प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल बाँफिकोट गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ । शही स्मृति भवन बाँफिकोटमा सम्पन्न सम्मेलनले राजेन्द्र पुरीको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा गोविन्द वि.क. र रिता वि.क., सचिवमा गोर्ख बहादुर वि.क., सहसचिवमा मानव नेपाली, डिल्ली दाहाल, गङ्गाराम खत्री, पुष्पा बाँठामगर र कोषाध्यक्षमा शिवा परियार चयन भएका छन् ।
सम्मेलनमा वाईसीएलका जिल्ला अध्यक्ष गोबिन्द ओली, नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिकाका इन्चार्ज धर्मबहादुर केसी, नेकपा माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष चन्द्रबहादुर केसी, नेकपा माओवादी केन्द्र चौरजहारी नगर कमिटीका सचिव एल्बी कटुवाललगायतको सहभागिता रहेको थियो ।
काठमाडौं : नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज छ वटा समूहमा छलफल शुरु भएको छ ।
लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल शुरु भएको हो ।
परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि पनि एकैसाथ छलफल शुरु भएको छ ।
लोकतान्त्रिक भित्तोको व्यवस्था
सो पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले समूहगत छलफलका साथै व्यक्तिगत र लिखितरुपमा थप विचार÷सुझाव दिन चाहने प्रतिनिधिका लागि लोकतान्त्रिक भित्तोको व्यवस्था गरिएको जनाए ।
उक्त भित्तोमा लिखित सुझाव टाँस्न सकिने र नेतृत्वले त्यसलाई अध्ययन गरी प्रतिवेदनमा आवश्यकताका आधारमा समावेश गर्नेछ । “विभिन्न समूह र लोकतान्त्रिक भित्तो गरी दुवै माध्यममा आमरुपमा लोकतान्त्रिक विधिबाट प्रतिवेदनहरुमाथि उत्साहजनकरुपमा छलफल भइरहेको छ”, नेता गौतमले भने । बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् ।
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज पठाउने भएको छ । साथै ती दस्तावेजमा सबै कमिटीबाट सुझाव प्राप्त भएपछि परिमार्जन गरिनेछ । राजनीतिक, विधान, समाजवादी कार्यक्रमसम्बन्धी र साङ्गठनिक दस्तावेजमा सबै कमिटीबाट सुझाव सङ्कलन गरी साझा धारणा बनाउन लागिएको हो । देशभरका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको सुझाव समावेश गरी पूर्णता दिइने ती दस्तावेज आगामी जेठ ९ गतेसम्ममा सबै कमिटीमा पठाइने छ ।
जेठ मसान्तभित्र दस्तावेजहरूमाथि सबै कमिटीले आफ्नो कार्यक्षेत्रमा पार्टी सङ्गठित सदस्यलाई सहभागी गराई परामर्श लिएपछि आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा एउटै दस्तावेज बनाएर लैजाने तयारी गरिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले तयार पारेको राजनीतिक दस्तावेजमा राष्ट्रिय एकता, सामाजिक, सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन् ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले लेखेको समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेजमा समाजवादको स्वरुप, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन् । उपाध्यक्ष बेदुराम भुसालले लेखेको विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ । महासचिव घनश्याम भुसालले तयार साङ्गठनिक दस्तावेजमा देशभर पार्टी सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ ।
केन्द्रीय सङ्गठन विभागले यही वैशाख ३० गतेसम्म सदस्यता प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली केन्द्रमा पठाउन सबै कमिटी र विभागलाई निर्देशन दिएको छ ।
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ । लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।
परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमा छलफल हुनेछ । दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी बैठकका माध्यमबाट एमालेले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे कार्ययोजना बनाउने पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । प्रत्येक समूहमा चार सयसम्म सहभागी रहने गरी प्रबन्ध गरिएको छ ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र पक्षधर शक्तिहरुको कठोर आलोचना गरेका छन् । शनिबार ललितपुरको गोदावरीमा सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजतन्त्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि प्रहार गरेका छन् । संसदमा चौथो दलको हैसियतमा रहेको रास्वपालाई एमाले अध्यक्ष ओलीले पपुलिष्ट शक्तिको संज्ञा दिएका छन् ।
रास्वपालाई पपुलिष्ट शक्तिको संज्ञा दिएका अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदमा उपस्थिति बढ्नु समेतलाई राजनीतिक अस्थिरतासँग जोडेका छन् । जबकी, गत चुनावमा एमाले र राप्रपाले तालमेल गरेका थिए । अहिले पनि एमाले बिभिन्न प्रदेश सरकार निर्माणमा राप्रपाको साथ खोजिरहेको छ ।
यही बेला ल्याएको राजनीतिक प्रतिवेदनमा एमाले अध्यक्ष ओलीले राप्रपालाई दक्षिणपन्थी दलको रुपमा ब्याख्या गर्दै राप्रपा वैकल्पिक राजनीतिक शक्ति हुन नसक्ने टिप्पणी गरे ।
रास्वपा र राप्रपालाई एकठाउँ राख्ने पर्यास गर्दै ओलीले गत निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति बिस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेको उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीले लेखेका छन्, ‘निर्वाचनमा प्रियतावादी ‘पपुलिष्ट’ शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दल (राप्रपा)को शक्ति बिस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेका छन् ।’
राप्रपाप्रति लक्षित गर्दै ओलीले ‘जन्मजात श्रेष्ठतालाई बोक्ने, आफ्नै अयोग्यता, कमजोरीका कारण जनताबाट विस्थापित राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना नभएको’ उल्लेख गरेका छन् ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन, त्यसयताको राजनीतिक घटनाक्रम, एमालेको आन्तरिक गतिविधि लगायतलाई शिलशिलाबद्ध रुपमा समेटेका अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गर्ने दृढता व्यक्त गरे ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेश गरेका छन् । उक्त बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना प्रतिनिधिहरु सहभागी छन् ।
समाजवादी मोर्चाप्रति अरुची
एमाले अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन मार्फत समाजवादी मोर्चा वा वामपन्थी ध्रुवीकरण तत्काल रुची नरहेको सन्देश दिएका छन् ।
हाल सरकारमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र सरमारमा रहेको नेत्र विक्रम चन्द नेतृत्वको पार्टी समाजवादी मोर्चामा छ । चार दलीय समाजवादी मोर्चाले मोर्चावन्दी गर्दै वामपन्थी ध्रविकरण र एकतासम्मको विषय अगाडि बढाएको छ । समाजवादी मोर्चाले सरकारमा आएपछि नेकपा एमालेलाई समेत सामेल हुन आग्रह गर्दै आएको छ । मोर्चाको संयोजकमा हाल विप्लव छन् । उनले एमालेलाई पत्र नै लेखेर मोर्चामा सहभागिताका लागि आग्रह गरेका छन् ।
तर, राजनीतिक प्रतिवेदनमार्फत ओलीले तत्काल आफ्नो पार्टी समाजवादी मोर्चा वा वामपन्थी ध्रुवीकरण लागि तयार नरहेको सन्देश दिएका हुन् । उनले लेखेका छन्, ‘..यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन ।’ तथापि, सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण भए आगामी दिनमा एकै ठाउँ हुन सक्ने ओलीको सन्देश छ ।
यसलाई एमालेका नेताहरु पार्टी एकता वा ध्रुवीकरण नभइ एमालेमा प्रवेश गर्नेहरुका सन्दर्भमा स्वागत गर्न तयार रहेको अध्यक्षको राजनीतिक प्रतिवेदनको सार रहेको बताउँछन् ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने बताएका छन् । शनिबार अर्घाखाँचीको मालारानी-५ गुरासे आएका पूर्वप्रधानमन्त्री भट्टराईले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वर्तमान सरकार असफलताउन्मुख रहेको बताउँदै राजनीतिक दलहरु स्वार्थ र फाइदाका पछाडि हिँड्ने प्रवृत्तिले गर्दा मुलुकमा भ्रष्टाचार दिन प्रतिदिन मौलाएको टिप्पणी गरे । उनले वर्तमान सरकारसँग भ्रष्टाचारीलाई जेल हाल्ने तागत नभएको समेत बताए ।
उनले बाह्य लगानी घटेको, व्यापार घाटा बढेको, विकास खर्चसमेत लक्ष्यअनुसार नभएको उल्लेख गर्दै सरकार असफल भएको र वर्तमान सत्ता गठबन्धन पनि धेरै दिन टिक्न नसक्ने बताए । उनले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्नेभन्दा पनि आफ्ना नेताहरुलाई जोगाउने र अरुसँग प्रतिषोध साध्ने गरेको बताए । उनले ठूला दलहरु मिलेर सरकार बनाए मात्रै मुलुकले स्थिर सरकार पाउने बताए ।
भट्टराईले राजनीतिक दलहरु फाइदाका पछाडि लाग्ने भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेका कारण जनतामा निराशा छाएको दाबी गर्दै १४ महिने कार्यकालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनता सन्तुष्ट हुने काम गर्न नसकेको र असन्तुष्टि मात्रै पैदा भएको दाबी गरे । भट्टराईले भने, 'राजस्वको लक्ष्य पनि पूरा हुन सकेन, व्यापार घाटा बढेर गयो, लगानी घट्यो भनेर प्रधानमन्त्री स्वयं आफैंले भनिरहेका छन् । सबै हिसाबले सरकार असफलतातिर उन्मुख भइरहेको छ । यो सरकार टिकाउ हुन सक्दैन ।'
जनताको अपेक्षाअनुसार तीव्रताका साथ मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको र सरकार पूर्णरुपमा असफल भएको उनको भनाइ थियो ।
भट्टराईले सबै नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताउँदै पूर्वप्रधानमन्त्रीको हैसियतले आफूबाट छानबिन शुरु गर्न आग्रह गरे ।
काठमाडौं : नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा विभिन्न प्रतिवेदनहरू पेस भएका छन् ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
केन्द्रीय लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोगले पनि प्रतिवेदन प्रस्तुत भएका छन् ।
बैठकमा अध्यक्ष ओलीले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम पार्टीको अवस्थाबारे जानकारी गराए भने महासचिव पोखरेलले पार्टी संगठनको अवस्थाबारे जानकारी गराएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् ।
शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने बताए ।
उनले भने, 'अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु ।'
महामन्त्री थापाले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए । चुनावअघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको उनको भनाइ छ ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : इलाम–२ मा रिक्त प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ । तर यसको चासो सिंगो मुलुकभर छ । काठमाडौंमा बसेर लेखाजोखा गरिरहेका राजनीतिक दलहरु पछिल्लो समय इलाम–२ को प्रचारका लागि पुगेका छन् ।
रास्वपाले उपनिर्वाचन घोषणा भएदेखि नै केन्द्रीय नेताहरुलाई खटाएको थियो । शीर्ष नेताहरुले पनि स्थानीय स्तरमै पुगेर प्रचार गरिरहेका छन् । रास्वपाको आक्रमक प्रचारपछि नेपाली कांग्रेस र नेकपा एमाले झस्किएको देखिन्छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पार्टीका उपसभापति पूर्णबहादुर खड्कासँग उपचुनावको ब्रिफिङ लिएका थिए । पार्टी महामन्त्री गगन थापा, नेता शेखर कोइराला लगायत फिल्डमै पुगेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार इलाम पुगेका थिए । एमालेका अन्य नेताहरु पनि उपनिर्वाचनमा केन्द्रित भएका छन् । रास्वपाका शीर्ष नेताहरुले जमेर प्रचार गरेपछि कांग्रेस र एमाले नेताहरु पनि इलाम केन्द्रित भएका हुन् ।
संघीय संसदमा एक सिटले संसदीय अंकगणितका लागि धेरै अर्थपूर्ण नभएतापनि राजनीतिक भविष्यको संकेत हुने भएकाले रास्वपा र पुराना दलहरुले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका हुन् । नयाँ दलहरुसँगै पहिचानवादीले पनि उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
निर्वाचन परिणामले राजनीतिक दलहरुको र पहिचानवादी मुद्दाको भविष्य समेत जोडिने भएकाले सबैको साझा मुद्दा पहिचान स्थापित गर्ने हुन पुगेको छ ।
४ मंसिर ०७९ को आमचुनावमा २० सिट ल्याएको रास्वपा उपनिर्वाचनबाट २१ पुगेको र इलाम २ मा जितेर २२ पुर्याउने ध्याउन्नमा छ । इलाम २ जिते २०८४ मा बहुमत आउने पुष्टि हुने भनी प्रचारमा रहेको रास्वपाको क्रेज रोक्न एमाले र कांग्रेस सक्रिय भएर लागेका हुन् ।
गत आम चुनावबाट निर्वाचित सदस्य सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुन लागेको हो । २०४८ सालदेखि लगातार जित्दै आएको निर्वाचन क्षेत्र भएकाले एमाले विरासत जोगाउने प्रयासमा छ भने कांग्रेस एमालेको विरासत तोड्न चाहन्छ । तर यो बेला रास्वपा प्रचारमा हावी भएपछि कांग्रेस र एमाले दुवै झस्किएका छन् । रास्वपा भने इलाम २ मा चुनाव जितेर पूर्वी नेपालमा पनि आफ्नो प्रभाव स्थापित गर्न चाहन्छ ।
अर्कोतर्फ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र धरानका मेयर हर्क साङपाङको समर्थन पाएका स्वतन्त्र उम्मेदवारमार्फत पहिचानवादी आफ्नो एजेन्डा स्थापित गर्ने रणनीतिमा लागेका छन् ।
एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाको समर्थन छ । अन्य दलबीच गठबन्धन छैन । सत्ता गठबन्धनमा रहेका दल एमाले, रास्वपा र एकीकृत समाजवादीका भिन्दाभिन्दै उम्मेदवार छन् ।
अद्यावधिक नामावलीअनुसार इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । इलाम २ मा कांग्रेसका डम्बरबहादुर खड्का उम्मेदवार छन् । गत चुनावमा खड्का एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । अघिल्लो हारको बदला लिने खड्काको दाउ छ ।
रास्वपाका तर्फबाट मिलनकुमार लिम्बू उम्मेदवार छन् । पत्रकारिता पृष्ठभूमिका लिम्बुले रास्वपा प्रवेश गर्दै विकास र पहिचानको एजेन्डा बनाएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई पहिचानवादी शक्तिले समर्थन गरेका छन् ।
उम्मेदवारहरु चुनावी प्रचारमा छन् । उम्मेदवारसँगै नेता÷कार्यकर्ता गाउँ–गाउँमा गएर भोट मागिरहेका छन् । स्थानीयहरु इलाम २ मा कांग्रेस, एमाले र रास्वपा बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने बताउँछन् । पहिचान पक्षधरले नतिजा प्रभावित पार्न सक्ने कतिपयको आंकलन छ ।
केही समय अगाडिसम्म कांग्रेस र एमालेले एक–अर्कालाई प्रतिस्पर्धी ठानेका थिए । पछिल्लो समय रास्वपाको चुनावी प्रचारले कांग्रेस र एमाले नै झस्किएका छन् । कतिपय स्थानीयका अनुसार रास्वपाले एमालेलाई आफ्नो मुख्य प्रतिस्पर्धी ठानेको छ ।
विराटनगर : कोशी प्रदेश सभामा बिहीबार पेस भएको संकल्प प्रस्ताव पारित भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश संकल्प प्रस्ताव पारित भएको हो ।
प्रदेशसभामा ध्वनि संकल्प प्रस्ताव पास भएपछि मत विभाजनको माग हुँदा पक्षमा ५२ जना प्रदेशसभा सदस्य उभिएका थिए ।
विपक्षमा रहेका प्रदेश सभा सांसदहरुले मत दिन चाहेनन् । ३ जना भने तटस्थ रहेका प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies