काठमाडौं- आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ ।
रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्यपि, रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ । चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ । कला जीवनको महत्त्वपूर्ण पक्ष हो । यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले समाज बदल्न कलात्मक गतिविधिको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत रहेका छन् ।
सानो भूमिकादेखि शीर्ष भूमिकासम्म चलचित्रमा स्थापित भएका रङ्गकर्मी रङ्गमञ्चमा कमै फर्किने गरेका छन् । कलामाथि व्यापार पनि हाबी हुँदा उल्लेखित नामहरू रङ्गमञ्चसम्म आउन नसकेको आरोप लाग्ने गरेको छ ।चलचित्रमार्फत व्यावसायिक सफलता मिले पनि कलाकारितामा अभिनेता सौगात मल्ल रङ्गमञ्चमार्फत स्थापित भए रङ्गमञ्चमा लामो समय बिताए पनि पछिल्लो समय चलचित्रमा व्यस्त भएका अभिनेता मल्ललाई नाटकमा नदेखिएको लामो समय भइसकेको छ । उनले प्रयास भएता पनि त्यसले सफलता पाउन नसकेको स्वीकार गरे । ‘नाटकमा फर्किने योजना बनिरहेको छ । पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन, तर विविध कारणले त्यो पूरा भएन’, अभिनेता मल्लले भने, ‘केही साथीसँग चलचित्रमा काम गर्ने र त्यसलाई नै नाटकका रूपमा प्रस्तुत गर्ने तयारी पनि भएको थियो । नाटकलाई समय दिनुपर्छ, अभ्यास र मञ्चन गरेर झण्डै दुईदेखि तीन महिनासम्म समय लाग्छ, त्यही कारण पनि धेरैलाई समय मिलाउन सहज नभएको हुन्सक्छ ।’
अभिनेता मल्लझैँ नाटकमा नदेखिएको लामो समय भएका कलाकारमा अभिनेता रवीन्द्रसिंह बानियाँ पर्छन् । षट्कोण आर्टस्मार्फत चलचित्र निर्माण सुरु भएपछि अभिनेता बानियाँ रङ्गमञ्चमा फर्केका छैनन् । ‘षट्कोण आर्टस्मार्फत नाटक बनाउने योजना पनि बनेको थियो । तर चलचित्रकै व्यस्तताले गर्दा त्यसले पूर्णता पाएको छैन । अरुको नाटकमा काम गर्न सहज नै हुन्छ तर आफैँले निर्माण गर्दा चार महिना लाग्ने भएकाले रङ्गमञ्चसम्म पुग्न नसकिएको हो । म नाटकमा देखिने तयारीमै छु’, अभिनेता बानियाँले भने । व्यावसायिक पाटोभन्दा कला महत्त्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रङ्गकर्मीको भनाइ छ । रङ्गकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताए । ‘रङ्गकर्म गरिरहेकालाई यसैबाट जीविकोपार्जन गर्न सहज छैन, अहिले चलचित्रमा महँगो अभिनेतामा पर्ने केहीले यहीँबाट सुरुआत नगरेको भने होइनन्, तर यो अभिनय बुझ्ने र सिक्ने मञ्चमात्र बनिरहेको छ’, सापकोटाले भने, ‘आर्थिक पक्षलाई सबल बनाउन भए पनि चलचित्रमा काम गर्ने क्रम बढेको छ ।’ रङ्गमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार चलचित्रमा मात्र देखिनु दुःखद भएको अभिनेता कमलमणि नेपालले टिप्पण्मी गरे ।
‘रङ्गमञ्चमार्फत मेरो जीविका चल्थ्यो भने सायद म त्यहीँ हुन्थे, तर हामीकहाँ नाटक हेर्ने संस्कार निकै कम छ, यहाँमात्र नभई विदेशमा कमै मानिस नाटक हेर्न रुचाउँछनर््, यस्तै कारणले रङ्गकर्मी चलचित्रमा बढी व्यस्त हुन्छन् होला’, अभिनेता नेपालले भने , ‘नाटकमा फर्किन ढिलो गर्न हुँदैन, हामीले आफ्नो उपस्थिति रङ्गमञ्चमा पनि राख्नुपर्छ, चलचित्रमा मात्र केन्द्रित भएर रङ्गमञ्च भुल्यौँ भने कलाकारिता पनि जीवित रहन सक्दैन ।’
अभिनेता रवीन्द्र झाले मैथली नाटकमार्फत अभिनयको सुरुआत गरे । ‘जात्रामार्फत चलचित्रमा स्थापित भएपछि उनी पनि रङ्गमञ्च फर्किन सकेका छैनन् । तर नाटकप्रति माया भएकाले बेलाबखतमा हेर्न पुग्ने बताए ।
‘हामीले रङ्गमञ्चलाई भुलेको भए समय निकालेर त्यहाँ पुग्ने थिएनौँ । मञ्चमा नभएता पनि दर्शक बनेर आफ्नो प्यास मेटाइरहेका छौँ । चलचित्रमा काम गर्दा समय व्यवस्थापन गाह्रो भएको मात्र हो, रङ्गमञ्च भुल्ने कल्पना पनि गर्न सकिन्न’, अभिनेता झाले भने । नाटकमा आफ्नो कला देखाएर चलचित्रसम्मको यात्रा तय गरेका रङ्गकर्मीलाई ‘थिएटर’मा अहिले विरलै देख्न पाइन्छ ।
रासस
–नारायण नेपाल
गाउँको यात्रामा थिएँ, एक जना बाले सोध्नुभयो, “ए बाबु यो हाम्रो लेकका महादेव कसरी भए चिम्टेश्वर ?” अचम्ममा परेँ, ति बाको जिज्ञासाले । अनि खोज्न थालेँ, इतिहासको त्यो पाटो । यो आलेखमा त्यही इतिहासको पाटोलाई केलाउने प्रयास गरिएको छ । यस क्षेत्रको विकास र उन्नतिमा लागेको दाबी गर्ने विभिन्न नेता, पत्रकार, अध्येता, नागरिक समाज लगायतद्वारा जवरजस्त स्थापित धारणा र केही उडन्ते गफका किस्सा र सवाल हेरौँः
एक : महादेवले चिम्टा बिर्सिएर गएकाले चिम्टेश्वर नाम रह्यो । अब सवाल रह्यो, यदि त्यसो हो भने त्यो चिम्टा भेटाउने को हो ? कस्तो छ ? कहाँ छ ? फोटो छ ? वा परिक्षण गरियो त ? भन्दा छैन ।
दुई : उक्त मन्दिरको नाममा गुठी छ त ? पुजा कसरी कुन विधिमा छ ? त्यो पनि छैन ।
तीन : त्यहाँको गढी पृथ्वीनारायण शाहले बनाएको र त्यहाँ आराधना गरेर नुवाकोट आक्रमण गरेको । अब सवाल त्यसो हो भने त्यो इतिहासको लिखत छ त ? कहीँकतै शिलालेख छ त ? यो पनि छैन । अनि बेवारिसे इतिहासको महिमा र पौरख पृथ्वीनारायणको काँधमा दिने ? यो क्षेत्रमा आदिम कालदेखि लिच्छवि, खस, मल्लको प्रभाव थियो । उनीहरूले आफ्नो लागि केही गरे कि गरेनन् होला ?
चार : यहाँको बारेमा वेद, पुराण र पौराणिक शास्त्रमा केही उल्लेख छ ? भए कुन अध्याय, कति औँ श्लोक, कति पेज ? त्यो पनि छैन ।
पाँच : २२ मिटरको पहाडमा ५० मिटर अग्लो टावर साढे २ करोड खर्च गरेर बनाउनुपूर्व १६ जिल्ला र टावर चढेर हेरे २१ जिल्ला देखिन्छ रे !
नामकरण र धार्मिक पक्ष
यो क्षेत्रको के होला त खास नाम भन्ने नै सबैको चासोको विषय हो । हरेक स्थानको नामकरणको विभिन्न कारण प्रचलनमा रहेका पाइन्छन् । स्थानीय तामाङ, नेवार तथा प्राचीन संस्कृत भाषामा जनबोली तथा पेटबोलीको आधारमा स्थानको नामकरण भएको पाइन्छ । चिम्टेश्वर नामकरण महादेवले चिम्टा भुलेको स्थान भएर रहेको भन्ने धारणा रहेको छ स्थानीयमा । तर, महादेवले बोकेर हिँडेको चिम्टा हो कि त्रिशूल ?
स्कन्दपुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार महादेवले बेतको लट्ठी टेकेर काँधमा त्रिशूल राखेर हिँडेका थिए । उसोभए महादेवले बोकेको त्यो त्रिशूल कसरी चिम्टा भयो ? वा महादेवलाई चिम्टा बोकाइदिएर यो जंगलमा ल्याउने पण्डितहरू को–को हुन् ? अनि यो त चिम्टेश्वर होइन यो त्रिशूलेश्वर पो हुनुपर्ने होला, शब्द विग्रहको हिसाबले हेर्ने हो भने । चिर्केश्वर शब्दको अर्थ हो चिर्के अर्थात् चिरिक–चिरिक पारेर टेक्ने, चिरिक्क पारेर टेक्ने, चरक्क परेको भन्ने हुन्छ । यहाँको शिवलिङ्ग चर्केको छ । अर्को शब्दार्थ हुन्छ चीर भनेको लिङ्गो गाडेर ध्वजा फहराउने वा बौद्ध भिक्षु वा योगी र मुनीहरूले लगाउने लुगालाई बुझाउँछ । यो मल्लकाल पूर्वको उपत्यका राज्य र पश्चिम राज्यको सीमाक्षेत्रको रूपमा लिन सकिन्छ ।
तिल्केश्वर भन्नाले तरे वा सेतो चिन्ह भएको रूपका लिने गरिन्छ । यो क्षेत्र पञ्चासेमा पर्छ भन्ने स्थानीय मान्यता रहेको छ । यसका अलावा यस क्षेत्रमा रहेका अन्य विभिन्न नामका महेश्वरहरू रहेका छन् । जस्तै : कन्केश्वर, कोल्पुका महादेव, गौलिङेश्वर, तल्लो महादेवखर्क, जलेश्वर, कोल्पुकिनार, कुमरी पुछारका महादेव, अनन्तेश्वर, त्रिशुलीकिनार लामासोती बगरमा रहेको महादेव, भिमेश्वर महादेव फाँटमा रहेको मन्दिर आदि । आदिम समाज जब ढुंगे युगबाट पशुपालन युगमा प्रवेश गरेको थियो, त्यो समयको मानक आजको नामकरणलाई लिन सकिन्छ जस्तै : पशुको लागि आवश्यक खर्क वा चरनहरू प्राथमिकतामा थिए, त्यसैले आरुखर्क, महादेवखर्क तल्लो र माथिल्लो, आरुखर्क, खनियाखर्क, चिन्नेखर्क, डाँडाखर्कहरू रहेका थिए ।
दुध चढाउने र दही मथेर मोही पार्दैसमेत धुप हाल्ने चलन छ जहाँ उही चिर्केश्वरलाई पुकार गर्ने गरिन्छ । स्कन्दपुराणको हिमवत् खण्ड कामाख्या कौशिकी गण्डकी प्रकरण ४५ औँ अध्यायमा निलकण्ठ उत्पत्तिबारे व्याख्या गरिएको छ तर त्यहाँ यस क्षेत्रको कुनै प्रसङ्ग भेटिन्न । तर, हालको देविघाट भैरवेश्वरमा झर्ने झर्झरावतीलाई देवदारु पर्वतबाट झरेको झरना भनी उल्लेख गरिएको छ । त्यो पर्वत तादी (सूर्यमती) नदीको दक्षिणतर्फको पर्वत हो । कतिपय विद्वानले चम्पकेश्वर भन्ने तर्क अगाडि सारेका छन् तर, त्यसमा सत्यता भेटिँदैन । चम्पकेश्वर ब्रम्ह तीर्थ, बज्र पर्वत हालको चित्लाङमा पर्दछ ।
“(वि.सं १९५२–२०३१) का हजुरबुबाले चिर्केश्वर महादेव भन्नुहुन्थ्यो । तर २००४ सालमा जन्मिएका माइलाबाले सिमलदिपका महादेव भन्दै धुपधुवार गर्ने गरेको देखेको सुनेको हो”, अध्येता रामप्रसाद नेपालले भनेका छन् । जतिबेला यो चिर्केश्वर क्षेत्रमा नापी सर्भे भएको थियो त्यतिबेला झिल्तुङ पञ्चायतमा १३ वर्ष वडाध्यक्ष तथा ६ महिना कार्यवाहक प्रधानपञ्च समेत भएका ९२ वर्षिय प्रेमनाथ दाहाल नै वडाअध्यक्ष थिए । त्यो स्थान चिर्केश्वर नै भएको उनको दाबी छ । पूर्व जिल्ला पञ्चायतका सभापति लुमणिप्रसाद गजुरेललाई पनि चिर्केश्वरलाई चिम्टेश्वर बनाइएको चित्त बुझेको छैन । उनी चिर्केश्वर नै हो, किन यसरी नाम बिगारियो भन्ने चिन्ता जाहेर गर्छन् ।
अब जिज्ञासा रह्यो, यो क्षेत्रको गुठी थियो वा थिएन ? त्यही नाममा गुठी खर्कहरू थिए वा थिएनन् ? वा मासिएर गए ? खोजीको विषय छ । तर, न बाउबाजेले पाइला टेके, न त छोराबुहारीले जग्गा देखे । त्यस्ता दरबारियाहरूको नाममा सिंगै गाउँ बिर्ता रहनुले दरबारिया शक्तिको आडमा गुठीमाथि अतिक्रमण गरी बिर्ता कायम गरेको अनुमान गर्न सकिन्छ । यस क्षेत्रको झिल्तुङ ५ का अधिकांश जग्गा राज्यलक्ष्मी शाहको बिर्ताको रूपमा रहेको छ ।
महेश खोला र त्रिशूली नदीबीचको यो उच्च पहाडी क्षेत्र हो । यो शिरको देवता हो । आस्थाको केन्द्र हो । महादेवफाँट र महादेवबेसी दुवै नदी किनार यसका साक्षी छन् । शिव हाम्रो आदिम समाजको जग हुन् । उनी आदिम मानव थिए कि काल्पनिक भगवान ? खोज अनुसन्धानको विषय मानवशास्त्र र समाजशास्त्रको क्षेत्रमा रहेको पाइन्छ ।
भौगोलिक पक्ष
चिर्केश्वर महादेवस्थान नुवाकोट जिल्लाको साविक बेलकोट, कुमरी जिलिङ तथा दुईपिपल गाविसको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्विक एवम् पर्यटकीय महत्वको क्षेत्र हो । उक्त स्थानबाट गणेश, लाङटाङ, जुगल, दोर्जेलाक्पा आदि हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट काठमाडौँ उपत्यकाको तीनवटै सहर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, रसुवा, चितवन र गोर्खाको समेत दृश्यावलोकन गर्न सकिन्छ । चिर्केश्वर शिव लिङ्ग रहेको स्थान दुईपिपल गाविस झिल्तुङ पञ्चायतको हो । हालको वनभोज टहरो, पोखरी र सिँढी बनेको स्थान बेलकोट गाविसको हो र भ्युटावर बनेको स्थान कुमरी गाविसको हो । हाल निर्माण भएको खानी तथा भूगर्भ विभाग र नापी विभागका अनुसार २०२७ साल देखि देशको १० स्थानमा राखिएको भूगर्भ मापन यन्त्र यहाँ राखिएको छ । यो पहाड एउटा संवेदनशील चट्टानी क्षेत्रमा रहेको अनुमान गर्न सकिन्छ ।
मौलिक, जैविक र वातावरणीय पक्ष
यो क्षेत्र समुद्री सतहबाट २१ सय मिटरको उचाइमा रहेको जङ्गल क्षेत्र हो । यहाँ जडिबुटी, लोपोन्मुख पशुपन्छी, चराचुरुङ्गी तथा पुतलीहरू पाइन्छन् । पाँचऔँले, चिराइतो, पाषाणभेद जस्ता जडिबुटी र सालक, गोहोरो, मृग, बँदेल लगायतका वन्यजन्तु पाइन्छन् । यो क्षेत्रमा सेवामूलक उद्यम सञ्चालन र वातावरणीय असरको न्यूनीकरण गर्न जरुरी छ । यो एक योग साधना केन्द्रको रूपमा विकास हुनसक्छ । तर, आज अतिक्रमणको चपेटामा परेको छ । मौलिकतामाथि हस्तक्षेप भएको छ । हामीले जैविक पदमार्ग, शिवपुरी ककनी हुँदै यही क्षेत्रसम्मको दिगो योजना किन सोच्न सकेनौ । हामीले आज यो क्षेत्रलाई कंक्रिट सभ्यता रहित क्षेत्रको रूपमा वातावरणको संरक्षण र पानीका मुहान संरक्षण गर्न जरुरी छ ।
पञ्चासेको सिँचाइ डबलीसम्म लैजाने योजना निकै समयसम्म विकासको नारा भयो । अहिले पञ्चासे बिसौलेकोे पानी डडुवा अच्मारासम्म पुग्दैन । बिसौले खोलाको कुलोबाट कुमरी झ्याङ्ली पोखरीसम्म कुलोमा पानी लैजाने पुस्ता नमासिँदै पानी कुलोमा बगेर त्यहाँ पुग्न सक्दैन । यसरी क्रमशः बढेको आवधिक र स्रोतको विलोपले निम्त्याउने वातावरणीय सङ्कटलाई नजर अन्दाज गर्न मिल्छ र ? सिमेन्ट र बालुवा नघसी विकास हुँदैन भन्ने मान्यता अहिलेको आम मानसिकता हो । के हामीले जंगल, गल्ली गोरेटोमा वातावरणमैत्री जैविक पदमार्ग निर्माण गर्न सक्छौँ ? यहाँ जनतालाई वन्यजन्तु पालन नट प्रजातिको विरुवा तथा चिया र जडिबुटी खेतितर्फ लैजाने हाम्रो प्राथमिकता के हो ? त्यो निर्धारण गर्न जरुरी छ । यी सबैको समाधान गर्ने अभियान नै यसक्षेत्रको पर्यापर्यटन नै हो । देउराली, झिल्तुङ, बोर्लाङ, वरतुङ, गोपाले भञ्ज्याङ, नुनचौर डाँडा, भट्टबारी, चौर, गोठाली चौतारा, बाघखोर वैद्य वनलगायतका क्षेत्रको मौलिकता माथिको अतिक्रमणलाई नियन्त्रण गर्न सक्छौँ । बालापनमा हामीले पानी पर्दा खुबै मच्चिएर भन्थ्यौँ, ‘हर हर महादेवः पानी देउ देउ’ त्यस्तै अहिले पनि मच्चिएर भन्न जरुरी छ ‘हे हाम्रो शिरका महादेवः यहाँको जैविकता र मौलिकता बचाइदेऊ ।’
कानूनी जटिलता
नगरपालिकाको पहलमा बनेको क्षेत्र विकास समिति ‘घर न घडेरी, घरबार न दरबार’ भनेजस्तो क्षेत्र विकास समिति छ । यो वनक्षेत्रको पर्यावरण र जैविक विविधता नेपालको प्रचलित संविधानअनुसार तीनै तहको साझा अधिकार क्षेत्रमा पर्दछ । स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्र नपरेको ठाउँमा कसरी एकलौटी क्षेत्र विकास समिति गठन गर्न सक्छ ? यो एक प्रकारको संस्थागत अतिक्रमण नै हो । वन ऐन, २०४९ ले राष्ट्रिय वन अतिक्रमणबारे प्रष्ट रूपमा उल्लेख गरेको छ । जसअनुसार धार्मिक, सामाजिक एवम् सांस्कृतिक उद्देश्यले गरिएको अतिक्रमणको रूपमा यस्ता गतिविधिलाई लिन सकिन्छ । यस्तै, कानूनी जटिलताले र स्वामित्वको प्रश्नले हालसम्म भ्युटावरको स्वामित्व हस्तान्तरण हुन सकेको छैन । तर, निर्माणको पहल भने प्रदेशको वन तथा वातावरण मन्त्रालयले लिएको थियो । विकास समिति ऐन, २०१३ को आधारमा टेकेर नगर कार्यपालिकामा प्रस्ताव भएको चिम्टेश्वर क्षेत्र विकास समिति ऐन, २०८० को भविष्य के होला ?
संरक्षण र प्राथमिकता
पछिल्लो समय सामूहिक पहल स्थानीय सरोकारवालाहरूको २०६८ कार्तिक २३, २४ र २५ गते महोत्सव गरेर थालनी भएको हो । यो संरक्षण हो कि अतिक्रमण हो ? बहस जरुरी देखिन्छ । संरक्षण र सम्वर्द्धनको नाममा अतिक्रमणको थालनी यहीँबाट भएको छ । वातावरणीय वा जैविक पक्ष होस् कि संस्कृतिको मौलिक यही नाममा अतिक्रमणको शिकार बनेको छ । विभिन्न बहानामा यहाँको मौलिकता र जैविकता माथिको अतिक्रमण मात्रै होइन प्रदुषणसमेत उल्लेख्य मात्रामा वृद्धि भएको छ ।
सामरिक महत्वको यस क्षेत्रमा आर्थिक, राजनीतिक स्वार्थको रोटी सेक्ने अभियानले क्षेत्रको मौलिकतालाई ओझेल पारेको छ । प्रचारात्मक योजना पहिलो प्राथमिकतामा रहन जरुरी हुन्छ । हरेक योजनामा रहने लगानी र आम्दानीको लेखाजोखा हुनुपर्छ । यहाँको प्राथमिकता पूर्वाधार निर्माण हो । सडक, बिजुली, आवास, पदमार्ग हो यस्तो योजना, आवश्यकता र प्राथमिकताको सवाल हो । यो २२ सय मिटर उचाइमा रहेको चिम्टेश्वर क्षेत्रमा २ करोड ७४ लाख ३८ हजार ७६८ रुपैयाँमा बनेको भ्यु टावर । हाम्रो प्राथमिकता के हो ? हाम्रो आवश्यकता के हो ? हामीले बहस गर्ने हिम्मतै गरेनौँ । स्थानीय सरकारलाई पैसा खर्च गर्न मेलोमेसो धेरै हुन्छ । तर, आम्दानी संस्थागत कसरी हुन्छ ? त्यो महत्वपूर्ण पक्ष हो । विकास र योजनाको प्रतिफल के कति छ ? यहाँ मान्छे १० हजार आए तर, पैसा कति आयो ? स्थानीय सरकारले कति राजश्व पायो र नागरिकले के आम्दानी पाए लेखाजोखा गर्न जरुरी छ ।
–रसुवाली कवि
सुप्रसिद्ध साहित्यकार त्रिभुवनचन्द्र वाग्ले नेपाली साहित्य क्षेत्रमा उल्लेखनीय नाम हो । आफ्नो लेखनमा समाज व्यवस्थाले हेपेका, मान्छे नगनेका, स्वाभिमानमाथि प्रहार गरिएकाहरूका मर्म र पीडालाइ समेत लेख्न रूचाउने वाग्लेको थातथलो व्यास नगरपालिका तनहुँ हो । २०२४ सालमा जन्मिएका वाग्ले नेपाली साहित्य र पत्रकारितामा सक्रिय छन् । राजनीति पनि उनको रूचिको विषय हो । पंक्तिकारसँग उनको कविता संग्रह ‘दोभानमा उभिएर’ छ । यस कविता संग्रहमा उनको विभिन्न समयमा लेखिएका ६१ थान कविताहरू संग्रहित छन् ।
कवि त्रिभुवनचन्द्र वाग्लेको काव्यिक व्यक्तित्व बुझ्नका निम्ति दोभानमा उभिएर कविता संग्रह काफी छ भन्ने लाग्छ । यस कविता संग्रहमा उनले सुरुवाती समयमा लेखेका कविताहरू समेत समावेश गरेका छन् । बिम्ब र प्रतीक जुन परम्परागत मान्यता छन्, त्यसलाई वाग्लेले बिनिर्माण गर्ने प्रयास गरेका छन् । यो नेपाली काव्य क्षेत्रका लागि खुशीको कुरा हो ।
बोल्ने मानिसकै वीरता बोलियो
लेख्ने मानिसकै इतिहास लेखियो
जित्ने मानिसकै जितौरी गाइयो
नबोल्ने बिरालाको वीरता कहाँ बोलियो
नलेख्ने बिरालाको इतिहास कहाँ लेखियो
नबोल्ने बिरालाको सालिक कहाँ भेटियो
(दोभानमा उभिएर कविता संग्रह, मान्छेले बाटो काट्दा पेज २७)
बिरालाले बाटो काट्नु हाम्रो सामाजिक सांस्कृतिक मान्यताअनुसार अशुभ मानिन्छ । युगौदेखि हामी यही बिम्बमा कविता लेख्दै आयौं, कथा लेख्दै आयौं । यो सामाजिक स्वीकृत प्राप्त बिम्बलाई बाग्लेले नयाँ ढंगले लेख्ने प्रयास गरेका छन् । कविता शक्तिमा हुनेहरूको भक्ति मात्र होइन, कविताले युगको मर्म र दर्दलाइ पनि लेख्नुपर्छ भन्ने मान्यता कवि वाग्लेमा प्रबल रहेको देखिन्छ ।
बिरालोलाई हामी शक्तिहिनहरू बिम्बको रूपमा लिन सक्छौ । जसरी जित्नेहरूको इतिहास लेखियो । हार्नेहरूको वीरता कहानी कतै लेखिएन । यो रितमाथि कवि वाग्ले उठाएको प्रश्नको काव्यिक महत्व रहेको छ ।
पुरानो रेडियो भएर
साथी भत्केको बेला
वाक्य बन्द भएको क्षण
साथीकी पूर्व श्रीमतीको सन्तुष्टिमा
बारमा कस्तो गजल गाउँ ?
दोभानमा उभिएर कविता संग्रह, कस्का लागि लेखुँ, कसका लागी गाउँ पेज १०८)
देश भत्केको बेला, साथीलाई दुखेको बेला, समयले पीडाका भारीहरूको बिसाएको बेला श्रीङ्ग्रीक रसमा गजल गाउन सकिँदैन । त्रिभुवन चन्द्र वाग्ले यहाँनेर सामाजिक उत्तरदायित्वको कुरा गर्छन् । पुरानो रेडियो भएर साथी भत्केको नुतन बिम्ब लाग्छ । कवि त्रिभुवनचन्द्र धेरै कवितामा नुतन र नौला बिम्बमा सिर्जित छन् । संरचनामा भन्दा बिम्ब सिर्जनमा कविले धेरै ध्यान दिएको प्रतीत हुन्छ ।
मेघमुनी सेता परेवाझ शीर्षकको कवितामा त्रिभुवनचन्द्र परेवामार्फत स्वतन्त्रताको पैरवी गर्छन् । जसरी परेवाहरूको शान्ति भंग भएको छ, उसैगरी स्वतन्त्रता चाहने मानिसहरूको चाह पनि भत्किएको छ । मेघका गर्जनहरूले परिवर्तन ल्याउन सकेका छैनन् ।
त्रिभुवनचन्द्र वाग्लेले आफ्ना कविताको बैचारिकतालाइ पृथक ढंगले सिर्जन चाहेका छन् । कविताका मान्यतामा उनी अडिग छन्, उनी केही मान्यतागत बैचारिकतामा असहमत पनि छन् । उनका कविता विरोधाभाषमा उभिएर उत्तरआधुनिकतासम्म पुग्दैन । उनका कविताले प्रजातान्त्रिक छहारी खोजिरहेको पाठकहरू अनुभूत गर्छन् । प्रजातन्त्र आजको जमानामा उत्तर आधुनिक विचारधारा हुन सक्दैन ।
चैत कोर्न नसक्नेले
चेतना उतार्ने रे ! क्यानभासमा
मलाई विश्वास छैन ।
दोभानमा उभिएर कविता संग्रह, उत्तरआधुनिक पेज ६६)
मानिसले उत्तरआधुनिक होडमा आफ्नो मौलिकता बिर्सेको छ । मानिस परम्परागत हुने नाममा मानवताको शितल चौतारीतिर लम्किन सकेको छैन । त्रिभुवनचन्द्र वाग्लेका कविताहरूले मानिसको विरोधाभाषी चेतलाई प्रश्न गरेको छ । कविताले गर्ने प्रश्नको लामो आयु हुन्छ । तसर्थ, वाग्ले राखेको असहमतिको असर लामो हुनेवाला छ । असल कविताहरूको आयु लामो भएकै राम्रो हो ।
त्रिभुवनचन्द्र कविता पढ्न दिमाग खियाउनु पर्दैन । कविता पढिसकेपछि भने दिमाग र मन शितल हुन्छ । यदि तपाईं सामाजिक न्यायको पक्षधर हो भने उनका कविता ‘दामी’ लाग्नेछ । त्रिभुवनचन्द्र वाग्लेका कविताहरूले बिम्व र प्रतीकमा वैकल्पिक चेतनाको पैरवी गरेका कारण पनि ‘दोभानमा उभिएर’ कृति अब्बल छ । आख्यान र काव्य दुवै विधामा सफल हुँदै पत्रकारितामा समेत सफल वाग्लेले समाजका निम्न वर्गको पीडाहरू लेख्नु सकारात्मक छ ।
प्रेमका कवितामा पनि वाग्ले सफल देखिएका छन् । व्यंग्य चेतना पनि अब्बल लाग्छ । मेरो उनलाई एउटा सुझाव अवस्य छ । काव्य संरचनामा पनि कवि वाग्लेले अझै नुतन प्रयत्न गर्ने हो भने नेपाली कविता फाँटमा उनले अझै बेजोड नै उपस्थिति जनाउनेछन् । अहिले लेखिरहेको संरचनामा पनि अरूभन्दा भिन्नै भएको कारण उनलाई बेग्लै बनाएको हो । दोभानमा उभिएर कविता संग्रह आजका काव्य प्रेमीहरूका लागी मिठो उपहार हो । बेग्लै काम गर्न रुचाउने कवि त्रिभुवनचन्द्र वाग्लेलाई कयौं बधाई र शुभकामना ।
– गणेश लोहनी
१.
मह थुपार्नेहरू महमै डुबेर मर्छन् केको आश्चर्य
रहमा पौडनेहरू रहमै डुबेर मर्छन् केको आश्चर्य
नुनका ढाक्रे सुनका भरिया भोग्ने कर्म फल नै हो
रणछोड्दासहरू विरहमै डुबेर मर्छन् केको आश्चर्य ।
२.
पुच्छर हल्लाउँदै बँदेल पतिङगरमा लुके जस्तो
उपकार गर्न चाहँदा हरेक कदममा चुके जस्तो
न सुरक्षा नमान सम्मान कदम कदममा छ जोखिम
राजनीतिको खेल फोहरी आकाशतिर थुके जस्तो ।
३.
ज्ञान अनि त्यागका कुरा सारा सबै उधारो रहेछ
मान्छेलाई तृष्णाबाट बच्न अत्यन्तै गाह्रो रहेछ
भौंतारिए राम व्यर्थै सुनको सिकार गर्न खोज्दा
समग्रमा मानव चोला यो तृष्णाको कमारो रहेछ ।
४.
ठूलाठूला कुरा गर्छन् निसाना आफैतिर दागिदिन्छन्
बल्ल बल्ल फकायो ल्यायो ठूलै भाग मागिदिन्छन्
राजनीतिमा भ्यागुताको धार्नी पु¥याउनै गाहारो
नदिऊँ भने घुर्की लगाउँदै विरोधीतर्फ लागिदिन्छन् ।
– मनिष आजाद
क्रान्तिहरू जब
मार्क्सका आँखै अगाडि
एक एक गरेर ‘पराजित’ भैसकेका थिए !
जब मार्क्सको आफ्नो कुनै देश थिएन
आफ्नो कुनै घर थिएन
उनका आँखै अगाडि
उनका बच्चाहरू
छट्पटाउँदै मरिसकेका थिए
उनकी सबै कुरा ‘जेनी’
उनलाई छोडेर गैसकेकी थिइन !
तब पनि मार्क्सले
क्रान्तिको नयाँ संस्करणको
पटकथा लेख्न छोडेका थिएनन् !
जब औंलाहरू थाक्दथे
खुट्टाहरू फलामजस्तै नचिनिने हुन्थे
तब मार्क्स बिस्तारै उठ्थे
र आफ्नो प्यारो साथी समुद्र भेट्न जान्थे ।
मार्क्सलाई देख्नासाथ समुद्र
उनीसँग अँगालो मार्न
उफ्रिन थाल्थ्यो
र, उनलाई आफ्नो प्रेमले भिजाएर
फर्केर जान्थ्यो ।
मार्क्स आफ्ना गहिरा आँखाले
समुद्रलाई यसरी हेर्दथे
मानौं, समुद्रको अतल गहिराहीमा
हाहाकार गर्दै लुकेर बसेको
क्रान्तिलाई हेर्ने प्रयत्न गर्दै छन् !
एक दिन
अचानक त्यहीं बसेर, समुद्रलाई हेर्दै गरेको
एउटा बुढो मजदूरले
दार्शनिक तरिकाले मार्क्ससँग सोध्यो
आखिरमा जीवनको अर्थ के हो मार्क्स ?
मार्क्सले ऊतिर गहिरो नजरले हेरे
अनि लामो सास फेरे
त्यसपछि त्यही समयमा
समुद्रको लहर उनीतिर आयो !
मार्क्सले त्यो विशाल छचल्किरहेको
ज्वारभाटासँग ठोक्किदै भने–
संघर्ष ! संघर्ष ! र मात्र संघर्ष !
अनुवाद : बलराम तिमल्सिना
काठमाडौं : साहित्यिक पत्रकार संघले आगामी ४३औं कथा दिवसको अवसरमा कथाकार नरेन्द्रराज पौडेललाई मैनाली कथा पुरस्कार–२०८० प्रदान गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । मैनाली कथा पुरस्कारमा रकम रू.एकाउन्न हजार राशिसहित सम्मानपत्र रहेको छ ।
साहित्यकार श्रीओम श्रेष्ठ "रोदन"को संयोजकत्वमा पद्यावती सिंह र प्रा. डा. गोविन्दमान सिंह कार्की सदस्य रहेको सिफारिस समिति रहेको थियो । वि.सं.२०३८ सालदेखि निरन्तर कथा दिवस मनाउँदै आएको साहित्यिक पत्रकार संघले सोही दिन विशेष लघुकथा वाचनको आयोजनासमेत गर्ने भएको छ ।
यसैगरी मैनाली कथा पुरस्कार २०८० बाट सम्मानित हुने पौडेलका मेटिएका रेखाहरु (२०५२), फट्टिकको खम्बा (२०५३), पर्खाल बाहिर (२०५८), स्वप्नयात्रा (२०६२), रोबोटका आँखा (२०७३) लगायतका कथा कृतिहरूसहित कविता, हास्यव्यङ्गसंग्रह, समीक्षा संग्रह, नियात्रासंग्रहका गरी दुई दर्जन बढी कृतिहरु प्रकाशित रहेका छन् ।
मैनाली कथा पुरस्कारबाट यसअघि कथाकारहरू क्रमशः भाउपन्थी, मनु ब्राजाकी, मोहनराज शर्मा, माया ठकुरी, कुमार ज्ञवाली, विश्वम्भर चञ्चल, जगदीश घिमिरे, प्रेमा शाह, खगेन्द्र संग्रौला, पद्मावती सिंह, भागिरथी श्रेष्ठ, सनत रेग्मी, सन्तोष भट्टराई, मुरारी अधिकारी (क), राजव, इन्दिरा प्रसाई, ध्रुव सापकोटा, नगेन्द्रराज शर्मा, मुरारी अधिकारी (ख), नारायण ढकाल, माधव भँडारी, गोविन्द गिरी प्रेरणा, गोपाल पराजुली, महेशविक्रम शाह, किशोर पहाडी, इस्माली, अविनाश श्रेष्ठ, डा. राजेन्द्र विमल, विन्द्या सुब्बा लगायत सम्मानित भइसकेका छन् ।
यसैगरी मैनाली कथा सम्मानबाट यसअघि कथाकारहरू क्रमशः मदनमणि दीक्षित, गोविन्दबहादुर मल्ल गोठाले, परशु प्रधान, डा.ध्रुवचन्द्र गौतम, मोहनराज शर्मा, डा. दयाराम श्रेष्ठ "सम्भव", डा. बेन्जु शर्मा, हरिहर खनाल, अनिता तुलाधर, धनमान श्रेष्ठ, लोकेन्द्रबहादुर चन्द, विजय सागर र घनश्याम पुडासैनीलगायत सम्मानित भइसकेका छन् ।
काठमाडौं : साहित्यिक पत्रकार संघले कवि ठाकुर बेलबासेलाई ‘व्यथित काव्य सम्मान–२०८०’ प्रदान गर्ने भएको छ । यसैगरी संघले ‘व्यथित काव्य डायस्पोरा सम्मान– २०८०’ कवि खेमनाथ दाहाललाई प्रदान गर्ने भएको छ ।
साहित्यकार प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र श्रीओम श्रेष्ठ ‘रोदन’सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिसअनुसार संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले उक्त निर्णय गरेको हो ।
कवि बेलबासेका सागरको वरिपरि मनहरूको समारोह (२०५८), अचानक यो साँझ (२०६६), त्रासमा ईश्वर र अन्य कविताहरू (२०६९), यतै कतै (२०७७) जस्ता कवितासंग्रह प्रकाशित छन् । ढाकावाङ, अर्घाखाँचीका कवि ठाकुर बेलबासेले विनय रावल स्मृति प्रतिभा पुरस्कार, राष्ट्रिय कविता महोत्सव पुरस्कार, नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रथम), युवा वर्ष मोती पुरस्कार, साझा पुरस्कार, भोग्यप्रसाद शाह पत्रकारिता पुरस्कार लगायतका पुरस्कार पाइसकेका छन् ।
यसैगरी लाब्री, तेह्रथुमका कवि खेमनाथ दाहालका श्वेतपत्र (महाकाव्य), रश्मि (खण्डकाव्य) तथा श्रद्धाञ्जली, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु जस्ता कवितासंग्रह प्रकाशित छन् ।
कवि खेमनाथ दाहाल गेरु–अम्बिका वाणी पुरस्कार, छन्दोबद्ध कृति पुरस्कार (अनेसास), साहित्य सन्ध्या नियात्रा पुरस्कार, पुष्पपराग साहित्य परममाया÷कृष्णप्रसाद थपलिया सम्मान, मिलाप राष्ट्रिय विशेष व्यक्तित्व सम्मान लगायतका पुरस्कार पाइसकेका छन् ।
वि.स.२०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार संघबाट प्रदान गर्ने गरिन्छ । यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा.दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुङ्गेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी र गीता कार्की सम्मानित भइसकेका छन् ।
यसैगरी ‘व्यथित काव्य डायस्पोरा सम्मान’बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित भइ सकेका छन् ।
काठमाडौं : कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए ।
स्वर्गीय प्रधानका दुई छोरी र दुई छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए ।
उनका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्द्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा संग्रह प्रकाशित कृति हुन् ।
काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृभाषा साहित्य शृंखला सम्पन्न गरेको छ ।
शृंखलाको नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर पाठ गरेर उद्घाटन गरेका थिए । सदस्य सचिव सुवेदीले चाम्लिङ भाषाको कार्यक्रम हुँदा आफ्नै जस्तो लाग्ने गरेको बताउँदै प्रत्येक भाषाको महत्व समान रहेको बताए ।
उनले चाम्लिङ भाषाका अध्येता तिलक चाम्लिङद्वारा लिखित कार्यपत्र ’चाम्लिङ भाषाको साहित्य’ निक्कै पठनीय र स्तरीय रहेको बताए ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रज्ञा–प्रतिष्ठान प्रत्येक मातृभाषाको उत्थान र प्रवद्र्धन गर्न लागि परेको बताइन् । उनले मातृभाषाविना बाँच्न र जिउन कठिन हुने बताइन् ।
यसैगरी कार्यक्रमका सभाध्यक्ष ,प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा भनेको आफ्नै आमाको भाषा भएकाले हामी आफैँ जागृत हुनुपर्ने बताए ।
उनले आफू बान्तवाभाषी भएपनि चाम्लिङ भाषा आफ्नो मातृभाषा सरह रहेको बताउँदै आगामी मातृभाषा शृंखला–नौँमा वाम्बुले राई भाषा साहित्यका विषयमा कार्यपत्र प्रस्तुत हुने बताएका थिए । प्रत्येक शृंखलामा फरकफरक मातृभाषाबाट तीनवटा कविता वाचन गर्ने गरिएको छ ।
यसपटकको मातृभाषा साहित्य श्रृंखला–८ औंमा चाम्लिङ राईभाषाका अध्येता तिलक चाम्लिङले ‘चाम्लिङ भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यपत्रमा चाम्लिङ मातृभाषाको स्थिति, काल विभाजन, पाठ्यपुस्तक प्रकाशन, पत्रपत्रिका प्रकाशन, सोसल मिडियाको प्रभाव र चाम्लिङ साहित्य कृतिलगायतका बारेमा चर्चा गरिएको थियोे ।
उक्त कार्यपत्रमाथि सहभागीकातर्फबाट बयानसिंह राई, सोमबहादुर धिमाल र मानबहादुर राईले पुरक विचार राखेका थिए ।
यस कार्यक्रममा मैथिली भाषामा विजेता चौधरी, बायुङ राई भाषामा वसन्त बायुङ राई, दुमी राई भाषामा प्रयास दुमी राईले कविता वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए ।
–ऐनबहादुर सिंह
नेपाल सुन्दर, शान्त र प्राकृतिक दृष्टिले रमणीय, विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका धेरै हिमाल असंख्य नदीनाला, ताल तलैया, छहरा, हरिया वनजंगल, भन्ज्याङ, चौतारी र लेकबेशीले सिंगारिएको देश हो । भौगोलिक दृष्टिले हिमाल, पहाड र तराईमा विभक्त यो देश गौतम बुद्धको जन्मभूमि र जनकको कर्मभूमिले विश्वमा नै चिनिएको छ । साँच्चै नै यो देश धार्मिक तथा पर्यटकीय स्थल क्षेत्रमा विश्वमा चिनिएको थोरैमध्येको एक हो । अनि सांस्कृतिक; भाषिक विविधताको सुन्दर फुलबारी हो भन्नुमा अत्युक्ति नहोला ।
देशकै सुदूरपश्चिम प्रदेशको कुरा गर्दा यहाँ थुप्रै मनमोहक रमणीय धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् । बझाङ जिल्लाको सन्दर्भमा हेर्दा, बुङगल नगरपालिका वडा नं. ७ र दार्चुला मार्मा गापाको सिमानामा पर्ने पूरमचुली टाँकुरा पनि एक प्रमुख स्थल हो ।
बझाङ बैतडी र दार्चुला जिल्लाको सिमानामा पर्ने पूरमचुली टाँकुरा ३४६२ मिटरको उचाइमा अवस्थित छ । हाल यो ठाउँ सिद्धनाथ देवताको धार्मिक स्थलका रूपमा पर्यटकीय क्षेत्रमा विकसित हुँदै गएको छ । यहाँ हाल सिद्धनाथको पैगोडा शैलीको मन्दिर काठ र ताम्रपत्रको प्रयोगबाट निर्मित भएको छ । यसको नजिकै चुचुरोमै नवआगन्तुकका लागि सामग्री सहितको आवासगृह तथा २० हजार लिटर क्षमताको आकासे पानी संकलन गर्ने ट्यांकी पनि निर्माण गरिएको छ । यस क्षेत्रको यो सबैभन्दा अग्लो चुली पनि हो । यो अपि हिमालको सामुन्नेमा देख्न सकिन्छ ।
यस ठाउँमा पुग्न बझाङ जिल्लाको बागथला हुँदै बुङ्गल नगरपालिका वडा नं. ७ कफलसेरी भएर दहझार तालसम्म सडक बाटो भएर जान सकिन्छ भने त्यहाँबाट उकालो घोरेटो बाटो भएर चिल्ठा गाउँ हुदै नाइसी खर्क र सुगरखाली भएर चुचुरोसम्म पुग्ने बेलामा सिँढी चढ्नुपर्छ । यसको चुचुरोभन्दा तलबाट करिब एक कि.मि. सिँढी निर्माण गरिएको छ । चुचुरोमा पुगेपछि चारैतिरको मनमोहक दृश्य हेर्न सकिन्छ । विशेषगरी बिहानको सुर्योदय र साँझको सूर्यास्त हेर्दा इलामको अन्तु डाँडाभन्दा कम होला भन्न सकिन्न । यहाँबाट उत्तरतिर उच्च हिमश्रृंखलाहरू अपि हिमाललगायतका सुन्दर दृश्यहरू देख्न सकिन्छ । यसैले धेरै ठाउँको अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रको पर्यटकीय महत्व बढ्दै गएको छ ।
ऐतिहासिक पृष्ठभूमि
बझाङ बैतडी र दार्चुला जिल्लाको संगम चुली भू–परिधिबाट उठेको पूरमचुलिको उचाई समुद्र सतहबाट ३४६२ मिटर रहेको छ । शिव महादेव कैलाशबाट आउँदा अपि हिमाल गाउँपालिका वाड नं. १ मा रहेको सिति महादेवको स्थानबाट पूरमचुली बास गरी बड्डिज्यावन पुगेको र साथमा काग आएको जौको दाना लिएर मेलको रुखमा छोडेको; पछि गोठालाले देखी तामाको मानो लिएर त्यसमा माडेको अनि मानो भरिएको पछि घरमा ल्याई तौलामा राखेको थियो । त्यो पनि भरिएको अनि उक्त परिवारले भरिएर खसेको दाना खान थाले । एकदिन एकजना पाहुना आउँदा अब रोटी पुग्दैन भने तौलीबाट झिकेर पिस्न थाले । त्यसपछि ताउलीको जौ अन्न घट्दै गयो । त्यस ताउलीको जौ छर्नेगरी ज्यावनमा जौ खेती सुरु भयो । त्यही जौले त्यहाँका देवताको पूजा लाग्ने भयो ।
यसैगरी थानपाटनको फुलबारीबाट फूल ल्याई पूजा गर्ने चलन भयो भन्ने भनाइ रहेको छ । सिति महादेवको घुसामा पूजा गर्दा हातमा राखेर पूजा गरिने प्रसाद कागले अहिले पनि मान्छेको आजबाट टिपेर लैजाने गर्छ भनी त्यहाँका स्थानीय बासीहरूको भनाई रहेको छ ।
दहझार ताल र पूरमचुलीको सम्बन्ध
दहझार कुण्ड र पूरमचुलिको विशेष सम्बन्ध रहेको मान्यता रहिआएको छ । दहझार कुण्डमा स्नान गरी कमण्डलुमा जल लिएर पूरमचुलीमा पूजा गर्न जाँदा मनको सोचेको पुण्य मिल्ने जनविश्वास रही आएको छ । पूरमचुलीको जंगलबाट बाह्रसिंगे जरायो गाईको फौजमा आएर दहझार तालमा गएको त्यहाँ स्थानीयबासी एकजनाले गोली हान्दा मृगलाई कुनै चोट नलागेको अनि धेरै जनाले घेरा हाल्दा मृग भागेर गएको थियो भनि बुढापाकाहरू बताउँछन् । उक्त गोली हान्ने मान्छेको पछि नराम्रो हुँदै गएको थियो । वि.सं. २०१५ सालतिरको कुरा थियो त्यस तालको माछालाई एकजना भोटे बाख्रा वालाले मार्न खोज्दा पछि सर्प भएको थियो रे ! त्यसपछि उक्त भोटेका दुईवटा केटाकेटी र बाख्राहरू पनि सखाप भएको कुरा सुनिन्छ । हाल उक्त तालको छेउमा मन्दिर वनाई तालको संरक्षण गरिएको छ । नागदर्शन दहझार तालको विशेषता हो उक्त कुरा मानस खण्ड स्कन्ध पुराणमा उल्लेख गरेको पाइन्छ ।
बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नं. ७ र ८; दार्चुलाको मार्मा गाउँपालिका वडा नं. १,२,३ र बैतडीको साबिकको कोटपेटरा गा.बि.स. वार्ड नं. २ को भू–धरातल बाट उठेको पूरमचुली पहाड अति सुन्दर ऐतिहासिक प्राचिन श्री पूरमचुली सिद्धनाथ धार्मिक तथा पर्यटकीय स्थल आफैंमा बहुमूल्य वनस्पति र जैविक सम्पदाले भरिपूर्ण धामको रूपमा परिचित छ । उक्त चुली नेपालकै रुख भएको उच्च चुलीको रूपमा रहेको छभन्दा अतियुक्ति नहोला । हिमालदेखि तराईसम्म कुनैपनि नदीले नकाटेको नछेकेको पहाडको रूपमा रहनु यस चुलीको प्रमुख विशेषता हो । यहाँबाट देखिने अत्यन्त मनमोहक दृष्यका कारण ओर्लिने क्रममा कतिपय यात्रीहरूमा पथभ्रम समेत हुने गरेको दृष्टान्त पाइन्छ ।
अर्को किम्बदन्तीअनुसार भगवान शिव पार्वती कैलाश पर्वत जाँदा यस ठाउँमा बास बसेको विश्वास गरिन्छ । त्यसैले यस पुण्यधामको दर्शन गर्दा पुत्रलाभ प्राप्ती हुने विश्वाससमेत रहेको पाइन्छ । शुद्ध र सच्चा मनले सो देवभूमिमा आई पुजापाठ गरेमा घरमा शान्ति हुनुका साथै, शुभ लक्षण देखिने कुरामा भक्तजनको ठूलो विश्वास रहेको पाइन्छ । यस क्षेत्रमा प्रवेश गर्दा भक्तजनले धेरै कुराहरूको पालना गर्नुपर्ने हुन्छ । यहाँ पशुबली गर्न पूर्णरूपमा निषेध गरिएको छ; यसैगरी मध्यपान, मांशहार, जुठो सुतकमा प्रवेश निषेध; कम्तिमा एक हप्ताअघिदेखि सफा, शुद्ध हुनुपर्ने; फोहोरजन्य वस्तुको व्यवस्थापन र वन सम्पदालाई हानि हुने खालका कार्यहरू गर्न पूर्णरूपमा निषेध गरिएको छ ।
यस क्षेत्रको अर्को महत्वपूर्ण पक्ष भनेको सिद्धनाथ धार्मिक वन हो । यो पूरमचुली धार्मिक वन जिल्लाकै पहिलो वन हो । यसको क्षेत्रफल ५६.६ हेक्टर रहेको छ । यस वनमा विभिन्न जातका बहुमूल्य वन पैदावार र दुर्लभ वन्यजन्तुहरू पाइन्छन् । वनस्पतिमा पनि विभिन्न जातका सल्ला, भोजपत्र, गुराँस, निगालो, लौठ सल्ला, कापर पाइन्छन् भने दुर्लभ जडिबुटीमा पाँच औंले, कटुकी, सतुवा, चिराईतो, वन लसुन आदि पाइन्छन् यसैगरी वन्यजन्तुहरूमा कस्तुरी, मृग, बँदेल, भालु, चितुवा, थार, घोरल आदि हुन्छन् भने पंक्षिहरूमा डाँफे, कालिज, तित्रा, च्याखुरा आदि रहेका छन् ।
यहाँको जंगलमा पाइने निगालोको चोयाबाट हजारौं स्थानीय बासीहरूले विभिन्न सामाग्री वनाएर हाटबजार, मेला, शिवरात्रीमा बिक्री वितरण गरी प्रशस्त आय आर्जन गर्ने गरेका छन् । यहाँबाट बैतडीको गोकुलेश्वर शिवरात्रि मेला र पुर्चौडी हाटको मेलासम्म पनि यी सामग्रीहरूको पुग्ने गरेका छन् । यो यहाँको एक आम्दानीको स्रोत पनि हो ।
यहाँको वनको उपभोक्ता समितिमा बझाङ बुङगल नगरपालिका वडा नं ७ र ८; दार्चुला मार्मा गाउँपालिका लटिनाथ र गुल्जरका बासिन्दाहरू समेटिएका छन् । हालसम्म जम्मा उपभोक्ता घरधुरी संख्या ४६०० रहेका छन् भने तीन सयजनाभन्दा बढी आजीवन सदस्य रहेका छन् । यसैगरी साधारण सदस्यहरू २००० भन्दा बढी रहेका छन् । यहाँको प्रमुख समस्या भनेको पासा थापेर चोरी शिकार गर्ने रहेको छ ।
दृश्यावलोकन
यहाँबाट अपि हिमाललगायतका विभिन्न हिम टाकुराहरू; भारतको पिथौरागढका केही भाग र २÷३ वटा जिल्लाका केही सुन्दर स्थलहरू देख्न सकिन्छ । यसैगरी अन्य हेर्नलायक दृश्यहरूमा दहझार ताल, नाइसी, चिल्ठा गाउँ, सुँगरखाली, पूरमचुली टाकुरा र यसको मन्दिर परिसर, वनजङ्गल र वनस्पतिको दृश्य, विभिन्न जंगली जनावरहरू, सूर्योदय र सूर्यास्तको दृश्य आदि रहेका छन् ।
विभिन्न किसिमले हेर्दा पूरमचुली पर्यटनको गन्तव्य स्थल हो भन्न सकिन्छ यस स्थलका केही विशेषताहरू निम्नानुसार रहेका छन्–
हिमालदेखि तराईसम्म कुनै ठाउँमा नदिले नछेकेको अग्लो थुम्का ।
रुख भएको नेपालकै सबैभन्दा अग्लो चुली ।
कृषि, वन र धार्मिक पर्यटनको सम्भावना स्थल ।
सुर्योदय र सूर्यास्तको सुन्दर दृश्य बोकेको स्थल तथा साँझ रातिसम्म सूर्य देख्न सकिने ।
धार्मिक स्थल पूरमचुलीको विकास गर्नका लागि केही भावी योजनाहरू थपिँदै गइरहेका छन् । यस वर्ष १७ हजार सिँडि थप गरी धार्मिक पर्यटन मार्गको स्तरोन्नती गरिने छ भने तीन वटा मन्दिर तीनओटा पार्क र तीनवटा आवास गृह निर्माण गर्ने योजना रहेको छ । यसैगरी पर्यटकहरूको सुविधाका लागि विद्युत् लाइन माथि चुचुरोसम्म नै पु¥याउने लक्ष्य रहेको यसका भिजनकर्ता तथा उपभोक्ता समितिका सचिव विष्णु भक्त जोशीले बताएका छन् । यसैगरी बुंगल नगरपालिकाले यो क्षेत्रलाई पर्यटकीय स्थल घोषणा गरिसकेको छ । यसबर्ष भदौ १८ गतेदेखि २२सम्म सोही स्थानमा धार्मिक महोत्सव (पुजापाठ, मन्दिर प्रतिष्ठा, उदघाटन, भिडियो सुटिङ, समिति पुनर्गठन, धार्मिक प्रवचन, सांस्कृतिक भजन कृतन, वार्षिक भेला)आदि कार्य गरिएको छ भने मंसिर ११गतेका दिन गजुर चढाउने काम गरिएको छ र अब केही दिनमा नै यसको मूल प्रवेशद्वारमा ठूलो घण्टी (भाना)चढाउने काम हुदैछ यसका लागि देश विदेशबाट लाखौं रूपैयाँ चन्दा संकलन भइसकेको छ । वकिल सिंह ठगुन्नाजीको पूरमचुली गीति एल्बमको भिडियो पनि आइसकेको छ । अतः पूरमचुली विशेष महत्व बोकेको धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्नु आवश्यक भइसकेको छ । यसका लागि स्थानीय सरकार, बुद्धिजीवी, सञ्चारकर्मी, उपभोक्ता समिति आदिबाट पर्याप्त सहयोगको अपेक्षा गरिन्छ । अस्तु !
(लेखक सिंह, श्री महेन्द्र आधारभूत विद्यालय बुंगल न.पा.६, हापेखोला बझाङमा कार्यरत छन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies