मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : इलाम–२ मा रिक्त प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ । तर यसको चासो सिंगो मुलुकभर छ । काठमाडौंमा बसेर लेखाजोखा गरिरहेका राजनीतिक दलहरु पछिल्लो समय इलाम–२ को प्रचारका लागि पुगेका छन् ।
रास्वपाले उपनिर्वाचन घोषणा भएदेखि नै केन्द्रीय नेताहरुलाई खटाएको थियो । शीर्ष नेताहरुले पनि स्थानीय स्तरमै पुगेर प्रचार गरिरहेका छन् । रास्वपाको आक्रमक प्रचारपछि नेपाली कांग्रेस र नेकपा एमाले झस्किएको देखिन्छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पार्टीका उपसभापति पूर्णबहादुर खड्कासँग उपचुनावको ब्रिफिङ लिएका थिए । पार्टी महामन्त्री गगन थापा, नेता शेखर कोइराला लगायत फिल्डमै पुगेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार इलाम पुगेका थिए । एमालेका अन्य नेताहरु पनि उपनिर्वाचनमा केन्द्रित भएका छन् । रास्वपाका शीर्ष नेताहरुले जमेर प्रचार गरेपछि कांग्रेस र एमाले नेताहरु पनि इलाम केन्द्रित भएका हुन् ।
संघीय संसदमा एक सिटले संसदीय अंकगणितका लागि धेरै अर्थपूर्ण नभएतापनि राजनीतिक भविष्यको संकेत हुने भएकाले रास्वपा र पुराना दलहरुले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका हुन् । नयाँ दलहरुसँगै पहिचानवादीले पनि उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
निर्वाचन परिणामले राजनीतिक दलहरुको र पहिचानवादी मुद्दाको भविष्य समेत जोडिने भएकाले सबैको साझा मुद्दा पहिचान स्थापित गर्ने हुन पुगेको छ ।
४ मंसिर ०७९ को आमचुनावमा २० सिट ल्याएको रास्वपा उपनिर्वाचनबाट २१ पुगेको र इलाम २ मा जितेर २२ पुर्याउने ध्याउन्नमा छ । इलाम २ जिते २०८४ मा बहुमत आउने पुष्टि हुने भनी प्रचारमा रहेको रास्वपाको क्रेज रोक्न एमाले र कांग्रेस सक्रिय भएर लागेका हुन् ।
गत आम चुनावबाट निर्वाचित सदस्य सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुन लागेको हो । २०४८ सालदेखि लगातार जित्दै आएको निर्वाचन क्षेत्र भएकाले एमाले विरासत जोगाउने प्रयासमा छ भने कांग्रेस एमालेको विरासत तोड्न चाहन्छ । तर यो बेला रास्वपा प्रचारमा हावी भएपछि कांग्रेस र एमाले दुवै झस्किएका छन् । रास्वपा भने इलाम २ मा चुनाव जितेर पूर्वी नेपालमा पनि आफ्नो प्रभाव स्थापित गर्न चाहन्छ ।
अर्कोतर्फ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र धरानका मेयर हर्क साङपाङको समर्थन पाएका स्वतन्त्र उम्मेदवारमार्फत पहिचानवादी आफ्नो एजेन्डा स्थापित गर्ने रणनीतिमा लागेका छन् ।
एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाको समर्थन छ । अन्य दलबीच गठबन्धन छैन । सत्ता गठबन्धनमा रहेका दल एमाले, रास्वपा र एकीकृत समाजवादीका भिन्दाभिन्दै उम्मेदवार छन् ।
अद्यावधिक नामावलीअनुसार इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । इलाम २ मा कांग्रेसका डम्बरबहादुर खड्का उम्मेदवार छन् । गत चुनावमा खड्का एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । अघिल्लो हारको बदला लिने खड्काको दाउ छ ।
रास्वपाका तर्फबाट मिलनकुमार लिम्बू उम्मेदवार छन् । पत्रकारिता पृष्ठभूमिका लिम्बुले रास्वपा प्रवेश गर्दै विकास र पहिचानको एजेन्डा बनाएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई पहिचानवादी शक्तिले समर्थन गरेका छन् ।
उम्मेदवारहरु चुनावी प्रचारमा छन् । उम्मेदवारसँगै नेता÷कार्यकर्ता गाउँ–गाउँमा गएर भोट मागिरहेका छन् । स्थानीयहरु इलाम २ मा कांग्रेस, एमाले र रास्वपा बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने बताउँछन् । पहिचान पक्षधरले नतिजा प्रभावित पार्न सक्ने कतिपयको आंकलन छ ।
केही समय अगाडिसम्म कांग्रेस र एमालेले एक–अर्कालाई प्रतिस्पर्धी ठानेका थिए । पछिल्लो समय रास्वपाको चुनावी प्रचारले कांग्रेस र एमाले नै झस्किएका छन् । कतिपय स्थानीयका अनुसार रास्वपाले एमालेलाई आफ्नो मुख्य प्रतिस्पर्धी ठानेको छ ।
विराटनगर : कोशी प्रदेश सभामा बिहीबार पेस भएको संकल्प प्रस्ताव पारित भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश संकल्प प्रस्ताव पारित भएको हो ।
प्रदेशसभामा ध्वनि संकल्प प्रस्ताव पास भएपछि मत विभाजनको माग हुँदा पक्षमा ५२ जना प्रदेशसभा सदस्य उभिएका थिए ।
विपक्षमा रहेका प्रदेश सभा सांसदहरुले मत दिन चाहेनन् । ३ जना भने तटस्थ रहेका प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै संवाद गरे । कारण एउटै थियो– सुदूरपश्चिमको मुख्यमन्त्री चयन ।
एमाले समेतको समर्थनमा मुख्यमन्त्रीमा दिर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको तयारी थियो । तर, एमालेले नमानेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका हुन् । कांग्रेस एकीकृत समाजवादीको उम्मेदवारलाई समर्थन गर्न तयार भएपछि एमाले आफ्नो अडानबाट पछि हट्यो । एमाले पछि हटेपछि एकीकृत समाजवादीले एमाले र माओवादी केन्द्र सम्मिलित गठबन्धनबाटै मुख्यमन्त्रीमा दाबी पेश गर्यो । सोडारी बिहीबार नै मुख्यमन्त्री नियुक्त भएका छन् ।
निकै रस्साकस्सीकाबीच बिच मुख्यमन्त्रीमा दाबी पेश गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुुन् । नेकपा एमाले, माओवादी केन्द, नाउपा (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थनमा सोडारी मुख्यमन्त्री भएका हुन् ।
तथापि, सोडारीको मुख्यमन्त्री नियुक्तिको विषयलाइ लिएर कांग्रेर र नागरिक उम्मुक्ति पार्टीका पाँच जना सांसदले प्रश्न उठाएका छन् । नाउपा संस्थापन रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको पक्षधरमा विभाजित छ । सोडारीलाई नाउपाका सांसद लक्ष्मण चौधरीले संसदीय दलको नेताको रुपमा समर्थन गरेका छन् । तर, उनी संसदीय दलको नेता औपचारिक रुपमा भइसकेका छैनन् । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले लक्ष्मणकिशोर चौधरीलाई प्रदेश संसदीय दलको नेताबाट हटाएर लक्ष्मण चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारी दिएको पत्र प्रदेश सभा सचिवालयमा पठाउकी छन् । तर, सभामुखले उक्त पत्र सदर गरेका छैनन् ।
प्रतिपक्षीले जे जस्ता प्रश्न उठाएता पनि सोडारीले विश्वासको मत पाएको खण्डमा उनी बहुमत कायम राख्न सक्दासम्म सरकारको नेतृत्वमा रहन्छन् । तर, यो प्रकरणले एकीकृत समाजवादीको राजनीतिक उचाइ बढाएको छ ।
नेपाली कांग्रेस नयाँ गठबन्धनका लागि एकीकृत समाजवादीलाई आफने कित्तामा ल्याउन चाहन्छन् । सत्तारु दलहरु संघ र प्रदेशमा आफ्नो सत्ता टिकाइराख्न एकीकृत समाजवादीको साथ निरन्तर चाहन्छ । यसकारण माधव नेपाल ठुला दलहरुको केन्द्र र तानातानमा परेका हुन् ।
नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल सत्ताको खेलमा निर्णायक शक्तिको महत्व सुदूरपश्चिम प्रदेशको राजनीतिले स्पष्ट गरिदिएको बताउँछन् ।
उनी भन्छन्, ‘हरेक राजनीतिक दलको महत्व हुन्छ । सुदूरपश्चिम प्रदेशको पछिल्लो घटनाले गठबन्धनको संस्कृतिमा निर्णायक संख्याको महत्व सबैले थाहा पाउने गरी स्पष्ट गरिदिएको छ ।’
आन्तरिक छलफलमा ओली, प्रचण्ड र रवि
नेकपा एकीकृत समाजवादीले कांग्रेससँग समेत प्रदेश सरकार बनाउन समेत तयार रहेको सन्देश प्रवाह गरेपछि केन्द्रीय सत्ता समीकरणमा रहेका रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झस्किएको छ । परिवर्तित अवस्थाबारे बिहीबार मात्रै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेबीच आन्तरिक छलफ भएको छ ।
सिंहदरवारमा भएको भेटमा प्रदेश सरकार गठनको विषयमा सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिबारे छलफल भएको नेताहरु बताउँछन् । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समग्र राजनीति परिस्थितिको समीक्षा गरिएको बताए ।
सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुधबार साँझ भेट गरेका थिए । एमालेले आफूले भने अनुसार नगरे कांग्रेससँग मिलेर सुदूरपश्चिम प्रदेशको नेतृत्व लिने सार्वजनिक अभिव्यक्ति एकीकृत समाजवादीका नेताहरुले दिएका थिए ।
पछिल्लो यही घटनाको विषयमा ओली, प्रचण्ड र लामिछानेबीच छलफल भएको हो । छलफलपछि लामिछानेले प्रदेशमा देखिएका समस्याले केन्द्रीय गठबन्धनमा असर नपार्ने बताएका छन् ।
उनले भनेका छन्, ‘सुदूरपश्चिम सरकार गठनमा देखिएको विवाद वा छलफलले केन्द्रीय सत्ता गठबन्धनमा कुनै समस्या पैदा भएको छैन ।’
काठमाडौं : निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन नेपाल सरकारलाई सहयोगको आग्रह गरेको छ ।
उपनिर्वाचन हुने जिल्लामा विद्युत्, खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य, दमकल जस्ता सेवा तन्दुरुस्त राख्न र निर्वाचन क्षेत्रमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीलाई सुरक्षित कार्य सम्पादन गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय गरेको आयोगले जनाएको छ ।
प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचन सम्पन्न गर्न गत चैत २८ गतेदेखि आचारसंहिता लागू भएको छ ।
काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
साेडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
यसअघि वैशाख २ गते नागरिक उन्मुक्ति पार्टीबाट दुई जना सांसदले सर्मथन जुटाएर छुट्टाछुट्टै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर प्रदेश प्रमुख मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुन: मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।
काठमाडौं : सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् ।
बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
वैशाख ४ गते साँझ ६ बजेतिर स्पष्ट बहुमत नरहेको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरेका थिए । सोडारीले अन्तिम दिन दाबी पेस गरेका हुन् ।
साेडारीलाई नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सासंदको समर्थन रहेको छ ।
काठमाडौं : सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई नेकपा एमालेले पनि समर्थन गरेको छ ।
बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका हुन् ।
सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका सोडारी एमालेको समर्थन नपाउँदा दाबी पेश गर्नबाट रोकिएका थिए ।
संविधानको धारा १६८ (२) अनुसार सोडारीले आजै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने भएका छन् ।
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री महाराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थप गरेका हुन् । योसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।
विस्तारित मन्त्रिमण्डलमा एमालेका चेतनारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
संसदीय दलका उपनेता आचार्यले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा गएका हुन् । बाँकी ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भूमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले बिना विभागीय मन्त्री भएका छन् । उनीहरूले आजै साँझ ५ बजे शपथ लिने तयारी छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गोल्फुटारमा बुधबार साँझ भेटवार्ता भएको हो ।
उनीहरूबीच सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा देखिएको समस्याबारे छलफल भएको छ । त्यस्तै कोशी प्रदेशमा देखिएको समस्याबारे पनि कुराकानी भएको छ ।
देउवा र नेपालबीच वैकल्पिक समीकरणका विषयमा पनि कुराकानी भएको बताइएको छ । उनीहरुबीच सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्नेबारे कुराकानी भएको हो ।
काठमाडौं- सुदूरपश्चिमका प्रदेशमा दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ । प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दिएको समय आज किन लागेको हो । सत्तारूढ गठबन्धनभित्र भएको सहमति अनुसार एकीकृत समाजवादीले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई अघि सारेको छ तर एमालेले उनलाई विवादित पात्र भन्दै मुख्यमन्त्रीका रूपमा समर्थन गर्न नसकिने अडान लिएको छ ।
‘सोडारीले कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका रेशम पक्षसँग मिलेर गठबन्धन तोड्ने प्रयास गरेका कारण पनि उनलाई अघि सार्न नसक्ने अवस्था बनेको एमालेका अर्का प्रदेश सभा सदस्य बताउँछन् । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने पात्रको विषयभन्दा पनि पार्टीको निर्देशन पर्खिरहेको बताए ।
तर एकीकृत समाजवादी प्रदेश संसदीय दल र केन्द्रीय सचिवालयको बैठकले सोडारीलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावल भने गठबन्धनमा आवद्ध सबै दलले एकअर्काको विकल्प स्वीकार गर्नुपर्ने बताउँछन् ।
एकीकृत समाजवादीले पहिलोपटक २३ चैतमा सरकार गठनका लागि दिइएको समयमा कांग्रेससँग मिलेर नाउपाका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको थियो । चौधरीले २ वैशाखमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
एमाले र माओवादीको समर्थनमा नाउपाकै अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाले निष्कर्षमा पुग्न नसकिएको भन्दै संविधानको धारा १६८ को २ अनुसार नै सरकार गठनका लागि पुनस् आह्वान गरेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies