काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा. मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ढकाल र थापाले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख एक हजार ७८१ रुपियाँ ८५ पैसा भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।
अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने बताएपछि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ निकासा गरेको थियो । त्यसपछि कोषले नेपाल राष्ट्रबैंकसँग १०३ किलो ७७३.१ ग्राम सुन किनेको थियो ।
जलहरी निर्माणमा १०१ किलो ४८.५ ग्राम मात्र सुन प्रयोग भएको पाइएको अख्तियारले जनाएको छ । राष्ट्र बैंकबाट किनेको १०३ किलो ७७३.१ ग्राम सुनमध्ये जलहरीमा प्रयोग भएको १०१ किलो ४८.५ ग्राम सुन घटाउँदा १ किलो ५६५.६ ग्राम सुनको फरक देखिएको थियो ।
काठमाडौंः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा करिब ९८ प्रतिशत व्यावसायिक फर्ममा कुनै न कुनै किसिमको कैफियत तथा समस्या भेटिएको छ । गत साउनयता विभागले एक हजार एक सय ४६ व्यावसायिक फर्ममा अनुगमन गरेकामा २६ वटा मात्रै सामान्य अवस्थामा रहेका भेटिएको जनाएको छ ।
चालु आर्थिक वर्ष शुरु भएदेखि असोज १२ गतेसम्ममा एक हजार एक सय ४६ व्यावसायिक फर्ममा अनुगमन गरी तीन सय ४७ लाई कारबाही गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । उनका अनुसार कारबाही गरिएका फर्मलाई रु. ९२ लाख २५ हजार मूल्य बराबर जरिवाना गरिएको छ । त्यसैगरी, ३४ फर्मबाट एक करोड एक लाख ९० हजार मूल्य बराबरको वस्तु नष्ट गरिएको विभागले जनाएको छ ।
तीन सय ३२ फर्मलाई सुधारका लागि निर्देशन दिइएको र थप अध्ययनका लागि कागजात माग भएको पनि पोखरेलले जानकारी दिए । उनका अनुसार विभागले दैनिक उपभोग्य वस्तु, तरकारी तथा फलफूल, मासुपसल, औषधि, मिठाइ पसल तथा होटललगायत क्षेत्रमा अनुगमन गर्दा तोकिएकोभन्दा चर्को मूल्यमा बिक्री वितरण भइरहेको, न्यून गुणस्तर, लेभल नभएका वस्तु बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेकोलगायतका समस्या देखिएका हुन् ।
अहिले विभागले दैनिक औसत ३५ व्यावसायिक फर्ममा अनुगमन गरिरहेको छ । दसैँ, तिहारलगायत चाडबाडका बेला उपभोक्ता बढी ठगिने र बजारमा बढी समस्या देखिने भएकाले अनुगमनको सङ्ख्या बढाउन लागिएको विभागले जनाएको छ । चाडपर्वलाई लक्षित अनुगमनका लागि वाणिज्य विभागको नेतृत्वमा वातावरण, खाद्यप्रविधि तथा गुण नियन्त्रण, गुणस्तर तथा नापतौल, औषधि व्यवस्था र आन्तरिक राजस्व विभाग तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा गरिरहेको पोखरेलले बताए । उाका अनुसार विभागले एक्लै र संयुक्तरुपमा बजार अनुगमन गर्दै आएको छ ।
त्यस्तै, चाडपर्व लक्षित अनुगमनतर्फ आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक मूल्यवृद्धि भएका वस्तुको अनुगमनलाई तीव्र बनाउने विभागले जनाएको छ । अवाञ्छित मूल्यवृद्धि, न्यून गुणस्तर तथा कृत्रिम मौज्दातजस्ता सूचना भए पैसा नलाग्ने टेलिफोन नम्बर ११३७ मार्फत जानकारी दिन पनि विभागले अपिल गरेको छ । रासस
शहबाज खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तु प्रहरीले ठूलो मात्रामा बहुमुल्य काठ रक्तचन्दनसहित आठ जनालाई पक्राउ गरेको छ ।
अर्घाखाचीबाट कपिलवस्तु ल्याउँदै गरेको ना ५ ख ७३ ८२ नम्बरको ट्रक र लु २ च १६३९ नम्बरको बोलेरो जीपमा ल्याउँदै गरेको ६ कुंटल ५३ किलो १५० ग्राम रक्तचन्दन कपिलवस्तुको बुद्धभूमी नगरपालिका १ पत्थरकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका ३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की र अर्घाखाँचीको पाणिनी गाउँपालिका ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका ३ का नीम बहादुर नेपाली रहेका छन् ।
रक्त चन्दनको काठ र पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए ।
काठमाडौंः सुन तस्कारी प्रकरणमा छानबिन गर्न आइतबार नै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सकारात्मक छलफल भएको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामङ्गलमा करिब ६१ किलो सुन बरामद भएको थियो ।
आज हुने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमतिको तयारी भएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको र आयोगको कार्यदेशमा आफूहरु सहमतिको नजिक पुगेको भेटमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सत्तापक्ष र प्रतिपक्षबीच आयोग गठन गर्ने सहमति भए पनि सोको कार्यादेश र कार्यक्षेत्रबाट सहमति जुट्न बाँकी थियो । आयोग गठन नभए एमालेले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने चेतावनी दिएपछि सरकारले छलफल तीव्र बनाएको छ ।
काठमाडौंः वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार निजले अजयकुमार महतोलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने र त्यसका लागि तीन लाख पाँच हजार लाग्ने एवं दुबई पुगेपछि वाइक राइडरमा काम लगाइदिने भनी विश्वास दिलाएर पीडितबाट पटक–पटक गरी जम्मा तीन लाख रकम लिई ठगी गरेको आरोपमा आज दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो ।
निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
वीरगन्जः वीरगन्जस्थित बाल सुधारगृहबाट शुक्रबार दुई बाल कैदीबन्दी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधारगृहको छतबाट हामफालेर फरार भएका हुन् ।
दुवै अभियुक्तलाई अदालतले दोषी ठहर गरेपछि आचरण सुधारका लागि बाल सुधारमा राखिएको थियो । फरार दुवैजनाको खोजी भइरहेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
क्षमताभन्दा बढी बाल कैदीबन्दी भएकाले मधेस प्रदेशको एकमात्र सुधारमा गृह यतिबेला समस्या सिर्जना भएको छ । न्यून भौतिक पूर्वाधार, बजेटको अभाव, सरकारी उदासिनता र क्षमताभन्दा बढी बालक र किशोरहरू कोचेर राख्नुपर्ने बाध्यताका कारण सुधारगृह समस्यामा परेको हो ।
साठी जनाको क्षमता भएको सुधारगृहमा हाल दोब्बरभन्दा बढी एक सय २६ बालक तथा किशोरलाई कोचेर राखिएकाले बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै सुधारगृह व्यवस्थापनमा समेत कठिनाइ भइरहेको त्यहाँका प्रमुख टीकाकृष्ण काफ्लेले बताए ।
ठाउँ अभावका कारण सो गृहमा बालबालिका उकुसमुकुसका साथ दैनिक जिवन बिताउन बाध्य छन् । एउटै कोठाभित्र धेरै जना कोचर बस्नु पर्दा स्थ्यलगायत अन्य समस्या भइरहेको गृहमा रहेकाहरूको गुनासो थियो । धेरै मान्छे कोचाकोच गरी बस्दा अक्सिजनको मात्रा घटेर कतिपयमा खुट्टा सुनिने र श्वासप्रश्वासको समस्या हुने गरेको गृहमा कार्यरत स्टाफनर्स अन्जु कुमारीले बताइन् ।
‘बिरामी पर्नेलाई पहिला हामी गृहभित्रै उपचार गर्छौँ’, उनले भने, ‘समस्या बढ्दै गएपछि थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लैजान्छौँ । जाडो याममा भन्दा गर्मी याममा स्वास्थ्य समस्या बढी हुन्छ ।’
ठाउँ साँघँरो भएकाले गृहमा रहेका बालक र किशोरलाई चेस, क्यारेमबोर्डलगायत खेलबाहेक अन्य खेल खेल्न कठिनाइ भएको छ । ‘हामीसँग फुटबल, भलिबललगायत अन्य खेलकुद गर्ने ठाउँ छैन्, त्यसैले अहिले चेस, क्यारेमबोर्ड खेलमात्र भइरहेको छ, हामीले चाहेर पनि ठाउँ नभएर बालक र किशोरहरूलाई फुटबल, भलिबल खेल दिइरहेका छैनौँ’, स्टाफनर्स अन्जुले भनिन् ।
करिब डेढ कठ्ठा जमिनमा फैलिएको सो सुधार गृहमा साना–ठूला गरी ११ कोठा छन् । साना कोठामा १२ देखि १४ र ठूलोमा ३१ जनालाई कोचेर राखिएको छ । कानुनी विवादमा परेर मधेस प्रदेशको पर्साबाट सप्तरीसम्मका अदालतबाट पुर्पक्ष तथा कैद सजायका लागि सो सुधारगृहमा बालक र किशोरहरूलाई पठाइएको छ ।
तत्कालीन अनाथालय भवनलाई गत २०७५ साल भदौमा बाल सुधारगृहको रूपमा सञ्चालन गरिएको थियो । सो गृहमा हाल आश्रितमध्ये ४१ जबर्जस्ती करणीका, २० लागुऔषध मुद्दाका, दस सवारी ज्यान मुद्दाका र सात जना अपहरण तथा शरीर बन्धक मुद्दाका छन् । अन्य भने चोरी, कर्तव्य ज्यानलगायत मुद्दाका रहेका छन् । केही बालबालिका भने मानव बेचबिखन तथा ओसारपसार, खोटा चलन, नेपाली नागरिकता उद्योग र बालविवाह मुद्दाका पनि छन् ।
बालबालिकाको मुद्दा अधिकतम एक सय २० दिनमा फैसला गरिनुपर्ने व्यवस्था ऐनमा रहे पनि लामो समयसम्म फैसला नहुँदा सुधार गृहमा क्षमताभन्दा बढी बालक तथा किशोर रहेको प्रमुख काफ्लेले बताए । कुल आश्रितमध्ये डेढ दर्जनको मात्रै मुद्दा फैसला भएको र बाँकी पुर्पक्षमै रहेको उनको भनाइ थियो । काठमाडौं र पोखरामा रहेका बाल सुधारगृहमा विद्यालय र अस्पतालको पनि सुविधा भए पनि यो गृहमा त्यस्तो सुविधा नभएकाले समस्या भइरहेको प्रमुख काफ्लेले बताए ।
सुधारगृहमा रहेका बालक र किशोरको मानसिक र शैक्षिक विकासका लागि भित्रै पुस्तकालय तथा मनोरञ्ज कक्षसमेत सञ्चालन गरिएको जनाइए पनि झन्झटिलो कानुनी व्यवस्थाका कारण गृह सञ्चालनका लागि धेरै निकायसँग समन्वय गर्नुपर्ने बाध्यताले थप समस्या भइरहेको प्रमुख काफ्लेको गुनासो थियो ।
सङ्घीय सरकार मातहत रहेको सुधारगृहमा देखिएको समस्या समधानका लागि सरकारले समयमै ध्यान दिनुपर्ने वीरगन्जका बुद्धिजीवी बेचन साहले जोड दिए । ‘बाल सुधारगृह अहिले यातनागृहजस्तै बन्न थालेको छ’, उनले भने, ‘यो एकदमै दुःखद् कुरा हो, यसलाई सरकारले गहनरुपले लिनुपर्छ ।’
रुकुमपश्चिमः रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् ।
अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् ।
डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार वडाध्यक्ष ओलीलाई मङ्गलबार, नेपाली र केसीलाई यही असोज ८ गते र शाहलाई भदौ २९ गते नै पक्राउ गरिएको हो । उनीहरूविरुद्ध चौरजहारी–११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रका रुख अवैध ढङ्गले फँडानी गरेको आरोप छ ।
आरोपी चारै जनालाई अदालतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान शुरु गरेको जनाएको छ । पक्राउ परेका वडाध्यक्ष ओली २०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन् । रासस
धादिङः प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६)का ३५ वर्षीय अरुणकुमार मिझारलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ विराटनगर महानगरपालिका–५ की ३२ वर्षीय ललिताकुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई छ वर्षपछि यही असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ गरिएको पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।
कानूनबाट बच्न मिझारले देशै छाडेर बस्दै आएको एसपी मिश्रले बताए । उनी मलेसिया, दुबई, भारतलगायतका मुलुकहरूमा लुकिछिपी बस्दै आएका थिए । उनले भने, ‘हाल नेपाल आएको समयमा प्रतिवादी मिझारलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरको सहयोगमा सप्तरीबाट पक्राउ गरिएको हो ।’
‘ललिता २०७४ भदौ २१ गते मोरङबाट काठमाडौं आएको परिवारले जानकारी दिएका थिए । धादिङको धुनीबेँसी नगरपालिका–९ टायलघरस्थित पृथ्वी राजमार्ग अधेरीखोलामा २०७४ साल असोज १२ गते साँझ बेवारिसे दुर्गन्धित अवस्थामा उनलाई मृत भेटिएको थियो । मृतकले लगाएको कपडा चप्पल हेरी भाइले मृतक ललितालाई पहिचान गरेको हो’, एसपी मिश्रले भने ।
एसपी मिश्रका अनुसार मृतक ललिता पेसाले स्टाफ नर्स हुन् । मृतकको मोबाइल तथा प्राविधिक अनुसन्धानपछि मृतक ललिता र प्रतिवादी मिझार प्रेम सम्बन्धमा रहेका थिए । ‘उनीहरू बीचको सम्बन्धबाट मृतक ललिता गर्भवती रहेको खुलेको छ । उनीहरूबीच असमझदारीका कारण मिझारले हत्या गरेको पुष्टि भएको हो । अहिले मिझारलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ’, उनले भने । रासस
काठमाडौंः चाड पर्व शुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन् । प्रहरीका अनुसार केही दिन यतादेखि काठमाडौं, भक्तपुरलगायतका क्षेत्रमा चोरीका घटना बढेका उजुरी पर्न थालेका छन् ।
प्रायः दिउँसो तथा रातिको समयमा चोरीका घटनाहरु बढ्न थालेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायबमहानिरीक्षक कुवेर कडायतले काठमाडौंको घट्टेकुलो चोक नजिक बस्ने चन्द्रकेशरी बज्राचार्यको घरमा, भक्तपुरकोगठ्ठाघरस्थित अरनीको बस्तीमा बस्ने सबिन निरौलाको कोठा र भक्तपुरको दधिकोट नयाँबस्तीमा सानुमाया चित्रकारको कोठामा चोरी भएको भएको बताए ।
उनका अनुसार बज्राचायको घरबाट नगद एक लाख ६० हजार, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामान गरी करिब छ लाख ६६ हजार, निरौलाको कोठाबाट ल्यापटप, घडी र नगद गरी करिब एक लाख सात हजार तथा चित्रकारको कोठाबाट करिब नौँ लाख ६५ हजार सातसय बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीले सामानहरु चोरी गरी हाल फरार भएका व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मेला, पर्व तथा चाडवाड नजिकिदै गएकाले चोरी गर्नेहरु सक्रिए हुने हुँदा आवश्यक सावधानी अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ ।
काठमाडौंः नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वी चम्पारण वडा नं १० खरतरी स्थायी वतन भएका रौतहटको साविक सरमुजवा गाविस वडा नं ९ बाट नागरिकता लिएका जागा चौधरी भन्ने जग्गाप्रसाद जैसवाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार जैसवालसमेत भएको नागरिकता तथा लिखतसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा चौधरीले विसं २०६३ मा नागरिकता बनाउने टोली स्थलगतरुपमा खटिएको समयमा झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ ।
यसैगरी निजले नागरिकता प्राप्त गरी नेपालका विभिन्न स्थानमा व्यापार व्यवसायसमेत गरी बसेको र जागा चौधरी नामको भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएका सवारी चालक अनुमति पत्रसमेतका नेपाली कागजात फेला परेको प्रहरीले जनाएको छ ।
जैसवाललाई नागरिकता तथा लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाई अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies