-राज कुमार राजभण्डारी ‘खोटाङ्गे’
१.
भेट्ने इच्छा भए रातमा होइन दिनमा आउ
बात मिले छ भने हामी दुई बिच माया लाउ
माया मायामा मात्रै सिमित होइन साचो होस्
क्षणिक होइन जुनी भरिलाई तिम्रो साथ पाउ ।।
२.
सुख्खायाममा खडेरीले बालीनाली सुकाउछन्
वर्षायाममा बाढी आई घर खेत डुबाउछन्
सताएको छ किसानलाई समस्याले सधैँभरी
तै पनि मुटु दह्रो पारी पिरको आँसु लुकाउछन् ।
३.
सौखिनहरू त मेहेन्दी लगाई हातको मेला देखाउछन्
कर्मशिलहरू कोदालो खेलाई हातमा ठेला देखाउछन्
एकआपसमा सहकार्य हुन पनि सक्छ नहुन पनि
त्यसैले परिस्थितिअनुसार आ–आफ्नै भेला देखाउछन् ।।
४.
लागेको थियो केही जनप्रतिनिधि नैतिकवान जस्तो
अदालतको निर्णय नमान्ने ती जनप्रतिनिधि कस्तो
पाउनै कठिन भयो देशमा अब खासै सुयोग्य नेता
पाउन त पाइन्छ तर कवाडी सामनभन्दा नी सस्तो ।।
– मनिष आजाद
राजालाई वरदान छ
उसलाई कसैले मार्न सक्दैनन्
साथै एउटा चेतावनी पनि छ,
उसले साना–साना घाऊहरूबाट जोगिनु पर्छ
त्यो घाऊमा यदि कमिला लागे भने
राजालाई कसैले बचाउन सक्ने छैनन् ।
राजाका पैतालामुनि
कैयन कमिलाहरू कुल्चिइन्छन्
राजा कहिले रिसले कुल्छन्छ
कहिले माया गरेर कुल्चन्छ
अनि कति त्यत्तिकै पनि कुल्चन्छ ।
कमिलाहरू हैरान थिए
उनीहरू
सर्पको घाऊ पर्खे जसरी
राजाको घाऊ पर्खिरहेका थिए ।
एक दिन राजाले फर्मान जारी गर्यो
उसलाई एउटा मात्रै रङ्ग मन पर्छ
बाँकी रङ्गले
या त राज्य छोड्नु
कि त आफ्नू रङ्ग मधुरो पारून ।
राज्यमा हाहाकार मच्चियो
कसैले राजाको कुरा मानेर
आफ्नो रङ्गलाई मधुरो पारे
कसैले भने आफ्नो रङ्गलाई चम्किलो बनाउन
यथासक्य कोसिस गरे
र त्यसको आरोपमा जेल पनि जान थाले
राजाको पैतामामुनि कुल्चिदै पनि रहे ।
तर केही रङ्ग भूमिगत भए
र राजाका विरुद्ध विद्रोहको बिगुल फुके
राजाले पनि
तिनीहरूका विरुद्ध पूरै सेना उतार्यो ।
तर भयानक दमनका विपरित
विद्रोहीहरूले
राजालाई एउटा सानो घाऊ बनाइदिएरै छोडे
कमिलाहरू यही कुरा त पर्खिरहेका थिए ।
कमिलाहरूले
लाइन लागेर राजाको घाऊमाथि हमला बोले
राजा र उसका निजी सेनाले
कमिलाहरूलाई मारिरहे ।
तर कमिलाको लाइन अन्तहीन थियो
झ्याल ढोका सबै बन्द गरियो
तर, कहिले खट्प्वालबाट
चेपचापबाट
हरेक खाले प्वालबाट
कमिलाका पंक्ति अघि बढिरहे
कमिलाहरू मरिरहे
तर अर्को कमिला
मरेको कमिलामाथि चढेर अघि बढिरहे !
राजाको घाऊलाई गहिराइरहे !
राजाको शरीरको तापमान बढ्दै गयो !
यसरी, अन्तमा
राजा भुतभुताउदै मर्यो
भुताउँदै गर्दा राजाले भन्यो –
हैन राज्यमा कति छन् कमिला पनि ?
काठमाडौं : साहित्यकार दिलीप योञ्जन तामाङद्वारा रचित ‘आमा मेरी आमा’ विमोचन गरिएको छ । बुधबार एक कार्यक्रममा वरिष्ठ गीतकार कृष्णहरी बराल, साहित्यकार डा. रेनुका सोलु, शुभ मुकारुङ, विश्व बल्भव, गीतकार तथा गजलकार सितल कादम्बीनीले संयुक्तरुपमा विमोचन गरे ।
लोकार्पण कार्यक्रमको स्वागत मन्तव्य गीतकार सितल कादम्बेनीले राखेकी थिइन् । गीतकार दिलिप योञ्जनले आफ्नी स्वर्गीय माता पासाङ डोल्मी तामाङप्रति समर्पित भएर रचना गरिएको गीतसहित जम्मा ७ वटा गीतको विमोचन गरिएको थियो । मातृस्नेह, जीवन भोगाइ, आध्यात्म, दर्शन र जागरणलाई गीतमा समेटिएको छ ।
साहित्यकार डा. रेनुका सोलुले विमोचित भएको एल्बमको विषयमा समीक्षा गरेकी थिइन् । साहित्यकार दिलीप योञ्जनले नेपाली साहित्य तथा गीत लेखनको क्षेत्र साथै समाज सेवाको क्षेत्रमा पुर्याएको योगदान अमुल्य रहेको बताइन् । आमालाई श्रद्धाञ्जली स्वरुप समर्पण गरिएको गीतमा मातृभूमी र आमाको कर्मबाट आफू सफल भएको कुरालाई गीतमा समेटेको बताइन् ।
वरिष्ठ गीतकार कृष्णहरी बरालले गीतकार योञ्जनले नेपाली गीत संगीत र साहित्यका विविध विधामा पुर्याएको योगदानलाई आम नागरिकले भुल्न नहुने बताए । योञ्जनका हालसम्म ६ बटा गिती संग्रह बजारमा आएका छन् । साकुरा, अमुल्य, अजम्बरी, आफ्नै छायाँले, अनुराग र आमा मेरी आमा गीतिसंग्रह बजारमा आएका छन् ।
आगमन, अविरल, अमर मुक्तक संग्रह, मान्छेको भिडमा, आस्था खोजीरहेको छु कविता संग्रह, गाउँबेसीमा फूलै फूल्यो गीतिसंग्रहजस्ता सिर्जनाले नेपाली संगीतप्रेमी एवम् साहित्य अनुरागी मनहरुलाई आनन्दित बनाएको उनले बताए । एल्बममा राजेश थापा र डिवी लामाको संगीत रहेको छ । साथै सुरेश लामा, प्रविण बेडवाल, श्रेयसी चेम्जोङ, शुभ तामाङ, सुनिता लो, सुमिना लो र अन्जु लामाको स्वर रहेको छ । राजु कार्की र प्रविण वाङ लामाले गीतमा एरेन्ज गरेका छन् ।
कार्यक्रममा बोल्दै संगीतकार राजेश थापाले दिलीप योञ्जन आफैंमा सशक्त गीतकार रहेको दाबी गरे । उनले मौलिक सिर्जना र नेपाली माटोप्रतिको प्रगाढ स्नेह उनको गीतमा भेट्न सकिने दाबी गरे ।
कार्यक्रमका विषयमा गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार दिलिप योञ्जनद्वारा रचित गीतिसंग्रह विमोचन गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताए । कार्यक्रममा साहित्यकार, गीतकारहरु, गायक गायिकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
काठमाडौं : लेखक रत्नलक्ष्मी श्रेष्ठका दुई कृतिमा परिचर्चा गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा मंगलबार डालो रेस्टुरेन्ट, अनामनगरमा भएको एक कार्यक्रममा लेखक रत्नलक्ष्मी का कृतिहरू ‘चिन्ता र चासो’ लेखसंग्रह तथा ‘स्वाभिमानको तस्वीर’ कवितासंग्रहको परिचर्चा गरिएको हो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले रत्नलक्ष्मीका रचनाहरूमा देश र समाजप्रतिका चिन्ता र चासोका अतिरिक्त चिन्तन र विश्लेषण पनि पाइने बताए ।
प्रमुख अतिथिको आसनबाट इतिहासविद् प्रा. डा. सुरेन्द्र केसीले गीताका अभिव्यक्त विचारहरू आफ्नो आवश्यकताअनुसार मात्र प्रयोग गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै समग्र गीताको गम्भीर अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले रत्नलक्ष्मीका कृतिहरूमा समाज र देशमा विद्यमान विकृतिविरूद्ध कडा प्रहार पाइने धारणा राखे ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले रत्नलक्ष्मीको चिन्ता र चासोमा समसामयिक विषयप्रतिको गहिरो चिन्तन र विवेचना पाइने बताउँदै लेखनमा उनी इमानदार भएको उल्लेख गरे । अर्का समालोचक डा. गोविन्दमानसिंह कार्कीले रत्नलक्ष्मीका कविताहरूमा विषयगत विविधतासँगै समय र समाजका चित्रहरू सरलरूपमा कोरिएको चर्चा गरे । सर्जक डा. गीता शिवाकोटी खरेलले रत्नलक्ष्मीको संघर्ष, शिक्षाप्रतिको असीम चाहना र समाजसेवाका बारेमा प्रकाश पार्दै उनको योगदानको प्रशंसा गरे । कार्यक्रममा समालोचक डा. शान्तिमाया गिरी र साहित्यकार मन्जिला अनिलले पनि कवि एवम् लेखक रत्नलक्ष्मीका कृतिहरूमा पाइने विशेषताहरूको चर्चा गरेका थिए ।
लेखक रत्नलक्ष्मीले आफू कवि, लेखक नभए पनि देश र समाजमा देखिएका विकृति एवम् विसंगतीहरूलाई हटाउनका लागि हृदयबाटै अभिप्रेरित भएर कलम समाएको बताइन् । उनले यस वर्ष आफ्ना दुई कृति प्रकाशित गर्ने योजना भएको जानकारी पनि दिइन् ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पुस्तकका सम्पादक डा. मधुसूदन लामिछाने र राजेश श्रेष्ठले पनि लेखकलाई शुभकामना दिएका थिए । साहित्यकार श्रीबाबु कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा संघकी सचिव नीता श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । कवि मुरारि सिग्देलले ‘स्वाभिमानको तस्वीर’ कविता कृतिबाट एक कविता वाचन गरेका थिए ।
कार्यक्रममा लेखक रत्नलक्ष्मीलाई माला, सापस स्वर्ण महोत्सव मेडल र खादा लगाएर सम्मान पनि गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु किस्जोर पहाडी, राजेन्द्र केसी, गीता मैनाली, कमला रिसाल, डा. दामोदर पुडासैनी, हरि थापा, मीठु थापा, शंकर भारती, डा. बुनु दाहाल, सरस्वती गौतमलगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं : ‘आवरण’ र ‘अनुराग’ उपन्यासको सफलतापश्चात साहित्यकार जया ओझाको तेस्रो कृति ‘रुमानी’ सार्वजनिक भएको छ । पेज टर्नरले सिटिम्याक्स हल काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार भुवनहरि सिग्देल, डा. अशोक थापा, माल्भिका सुब्बा तथा लेखिका स्वयंले संयुक्तरुपमा ‘रुमानी’ विमोचन गरेका हुन् ।
कार्यक्रममा उपन्यासमाथि डा. अशोक थापा तथा माल्भिका सुब्बाले आ–आफ्नो विचार राखेका थिए भने लेखिका स्वयंले पनि आफ्नो धारणा प्रस्तुत गरेकी थिइन् । आफ्नो नयाँ उपन्यास ‘रुमानी’ले पाठकहरुको मन जित्न सफल हुने ओझाको विश्वास छ । ३६४ पृष्ठ, ६४० मूल्य रहेको ‘रुमानी’ पेज टर्नरले प्रकाशन गरेको हो ।
–प्रा. डा. सावित्री कक्षपति
नेपाली समाजको चेतनास्तर निर्माण गर्न र वाक स्वतन्त्रतामार्फत प्रजातन्त्र ल्याउन नाटक विधाले गरेको योगदानको हिसाब कसले राख्ने ? यही पृष्ठभूमिको पछिल्लो दृष्टान्त संविधानसभा निर्वाचनलाई नै लिन सकिन्छ । नेपालमा पहिलो पटक वि.सं. २०६४ मा भएको संविधानसभाको निर्वाचनमा बढीभन्दा बढी नागरिकलाई मतदानका लागि तयार पार्ने काम सडक नाटकले नै गरेको हो । जनताले पाउने संविधान कस्तो हुनुपर्छ र सबै नागरिक यो महानिर्वाचनमा किन सहभागी हुनुपर्छ भन्ने विषयमा प्रस्तुत गरिएको सडक नाटकले नेपालका गाउँ तथा कुना कन्दरासम्म सकारात्मक सन्देश पुर्याएको थियो । यसकारण धेरै मत खसेको र सबै नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्न मतदान केन्द्रसम्म पुगेका थिए भनेर यसको प्रारम्भिक अनुसन्धानमा संलग्नहरुको प्रतिक्रिया हामीले सुनेका हौं ।
नेपाली नाट्य क्षेत्रका एक बादशाह अशेष मल्लले लेखेको नाटक उनकै निर्देशनबाट देशव्यापी प्रदर्शन गरिएको थियो । संसारका अरु देशमा खोज्दा पनि यस्तो उदाहरण सायदै कतै भेटिन्छ होला कि एउटै सन्देशको नाटक एकै समयमा देशका सबै वडा÷वडामा प्रदर्शन गरिएको थियो । नेपालमा नाट्य क्षेत्रकै इतिहासमा यो एक ऐतिहासिक क्षण हो । निर्वाचन आयोगले सर्वनाम, आरोहण र कुसुमलाई नाटकबाट प्रचार गर्न गरेको आग्रहलाई मानी सर्वनामको सहयोगमा यसलाई देशव्यापी बन्यो । जसका कारण देशव्यापीरुपमा संविधानसभाको आवश्यकता र महत्वको सन्देश पुग्यो । यस निर्वाचनमा कसरी चुनाव प्रचार गर्ने, कसरी मतदान गर्ने, मतदान किन गर्ने, संविधान सभापछि कसरी नागरिकको अधिकार स्थापित हुन्छ भन्ने कैयौँ प्रश्नका जवाफ र सकारात्मक सन्देशहरु समेटिएको थियो । मतपत्र बोकेर घरघरमा गएको, मतदान गर्न सिकाएको र कसरी मतदान गर्ने र नागरिकले के पाउँछन् भन्ने जानकारीहरु सडक नटकमा समेटिएकाले नागरिकको व्यापक सहभागिता भयो ।
त्यस समय निर्वाचन आयोगले नै सडक नाटकको महत्वलाई बुझेर यो अनुरोध गरेको थियो र यसको प्रभाव पनि देखियो । त्यो पहिलो संविधानसभाले संविधान लेख्न सकेन र पछि आएर अर्काे निर्वाचन पनि गर्नुपर्यो । त्यतिबेला भने अशेष मल्लले पुनः नाटक लिएर जान मानेनन् । पहिलो संविधानसभामा जनतामा जगाइएका आशाहरु मरिसकेको थियो र र जनतामा राजनीतिक अस्थिरताको निराशा पलाएका खबरहरु सञ्चारमाध्यमले नै सम्प्रेषण गरिरहेका थिए ।
कुनै पनि देशको सामाजिक रुपान्तरणका अवयवहरु धेरै हुन्छन् र तिनले त्यस देशमा नागरिकका हक अधिकारका क्षेत्रमा आवाज बुलन्द गरेका र गर्न सिकाएका हुन्छन् । नेपालमा पनि जहानियाँ राणा शासनदेखि पञ्चायत हुँदै बहुदलीय व्यवस्था र वर्तमान गणतान्त्रिक शासन व्यवस्थासम्म आइपुग्दा धेरै राजनीतिक उतारचढाव आए । ती सबै जनताले देखे र भोगे । उनीहरुका आँखै अगाडि धेरै परिवर्तन पनि भए । तर कसरी ? पत्रकारिता, साहित्य, चलचित्र, राजनीतिकर्म आदि क्षेत्र हुन् जसले मुलुकको रुपान्तरणमा भूमिका निर्वाह गरेका छन् र ती सबैभन्दा जीवन्त र प्रभावकारी माध्यम नाटक नै थियो । अहिले पनि नागरिकमा चेतना जागृत गरी देशमा आमूल परिवर्तन ल्याउन नाटकको सहयोग सार्थक हुनसक्छ, अहिले पनि नाटकको प्रभाव विगतकोभन्दा घटेको छैन ।
प्रजातन्त्रका लागि नाटक
वि.सं. २०३६ को जनमत संग्रह पहिले तत्कालीन राजाले संविधान संशोधन गरे र नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्यो । यो कुरा जनतालाई थाहा त थियो तर बोल्ने कसरी ? राजनीतिक व्यवस्था पञ्चायती अनि राजनीतिह दलमाथि प्रतिबन्ध नै थियो । जनताले आफ्ना भावना र मनको कुरा बोल्ने कसरी ? त्यतिबेला नागरिकसम्म पुग्ने अश्त्र अर्थात् माध्यम थिए नाटक, साहित्य, पत्रकारिता, चलचित्र अनि हाँस्यव्यङ्ग्य ।
त्यतिबेला पनि नाटकले जनता जगाउने काम गरेको छ । वि.सं. २०३३ मा तुवाँलोले ढाकेको बस्ती भन्ने नाटकले राजधानी काठमाडौंमै तहल्का मच्चाएको थियो । नागरिकले रंगमञ्चमा आफ्ना कथा हेर्न खोजेका रहेछन् । किनभने ती कथालाई रंगमञ्चमा देखाउँदा आफ्नै जीवनशैली र कथा व्यथा पाएको अनुभूति उनीहरुले गरे । तर एकेडेमीमा दरबारका कुराहरु मात्रै देखाइन्थे, ठूलाबडाका कथाहरु मात्र सुनाइन्थे । मोफसलबाट आए कलाकर्मीहरु । जस्तो दार्जिलिङबाट मनबहादुर मुखिया आए देउराली नाटक लिएर । उता धनकुटाबाट अशेष मल्ल आए समूह लिएर । देउरालीमा हाम्रै गाउँघरमा भएका कथा पनि रंगमञ्चमा हेर्न पाइन्छ भनेर आए दर्शक । त्यसबेला त्यो नाटक हेर्न कमलादी मान्दिरमा बिहान ४ बजेदेखि लाइन बसेर टिकट किनेको मलाई सम्झाना छ । तर केन्द्रमा नाटक देखाउने र हेर्ने बढी थिए तर गाउँमा थिएनन् । पछि सडक नाटकको अवधारणाका साथ आएका अशेष मल्लले सडक नाटकबाटै सडक तताएको देखिएको थियो ।
वि.सं. २०३६ को जनमत संग्रहकै सेरोफेरोमा ‘हामी वसन्त खोजिरहेका छौँ’ सडक नाटक प्रदर्शन भयो । अशेष मल्लको यस नाटकबाट मानिसले मनोरञ्जन लिन सकिन्छ भन्ने दर्शकले बुझे । जनमत संग्रहमा यतिधेरै मत बहुदलवादीहरुको आउन तथा पञ्चायतले झिनो मतले मात्र जित्नमा यी नाटककै योगदान छ । वि.सं. २०३६ को जनमत संग्रह घोषणा भएपछि सडक कविता क्रान्ति गर्नुपछ भनेर मल्ललगायत अरु पनि अए । यो नाटकमा नागरिकका लागि प्रशस्त मनोरञ्जन थियो अनि जनचेतनामूलक सन्देशहरु पनि ।
यसले नागरिकलाई आफ्ना अधिकारहरु लिनका लागि उनीहरुलाई जागरुक गराउने प्रयत्न गरेको थियो । त्यो सन्देश स्पष्टै बुझिन्थ्यो । त्यस्तै सडक कविता क्रान्तिका अभियानबाट पनि गाउँ गाउँमा पुगिएको थियो । मलाई सम्झना छ एकपटक धुनकुटामा त ‘गो ब्याक अशेष’ भनेर नारा नै लगाएका थिए । यस्तै त्यसबेलाको प्रहरी प्रशासनले कवि कलाकारहरुका पछिपछि गुप्तचर नै लगाएका थिए । मलाई लाग्छ २०४६ को जनआन्दोलनलाई सडक कविताले नै प्रोत्साहन गरेको हो । सडक कविता तथा सडक नाटकका माध्यमबाट नागरिकले आफ्ना अधिकार र प्रजातन्त्रका बारेमा धेरै कुरा बुझे । गाउँमा पुगेको सन्देशले धेरै मानिसलाई नागरिक अधिकार र प्रजातन्त्रका बारेमा बुझ्न सहज पनि बनायो । सडक नाटकहरु पुलिस क्लबमा, बन्द रंगमञ्चमा, सडकमा, एकेडेमीमा देखाइयो र सबैले मन पराए । जनमत संग्रहपछि वि.सं. २०३८ पछि सर्वनाम नाट्य समूह खुल्यो र छोटै समयमा निकै चर्चामा आयो ।
यसरी नेपालमा नेपाली नागरिकको चेतनाको स्तर बृद्धि भएको नाटककै कारणबाट हो भन्ने मलाई लाग्दछ । सडक नाटकले नागरिकस्तरको अधिकार प्राप्तिका लागि ठूलै सहयोग गरेको छ । वि.सं. २०४६ मा नेपाली नागरिक तथा विभिन्न क्षेत्र र वर्गलाई जनआन्दोलनका लागि तयार पार्ने काममा अरु अवयबहरुका साथै नाटकको पनि योगदान छ । त्यतिबेला त नाटक हेर्न नागरिक सडकमा जाने होइन कि नाटक नागरिकमाझ जानुपर्छ भन्ने उदेश्यले सडक नाटक नागरिक माझमा पुग्दा जनता जगाउन सघाएको छ । उबेला हामीले भन्थ्यौँ प्रहरीको बन्दुकभन्दा पनि बलियो सडक नाटक बनेको छ, जसले बन्दुकको भन्दा शक्तिशाली काम गरेको छ । नागरिक बन्दुकको अघि करले बोल्थे या बोल्दैनथे । तर नाटकले जनताको मन जितेको थियो र नागरिक स्वतन्त्रताका लागि भित्रैदेखि तयार पारेको थियो । यति प्रभावकारी विधालाई अहिलेका सरकारहरुले कसरी प्रयोग गर्ने ? यो उनीहरुले नै बुझ्नुपर्ने कुरा हो ।
के हो नाटक ?
नाटक जीवन हो । जीवनलाई हेर्ने एउटा जिवन्त ऐना नाटक हो । शब्द कुन प्रयोग गर्छौं, कस्तो खालको शब्दबाट नाटकलाई हामी प्रस्ट्याउने प्रयत्न गर्छौं त्यसमा भर पर्छ, तर नाटक भनेको मानवीय जीवनलाई नै जीवन्तता प्रदान गर्ने एउटा औजार हो । लेखकले समाजलाई जुन सन्देश तथा मनोरञ्जन दिने ध्येयले नाटक लेखेको हुन्छ त्यसलाई जस्ताको जस्तै उतार्न सक्यौं भनेमात्र त्यसले जीवन्तता दिन्छ । राम्रो अभिनयले पनि नाटकमा त्यसको जीवन भर्दछ । खास त दर्शकले अभिनय नै हेर्ने हो । जसले नाटकको कथा बुझेको पढेको छैन उसले पनि अभिनय हेरेर त्यसैबाट सबै सन्देश ग्रहण गर्ने गर्दछ । त्यसैले नाटकलाई अभिनयले जीवन्तता दिन्छ ।
कस्ता छन् अहिलेका नाटक ?
अहिले पनि देशमा विभिन्न संघसंस्थाको सहयोगमा सडक नाटक प्रस्तुत भइरहेका छन् । पछिल्लो समयमा सडक नाटकमा अहिले कलात्मक सौन्दर्यका नारा बढी तर नाटकीय शिल्प कम गरिएका छन् जस्तो मलाई लाग्छ । अहिले पनि नाटकमा अत्यन्त ऊर्जाशील रंगकर्मीहरु आएका छन् । सरकारकातर्फबाट भने खासै सहयोग भएको देखिँदैन । हो, अहिलेका नाटक नाटक जस्तै देखिएका छन् ।
सबैमा आ–आफ्नै रुचि हुन्छन्, तर कलात्मक शैलीमा हाम्रा कुरा, हाम्रो अवस्था, हाम्रो व्यवस्था, हाम्रो संस्कार, हामीलाई चिनाउनुपर्छ । हामी कसरी बाँचेका छौँ, हाम्रो अग्रगामी चिन्तन के छ, त्यो विषयलाई जनतासमक्ष देखाउनु राम्रो हुन्छ । जस्तो कि अहिले त समाजमा विषय धेरै छन् अनि जनतामा पुर्याउनुपर्ने काम र सन्देश पनि धेरै छन् । मलका कुरा, बिरुवा रोप्ने कुरा, राजनीति र यसका विकृति एवं परिवर्तनका कुरा, रोगव्याधिका कुरा, नारी अधिकारका कुरा, कुप्रथा हटाउनुपर्ने कुरा आदिका प्रचारप्रसार गर्नु परे सडक नाटकबाट गर्नुपर्यो भनेर विभिन्न मन्त्रालयले बजेट विनियोजन नै गर्न सक्छ । यसो हुँदा गाउँ–गाउँमा भाइ बहिनीहरुले संस्था नै खोलेर सडक नाटककै माध्यमबाट प्रचारप्रसार गर्न सुरु गरिरहेकाले उनीहरुलाई पनि साथमा लिन सकिन्छ ।
हाम्रै नाटक रुचाउँछन् विदेशी
विदेशमा लैजाँदा नेपाली नाटक विश्व रंगमञ्चमा कथाका दृष्टिले सबैभन्दा बढी हाम्रै नाटक रुचाइन्छ । हाम्रा नाटकमा धेरै कथा छन् । अरुका नाटकमा कमेडी बढी छन् । हाम्रा नाटकहरुमा यथार्थ बढी छ जसले नागरिकका जीवनशैली र उनीहरुका वास्तविक भोगाइ छन् ।
जस्तो कि केही समयअघि हामीले बैंलोरमा नेपाली नाटक देखाउँदा त्यहाँ भारतीय मात्र नभएर धेरै विदेशी दर्शक थिए । उनीहरु सिनेमा हेरेभन्दा बढी मानिसको जीवनका वास्तविक भोगाइ नै देखियो भनेर निकै प्रशंसा गरेका थिए । हामीले विदेशमा हाम्रा नाटकहरुको तुलना नै अलग्गै हुन्छ । सबैले नेपाली कथालाई आफ्नै कथामा ढालेर हेर्न र बुझ्न सकिने कला भएर दर्शक भावुक हुन्छन् । हाम्रा नाटकमा गाउँ र सहर दुवै छ अनि कला र वास्तविकता समेटिएको हुन्छ । हाम्रो देशको अद्वितीय कला संस्कृति, भेषभूषा, जातीय भाषिक विविधता र हाम्रो अलौकिक भौगोलिक बनावट पनि हुनसक्छ हाम्रा नाटकले विश्वका दर्शकले आफ्नै कथा मानेर हेर्न सक्ने बताउने गरेका छन् ।
चलचित्र र नाटकमा फरक छ । हुनत नाटकभन्दा बढी मास मिडियामा फिल्म पुग्ला । तर नाटक त्योभन्दा पनि बढी जीवन्त हुन्छ । तुलनाको हिसाबले कुरा गर्दा नाटक जीवन्त हो । फिल्मलाई बनाइएका कथा मानिन्छ तर यसले पनि समाजमा सन्देश त उस्तै नै दिन्छ । तर नाटकबाट मानिसहरु बढी प्रभावित र भावुक हुन्छन् । यसको मापन गर्दा पनि त्यो अवस्था भेटिन्छ ।
(कुराकानीका आधारमा तयार गरिएको लेख ।)
–धनराज गिरी
प्रोफेसर ढुक्कनारायण चौधरी, प्रोफेसर जगमोहन आजाद, प्रोफेसर सहिदशरण उपाध्याय, प्रोफेसर आनन्दकुमार गोस्वामी, प्रोफेसर सार्थकनारायण, प्रोफेसर प्रेमस्वरूप कमलोपाध्याय र केही बौद्धिकहरुको बैठक बस्यो जङ्गल सफारी लजमा । सौराहा घोषणापत्र लेखे सुमित्रानन्दन जोगीमारे दामादश्रीले । व्यापक छलफल भयो । ‘आजादपथ’ नाम दिने घोषणा भयो । जिल्लाका सबै विचारकहरूको उपस्थिति थियो ।
“साथीहरू, अब अति भयो । जसरी फेसबुकमा यतैको एकजना जोगीले अति गरेको हुनाले तीन कमेन्ट र पाँच लाइक पनि आउन्न, त्यसैगरी हाम्रा तमाम समय अनायकहरूको ल्याकतले यो देशको भलो भएन । अति भयो । खति भयो । दुर्गति भयो । मेरो दिमागको रोडम्याप हो, प्रचण्डपथ भनेजस्तै, त्यो त पूरै फ्लप भयो । सबै फ्लप । हरेक रंग फ्लप । यो राप र तापबाट देशलाई नजोगाए पाप लाग्छ । जब जागा तब सबेरा ! यो कुइरेटकीय नगरीमा, मेरो एक योजना छ, सबैको कल्याण हुन्छ । पक्का हुन्छ । हामीले चाहेमा परिवर्तन सम्भव छ !”
सबैले मुखामुख गरे ।
“गुरुदेवको योजनाले यहाँ धेरैको कल्याण भएको छ । योजना भन्न मिल्छ ?” चेली, आजादकी, लेडी गब्बरकी नायिका, गरिमा घिमिरे ।
“कुरा आए राम्रो !” उज्याला मान्छे, पर्वतनारायण उखानपुरे अघि सरे ।
“सरको योजना पक्कै पनि राम्रो हुनुपर्छ ।” नेपाली केशवप्रसाद रेग्मी परदेशी, पर्वतका दाजी अघि सरे । सबैको जिज्ञासा बुझेर आजाद अघि सरे । “यहाँ अनेक उत्तर आधुनिक म्यूजियम बन्ने छ । लीला हुनेछ । पाँच तले भवन, एनआरएनएसँग कुरा भएको छ । सम्पूर्ण नेताहरूलाई यही भवनमा राखिनेछ । उनीहरूको अकूत सम्पति कब्जा गरेर अक्षय कोश बनाइनेछ । व्यापक प्रचार प्रसार गरिनेछ । हात्तीको मूल्य मरेपछि लाख भनेजस्तै यी उपादेयता खत्तम भएका नेताजीहरू पर्यटनकालागि कच्चापदार्थ हुनेछन् । आन्तरिक र वाह्य पर्यटन मौलाउने छ । यो बृहत योजना हो मुलुकको हितको लागि अझ व्यापक छलफल हुनेछ । कार्यपत्र बनाइने छ । श्री शारदानाथ बिस्फोट कमरेडको यसमा खास सहयोग रहने छ ।”
पुलुक्क हेरे, क्यामरा भिरेका तेज नयनवाला एक प्रकृतिप्रेमीले बोले, “हुम्म, आजाद सरको कुरामा पूर्ण समर्थन रहन्छ । यी एमसीसी र एसपीपीका नाजायज सन्तानहरूको लागि उपचार खोज्नुपर्छ । यी लाल दलाल नटवरलालहरू, यी ठोरीवादीहरू, यी नालायकहरूलाई यहाँ ल्याएर यिनको हैशियत बोध गराउनपर्छ । बरू म लाइभ प्रसारण गर्नेछु ।”
सहमति भयो । योजनानुसार भव्य भवन बन्यो । ओशो क्याम्प सामुन्ने । दश कठ्ठा जमिन एनआरएनए अभियन्ता देश देशावरले उपलब्ध गराए । सबै नेताहरू तानियो । पुस्तकालय नजिक । योग केन्द्र पनि नजिक । उखान सुन्न गाउँले आए । हरेक दिन प्रोफेसर जगमोहन आजाद हाजिर । गजल जोक सुनाउने । देउवाजीले खास रुचि देखाउनुभयो । बाबुराम पुरीको जेठान मात्र होइन, आरजूको पिता पनि भनेपछि मित ससुरा भनेर शेरहरू सुने । “उहिले परिचय भएको भए माधवजीको बैनीको खसमको स्थानमा राजदूत बनाउने नि !” देउवाजी पछुताए । उता ओलीजी पनि खुशी । काशीनाथ अधिकारीको अभिन्न मित्र, कुरा सकियो । माधवजी, वामदेवजी, झलजी, प्रचण्डजी पनि खुशी, गजल र हिन्दी गीत सुनायो । केही कांग्रेसहरू म्यारिज खेल्न व्यस्त । भुइँ कटहर नास्ता, साथमा चार बुक । आजादले साथ दियो । ऊ पनि राम्रो अनुभवी हो ।
सौराहामा पर्यटन उद्योग मौलायो । टिकट काटेर नेता नामका प्रजातिहरू हेर्न आए मानिसहरू । उता नयाँ पुस्ताले देशमा सत्ता सम्भालेपछि चमत्कार भयो । सम्पूर्ण ठेकेदारहरूको ८०५ सम्पत्ति कब्जा गरियो । शिक्षा पूर्ण निशुल्क । दल दुई मात्र । चुनाव १५ वर्षमा । सम्पूर्ण ठूल्ठूला कर्मचारीहरू, जसले अकूत धनराशी कुम्ल्याएका थिए, देशले कब्जा गर्यो । विश्वविद्यालयका केही भीसीहरूको खाता कब्जा गरियो । करमारा महाजनहरूको ६०५ सम्पत्ति कब्जा भयो । समाजवाद आयो । २० लाख युवा स्वदेश फर्किए । पहिलो पाँच वर्षलाई रोड वर्ष घोषणा गरियो । त्यसपछि पानी । हेर्दाहेर्दै नेपालको अनुहार यति उज्यालो भयो कि मान्छेहरू जिल्ल । प्रोफेसर जगमोहन आजादलाई विशेष अभिनन्दन गरियो । नेपालीहरूको प्रतिव्यक्ति आय १८ हजार डलर पुग्यो ।
“वास्तवमा नगरेर रहेछ । योजना नभएर रहेछ । प्रोफेसर जगमोहन आजाद जस्ता मानिसलाई देशले ढिलो चिन्यो । जे होस्, अब लुम्बिनी र सगरमाथाको इज्जत रह्यो ।” भैरहवा मर्निङ्ग वाक ग्रुपमा कुरा भयो । आजादपथको किताब छापियो । त्यसलाई अङ्ग्रेजीमा अनुवाद गरे प्रा डा रमाकान्त पौडेल परिचितले विमोचन भयो सौराहामा, त्यही म्यूजियममा । हरेक नेताको आयु ९५ बर्षको भयो । २१११ सालमा म्यूजियम खाली भयो । त्यसलाई होटेल लालुपाते भनेर नयाँ नाम दिने काम भयो, एउटा गुठी दर्ता गरी संस्थाले नै चलायो ।
“हाम्रो देशमा यस्तो पनि भएको रहेछ है कुनै समयमा”, प्रोफेसर जगमोहनको नातिले आफ्ना दिदीहरूलाई सुनायो । वि.सं.२१२२ मा उनीहरू नेपाल आएका थिए । “अति भए पछि, हो अति भएपछि तिमीहरूको पितामह जगमोहन आजादले त्यो योजना बनाउनुभयो”, प्रोफेसरकी कान्छी छोरी पूजा गुरुङोपाध्याय । उनले एउटा कविता पनि सुनाइन् ।
–जीवी कुँवर
१.
समयले एकफेर अवसर दिन्छ भन्छन्
परिस्थितिले नि हाम्रो परीक्षा लिन्छ भन्छन्
जो होचो छ उसैको माथि पर्छ यहाँ घोचो
एउटै माघले जाडो कहाँ पो सकिन्छ भन्छन्
२.
राजधानीमा सुन फालाफाल छ
कर्णालीमा नुनको अनिकाल छ
कतै भ्यूटावर छन् अरबौँका
तर दूर्गमको हाल बेहाल छ ।।
३.
भ्रष्ट आचारले हाम्रो देश चाल्नाको छेड जस्तै भयो
राजनीतिको माछा बजारमा नैतिकता सस्तै रह्यो
देश उभोँ लाग्ने त कुनै छाँटकाँट नै देखिएन
वैदेशिक ऋणको भारले प्रत्येकको घाँटी कस्तै लयो ।।
–कुञ्ज देवी उपाध्याय
घामले तारा निलेर रातो भएको बेला
शुरू हुन्छ मेरो यात्रा
आकाशतिर हेर्दै
आज पनि फुटेको माटो रून्छ
अन्धविश्वासको आँधिमा रूमलिँदै
भ्यागुताको बिहे गर्ने मेरो देश
न नारीलाई सुरक्षा दिन सक्छ
न हरियो विप्लव ल्याउन ।।
जात–पातको युद्धमा अस्मिता लुटिन्छ
गाउँ–ठाउँमा आज पनि
अवला मानिन्छ
उनीहरू पुरुषको गोजिभित्र
आफ्नो स्वाधिनता राखि दिएर
सुरक्षित हुनुपर्छ ।।
अमृत महोत्सव मनाउँदै रमाउँछन्
जनताका रक्षक
पर्सेन्टको हिसाबमा गरिन्छ आरक्षण
तै पनि दिन रात परिश्रम गर्छु
देश र परिवारको लागि
धर्मको नाउँ दिइन्छ त्यसलाई
हत्या र लुन्ठनको डरले सधैँ सताउँछ
कसैको पाशविक प्रवृत्तिलाई रोक्ने
क्षमता ममा किन छैन ?
सृष्टिको गल्ती हो कि समाजको ?
प्रश्नहरू आजीवन अधुरो छ
आमाको कोख लज्जित गर्ने सन्तान
अब नजन्मिउन यो धर्तीमा
प्रलयकालको ज्वालो अब रोकिने छैन
ए आकाश
देउन अलिकति चिसो हावा
डढेको शरीर शान्त पार्न ।।
-तिल्सरा शर्मा, बाँफिकोट गाउँपालिका, रूकुम (पश्चिम)
छोरी हुँ म बाआमालाई पालेर देखाउँला।
मेरै बाउको जमिनमा एउटा घर हालेर देखाउँला।
हो छोरीले के गर्न सक्छन् र भन्ने अन्धविश्वसलाई,
मेरै यि दुई हातले फालेर देखाउँला।
छोरीले प्रगति गरेको देख्न नसक्नेहरुलाई,
तिनीहरूको आँखा मैले टालेर देखाउँला।
छोरा बुहारीले भाडभैलो मच्चाए नि घरमा ,
म छोरीले खुसीको ज्योति बालेर देखाउँला।
म छोरी जन्मँदा दिक्क मान्नेहरुको अगाडि,
छोराको जस्तै जिम्मेवारी अंगालेर देखाउँला।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies