काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सो नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरुमध्ये सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माण कार्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले प्राविधिकले तयार गरेको मूल्याङकन तथा भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएकोभन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको अनुसन्धानबाट खुलेकाले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनका अनुसार उनीहरुले निर्माण काममा खर्च भएको रकम भन्दा छ लाख ५८ हजार चार सय ४० बढी भुक्तानी दिएको देखिएको छ । सरकारी रकम हानीनोक्सानी हुन गई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको देखिँदा मरासेनी र चौधरीलाई उक्त रकम बराबर बिगो कायम गरी माग दाबी गरिएको अख्तियारले जनाएको छ ।
यसैगरी आयोगले जनता माविको भवन निर्माण उपभोक्ता समितिका अधयक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव प्रसाद र कोषाध्यक्ष किरणदेवीले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी भुक्तानीका लागि स्वीकृत भएकोभन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी भुक्तानी लिएका कारण मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेको देखिन आएकाले उनीहरुलाई पनि सोही रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन माग दाबी गरी आज विशेष अदालतमा आरोप–पत्र दायर गरिएको प्रवक्ता दाहालले बताए ।
बाँकेः बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन् ।
फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको छ ।
‘झडपका क्रममा १० जना घाइते भएका थिए । घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको थियो’, प्रनाउ डाँगीले भने । झडपमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ का सुलभ केसीको मृत्यु भएको उनले जानकारी दिए ।
प्रनाउ डाँगीका अनुसार उनी अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको मुद्दामा बाल सुधार गृहको थुनामा थिए । थुनुवाले सुधार गृहको भवनका झ्यालका सिसा, रेलिङ, बार भत्काएका छन् भने प्रहरीले चारैतिरबाट भवनलाई घेरेर राखेको छ । प्रहरीका अनुसार बाल सुधार गृहमा रहेको दुई मोटरसाइकल, एउटा कम्प्युटर तोडफोड गर्नुका साथै प्रहरीको पोसाकमा पनि आगजनी गरेका छन् ।
दुई ब्लक रहेको उक्त सुधार गृहमा अहिले पनि दुई पक्षबीच भनाभन भइरहेको छ । सुधार गृहका थुनुवा खगेन्द्र सारुङ मगरले सुतेको अवस्थामा अर्को पक्षले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् । ‘हामीलाई टाउको र हातमा निर्घात कुटेका छन्’, उनले पत्रकारसँग कुरा गर्दै भने ।
भवनभित्र तनाव जारी रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा तैनाथ रहेका छन् । दुई सय ५४ थुनुवा रहेको सुधार गृहमा १८ वर्षमाथिका एक सय ६५ थुनुवा छन् ।
काठमाडौंः फिफिया नामको एप्समार्फत अनलाइन बेटिङ गराएर रु. ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौं टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राई रहेकी र निजले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत र ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार सामाजिक सञ्जालमार्फत साथी बनाएर जिमेलआइडी, फिफिया एप्स इन्स्ट्रल गर्न लगाउनाका साथै बैंक खातालगायतको बायोडाटा विवरण अपडेट गर्न लगाएर पीडितलाई सोही एप्सबाट हुने आर्थिक कारोबार नेपालमा कानुनबमोजिम छ भनी विश्वास दिलाइ ठग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
विभिन्न देशबीच हुने फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै उक्त रकम ठगेको भेटिएकाले निजविरुद्ध प्रचलित कानुनबमोजिम ठगी तथा सट्टाबाजीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि टेकुस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको प्रवक्ता रेग्मीले बताए ।
नेपालगञ्जः बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् ।
जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् ।
उनीहरुले सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौं जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौं बेच्न लैजान लागेको शङ्का गरेको छ । भिभो, अपो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेको हो । उनीहरु सबैलाई भन्सार पठाउने तयारी गरिएको प्रनाउ डाँगीले बताए ।
सुनसरीः सुनसरीमा एक जनाले दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेका छन् । जिल्लाको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतले दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेका हुन् ।
श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु. ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ ।
हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारवाही गर्न माग गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ । माइती पक्षले नाबालक छोराको समेत जिउज्यानको सुरक्षा गरिदिन प्रहरी समक्ष आग्रह गरेको छ ।
बाँकेडः बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ । विस्फोटले सडकमा भ्वाङ परेको छ । प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताए ।
सडकमा भ्वाङ परेकाले एकतर्फी रुपमा मात्र सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
दाङः मादक पदार्थ खाएका एक जनाले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।
उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ ।
बैतडीः अज्ञात समूहद्वारा यहाँको एक विद्यालयमा आगजनी गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो ।
कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ ।
‘बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए, आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन’, उनले भने ।
आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ । यस्तै विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ । पसलबाट नौ हजार तीन सय बराबरको सामानको चोरी भएको छ ।
विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । रासस
काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ ।
सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिए । बुधबार सिआइबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालत जाँदै छ तर सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद भएको छ । बाँकी सुन तस्करले गन्तव्यमा पुर्याइएसकेकाले त्यसमा थप संलग्नको खोजीका लागि सिआइबीले जारी राखेको जानकारी दिएको छ ।
नयाँ तथ्य फेला पारेपछि पुरक प्रतिवेदनका रुपमा बुझाउने सुन प्रकरणको अनुसन्धानको नेतृत्व गरेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । उनका अनुसार तस्करले सञ्चाल तयार पारेर सुन तस्करी भएको फेला परेको छ । काठमाडौंको टोखा र लाजिम्पाटमा सुन गाल्ने काम भएको पनि प्रहरीले फेला पारेको छ ।
उक्त प्रकरणमा आरोपीमाथि भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गरिएको छ ।
अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभन्नि सात कम्पनीबाट ३६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको छ । अहिलेको मूल्यमा रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ । अहिलेसम्म ३२ जना पक्राउ परेका छन् पक्राउ पर्नेमा २३ नेपाली र नौ विदेशी नागरिक छन् । १८ जना फरार रहेका छन् ।
गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसैको अनुसन्धानका क्रममा थप छ कम्पनीबाट यस्तै अटो पार्टमा हालेर सुन तस्करी भएको पाइएको छ ।
विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिएको थियो । सुन हङकङबाट ल्याएर भारत निर्यात गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।
सङ्खुवासभाः सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो ।
जिल्ला अदालत सङ्खुुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश दिएका हुन् । कारागार विभाग र जिल्ला सुरक्षा समितीको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो । बुधबार सरकार र प्रतिवादीतर्फका आठ कानुन व्यवसायीले बहस गरेका थिए ।
कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिका–१ महेशपुर स्थायी घर भई जिल्ला कारागार खाँदबारीमा कार्यरत प्रहरी सहायक निरक्षिक लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका–११ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका–१४ बाङ्गे स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत दमनसिंह राई, खोटाङको खोटेहाङ गाउँपालिका–८ कात्तिके स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान मनिष राई, सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुर स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान पवनकुमार महतो र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ता स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत वर्षीय नुशन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ ।
यस्तै खाँदबारी नगरपालिका–२ चेवा स्थायी घर भई जिल्ला कारागारका बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका रामबहादुर कार्की, खाँदबारी नगरपालिका–९ गैरीगाउँ स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका अनिश शर्मा कट्टेल, भोजपुरको भोजपुर नगरपालिका–१० भैँसीपङ्खा स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सचिन राई, मकालु गाउँपालिका–५ सोलाखानी स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सुमन सारू मगर, चैनपुर नगरपालिका–३ स्थायी घर भई जिल्ला कारागारमा डाँकाचोरी कसुरमा कैद भुक्तान गरिरहेका टीकाराज चौहान, चिचिला गाउँपालिका–४ खारमेली स्थायी घर भई जिल्ला कारागारमा कर्तव्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका नवीनकुमार राई, खाँदबारी नगरपालिका–६ तल्लो पाङ्ठा स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका इन्द्रध्वज घिमिरे र मादी नगरपालिका–५ वेतिनी स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका मीनबहादुर तामाङलाई पुर्पक्षका लागि तेह्रथुम कारागार पठाइएको श्रेस्तेदार केसीले जानकारी दिए ।
कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर शुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालले जनाएकको छ । सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ ।
गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies