एजेन्सी: वेस्ट बैंकको रामल्लाह सहरनजिक इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गर्दा शनिबार इजरायली सेनाले एक प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् ।
शहरको उत्तरपश्चिममा ४२ वर्षीय तारिक माली मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जानकारी दिएको छ । उनको शवलाई इजरायली सुरक्षाले नियन्त्रणमा राखेको जानकारी दिइएको थियो । विज्ञप्तिमा घटनाबारे थप विवरण दिइएको छैन ।
चक्कु बोकेका एक प्यालेस्टिनीले इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गरेका र यसैबीच, यस क्षेत्रमा इजरायली सैनिकहरुले प्यालेस्टिनी व्यक्तिलाई गोली हानेको इजरायली सञ्चार माध्यमले जानकारी दिएको छ ।
जनवरीको सुरुदेखि नै इजरायली र प्यालेस्टिनीबीच तनाव बढ्दै गएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार जनवरी १ देखि इजरायली सैनिकहरुले करिब २० प्यालेस्टाइनीको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् । सिन्ह्वा
एजेन्सी : अमेरिकाको न्याय मन्त्रालयले राष्ट्रपति जो बाइडेनको डलावेयरस्थित घरबाट छ वटा गोप्य दस्ताबेज बरामद गरेको छ ।
न्याय मन्त्रालयका जाँचकर्ताले छापा मारेर उनको घरबाट गोप्य दस्तावेज बरामद गरेका हुन् ।
करिब १३ घण्टाको प्रयासपछि उनको घरबाट गोप्य दस्तावेज फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसको जानकारी बाइडेनका वकिललाई दिइएको छ ।
वकिल बब बाबरले बाइडेनका नोट्स तथा आस–पासका सामग्री पनि जफत गरेको जानकारी दिएका छन् । छापा मार्दा राष्ट्रपति बाइडेन र उनकी पत्नी घरमा थिएनन् ।
यस्तै गोप्य दस्तावेज गत शुक्रबार विलमिंग्टन घरबाट पनि बरामद गरिएका थिए ।
राष्ट्रपतिका सल्लाहकारले भने घरमा भेटिएका सबै दस्ताबेज न्याय मन्त्रालयलाई दिएको जानकारी दिएका छन् ।
मन्त्रालयले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरबाट पनि सयौं यस्ता दस्ताबेज बरामद गरेर छानविन गरिरहको छ ।
ल्हासा : चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५-३० सम्पन्न भएको थियो ।
उक्त हिमपहिरो मङ्गलबार साँझ ७-५० मा गएको थियो। हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए।
यस क्षेत्रका सडक कच्ची रहेको तथा भू-धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो। सिन्ह्वा
एजेन्सी : न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले राजीनामा दिने भएकी छिन् ।
आगामी अक्टोबर १४ मा न्युजिल्याण्डमा आम चुनाव हुनुअघि नै उनले अप्रत्याशितरुपमा राजीनामा घोषणा गरेकी हुन् ।
उनले एक कार्यक्रमलाई सम्बोधन गर्दै फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्दै लेबर पार्टीको नेताबाट राजीनामा दिने बताएकी हुन् ।
अर्काे निर्वाचनमार्फत पुनः प्रधानमन्त्री बन्ने मौका भए पनि उनले त्यसमा रुची नदेखाएकी हुन् ।
आफ्नो राजीनामा घोषणामा आर्डेनले नयाँ चुनावलाई पार्टीमा नयाँ नेतृत्व आवश्यक परेको भन्दै राजीनामा दिने बताएकी छिन् ।
उनले आफ्नो राजीनामापछिको समय श्रीमान र छोरीलाई दिने बताएकी छिन् ।
सन् २०१७ मा प्रधानमन्त्री हुँदा आर्डेन ३७ वर्षकी थिइन् । त्यो बेला उनी विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी थिइन् ।
कोरोना महामारी, क्राइस्टचर्च मस्जिद गोलीबारी र ह्वाइट आइल्याण्ड ज्वालामुखी विस्फोटको समस्यामा परेको न्युजिल्याण्डलाई उनले कुशल नेतृत्व प्रदान गरेकी थिइन् ।
न्युजिल्याण्डको छिमेकी देश अष्ट्रलियाका प्रधानमन्त्री अन्थोनी एल्बानेसले जसिन्डाले दुनियाँलाई बुद्धिमता र शक्तिले कसरी नेतृत्व गर्ने भन्ने देखाएको प्रतिक्रिया दिएका छन् ।
किएभ : राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको आवाज सुनिन्छ । दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् । गृहमन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको छ ।
बयालीस वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुन् । उनी दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए । दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् । एएफपी
एजेन्सी : कंगोको एउटा चर्चमा भएको बम विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ । घटनामा ३९ जना घाइते भएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
युगान्डासँगको सीमावर्ती सहर कसिन्दीस्थित उक्त चर्चमा आइतबारको प्रार्थना सभा भइरहेको बेला विस्फोट भएको हो ।
आईएसआईएससँग आबद्ध सशस्त्र समूह अलाइड डेमोक्राटिक फोर्सेज–एडीएफले विस्फोटको जिम्मेवारी लिएको छ ।
कंगो र युगान्डाका सेनाले एडीएफविरुद्ध सैन्य अभियान चलाउँदै आएको कसिन्दी क्षेत्रमा विस्फोट भएको हो ।
२०१९ मा आईएसआईएससंग आबद्धता जनाएको समूहलेसयौं निर्दोष गाउँलेको हत्या गरेको आरोप लाग्दै आएकोे छ ।
अप्रिलयता मात्रै एडीएफले ३ सय ७० सर्वसाधारणको हत्या गरेको छ । अन्य सयौं मानिसको अपहरण गरेको राष्ट्रसंघले जनाएको छ ।
एजेन्सी : संघीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएका कारण बुधबार अमेरिका भरका उडानहरु ठप्प भएका छन् । अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)का अनुसार कम्प्युटरमा समस्या भएपछि पूर्वी क्षेत्रमा एक हजार भन्दा बढी उडानहरू ढिलो भएका हुन् ।संयुक्त राज्य अमेरिकाको आन्तरिक तथा बाह्य गरी करिब १०० भन्दा बढी उडान रद्द भएका छन् ।
ढिलाई भएका अधिकांश उडानहरू रूरूमा पूर्वी क्षेत्रका केन्द्रित भएपनि पछि उनीहरू पश्चिमतर्फ लागेका फ्लाइटअवेयरले जनाएको छ । अमेरिकी वायुसेवा कम्पनीहरूले कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन् । एफएएले आफ्नो ‘नोटिस टु एयर मिसन सिस्टम’लाई पुनः स्थापित गर्न काम गरिरहेको बताएको छ ।
एफएएले भनेको छ, “हामी अन्तिम प्रमाणिकरणका लागि परीक्षण गरिरहेका छौं र सिस्टमलाई ‘रिफ्रेस’ तथा ‘रिलोड’ गरिरहेका छौं । “राष्ट्रिय वायुसेवा प्रणाली एक्कासी प्रभावित हुन पुगेको छ । एफएएले केही लाइनले काम गर्न थालेका छन्, तर ‘राष्ट्रिय हवाई क्षेत्र प्रणाली’ सञ्चालन सीमित भएको छ । यातायात मन्त्री पीट बटिजिगले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “म एफएएसँग सम्पर्कमा छु र स्थितिबारे जानकारी लिइरहेको छु ।
युनाइटेड एयरलाइन्सले सबै आन्तरिक उडानमा अस्थायी रूपमा ढिलाइ गरेको र एफएएबाट थप जानकारी पाएपछि अद्यावधिक जारी गर्ने बताएको छ । एफएएले ‘नोटिस टु एयर मिसन सिस्टम’को रूपमा चिनिने प्रणालीलाई पुनः स्थापना गर्न काम गरिरहेको बताएको छ ।
एजेन्सी : पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् ।
एक जना सहकर्मीका साथ गस्तीमा रहेका २९ वर्षीय जोसे लुइस सोनको क्विस्पेलाई सोमबार राति बोलिभिया र टिटिकाका तालको सिमानामा रहेको सहर जुलियाकामा भीडले आक्रमण गरेर उनीहरूको गाडीमा आगो लगाएको थियो ।
करिब तीन सय ५० जना आक्रमणकारीले आफूहरूमाथि आक्रमण गरेका सोनका सहकर्मी रोनाल्ड विलासान्टे टोकले बताएका छन् । गम्भीर घाइते भएका उनले आफ्ना साथीको अवस्थाबारे आफूलाई जानकारी नभएको बताए । लिमास्थित अस्पतालमा उनको उपचार भइरहेको छ ।
एजेन्सी : पेरुका राष्ट्रपति डिना बोल्वार्टेमाथि सरकार विरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान थालिएको छ । गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालिएको हो ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सोमबार भएको झडपमा १८ जनाको मृत्यु भएपछि मङ्गलबार हिंसात्मक प्रदर्शन दबाउन सरकारले दक्षिणी पुनो क्षेत्रमा निषेधाज्ञा ९कफ्र्यु० आदेश जारी गरेको छ ।
अपुरिमक, ला लिबर्टाड, पुनो, जुनिन, अरेक्विपा र अयाकुचो क्षेत्रमा सरकार विरोधी प्रदर्शनका क्रममा भएका दमनमा राष्ट्रपतिको भूमिकालाई लिएर अनुसन्धान भइरहेको सरकारी अभियोजन कार्यालयले जनाएको छ । डिसेम्बर ७ मा पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरूले बोल्वार्टेविरुद्ध आन्दोलन गर्दै आएका छन् ।
जारी विरोध प्रदर्शन दबाउन राज्यशक्तिको प्रयोग हुँदा कैयौँ नागरिकको मृत्यु भएकामा पेरुस्थित राष्ट्रसङ्घीय कार्यालयले गहिरो चिन्ता व्यक्त गरेको छ । हिंसात्मक गतिविधि परित्याग गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दै राष्ट्रसङ्घले शान्तिपूर्ण विरोध गर्ने अधिकार एवम् आधारभूत मानव अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।
पेरुका प्रभावशाली क्याथोलिक गिर्जाघरका नेताहरूले देशमा भड्किएको हिंसालाई मुलुक युद्धको अवस्थामा पुगेको टिप्पणी गरेका छन् । राज्य बर्बर बनेको आरोप लगाउँदै उनीहरूले संयमित हुन सम्बद्ध पक्षसँग अनुरोध गरेका छन् । पुनाको क्षेत्रीय सरकारले तीन दिनको शोकको घोषणा गर्दै राष्ट्रपति बोल्वार्टेलाई पदत्याग गर्न आह्वान गरेको छ ।
एजेन्सी : ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकको भिड राष्ट्रपति भवन र संसदमा प्रवेश गरेको छ । बोल्सोनारोका हजारौँ समर्थक संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थामा तोडफोड समेत गरेका छन् ।
ब्राजिल फुटबल टिमको जर्सी लगाएका हजारौँ प्रदर्शनकारीले हातमा झण्डा लिएर संसद् भित्र प्रवेश गरेका र उनीहरुले सभामुखको कुर्सीमा चढेर प्रदर्शन गरेका बीबीसीले जनाएको छ । कतिपय संसद्को छतमा चढेका छन् । यस्तै, कतिपयले तोडफोड गरेका छन्, संसद्को झ्याल फुटाइएको छ ।
ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले घटनाको भर्त्सना गर्नु भएको छ । गएको अक्टोबरमा भएको राष्ट्रपतीय चुनावमा बोल्सोनारोलाई लुला डा सिल्भाले पराजित गर्नु भएको थियो । त्यसपछि बोल्सोनारोका समर्थकले चुनावी परिणामहरू अस्वीकार गर्दै आएका छन् ।
यसैबीच घटनाको अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि भर्त्सना गर्नु भएको छ । यसअघि अमेरिकामा सन् २०२१ को जनवरी ६ तारिखमा यस्तै घटना भएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी क्यापिटलमा प्रवेश गरेर हिंसा मच्चाएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies