेको हवेलियन सहरमा हत्या भएको प्रहरीले जनाएको छ ।
खान, अंगरक्षक र प्रहरसहित १० जनालाई बोकेको गाडीमा दुई तर्फबाट पाँच जनाले गोली चलाएको र ती सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी अधिकारी ओमर तुफेलले एएफपीलाई बताएका छन् ।
परिणामस्वरूप गाडीमा आगो लाग्यो र, यसमा सवार सबै जिउँदै जलेका छन् । जलेका शवहरू अहिले पहिचान बाहिर भएको उनले बताएका छन् । खान परिवारले आफ्ना प्रतिद्वन्द्वीहरूलाई हत्याको दोष लगाउँदै लगभग पाँच दशक पुरानो झगडाको कारण देखाउँदै पुलिसमा उजुरी दर्ता गरेका तुफेलले जानकारीले दिएका छन् ।
यसै पुनारो झगडाको कारण खानका बुबा र हजुरबुबाको पनि ज्यान गएको बताइएको छ । अर्को स्थानीय वरिष्ठ प्रहरी अधिकारी, साजिद तानोलीले घटनाको पुष्टि गरेका छन् । खान इमरान खानको नेतृत्वमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीआईआई) पार्टीका सदस्य थिए ।
एजेन्सी : नाइजेरियामा पानीजन्य संक्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ । नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य संक्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानमा देखाइएको छ ।
संयुक्त राष्ट्रसंघीय बालकोषले सो कुराको जानकारी दिएको हो । सो कोषले सोमबार प्रकाशन गरेको एक प्रतिवेदनमा यहाँ पानीजन्य संक्रमणको खतरा बढी देखिएको र यहाँका ठूलो संख्याका नागरिक यसबाट संक्रमित हुने खतरा रहेको पाइएको बताइएको छ ।
बालकोषले यहाँ शुद्ध र सफा पिउने पानी, सौचालय, सरसफाई र खानामा लगानी गर्नुपर्ने सुझाव नाइजेरिया सरकारलाई दिएको छ । यस्तो जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाई र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन पनि आग्रह गरिएको छ ।
देशमा आवश्यक मात्रामा पिउने शुद्ध पानी, चर्पी, स्वस्थ वातावरणको अभावका कारण यहाँका करिब एक तिहाइ बालबालिका स्वास्थ्य जोखिममा परेका युनिसेफले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
एजेन्सी : अफ्रिकी देश कंगोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार कंगोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरुले हमला गरेका थिए । उनीहरुले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् ।
इतुरीको एक गाउँमा उनीहरुले एक गाउँका सर्वसधारणमाथि गोली चलाएका थिए । रातिको समयमा आएका सशस्त्र समूहका सदस्यले गरेको हमलामा परेर कम्तीमा पनि १० जना सर्वसधारणको ज्यान गएको हो ।
त्यस्तै उत्तरी किभुमा पनि उनीहरुले गाउँलेमाथि हमला गरेका थिए । ती हमलामा परेर सर्वसाधारण मारिएका छन् । इतुरी र यस आसपासका गाउँमा भएको हिंसात्मक आक्रमणमा परेर ११ जना सर्वसाधारण मारिएका बताइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका सहायक प्रवक्ता फराह हकले सो कुराको जानकारी दिएका हुन् । उनले पछिल्ला केही हप्तामा पूर्वी कंगोका कैयौँ स्थानमा यहाँको सरकारसँग विद्रोह गरेको समूहले सर्वसाधारणमाथि हमला गर्ने गरेको छ । यहाँ संयुक्त राष्ट्रसंघीय मिसनले शान्ति स्थापनाका लागि प्रयास गरेको भएपनि हिंसाको अन्त्य हुन सकेको छैन ।
एजेन्सी : द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।
आईसीसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरेको बताएको छ । आईसीसी सदस्य देशका सरकारको सहयोग बिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुष्टिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ ।
मस्कोले आईसीसीका आदेशलाई अर्थहीन भन्दै खारेज गरेको छ । साथै मस्कोले आरोप अस्वीकार गर्दै पक्राउ पुर्जी जारी हुनुलाई अपमानजनक भनेर त्यसको निन्दा गरेको छ । रुसी नेता पुटिन आईसीसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति भएका छन् ।
रुस आईसीसीको पक्ष राष्ट्र नभएकाले राष्ट्रपति पुटिन पक्राउ पर्ने सम्भावना छैन । अर्थात् द हेगमा रहेको उक्त अदालतको आदेश त्यहाँ कार्यान्वयन हुने कुनै आधार पनि छैन । यद्यपि त्यसले राष्ट्रपति पुटिनको अन्तर्राष्ट्रिय यात्रामा असर पर्नसक्छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता लिएका विश्वका एक सय २३ सदस्य राष्ट्रमध्ये कुनैमा उनले पाइला राखेमा उनलाई पक्राउ गर्न सकिनेछ । आईसीसीका अध्यक्ष पिओटर होफमान्स्कीले पक्राउ आदेश कार्यान्वयन अन्तर्राष्ट्रिय सहयोगमा निर्भर हुने बताएका छन् ।
युद्धग्रस्त युक्रेनले राष्ट्रपति पुटिनविरुद्ध आईसीसीले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अदालतको कदमलार्य ऐतिहासिक निर्णय भन्दै स्वागत गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी साता हुने मस्को भ्रमण तथा रुसलाई चीनले सैन्य सहायता गर्ने समाचार सार्वजनिक भइरहेका बेला जारी भएको आईसीसीको आदेशले अन्तर्राष्ट्रिय जगत्मा तरंग पैदा गरेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्ना रुसी समकक्षी पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेका गरेका छन् । राष्ट्रपति पुटिनले युक्रेनमा युद्ध अपराध गरेको ठहर गर्दै पक्राउ पुर्जी जारी गर्नुलाई अमेरिकी राष्ट्रपति ‘न्यायसंगत’ भनेका छन् । अमेरिका पनि आईसीसीको पक्ष राष्ट्र होइन । राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट आफ्नो डेलावरस्थित निजी निवासतर्फ प्रस्थान गर्नुअघि उनले रुसी राष्ट्रपति पुटिनले ‘स्पष्ट रूपमा युद्ध अपराध गरेको’ पत्रकारहरूलाई बताए ।
गत महिना जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनमा रुसले मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँदै उसलाई दण्ड दिनुपर्ने बताएका थिए । रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उनले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरेका थिए ।
त्यसअघि पनि बाइडेन प्रशासनले युक्रेनमा मस्कोले युद्ध अपराध गरेका प्रमाण आफूसँग रहेको जनाउँदै मस्कोविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउनुपर्नेमा जोड दिँदै आएको थियो ।
एजेन्सी : सी जिनपिङ तेस्रो पाँच वर्षे कार्यकालका लागि चीनको राष्ट्रपति चयन भएका छन् ।
आज चीनको नेशनल पिपुल्स कंग्रेसले ६९ वर्षीय सीलाई तेस्रो कार्यकालको राष्ट्रपतिमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
तेस्रोपटक राष्ट्रपति चयन भएसँगै सीले माओ त्से तुङपछि देशको सबैभन्दा शक्तिशाली नेताको रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।
संसदले ६६ वर्षीय झाओ लेजीलाई संसदको नयाँ अध्यक्ष र ६८ वर्षीय हान झेङलाई नयाँ उपराष्ट्रपतिमा पनि निर्वाचित गरेको छ ।
बैठकले एनपीसी स्थायी समितिका १४ जना उपाध्यक्षसमेत चयन गरेको छ ।
एनपीसीले प्रधानमन्त्रीसहित बाँकी राज्य परिषद्का सदस्यहरु तथा अन्य सरकारी उच्च अधिकारीहरु पनि निर्वाचित गर्नेछ ।
केही दिनमा सी ले लामो समयसम्म सिको नजिक भएर काम गरेका लि छियाङ नयाँ प्रधानमन्त्री र तिङ स्वाइसियाङ कार्यकारी उपप्रधानमन्त्रीमा चयन गर्ने बताइएको छ ।
एनपीसीको बैठकले राज्य परिषद्का अंग तथा संस्थाहरुको सुधार सम्बन्धी योजनालाईसमेत पारित गरेको छ ।
नयाँ कार्यकालमा सीले तीन वर्षको कोरोना कहर र पश्चिमसँग बिग्रिएको सम्बन्धको कारण अर्थतन्त्रमा आएको अवरोध हटाउनुपर्ने चुनौती छ ।
यस्तै अमेरिकासँगको सम्बन्ध र युक्रेन रसिया युद्धमा चीनको भूमिकालाई उनले कसरी लग्छन् भन्ने पनि चासोका साथ हेरिएको छ ।
सन् २०१८ मा राष्ट्रपतिको कार्यकाल सीमा हटाएपछि सीलाई अर्को कार्यकाल राष्ट्रपति बन्ने वाटो खुला गरिएको थियो ।
उनी गत अक्टोबरमासत्तारूढ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको महासचिव निर्वाचित भएका थिए ।
एजेन्सी : जर्मनीको ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा छ जनाको मृत्यु भएको छ । गोलीकाण्डमा परी थुप्रै घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले केही घाइतेहरूलाई अस्पताल लगिएको बताएको छ । घाइतेहरूको संख्या र उनीहरूको अवस्थाबारे विवरण सार्वजनिक भएका छैनन् ।
इसाई धर्माबलम्बीको कार्यक्रम चलिरहेको ‘जहोभस विटनेस बैठक हल’मा बन्दुक आक्रमण भएको हो । अहिलेसम्म आक्रमणकारीको पहिचान भएको छैन भने आक्रमणको उद्देश्य पनि खुलेको छैन ।
ज्यान गुमाउनेमा आक्रमणकारी पनि हुनसक्ने अनुमान गरिएको छ । ह्याम्बर्गकै अर्को स्थान ग्रस ब्रोस्टलमा भएको गोली प्रहारमा पनि केही मानिसहरू घाइते भएका छन् ।
प्रहरीले स्थानीय क्षेत्रमा मानिसहरूलाई प्रहरी कारबाही नसकिएसम्म घरबाट बाहिर ननिस्किन भनेको छ ।
ह्याम्बर्गका आन्तरिक मामिला मन्त्री एन्डी ग्रोटले प्रहरीको विशेष फौज र ठूलो संख्यामा अधिकारीहरू घटनास्थलमा परिचालन गरिएको बताएका छन् ।
प्रहरीले सर्वसाधारणलाई घटनाको अनुमानबारे सार्वजनिक अभिव्यक्ति नदिन र हल्ला नफैलाउन अपिल गरेको छ । जहोभस विटनेस’ इसाई धार्मिक अभियानकर्मीहरू हुन् ।
न्यूयोर्कमा मुख्यालय रहेको यो अभियानको स्थापना १९औँ शताब्दीको अन्त्यतिर अमेरिकामा भएको थियो ।
एजेन्सी : बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ । कक्स बजारमा रहेको ११ नम्बर शरणार्थी शिविरमा आगलागीबाट कम्तीमा २ हजार घर टहरा जलेर नष्ट भएका छन् ।
आगलागीबाट हजारौं शरणार्थी बासविहीन बनेका छन् । ३५ वटा अस्थायी मस्जिद र १२ वटा प्रारम्भिक सिकाई केन्द्रहरु पनि जलेर नष्ट भएको बताइएको छ ।
बंगलादेशको दक्षिण पूर्वमा रहेको यो शिविरमा लागेको आगलागीका कारण १२ हजार मानिस घरबारविहीन भएका छन् ।
अधिकारीहरुका अनुसार कक्स बजारमा लागेको आगो नियन्त्रणमा आएको छ र ठूलो क्षतिको अनुमान गरिएको छ । आगलागीको यो घटनामा कुनै मानवीय क्षति भएको खबर छैन । आगलागीको कारण पनि खुल्न सकेको छैन ।
गत वर्ष जनवरीमा उखिया शरणार्थी शिविरमा भएको आगलागीमा ६ सय घर जलेर नष्ट भएका थिए । गत वर्ष मार्चमा भएको अर्को आगलागीमा करिब १० हजार आश्रयस्थल जलेर १५ जनाको मृत्यु भएको थियो ।
सन् २०१७ मा म्यानमारमा भएको सैनिक कारबाहीपछि भागेका करिब १० लाख रोहिंग्या शरणार्थीहरू बंगलादेशको शिविरमा बस्दै आएका छन् ।
एजेन्सी : ग्रीसमा दुईवटा रेल ठोक्किँदा कम्तिमा २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८५ जना यात्रु घाइते भएका छन् । मध्य ग्रीसको टेम्पे सहर नजिक यात्रुबाहक र मालबाहक दुईवटा रेल एकआपसमा ठोक्किएका हुन् ।
यात्रुबाहक रेल एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकी जाँदै गरेको तथा मालबाहक रेल थेस्सालोनिकीबाट लारिसाका लागि छुटेको थियो । दुर्घटनामा रेलका डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो ।
आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए । दुई वटा रेल आपसमा ठोक्किनुको कारण खुल्न नसकेको बताइएको छ ।
एजेन्सी : रुसले युक्रेनमा आक्रमण गरेको आज एक वर्ष पुगेको छ । गत वर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेर युद्धको शुरुवात गरेको थियो ।
आक्रमणको वर्ष दिन पुगेको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार उत्पादन बढाउने बताएका छन् । राष्ट्रपति पुटिनले राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिश्चित हुने बताएका छन् ।
एक वर्षको अवधिमा दुवैतर्फ गरी हजारौं सैनिक मारिएका छन् भने हजारौं सैनिक घाइते भएका छन् । युक्रेनबाट आधा भन्दा बढी मानिस देश छाडेर विभिन्न देशमा पुगेका छन् ।
युद्धका कारण अहिलेसम्म ८ हजार गैरसैनिक व्यक्तिहरू मारिएको तथ्यांक छ । १३ हजार बढी घाइते भएको तथ्यांक राष्ट्रसंघीय मानवअधिकार आयोगको छ ।
युद्धका शुरूवाती दिनहरूमा युक्रेनको राजधानी किएभसम्मै पुगेको रुसी सैनिक अहिले दक्षिणपूर्वी युक्रेनको डोनबास क्षेत्रमा केन्द्रित छ । डोनबास क्षेत्रलाई स्वतन्त्र घोषणा गरेको रुस त्यहाँबाट पछि नहट्ने पक्षमा छ ।
युक्रेनले आफ्नो भूमि फिर्ता लिने भन्दै प्रति आक्रमण जारी राखेको छ । तत्काल रुस–युक्रेन युद्ध अन्त्य हुने देखिएको छैन ।
राष्ट्रसंघीय साधारणसभाले रुसलाई युद्ध अन्त्य गर्न आह्वान गरेको छ । बिहीबार बसेको राष्ट्रसंघको साधारणसभाले अत्यधिक बहुमतसहित रुसलाई युद्ध अन्त्य गर्न आह्वान गर्दै प्रस्ताव पारित गरेको हो ।
प्रस्तावको पक्षमा १४० देशले मतदान गरेका थिए भने ३२ वटा देशले मतदानमा भाग लिएनन् । रुससहित सात वटा देशले भने प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies