चितवनः चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो ।
नगरप्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको बताए । उनले नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजा पाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गरे ।
‘बजारमा प्रशस्त प्लास्टिकजन्य फूलको सामग्री हुन्छन्, किसानले उत्पादन गरेको फूलले बजार पाएका छैनन् । पालिकाले गरेको यस निर्णयले नगरभित्र उत्पादित फूलले बजार पाउने आशा छ’, सापकोटाले भने । प्लास्टिकजन्य फूल तथा मालासैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ ।
दसैँमा चितवन प्रहरी चौबिसै घण्टा हाइअलर्टमा
नजिकिँदै गरेको दसैँ, तिहार र छठमा चितवन प्रहरी चौबिसै घण्टा ‘हाइअलर्ट’मा रहने भएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरेर चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै चितवन प्रहरीले चाडपर्वमा भरपर्दो शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले बसपार्कलगायत मानिसको भीडभाड हुने ठाउँमा हाइअलर्टमा रहने जनाएको हो ।
चाडपर्वमा हुनसक्ने लुटपाट, डकैती, सवारी दुर्घटना र समाजमा हुनसक्ने चोरी, लुटपाट, मादक पदार्थ सेवन गरी होहल्ला, झै–झगडा, गुण्डागर्दी जस्ता आपराधिक गतिविधिहरुलाई दृष्टिगत गरी त्यस प्रकारका कुनै पनि घटना हुन नदिने तयारी प्रहरीको सुरक्षा योजनामा समावेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार समाजलाई भयमुक्त वातावरण बनाउने र कुनै अप्रिय घटना घटेमा तत्काल सुरक्षा कारबाही गरी भरपर्दो शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले चाडपर्व लक्षित विशेष सुरक्षा योजना निर्माण गरिएको हो ।
प्रनाउ पण्डितले सुरक्षा योजना सार्वजनिक गर्दै सहरका भीडभाड हुने ठाउँ र बसपार्कहरुमा चौबिसै घण्टा प्रहरी अलर्टमा रहने बताए । प्रहरीले बसपार्कमा यात्रुको पीरमर्का बुझ्न यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ । उनका अनुसार जिल्लामा पुलचोक, पोखरा बसपार्क, केन्द्रीय पारस बसपार्क, मुग्लिन बजारमा सहायता कक्षा रहने छन् ।
‘यस्तै चितवनका एक सय १७ टोलसुधारसँग समन्वय गरेर प्रहरीले सुरक्षाको रणनीति बनाइएको छ । प्रहरीको सुरक्षा योजनामा कमान्ड पोष्ट, रिजर्भ, स्ट्रइकिङ, क्युआरटी परिचालन, सिमानामा चेकजाँच, अस्पतालमा उद्धार टोली र १२ वटा समूहमा ट्राफिक सहितको संयुक्त चेकिङ हुनेछ’, प्रनाउ पण्डितले भने, ‘प्रहरीले दसैँतिहार र छठलाई लक्षित गरेर ठाउँठाउँमा सरप्राइज चेकिङ, सवारीसाधनद्वारा मोबाइल गस्ती, पैदल गस्ती, पिकेट डिउटी, राजमार्ग गस्ती सञ्चालन गर्नेछ ।’
प्रहरीले चितवनका धार्मिक र पर्यटकीयस्थलको सुरक्षा गर्नाका साथै बैङ्क, सुनचाँदी र आर्थिक कारोबार हुने स्थानको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ । सादा पोसाकमा चेकजाँच र बजार अनुगमन गर्नाका साथै मापसे चेकजाँचलाई पनि सञ्चालन गर्ने प्रहरीले जनाएको छ । रासस
चितवनः कर्तव्य ज्यान मुद्दामा फरार आरोपी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ मेघौलीका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईं रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डित जानकारी दिए । उनलाई प्रहरीले सोमबार नवलपरासीको बर्दघाट सुस्ता पश्चिमबाट पक्राउ गरेको हो ।
प्रनाउ पण्डितका अनुसार चापागाईंले विसं २०६१ मङ्सिर १४ गते भरतपुर महानगरपालिका–७ की मनकुमारी वाग्लेको घरमा गई सुतेको अवस्थामा बाँसको लौरो र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेका थिए ।
‘वाग्लेको हत्या गरी कानमा लगाएको गरगहना लुटेर उनी फरार भएका थिए । उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको विशेष सूचनाका आधारमा बर्दघाट–४ स्थित शिव मन्दिरमा भेष बदलेर साधुका रुपमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो’, उनले भने । चापागाईं पक्राउ परेसँगै थप अनुसन्धान शुरु गरिएको प्रनाउ पण्डितले बताए ।
काठमाडौंः काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ ।
अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । व्यक्तिगत प्रतिशोध (रिसिबी)का कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
‘प्रहरीले हत्या आरोपमा एकजना सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । उनी फरक क्षमता (बोल्न नसक्ने) भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो’, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले भने ।
बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको स्वीकार गरेका उनले बताए । अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ (दिमागी अवस्था परीक्षण) गरेको प्रहरी उपरीक्षक ढुङ्गेलले जानकारी दिए ।
सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी न्याैपानेले प्रतिवेदन आइपुगेको र कार्यालयले अध्ययन गरिरहेको जानकारी दिए । अध्ययनपछि अभियोजन दर्ता हुने उनको भनाइ थियो । ‘प्रहरीले भने उनलाई जन्म कैदको सजाय माग दाबी लिनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको छ’, उनले भने ।
आरोपीले रिसिबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको पनि हत्या गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । राठौरको नेतृत्वमा उक्त घटनाको अनुसन्धान समिति बनाइएको थियो ।
भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो । काठमाडौं महानगरपालिका–३२ तीनकुने नजिक गैरीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौं आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । उक्त विषयमा आवश्यक अनुसन्धान शुरु भएको डा. पाण्डेले बताए ।
बागलुङः लागु औषध (गाँजा)सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ ।
आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको तीन वर्ष छ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप रु. ५० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिए ।
जिल्ला अदालत बागलुङले २०७९ पुस ३ गते घर्तीलाई लागुऔषध कारोबारमा संलग्न भएकोमा दोषी ठहर गर्दै कैद फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध घर्तीले २०८० जेठ ३ मा उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएका थिए ।
हाल गाउँपालिका अध्यक्ष रहेका घर्ती निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए । घर्तीलाई जिल्ला अदालत बागलुङले कैद फैसला गर्दा घर्ती गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका थिए ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका तत्कालीन प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई निवासबाटै पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा सेवन गर्ने युवालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा आपूर्तिकर्ताको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो ।
काठमाडौंः सुन जस्तो देखिने पहेलो धातुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने पहेलो धातु ३ सय २० ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् । हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका अग्रवालको साथबाट विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा २ सय २० ग्राम तौल भएको उक्त धातुको बाला १ थान, सिक्री १ थान बरामद गरेको हो ।
साथै जबेरीलाई विमानस्थलको आगमन लिफ्ट भर्याङमा जाँच गर्ने क्रममा १ सय ग्राम तौल भएको उक्त धातुको बाला १ थानसहित फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ ।
काठमाडौंः प्रहरीले ठगी कार्यमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजन घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिललाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पाकिस्तानी र अजरबैजनी नागरिकको साँठगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगललगायतका देशमा पठाइदिने भनी वर्कपर्मिटलगायतका नक्कली कागजात देखाएर विश्वासमा पारी ठगी गर्ने योजना बनाइएको थियो ।
जाहेरीका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ठमेलमा रहेको होटेल यात्री र डड्डी सुइट्स स्पाबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । विदेश पठाउने प्रक्रियाका लागि लाग्ने खर्च प्रतिव्यक्ति एक हजार अमेरिकी डलर लिने गरेको, नक्कली ‘अफर लेटर’, वर्कपर्मिट, भिसा लगायतका कागजात देखाई रकम पठाउन लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको उनको भनाइ थियो ।
उनीहरुले नेपाली रु. ८० लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
काठमाडौंः काठमाडौं महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशालाल लामा तथा काभ्रे रोशी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं सामाखुशी बस्ने अन्दाजी ३३ वर्षीय भोज लामा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
उनका अनुसार काभ्रेको तेमाल –७ स्थायी घर भई हाल भक्तपुर राधेराधे बस्ने अन्दाजी २५ वर्षीय देवसिंह लामालाई काठमाडौं महानगरपालका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’मा अपहरण तथा बन्धक बनाइराखेको भन्ने उजुरीका आधारमा निजहरुलाई पक्राउ गरिएको हो ।
नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’ बाट प्रहरी निरीक्षक राजन ढकाल नेतृत्वको सात जनाको टोलीले देवसिंह लामालाई अपहरणमुक्त गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए । आरोपितहरुविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा. मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ढकाल र थापाले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख एक हजार ७८१ रुपियाँ ८५ पैसा भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।
अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने बताएपछि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ निकासा गरेको थियो । त्यसपछि कोषले नेपाल राष्ट्रबैंकसँग १०३ किलो ७७३.१ ग्राम सुन किनेको थियो ।
जलहरी निर्माणमा १०१ किलो ४८.५ ग्राम मात्र सुन प्रयोग भएको पाइएको अख्तियारले जनाएको छ । राष्ट्र बैंकबाट किनेको १०३ किलो ७७३.१ ग्राम सुनमध्ये जलहरीमा प्रयोग भएको १०१ किलो ४८.५ ग्राम सुन घटाउँदा १ किलो ५६५.६ ग्राम सुनको फरक देखिएको थियो ।
काठमाडौंः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा करिब ९८ प्रतिशत व्यावसायिक फर्ममा कुनै न कुनै किसिमको कैफियत तथा समस्या भेटिएको छ । गत साउनयता विभागले एक हजार एक सय ४६ व्यावसायिक फर्ममा अनुगमन गरेकामा २६ वटा मात्रै सामान्य अवस्थामा रहेका भेटिएको जनाएको छ ।
चालु आर्थिक वर्ष शुरु भएदेखि असोज १२ गतेसम्ममा एक हजार एक सय ४६ व्यावसायिक फर्ममा अनुगमन गरी तीन सय ४७ लाई कारबाही गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । उनका अनुसार कारबाही गरिएका फर्मलाई रु. ९२ लाख २५ हजार मूल्य बराबर जरिवाना गरिएको छ । त्यसैगरी, ३४ फर्मबाट एक करोड एक लाख ९० हजार मूल्य बराबरको वस्तु नष्ट गरिएको विभागले जनाएको छ ।
तीन सय ३२ फर्मलाई सुधारका लागि निर्देशन दिइएको र थप अध्ययनका लागि कागजात माग भएको पनि पोखरेलले जानकारी दिए । उनका अनुसार विभागले दैनिक उपभोग्य वस्तु, तरकारी तथा फलफूल, मासुपसल, औषधि, मिठाइ पसल तथा होटललगायत क्षेत्रमा अनुगमन गर्दा तोकिएकोभन्दा चर्को मूल्यमा बिक्री वितरण भइरहेको, न्यून गुणस्तर, लेभल नभएका वस्तु बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेकोलगायतका समस्या देखिएका हुन् ।
अहिले विभागले दैनिक औसत ३५ व्यावसायिक फर्ममा अनुगमन गरिरहेको छ । दसैँ, तिहारलगायत चाडबाडका बेला उपभोक्ता बढी ठगिने र बजारमा बढी समस्या देखिने भएकाले अनुगमनको सङ्ख्या बढाउन लागिएको विभागले जनाएको छ । चाडपर्वलाई लक्षित अनुगमनका लागि वाणिज्य विभागको नेतृत्वमा वातावरण, खाद्यप्रविधि तथा गुण नियन्त्रण, गुणस्तर तथा नापतौल, औषधि व्यवस्था र आन्तरिक राजस्व विभाग तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा गरिरहेको पोखरेलले बताए । उाका अनुसार विभागले एक्लै र संयुक्तरुपमा बजार अनुगमन गर्दै आएको छ ।
त्यस्तै, चाडपर्व लक्षित अनुगमनतर्फ आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक मूल्यवृद्धि भएका वस्तुको अनुगमनलाई तीव्र बनाउने विभागले जनाएको छ । अवाञ्छित मूल्यवृद्धि, न्यून गुणस्तर तथा कृत्रिम मौज्दातजस्ता सूचना भए पैसा नलाग्ने टेलिफोन नम्बर ११३७ मार्फत जानकारी दिन पनि विभागले अपिल गरेको छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies