पवन जायसवाल/मध्यान्ह
बाँके : बाँकेको नेपालगन्जमा रहेका उर्दू साहित्यकारहरुको संगठन गुल्जार–ए– अदबले आफ्नो मासिक गजल गोष्ठी शनिबार सम्पन्न गरेको छ ।
गुल्जार–ए–अदब बाँकेद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी कार्यक्रम गर्दै आइरहेको छ । सोही अनुसार महेन्द्र पुस्तकालको सभा हलमा गजल साहित्यकारहरुले गजल वाचन थिए । गजल गोष्ठीमा ‘फिर यूँ हुआ कि वो भी सर –ए–दार आ गया’ मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।
नेपालगन्जका उर्दू साहित्यकार सैयद असफाक रसूल नेपालीको अध्यक्षतमा, अन्सर नेपालीद्वारा सञ्चालित कार्यक्रममा वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सैयद असफाक रसूल नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, जमील अहमद हाशमी, अन्सर नेपाली लगायत उर्दू साहित्यकारहरूले गजल वाचन गरेका थिए ।
सो कार्यक्रममा वरिष्ठ कथाकार सनत कुमार रेग्मी, बव्बु फारुकी लगायतको सहभागिता रहेको थियो ।
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य शृंखला प्रारम्भ गरेको छ । यस शृंखलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमितरूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने भएको छ । यस क्रममा प्रज्ञा प्रतिष्ठानका साहित्य (मातृभाषा) विभागका सदस्य तथा युनेस्कोका सहजकर्ता डा. सोमबहादुर धिमालले ‘धिमाल भाषाको साहित्य' विषयक कार्यपत्र प्रस्तुत गरे ।
कार्यपत्रमा धिमाल जातिका मौलिक विशेषता र परम्पराहरू, आरोह अवरोह, अवस्था, पुस्तान्तरण, चलचित्र, गीतिसाहित्य, पत्रकारिता, लोककथा, लोकउखान, किंवदन्ती, कविता, गीत, नियात्रालगायतका विधागत कृतिबारे उल्लेख गरिएको छ ।
सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सबै जातजाति र समूदायका आ-आफ्नै भाषा रहेको बताउँदै तिनले बोल्ने सबै भाषा मातृभाषा भएको बताए । भाषामा विभेद झल्किने कुनै पनि मार्जिनको जरुरत नभएको उनले बताए । उनले भने, 'कर्मकाण्डीय रूपमा वर्षमा एकचोटी मातृभाषा दिवस मनाइन्थ्यो । त्यस परम्पराको साटो मातृभाषाको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले मातृभाषा साहित्य शृंखलाको शुरु गरिएको हो । यसले मातृभाषाका स्रष्टाहरूलाई उत्साहित र प्रोत्साहित गर्ने छ ।'
यसैगरी प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ´विमल निभा'ले सबै जातजातिको मातृभाषा र साहित्य प्राण रहेको बताउँदै यसको उत्थान र विकासमा लाग्न मातृभाषा साहित्य शृंखलाले उत्साह र हौसला थप्ने बताए ।
यस्तै प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यको क्रममा नेपाल बहुजातीय र बहुभाषा भएको देश रहेको बताउँदै भने, 'यहाँ भएका सम्पूर्ण मातृभाषाको संरक्षण र सम्बर्द्धन गर्ने दायित्व वहन गरेका छौं । यसैअनुरूप मातृभाषा साहित्यको नियमित शृंखला शुरु गरिएको हो ।'
यसैगरी समापनका क्रममा मातृभाषा साहित्य शृंखलाका अध्यक्ष, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले सबै भाषाका साहित्यिक स्रष्टाहरूले आ-आफ्नो स्वत्व आत्मसात् गर्नेगरी मातृभाषा साहित्य शृंखलाको प्रारम्भ गरिएको बताए । उनले यसअघि प्रज्ञा प्रतिष्ठानले फेब्रुअरी २१मा पर्ने अन्तर्राष्ट्रिय मातृभाषा दिवस एकदिन मनाउने गरेको बताउँदै त्यस परम्पराको सट्टा विविध मातृभाषामा सिर्जना, संवाद र विमर्श गर्न लागिएको बताए ।
यस्तै डा. सोमबहादुर धिमालद्वारा लिखित 'धिमाल साहित्य' विषयक कार्यपत्रमाथि प्राज्ञ सभा सदस्य डा.तारामणि राईले भने, 'धिमाल भाषाको साहित्य र संस्कृतिबारे सुपरिचित भयौं तर कार्यपत्रलाई सापेक्षितरूपमा परिमार्जन गर्नु उपयुक्त हुने छ ।'
यसैगरी प्रतापसिंह नाछिरिङ, रामनारायण देव, लोचना मोक्तान, विक्रममणि त्रिपाठी, सन्ध्या पहाडी, गणेशबहादुर घले, कमला शाक्य सृष्टि र प्रकाश वान्तवालगायतले प्रस्तुत कार्यपत्रमाथि पूरक टिप्पणी गरे ।
यसैक्रममा तीन कविले तीन भाषाका कविता कार्यक्रममा वाचन गरे । जसमा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य देवकुमार चौधरीले थारु भाषामा, अञ्जु राजवंशीले राजवंशी भाषामा र विनिता ताजपुरियाले ताजपुरिया भाषामा, आ-आफ्नो कविता वाचन गरे । कार्यक्रमको सञ्चालन प्रज्ञा प्रतिष्ठान भौतिक संशाधन व्यवस्थापन महाशाखा प्रमुख तथा कवयित्री सन्ध्या पहाडीले गरिन् ।
–दमयन्ती मैनाली फयेल
“घनश्याम, तँ मसँग बिहे गर्छस् ?”
“कस्तो हावा कुरा गरेकी ? बिहे भनेको सोचेर, बुझेर गर्नु पर्छ । गोजीमा एक पैसा नहुने मैले बिहेको त अहिले सोच्नै सक्दिन ।”
“त्यसो भए बिहे नै गर्दैनस् त ? किनकी, तँ जस्तो फटाहासँग खल्तीमा पैसा हुनु भनेको असम्भव कुरा हो ।”
“म त त्यस्तै छु । तर तिमीले चाहिँ आज किन एस्ता कुरा गरेकी ?”
“किनकि, मलाई बिहे गरेर कसैसँग बदला लिनु छ ।”
“कस्तो बदला ?”
“हेर, मैले रञ्जित भन्ने एउटा बंगाली केटालाई मन पराउँछु । एक सप्ताहपछि ऊ यहाँबाट उसको घर त्रिपुरा जाँदै छ, मैले पापालाई उसँग मेरो बिहे गरिदिनु भनेको मान्नुभएन । त्यसैको बदला लिनलाई मलाई आज र भोलिमै बिहे गर्नु छ । हेर, म राम्रो लाग्छु भनि मेरो हात समा, नत्र अर्कैसँग कुरा गर्छु ।”
“हेर, तँ राम्री छेस् । रीमा, मसँग गोजीमा बीस रूपियाँ मात्रै छ । यो पनि भरेको खोराकी । राति के खानु तँलाई कसरी खुवाउनु ?”
“त्यो सब पछि सोचौँला, हिँड त मन्दिरमा गएर बिहे गरौँ ।”
घनश्याम र रीमा मन्दिरमा गएर सिन्दुर–पोते गरेर जब रीमा “पापालाई देखाउन” बुवाको समक्ष पुगि बुवाको डरलाग्दो अनुहार देखेर थरथरी भई । “आजको उप्रान्त, तघारो कटिछेस् भने, तेरो गर्दन उडाई दिन्छु बुझिस् ! तैँले जीवनलाई भाडा कुटी खेलेको सोचेकी ? अब भोगछेस् ! जा तैसँग जीवन बिता !”
बाटो भरी रीमालाई हेर्ने मान्छेको ताँती थियो । “सुरबीर महाजनकी पुल्पुलिएकी छोरी रीमा त्यो जडाहासँग गैछे !” भनेर गाँउभरी हल्ला फैलिएछ । ठाडो शीर लगाएरै रीमा घनश्यामको कोठामा आई पुगी । कोठा फोहोर थियो । छ भन्ने कुरा केही थिएन । रीमाले त्यो रात बसेरै कटाई । भोलिपल्ट बिहान झपक्क हुँदै गरेकी रीमा घनश्यामको स्पर्शबाट झसङ्ग ब्यूँझी । कस्सेर थप्पड गालामा लगाएर उसले भनि, “मलाई हात लगाउने साहस कहाँबाट पाइस ?”
“तँ आँफैले बिहे गर्ने रहर गरेर आएकी हैनस ? बड्ता बोल्छेस् ? घमन्डी आईमाई । अझैपनि आँट छ भनि आफ्नो घर जा ।”
“म अहिलै घर जान्छु”, भन्दै त्यहाँबाट निस्किएकी रीमालाई हेर्ने सैकडां नजरलाई उसले नजर अन्दाज गरेर घरसमक्ष पुगि । बुवाको घरको गेटसम्म पुगेकी उसलाई देखेर पनि शेरमान पालेदाईले गेट खोलेनन् । मैया, हजुर यही पर्खनु, म मालिकलाई सोधेर आउँछु भनेको पालेले “सरी मैया, सरले नखोल्नु भन्नुभयो ।” भनेर टाउको निहुर्यायो । “बिहे जब गर्नुभयो अबबाट त्यसैसँग जीवन बिताउने सोच्नुहोला मैया । किनकी बिहे जिन्दगीमा एकपल्ट मात्र हुन्छ”, शेरमानले कुरा थप्यो ।
रीमा दुःखी भएर घनश्यामको कोठा फर्किई । अनि त्यो घर बडारेर उसले घनश्यामलाई “भोक लाग्यो केही खुवा” भनि ।
घनश्याम बाहिर गयो । एकछिनमा उसले चिनी, चियापत्ती र बिस्कुट लिएर आयो । पोको देख्नेसाथ रीमा कुद्दै गएर पोकाबाट बिस्कुट खोलेर खान थाली । उसको त्यो अवस्था देखेर घनश्यामलाई दुःख लाग्यो । स्कुल कलेज पढ्दा की घमण्डी रीमा अहिले उसको सानो कोठामा थिई ।
बुवाको रक्सी पीउने बानीले भएको घरसम्म बेचियो । बुवा बितेपछि आमा र घनश्याम बेचिएको घरमै बसेका थिए । तर, अकस्मात आमालाई हृदयघातले लग्यो । एक्लै महिना दिन त्यही बस्नलाई घनश्यामलाई अलिकति–अलिकति गरेर रक्सीको सहारा लिनुपर्यो । घरमा एक्लो बस्ने साहसै गर्न उसले सकेन । उसको त्यही घरबाट बुवापछि आमा घरै सुन्ने पारेर बिदा भएका थिए । बुवाले खाएको देखेर हो कि उसलाई रक्सी खाएर निकै रमाइलो लाग्यो । उसले खाएर घरमा आएर आमालाई बोलाउने गर्थो । छिमेकीले दुई/चार दिन आपत्ति गरे । तर, घनश्यामको सुधारीने चालै देखेनन् । छिमेकी काकाले घरमाटो छोडदिन अनुरोध गरेपछि उ घर न घाटको भयो । चोकमा एउटा बिहारी महाजनको चामल मिलमा गएर काम खोजेको थियो । बिहारी महाजनले उसलाई त्यहाँ काम दिने भयो तर, राति गोदाम रूङनु पर्छ भन्यो । ‘के खोज्छस् ... आँखो’ भनेजस्तो घनश्यामले तुरन्तै सहमति जतायो । रक्सी पीउने र हल्ला गर्ने बानीले गर्दा घनश्यामलाई कसैले मन पराउँदैनथे । तर धनीकी छोरी बिहे गरेपछि उसको चाल बदलियो । उ मन लगाएर कामपनि गर्ने भयो ।
धनीकी छोरी भएकाले होला रीमा असाध्यै घमण्डी र जिद्दी थिई । उसले बुवासँग बदला लिनलाई घनश्यामसँग त्यहीँ बस्ने निर्णय गरी । घनश्याम, सफा सुग्घर भएर बस्न थालेपछि उनीहरूको कोठाको रूपरङ्ग पनिपरिवर्तन हुन थाल्यो । पहिले घरमा केही नसिकेकी रीमाले घरको काममा धेरै मेहनत गर्नुपथ्र्यो । घनश्यामले मीलमा काम गर्ने र हेरचाह गरेकोमा आठ हजार रूपैयाँ महिना पाउन थाल्यो । मीलमा आएका कामदारले रीमासँग राम्रो व्यवहार गर्थे । रीमाले घनश्यामलाई कहिले यो ले त कहिले त्यो ले भन्थी । घनश्याम खुशी हुँदै उसको हरेक हुकुमको पालन गर्थो । तर रीमाले रक्सी छुटाउने प्रयास गरिन । दिनभरी कामले लखतरान भएपछि बेलुका भट्टीमा पसेर पीएर आउँदा उसलाई समयको होस् हुँदैनथ्यो । आएपछि उही हल्ला । छिमेकीको धेरै आपत्तिपछि उनीहरूले कोठा छोड्ने निर्णय लिए । कोठामा सरेपछि रीमालाई आफूँ तीन महिना गर्भवती भएको थाहा भयो ।
खुशी दुःखको बिचमा समय अघि सर्यो र जब प्रसवको समय आयो रीमाले सबै आफन्तीलाई खबर गरी । एक÷एक गर्दै उसलाई भेट गर्न आएकाले दुई÷पाँच सय गरेर दिँदा दिँदै दश हजार जम्मा पारिछे । सरकारी अस्पतालमा रीमाको सामान्य प्रसव गराइयो । घरमा नयाँ पाहुनाको आगमनमा दुबै धेरै खुशी भए ।
उनीहरूलाई अचम्ममा पारेर एकदिन सुरबीर महाजन उनीहरूको कोठामा टुप्लुक्क आईपुगे । बुवा छोरीको रूवाबासी चल्यो । छोरीको त्यो दुःख बुवाले हेर्न नसकेर उसलाई बारीको एक कुनो दिएर घर बनाई दिए । आफ्नो घर पाएर रीमा फेरी खुशी भई । उसले पुरानो कुरा बिर्सिँदै गई । अहिले उसको सुख सुविधाले भरिएको सानो घर भयो । छोरी ठूली हुँदा हँुदै अर्को पनि सन्तानकी आमा बनि । अर्को सन्तानपनि छोरी नै भयो । छोरी भएपनि उसले धेरै माया गरेर हुर्काइ ।
दिन सामान्य चलेपनि उसको घरमा साँझ झगडा भनेको रोकिएन । सुरबीर महाजन दिक्क पर्छन्, “जान सक्षम तेरो भेनालाई चुप गरा । कतिदिन सहनु यो पिर ? म त यहि पीरले मर्छु क्यार !” यति भनेका सुरबीर महाजनलाई राति नै अकस्मात सास फुलेर अस्पताल पुर्याउनु पर्यो । अस्पतालमा उनलाई हप्ता दिन राखेर ल्याउदा महाजनले रीमाको चालचुल देखेनन् ।
“सक्षम, तेरी दिदी–भेनाको चालचुल छैन त ! म आएको थाहा पाइनन् की क्या हो ?”
“मैले दिदीलाई कोठा खोजेर सर्नु भनेँ बुवा । कति सहनु सधैँको झगड़ा । तै पीरले हजुर बीमारी हुनुभयो । उनीहरूको कोठा छेवैमा छ । खबर पाएपछि आई आल्छे नि ।”
“कहिले कहिले एसो खबर लिदै गर है ! जडाहा छ, ज्वाई ! त्यसलाई दुःख छ । मैले बिहेको बारेमा केही सिकाउन पाइन । आमा भए सबै सिकाऊथी ।”
“हवस बुवा । म ख्याल राख्छु ।”
तर त्यो घरमा रीमा फर्किएर आइन । किन आइन भनेर सुरबीरे महाजन छोरालाई सधैँ जस्तो प्रश्न गर्दै झन् सिकित्स हुँदै गए ।
रीमाको मनमा बुवाको माया धेरै थियो । तर, भाईले उसलाई आउन रोकेको थियो । “तैँले गर्दा बुवाको यो हाल भयो । समाजमा हाम्रो इज्जत गयो । त मान्छे होस् र अलिकति ज्ञान छ भने यो घरमा कहिलै पाइलो नटेकेस् ।”
रीमाले दुइटी छोरी लिएर स्कुल लिएर जाँदा जाँदै स्कुलमा पर्खिएर बसेको बेला उनीहरूको कक्षामा पसेर केटाकेटीलाई लेख्नमा, पानी पियाउने, टिफिन खुवाउनेमा हेरचाह गर्दै थिई । केटाकेटीलाई लेख्न सिकाउनमा मद्दत पुर्याउँदा पुर्याउँदै त्यहाँका प्रधान शिक्षकले उसलाई पढाउनको लागि बोलाए । रीमा खुशी भएर त्यो फुर्सदको समय स्कुलमा बीताउन थालि । हेर्दा हेर्दै स्कुलमा उसको जरूरत बढ्यो । प्रधान शिक्षकले स्कुलमा चार हजार तलब दिएर पढाउन राखे । पछि पछि स्कुल परिसरभित्र दुईवटा कोठा उनिहरुको लागि दिए ।
केटाकेटिलाई अत्यन्तै माया गर्ने प्रधान शिक्षक र उनकी धर्मपत्नी अकस्मात् रीमाको कोठामा आई पुग्दा रीमा छक्क परि । “दिउँसोको खाना खाएर जाऔं है ?” सहमतिपूर्वक उनीहरू बसे । सामान्य खानालाई त्यति मीठो पारेर पकाउँदा दुबैले खुशी भएको देखाउँदै फेरि पनि यसरी खाना खानुपर्छ भने । हेर्दा हेर्दै रीमा प्रधान शिक्षक र उहाँकी श्रीमतीलाई धेरै मन पर्नै भई ।
तर आजभोलि उसको घनश्याम धेरै पीउने गर्छ । काममा कहिले कहिले गयो भनि पनि घरमा एक पैसा दिँदैन । प्रायः उनीहरूको घरमा झगड़ा चल्छ । बढ्दै गरेका छोरीको सुरक्षा, उनीहरूको भविष्यत सोचेर आज आफ्नो जिद्दी स्वभावको कारण दुःख पाएकोमा आफैलाई तिरस्कार गर्छे । छोरीहरूलाई सोचेर बुझेर हरेक निर्णय लिनु भन्छे ।
महिलालाई सम्पत्ति, राम्रो घर र गाड़ी चाहिँदैन । जिद्दी महिलाले आफ्नो स्वाभिमान राखेर त्यो, सब बिना पनि राम्रो घर संसार गर्न सक्छन् । तर उसको श्रीमान चाहिँ असल हुनुपर्छ ।
–किशन पौडेल
उसले लामो श्वास तान्यो एक छिन फोक्सोभित्र राख्यो र फाल्यो । पुनः तान्यो फाल्यो र लामो सुस्केरा हाल्दै आँखा चिम्लियो । अस्पतालमा अक्सिजन नपाएर छटपटिएका हृदय बिदारक समाचारहरू उसको मानसपटलमा दौडिन थाले । जुरुक्क उठ्यो कोठाको एउटा कुनाबाट अर्को कुनामा पुगेर चर्किएको ऐना हेर्यो । आफ्नै अनुहार उसलाई भयभीत लाग्दै जान थाल्यो । मनभित्र गहिरो डरले डेरा जमाउँदै गएको थियो ।
“हेर ! उजेली आत्मबल बलियो बनाउनुपर्छ, तँलाई केही हुँदैन छिटो निको हुन्छ ल, यो टिम्मुर ज्वानो पानी तनक्क पार । पिँधमा रहेको यो टिम्मुर, ज्वानो जिराको छोक्राहरू मुखभित्र राखेर चुस् । टिम्मुरले अक्सिजन लेबल बढाउँछ उजेली !”
तीन दिनदेखि जरोले सिकिस्त श्रीमतीलाई हौसला दिँदै उम्लिरहेको पानी डेक्चीबाट खन्याउँदै एक गिलास श्रीमतीको नजिकै लगेर राखिदियो र सँगै टाउको सुमसुम्याउँदै बस्यो ।
जिन्दगीमा कयौँ पटक रुघाखोकी ज्वरो आयो होला । उसले सामान्यरूपमा अदुवा, बेसार, तातोपानी पिएरै भगाएको थियो । ऊ कहिल्यै यति धेरै आत्तिएको थिएन । आज उसको मन त्यसै त्यसै आत्तिइरहेछ । मन त्रसित भएको छ । समाचार हेर्यो जतासुकै हाहाकार छ । जताततै दर्दनाक दृश्यहरू देखिन्छ । अक्सिजन सकिएको छ रे हस्पिटलमा जरो आएको बिरामीलाई भर्ना नलिने रे ! अचम्म लाग्छ सुन्दा पनि यत्रो अक्सिजन छ हाम्रो वायुमण्डलमा कसरी सकिन्छ होला ?
उसको मनभित्र एक प्रकारको आक्रोश उब्जन्छ । समाचारहरूले पनि कति आतंकित बनाएका हुन् । बिरामीको भन्दा नि सद्दे मान्छे कै कुन बेला प्राण लिएर जाने हो थाहा छैन ।
ऊ चिन्ताले छट्पटिँदै आँगनमा आएर आकाशतिर हेरेर टोलाउन थाल्छ ।
आकाशमा एउटा हेलिकप्टर उसैको टाउकोमाथि मडारियो । खुसीले ऊ फुरुङ्ग हुँदै हेलिकप्टरलाई हेर्दै सोच्न थाल्यो कतै मेरै उजेलीलाई अस्पताल लिएर जान आएको त होइन ? हेर्दाहेर्दै हेलिकप्टर आकाशबाट ओझेल भैसकेको थियो ।
“पुन्टेको बा ! पुन्टेको बा !” भित्रबाट उजेलीले बोलाएको मधुरो आवाजले ऊ झसङ्ग भयो र दौडिएर भित्र हेर्न पुग्यो । पुन्टे आमाको छेउमा बसेर आमाको टाउको सुमसुम्याउँदै रहेछ ।
“मलाई धेरै गाह्रो भो, अस्पताल जान पाए हुन्थ्यो” उजेलीको पीडा मिश्रित स्वरले ऊ झनै विचलित हुँदै गयो ।
“खै कसरी अस्पतालसम्म पुर्याउने होला ! छरछिमेक हेर्नसम्म पनि आएका छैनन्, सवारी साधन गाउँमा एउटै चलेको छैन । मर्दा पर्दा त मैले धेरैलाई ज्यानले सकेको सहयोग गरेकै थिएँ । आज आफूलाई पर्दा कोही भएनन् हरे शिव !” ऊ पुर्पुरोमा हात राखेर बिलौना गर्छ । गाउँ कै एक चिनजान प्रतिष्ठित हरिदाइलाई फोन लगायो फोन उठेन ।
“उजेली चिन्ता नगर बिहानसम्म तँलाई ठिक हुन्छ, बिस्तारै जरो ओर्लिन्छ म पानी पट्टी लगाइदिन्छु । अहिले सुत उजेली ।”
बुढीलाई कोरोना त लागेकै होइन भन्ने कुरामा ऊ निश्चिन्त थियो । गाउँमा कुनै पनि मान्छेसँग बुढीको भेटघाट न सम्पर्क थिएन । लकडाउन भएदेखि आफ्नै बारीमा मकै गोडेर बसेकी थिइन् । कतै गाउँ छर छिमेककोमा पनि गएकी थिइन । कसरी सर्न सक्छ र कोरोना ? उसले मनमनै सोच्न थाल्यो ।
फेरि गाउँलेहरू किन यति निर्दयी भएका होलान् है ? कस्तो दिन पनि देख्न परेको ? पहिले पहिले बिरामी पर्दा गाउँमा कति धेरै मान्छेहरू कुर्नलाई जम्मा हुन्थे । एक आपसमा दुःख सुखका कुराहरू गरेर सहानुभूति दिँदै रातभरि बिरामी कुरेर बसिन्थ्यो । आत्मबल कति बलियो हुन्थ्यो । साँच्चिकै यो कस्तो निर्दयी कलियुग होला ! मान्छे भित्र संवेदनशीलता र मानवीयता हराउँदै गएको छ ।
मनभित्र अनेकौँ कुराहरू खेलाउँदै पुन्टेलाई सुताएर उजेलीसँगै छेउमा ऊ पनि निदाउने कोसिस गर्छ । मध्यरातमा उठेर बिस्तारै उजेलीको निधार छाम्यो चिसो न चिसो भैसकेको रहेछ ।
बेलुकी त्यस्तो भुङ्ग्रो जस्तो तातो थियो अहिले त बरफ जस्तै चिसो भइसकेको रहेछ । ऊ अतालियो ।
बुढी टाउको काखमा राखेर सुमसुम्यायो ।
“उजेली ! उजेली !”
इन्तु न चिन्तु आवाजबिहीन चिसो मुडो जस्तै शरीर छामेर ऊ हतासियो । फेरि अङ्गालो हालेर भक्कानियो । सम्हालिन खोज्यो । निद्रामा मस्त सुतेको छोराको अनुहारमा पुलुक्क हेर्यो । बिहानै सधैँ “आमा” भन्दै बिउँझिने छोरो आमा बोलिन भने के सोच्छ होला । मनभित्रका तर्कनाले उसका आँखा रसाउन थाले । फेरि सम्हालिन खोज्यो । उजेलीले कल्पना गरेको छोरोको भविष्य सम्झिन्छ । छोरालाई पढाएर ठूलो मान्छे बनाउने एउटा सपना र आशाले अलिकति मनभित्र हौसला पलाउँछ ।
अब के गर्ने होला अन्योलग्रस्त भएर उसको मन अतालिन्छ । मुटुको धड्कन जोड जोडले धड्किरहेछ । मध्यरातमा बाहिर निस्केर कराउँदै चिच्याउँछ । कसैले उसको आवाज सुन्दैनन् । वडाका हर्ताकर्ता वडा सदस्य हर्क दाइलाई मध्यरातमा फोन गर्छ ।
“कोरोना लागेको रिपोर्ट छ कि छैन ? रिपोर्ट भए भोलि आर्मी आएर लिएर जान्छन् छैन भने आफैँ गर्नुपर्छ दाह संस्कार । बिहान उतै घाटमा भेटुँला बोकेर लिएर आइज ।”
उसको खरो निर्दयी स्वरले उसको मन झनै दुखित हुन्छ ।
मान्छे मर्दा कति धेरै सहानुभूति प्राप्त हुन्थे । साथ सहयोगका भावनाहरू उर्लिन्थे । रात बिहान केही भन्दैन थिए । खै आज न कसैको सहानुभूति देखिन्छ न साथ सहयोग मान्छेको मृत्यु पनि कति सस्तो हुँदै गएछ ! कुकुर बिरालोको मृत्यु जस्तै लाग्न थाल्यो उसलाई । टाउकोमा हात राखेर एक्लै बिलौनामा धेरै आँसु बगायो । गरिबीले आक्रान्त बनाएको सहारा विहीन एक्लो जिन्दगी व्यर्थ लाग्न थाल्छ उसलाई ।
मस्त सुतिरहेको छोराको अनुहारमा पुलुक्क हेर्छ छोराको निधारमा हात राख्छ, “सुतिरहनु बाबु म आमालाई अस्पताल लिएर जान्छु ।” एउटा झुटो आश्वासन पनि उसलाई मिठो लाग्छ ।
जुरुक्क उठेर श्रीमतीको लासलाई सकी नसकी काँधमा बोकेर घर बाहिर निस्किन्छ । अँध्यारो बाटो कान्लाकुन्ली, कति पटक ठेस लाग्यो, कति काँडा बिझ्यो उसलाई अत्तोपत्तो छैन । झिसमिसे उज्यालोमा तल बगरको घाटमा पुग्यो ।
सुनसान, खोलाको कलकल आवाज बाहेक अरू केही थिएन । उजेलीलाई भूईँमा राखेर केही बेर श्रीमतीको मुहार हेरिरह्यो र एक्लै डाँको छाडेर रोयो । उसको रुवाइले शान्त निश्चल झिसमिसे प्रहरलाई नमिठो गरी चिर्यो ।
उज्यालो हुँदै गयो दुई÷चार जना गाउँलेहरूले दाउरा ल्याएर टाढैबाट फालिदिए । कोही उसका नजिक परेनन् ।
“अलि टाढै बस ! हामीलाई फेरि कोरोना सर्छ ।” गाउँलेहरूको बचनले उसको मुटु झन् छिया छिया भयो । मन मुटु कठोर पारेर श्रीमतीको सग्लो देहमा आगो सल्कायो । छिनभरमै खरानी भएकी उजेलीलाई सम्झेर केही बेर आँसु झारेर टोलाई रह्यो । पुनः सुतिरहेको छोरालाई सम्झिएर झस्कियो र सम्हालिँदै बिस्तारै उठ्यो । घरतर्फ लम्कियो । घरमा पुगेर छोरालाई लिएर ऊ सरासर स्वास्थ्य चौकीतर्फ लाग्यो । आफ्नो र छोराको रगत टेस्ट गर्न दिएर आयो । दुई दिन पछि रिपोर्ट आयो कोरोना टेस्ट – नेगेटिभ ! कथा समूहबाट
-राज कुमार राजभण्डारी ‘खोटाङ्गे’
१.
भेट्ने इच्छा भए रातमा होइन दिनमा आउ
बात मिले छ भने हामी दुई बिच माया लाउ
माया मायामा मात्रै सिमित होइन साचो होस्
क्षणिक होइन जुनी भरिलाई तिम्रो साथ पाउ ।।
२.
सुख्खायाममा खडेरीले बालीनाली सुकाउछन्
वर्षायाममा बाढी आई घर खेत डुबाउछन्
सताएको छ किसानलाई समस्याले सधैँभरी
तै पनि मुटु दह्रो पारी पिरको आँसु लुकाउछन् ।
३.
सौखिनहरू त मेहेन्दी लगाई हातको मेला देखाउछन्
कर्मशिलहरू कोदालो खेलाई हातमा ठेला देखाउछन्
एकआपसमा सहकार्य हुन पनि सक्छ नहुन पनि
त्यसैले परिस्थितिअनुसार आ–आफ्नै भेला देखाउछन् ।।
४.
लागेको थियो केही जनप्रतिनिधि नैतिकवान जस्तो
अदालतको निर्णय नमान्ने ती जनप्रतिनिधि कस्तो
पाउनै कठिन भयो देशमा अब खासै सुयोग्य नेता
पाउन त पाइन्छ तर कवाडी सामनभन्दा नी सस्तो ।।
– मनिष आजाद
राजालाई वरदान छ
उसलाई कसैले मार्न सक्दैनन्
साथै एउटा चेतावनी पनि छ,
उसले साना–साना घाऊहरूबाट जोगिनु पर्छ
त्यो घाऊमा यदि कमिला लागे भने
राजालाई कसैले बचाउन सक्ने छैनन् ।
राजाका पैतालामुनि
कैयन कमिलाहरू कुल्चिइन्छन्
राजा कहिले रिसले कुल्छन्छ
कहिले माया गरेर कुल्चन्छ
अनि कति त्यत्तिकै पनि कुल्चन्छ ।
कमिलाहरू हैरान थिए
उनीहरू
सर्पको घाऊ पर्खे जसरी
राजाको घाऊ पर्खिरहेका थिए ।
एक दिन राजाले फर्मान जारी गर्यो
उसलाई एउटा मात्रै रङ्ग मन पर्छ
बाँकी रङ्गले
या त राज्य छोड्नु
कि त आफ्नू रङ्ग मधुरो पारून ।
राज्यमा हाहाकार मच्चियो
कसैले राजाको कुरा मानेर
आफ्नो रङ्गलाई मधुरो पारे
कसैले भने आफ्नो रङ्गलाई चम्किलो बनाउन
यथासक्य कोसिस गरे
र त्यसको आरोपमा जेल पनि जान थाले
राजाको पैतामामुनि कुल्चिदै पनि रहे ।
तर केही रङ्ग भूमिगत भए
र राजाका विरुद्ध विद्रोहको बिगुल फुके
राजाले पनि
तिनीहरूका विरुद्ध पूरै सेना उतार्यो ।
तर भयानक दमनका विपरित
विद्रोहीहरूले
राजालाई एउटा सानो घाऊ बनाइदिएरै छोडे
कमिलाहरू यही कुरा त पर्खिरहेका थिए ।
कमिलाहरूले
लाइन लागेर राजाको घाऊमाथि हमला बोले
राजा र उसका निजी सेनाले
कमिलाहरूलाई मारिरहे ।
तर कमिलाको लाइन अन्तहीन थियो
झ्याल ढोका सबै बन्द गरियो
तर, कहिले खट्प्वालबाट
चेपचापबाट
हरेक खाले प्वालबाट
कमिलाका पंक्ति अघि बढिरहे
कमिलाहरू मरिरहे
तर अर्को कमिला
मरेको कमिलामाथि चढेर अघि बढिरहे !
राजाको घाऊलाई गहिराइरहे !
राजाको शरीरको तापमान बढ्दै गयो !
यसरी, अन्तमा
राजा भुतभुताउदै मर्यो
भुताउँदै गर्दा राजाले भन्यो –
हैन राज्यमा कति छन् कमिला पनि ?
काठमाडौं : साहित्यकार दिलीप योञ्जन तामाङद्वारा रचित ‘आमा मेरी आमा’ विमोचन गरिएको छ । बुधबार एक कार्यक्रममा वरिष्ठ गीतकार कृष्णहरी बराल, साहित्यकार डा. रेनुका सोलु, शुभ मुकारुङ, विश्व बल्भव, गीतकार तथा गजलकार सितल कादम्बीनीले संयुक्तरुपमा विमोचन गरे ।
लोकार्पण कार्यक्रमको स्वागत मन्तव्य गीतकार सितल कादम्बेनीले राखेकी थिइन् । गीतकार दिलिप योञ्जनले आफ्नी स्वर्गीय माता पासाङ डोल्मी तामाङप्रति समर्पित भएर रचना गरिएको गीतसहित जम्मा ७ वटा गीतको विमोचन गरिएको थियो । मातृस्नेह, जीवन भोगाइ, आध्यात्म, दर्शन र जागरणलाई गीतमा समेटिएको छ ।
साहित्यकार डा. रेनुका सोलुले विमोचित भएको एल्बमको विषयमा समीक्षा गरेकी थिइन् । साहित्यकार दिलीप योञ्जनले नेपाली साहित्य तथा गीत लेखनको क्षेत्र साथै समाज सेवाको क्षेत्रमा पुर्याएको योगदान अमुल्य रहेको बताइन् । आमालाई श्रद्धाञ्जली स्वरुप समर्पण गरिएको गीतमा मातृभूमी र आमाको कर्मबाट आफू सफल भएको कुरालाई गीतमा समेटेको बताइन् ।
वरिष्ठ गीतकार कृष्णहरी बरालले गीतकार योञ्जनले नेपाली गीत संगीत र साहित्यका विविध विधामा पुर्याएको योगदानलाई आम नागरिकले भुल्न नहुने बताए । योञ्जनका हालसम्म ६ बटा गिती संग्रह बजारमा आएका छन् । साकुरा, अमुल्य, अजम्बरी, आफ्नै छायाँले, अनुराग र आमा मेरी आमा गीतिसंग्रह बजारमा आएका छन् ।
आगमन, अविरल, अमर मुक्तक संग्रह, मान्छेको भिडमा, आस्था खोजीरहेको छु कविता संग्रह, गाउँबेसीमा फूलै फूल्यो गीतिसंग्रहजस्ता सिर्जनाले नेपाली संगीतप्रेमी एवम् साहित्य अनुरागी मनहरुलाई आनन्दित बनाएको उनले बताए । एल्बममा राजेश थापा र डिवी लामाको संगीत रहेको छ । साथै सुरेश लामा, प्रविण बेडवाल, श्रेयसी चेम्जोङ, शुभ तामाङ, सुनिता लो, सुमिना लो र अन्जु लामाको स्वर रहेको छ । राजु कार्की र प्रविण वाङ लामाले गीतमा एरेन्ज गरेका छन् ।
कार्यक्रममा बोल्दै संगीतकार राजेश थापाले दिलीप योञ्जन आफैंमा सशक्त गीतकार रहेको दाबी गरे । उनले मौलिक सिर्जना र नेपाली माटोप्रतिको प्रगाढ स्नेह उनको गीतमा भेट्न सकिने दाबी गरे ।
कार्यक्रमका विषयमा गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार दिलिप योञ्जनद्वारा रचित गीतिसंग्रह विमोचन गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताए । कार्यक्रममा साहित्यकार, गीतकारहरु, गायक गायिकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
काठमाडौं : लेखक रत्नलक्ष्मी श्रेष्ठका दुई कृतिमा परिचर्चा गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा मंगलबार डालो रेस्टुरेन्ट, अनामनगरमा भएको एक कार्यक्रममा लेखक रत्नलक्ष्मी का कृतिहरू ‘चिन्ता र चासो’ लेखसंग्रह तथा ‘स्वाभिमानको तस्वीर’ कवितासंग्रहको परिचर्चा गरिएको हो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले रत्नलक्ष्मीका रचनाहरूमा देश र समाजप्रतिका चिन्ता र चासोका अतिरिक्त चिन्तन र विश्लेषण पनि पाइने बताए ।
प्रमुख अतिथिको आसनबाट इतिहासविद् प्रा. डा. सुरेन्द्र केसीले गीताका अभिव्यक्त विचारहरू आफ्नो आवश्यकताअनुसार मात्र प्रयोग गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै समग्र गीताको गम्भीर अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले रत्नलक्ष्मीका कृतिहरूमा समाज र देशमा विद्यमान विकृतिविरूद्ध कडा प्रहार पाइने धारणा राखे ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले रत्नलक्ष्मीको चिन्ता र चासोमा समसामयिक विषयप्रतिको गहिरो चिन्तन र विवेचना पाइने बताउँदै लेखनमा उनी इमानदार भएको उल्लेख गरे । अर्का समालोचक डा. गोविन्दमानसिंह कार्कीले रत्नलक्ष्मीका कविताहरूमा विषयगत विविधतासँगै समय र समाजका चित्रहरू सरलरूपमा कोरिएको चर्चा गरे । सर्जक डा. गीता शिवाकोटी खरेलले रत्नलक्ष्मीको संघर्ष, शिक्षाप्रतिको असीम चाहना र समाजसेवाका बारेमा प्रकाश पार्दै उनको योगदानको प्रशंसा गरे । कार्यक्रममा समालोचक डा. शान्तिमाया गिरी र साहित्यकार मन्जिला अनिलले पनि कवि एवम् लेखक रत्नलक्ष्मीका कृतिहरूमा पाइने विशेषताहरूको चर्चा गरेका थिए ।
लेखक रत्नलक्ष्मीले आफू कवि, लेखक नभए पनि देश र समाजमा देखिएका विकृति एवम् विसंगतीहरूलाई हटाउनका लागि हृदयबाटै अभिप्रेरित भएर कलम समाएको बताइन् । उनले यस वर्ष आफ्ना दुई कृति प्रकाशित गर्ने योजना भएको जानकारी पनि दिइन् ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पुस्तकका सम्पादक डा. मधुसूदन लामिछाने र राजेश श्रेष्ठले पनि लेखकलाई शुभकामना दिएका थिए । साहित्यकार श्रीबाबु कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा संघकी सचिव नीता श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । कवि मुरारि सिग्देलले ‘स्वाभिमानको तस्वीर’ कविता कृतिबाट एक कविता वाचन गरेका थिए ।
कार्यक्रममा लेखक रत्नलक्ष्मीलाई माला, सापस स्वर्ण महोत्सव मेडल र खादा लगाएर सम्मान पनि गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु किस्जोर पहाडी, राजेन्द्र केसी, गीता मैनाली, कमला रिसाल, डा. दामोदर पुडासैनी, हरि थापा, मीठु थापा, शंकर भारती, डा. बुनु दाहाल, सरस्वती गौतमलगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं : ‘आवरण’ र ‘अनुराग’ उपन्यासको सफलतापश्चात साहित्यकार जया ओझाको तेस्रो कृति ‘रुमानी’ सार्वजनिक भएको छ । पेज टर्नरले सिटिम्याक्स हल काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार भुवनहरि सिग्देल, डा. अशोक थापा, माल्भिका सुब्बा तथा लेखिका स्वयंले संयुक्तरुपमा ‘रुमानी’ विमोचन गरेका हुन् ।
कार्यक्रममा उपन्यासमाथि डा. अशोक थापा तथा माल्भिका सुब्बाले आ–आफ्नो विचार राखेका थिए भने लेखिका स्वयंले पनि आफ्नो धारणा प्रस्तुत गरेकी थिइन् । आफ्नो नयाँ उपन्यास ‘रुमानी’ले पाठकहरुको मन जित्न सफल हुने ओझाको विश्वास छ । ३६४ पृष्ठ, ६४० मूल्य रहेको ‘रुमानी’ पेज टर्नरले प्रकाशन गरेको हो ।
–प्रा. डा. सावित्री कक्षपति
नेपाली समाजको चेतनास्तर निर्माण गर्न र वाक स्वतन्त्रतामार्फत प्रजातन्त्र ल्याउन नाटक विधाले गरेको योगदानको हिसाब कसले राख्ने ? यही पृष्ठभूमिको पछिल्लो दृष्टान्त संविधानसभा निर्वाचनलाई नै लिन सकिन्छ । नेपालमा पहिलो पटक वि.सं. २०६४ मा भएको संविधानसभाको निर्वाचनमा बढीभन्दा बढी नागरिकलाई मतदानका लागि तयार पार्ने काम सडक नाटकले नै गरेको हो । जनताले पाउने संविधान कस्तो हुनुपर्छ र सबै नागरिक यो महानिर्वाचनमा किन सहभागी हुनुपर्छ भन्ने विषयमा प्रस्तुत गरिएको सडक नाटकले नेपालका गाउँ तथा कुना कन्दरासम्म सकारात्मक सन्देश पुर्याएको थियो । यसकारण धेरै मत खसेको र सबै नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्न मतदान केन्द्रसम्म पुगेका थिए भनेर यसको प्रारम्भिक अनुसन्धानमा संलग्नहरुको प्रतिक्रिया हामीले सुनेका हौं ।
नेपाली नाट्य क्षेत्रका एक बादशाह अशेष मल्लले लेखेको नाटक उनकै निर्देशनबाट देशव्यापी प्रदर्शन गरिएको थियो । संसारका अरु देशमा खोज्दा पनि यस्तो उदाहरण सायदै कतै भेटिन्छ होला कि एउटै सन्देशको नाटक एकै समयमा देशका सबै वडा÷वडामा प्रदर्शन गरिएको थियो । नेपालमा नाट्य क्षेत्रकै इतिहासमा यो एक ऐतिहासिक क्षण हो । निर्वाचन आयोगले सर्वनाम, आरोहण र कुसुमलाई नाटकबाट प्रचार गर्न गरेको आग्रहलाई मानी सर्वनामको सहयोगमा यसलाई देशव्यापी बन्यो । जसका कारण देशव्यापीरुपमा संविधानसभाको आवश्यकता र महत्वको सन्देश पुग्यो । यस निर्वाचनमा कसरी चुनाव प्रचार गर्ने, कसरी मतदान गर्ने, मतदान किन गर्ने, संविधान सभापछि कसरी नागरिकको अधिकार स्थापित हुन्छ भन्ने कैयौँ प्रश्नका जवाफ र सकारात्मक सन्देशहरु समेटिएको थियो । मतपत्र बोकेर घरघरमा गएको, मतदान गर्न सिकाएको र कसरी मतदान गर्ने र नागरिकले के पाउँछन् भन्ने जानकारीहरु सडक नटकमा समेटिएकाले नागरिकको व्यापक सहभागिता भयो ।
त्यस समय निर्वाचन आयोगले नै सडक नाटकको महत्वलाई बुझेर यो अनुरोध गरेको थियो र यसको प्रभाव पनि देखियो । त्यो पहिलो संविधानसभाले संविधान लेख्न सकेन र पछि आएर अर्काे निर्वाचन पनि गर्नुपर्यो । त्यतिबेला भने अशेष मल्लले पुनः नाटक लिएर जान मानेनन् । पहिलो संविधानसभामा जनतामा जगाइएका आशाहरु मरिसकेको थियो र र जनतामा राजनीतिक अस्थिरताको निराशा पलाएका खबरहरु सञ्चारमाध्यमले नै सम्प्रेषण गरिरहेका थिए ।
कुनै पनि देशको सामाजिक रुपान्तरणका अवयवहरु धेरै हुन्छन् र तिनले त्यस देशमा नागरिकका हक अधिकारका क्षेत्रमा आवाज बुलन्द गरेका र गर्न सिकाएका हुन्छन् । नेपालमा पनि जहानियाँ राणा शासनदेखि पञ्चायत हुँदै बहुदलीय व्यवस्था र वर्तमान गणतान्त्रिक शासन व्यवस्थासम्म आइपुग्दा धेरै राजनीतिक उतारचढाव आए । ती सबै जनताले देखे र भोगे । उनीहरुका आँखै अगाडि धेरै परिवर्तन पनि भए । तर कसरी ? पत्रकारिता, साहित्य, चलचित्र, राजनीतिकर्म आदि क्षेत्र हुन् जसले मुलुकको रुपान्तरणमा भूमिका निर्वाह गरेका छन् र ती सबैभन्दा जीवन्त र प्रभावकारी माध्यम नाटक नै थियो । अहिले पनि नागरिकमा चेतना जागृत गरी देशमा आमूल परिवर्तन ल्याउन नाटकको सहयोग सार्थक हुनसक्छ, अहिले पनि नाटकको प्रभाव विगतकोभन्दा घटेको छैन ।
प्रजातन्त्रका लागि नाटक
वि.सं. २०३६ को जनमत संग्रह पहिले तत्कालीन राजाले संविधान संशोधन गरे र नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्यो । यो कुरा जनतालाई थाहा त थियो तर बोल्ने कसरी ? राजनीतिक व्यवस्था पञ्चायती अनि राजनीतिह दलमाथि प्रतिबन्ध नै थियो । जनताले आफ्ना भावना र मनको कुरा बोल्ने कसरी ? त्यतिबेला नागरिकसम्म पुग्ने अश्त्र अर्थात् माध्यम थिए नाटक, साहित्य, पत्रकारिता, चलचित्र अनि हाँस्यव्यङ्ग्य ।
त्यतिबेला पनि नाटकले जनता जगाउने काम गरेको छ । वि.सं. २०३३ मा तुवाँलोले ढाकेको बस्ती भन्ने नाटकले राजधानी काठमाडौंमै तहल्का मच्चाएको थियो । नागरिकले रंगमञ्चमा आफ्ना कथा हेर्न खोजेका रहेछन् । किनभने ती कथालाई रंगमञ्चमा देखाउँदा आफ्नै जीवनशैली र कथा व्यथा पाएको अनुभूति उनीहरुले गरे । तर एकेडेमीमा दरबारका कुराहरु मात्रै देखाइन्थे, ठूलाबडाका कथाहरु मात्र सुनाइन्थे । मोफसलबाट आए कलाकर्मीहरु । जस्तो दार्जिलिङबाट मनबहादुर मुखिया आए देउराली नाटक लिएर । उता धनकुटाबाट अशेष मल्ल आए समूह लिएर । देउरालीमा हाम्रै गाउँघरमा भएका कथा पनि रंगमञ्चमा हेर्न पाइन्छ भनेर आए दर्शक । त्यसबेला त्यो नाटक हेर्न कमलादी मान्दिरमा बिहान ४ बजेदेखि लाइन बसेर टिकट किनेको मलाई सम्झाना छ । तर केन्द्रमा नाटक देखाउने र हेर्ने बढी थिए तर गाउँमा थिएनन् । पछि सडक नाटकको अवधारणाका साथ आएका अशेष मल्लले सडक नाटकबाटै सडक तताएको देखिएको थियो ।
वि.सं. २०३६ को जनमत संग्रहकै सेरोफेरोमा ‘हामी वसन्त खोजिरहेका छौँ’ सडक नाटक प्रदर्शन भयो । अशेष मल्लको यस नाटकबाट मानिसले मनोरञ्जन लिन सकिन्छ भन्ने दर्शकले बुझे । जनमत संग्रहमा यतिधेरै मत बहुदलवादीहरुको आउन तथा पञ्चायतले झिनो मतले मात्र जित्नमा यी नाटककै योगदान छ । वि.सं. २०३६ को जनमत संग्रह घोषणा भएपछि सडक कविता क्रान्ति गर्नुपछ भनेर मल्ललगायत अरु पनि अए । यो नाटकमा नागरिकका लागि प्रशस्त मनोरञ्जन थियो अनि जनचेतनामूलक सन्देशहरु पनि ।
यसले नागरिकलाई आफ्ना अधिकारहरु लिनका लागि उनीहरुलाई जागरुक गराउने प्रयत्न गरेको थियो । त्यो सन्देश स्पष्टै बुझिन्थ्यो । त्यस्तै सडक कविता क्रान्तिका अभियानबाट पनि गाउँ गाउँमा पुगिएको थियो । मलाई सम्झना छ एकपटक धुनकुटामा त ‘गो ब्याक अशेष’ भनेर नारा नै लगाएका थिए । यस्तै त्यसबेलाको प्रहरी प्रशासनले कवि कलाकारहरुका पछिपछि गुप्तचर नै लगाएका थिए । मलाई लाग्छ २०४६ को जनआन्दोलनलाई सडक कविताले नै प्रोत्साहन गरेको हो । सडक कविता तथा सडक नाटकका माध्यमबाट नागरिकले आफ्ना अधिकार र प्रजातन्त्रका बारेमा धेरै कुरा बुझे । गाउँमा पुगेको सन्देशले धेरै मानिसलाई नागरिक अधिकार र प्रजातन्त्रका बारेमा बुझ्न सहज पनि बनायो । सडक नाटकहरु पुलिस क्लबमा, बन्द रंगमञ्चमा, सडकमा, एकेडेमीमा देखाइयो र सबैले मन पराए । जनमत संग्रहपछि वि.सं. २०३८ पछि सर्वनाम नाट्य समूह खुल्यो र छोटै समयमा निकै चर्चामा आयो ।
यसरी नेपालमा नेपाली नागरिकको चेतनाको स्तर बृद्धि भएको नाटककै कारणबाट हो भन्ने मलाई लाग्दछ । सडक नाटकले नागरिकस्तरको अधिकार प्राप्तिका लागि ठूलै सहयोग गरेको छ । वि.सं. २०४६ मा नेपाली नागरिक तथा विभिन्न क्षेत्र र वर्गलाई जनआन्दोलनका लागि तयार पार्ने काममा अरु अवयबहरुका साथै नाटकको पनि योगदान छ । त्यतिबेला त नाटक हेर्न नागरिक सडकमा जाने होइन कि नाटक नागरिकमाझ जानुपर्छ भन्ने उदेश्यले सडक नाटक नागरिक माझमा पुग्दा जनता जगाउन सघाएको छ । उबेला हामीले भन्थ्यौँ प्रहरीको बन्दुकभन्दा पनि बलियो सडक नाटक बनेको छ, जसले बन्दुकको भन्दा शक्तिशाली काम गरेको छ । नागरिक बन्दुकको अघि करले बोल्थे या बोल्दैनथे । तर नाटकले जनताको मन जितेको थियो र नागरिक स्वतन्त्रताका लागि भित्रैदेखि तयार पारेको थियो । यति प्रभावकारी विधालाई अहिलेका सरकारहरुले कसरी प्रयोग गर्ने ? यो उनीहरुले नै बुझ्नुपर्ने कुरा हो ।
के हो नाटक ?
नाटक जीवन हो । जीवनलाई हेर्ने एउटा जिवन्त ऐना नाटक हो । शब्द कुन प्रयोग गर्छौं, कस्तो खालको शब्दबाट नाटकलाई हामी प्रस्ट्याउने प्रयत्न गर्छौं त्यसमा भर पर्छ, तर नाटक भनेको मानवीय जीवनलाई नै जीवन्तता प्रदान गर्ने एउटा औजार हो । लेखकले समाजलाई जुन सन्देश तथा मनोरञ्जन दिने ध्येयले नाटक लेखेको हुन्छ त्यसलाई जस्ताको जस्तै उतार्न सक्यौं भनेमात्र त्यसले जीवन्तता दिन्छ । राम्रो अभिनयले पनि नाटकमा त्यसको जीवन भर्दछ । खास त दर्शकले अभिनय नै हेर्ने हो । जसले नाटकको कथा बुझेको पढेको छैन उसले पनि अभिनय हेरेर त्यसैबाट सबै सन्देश ग्रहण गर्ने गर्दछ । त्यसैले नाटकलाई अभिनयले जीवन्तता दिन्छ ।
कस्ता छन् अहिलेका नाटक ?
अहिले पनि देशमा विभिन्न संघसंस्थाको सहयोगमा सडक नाटक प्रस्तुत भइरहेका छन् । पछिल्लो समयमा सडक नाटकमा अहिले कलात्मक सौन्दर्यका नारा बढी तर नाटकीय शिल्प कम गरिएका छन् जस्तो मलाई लाग्छ । अहिले पनि नाटकमा अत्यन्त ऊर्जाशील रंगकर्मीहरु आएका छन् । सरकारकातर्फबाट भने खासै सहयोग भएको देखिँदैन । हो, अहिलेका नाटक नाटक जस्तै देखिएका छन् ।
सबैमा आ–आफ्नै रुचि हुन्छन्, तर कलात्मक शैलीमा हाम्रा कुरा, हाम्रो अवस्था, हाम्रो व्यवस्था, हाम्रो संस्कार, हामीलाई चिनाउनुपर्छ । हामी कसरी बाँचेका छौँ, हाम्रो अग्रगामी चिन्तन के छ, त्यो विषयलाई जनतासमक्ष देखाउनु राम्रो हुन्छ । जस्तो कि अहिले त समाजमा विषय धेरै छन् अनि जनतामा पुर्याउनुपर्ने काम र सन्देश पनि धेरै छन् । मलका कुरा, बिरुवा रोप्ने कुरा, राजनीति र यसका विकृति एवं परिवर्तनका कुरा, रोगव्याधिका कुरा, नारी अधिकारका कुरा, कुप्रथा हटाउनुपर्ने कुरा आदिका प्रचारप्रसार गर्नु परे सडक नाटकबाट गर्नुपर्यो भनेर विभिन्न मन्त्रालयले बजेट विनियोजन नै गर्न सक्छ । यसो हुँदा गाउँ–गाउँमा भाइ बहिनीहरुले संस्था नै खोलेर सडक नाटककै माध्यमबाट प्रचारप्रसार गर्न सुरु गरिरहेकाले उनीहरुलाई पनि साथमा लिन सकिन्छ ।
हाम्रै नाटक रुचाउँछन् विदेशी
विदेशमा लैजाँदा नेपाली नाटक विश्व रंगमञ्चमा कथाका दृष्टिले सबैभन्दा बढी हाम्रै नाटक रुचाइन्छ । हाम्रा नाटकमा धेरै कथा छन् । अरुका नाटकमा कमेडी बढी छन् । हाम्रा नाटकहरुमा यथार्थ बढी छ जसले नागरिकका जीवनशैली र उनीहरुका वास्तविक भोगाइ छन् ।
जस्तो कि केही समयअघि हामीले बैंलोरमा नेपाली नाटक देखाउँदा त्यहाँ भारतीय मात्र नभएर धेरै विदेशी दर्शक थिए । उनीहरु सिनेमा हेरेभन्दा बढी मानिसको जीवनका वास्तविक भोगाइ नै देखियो भनेर निकै प्रशंसा गरेका थिए । हामीले विदेशमा हाम्रा नाटकहरुको तुलना नै अलग्गै हुन्छ । सबैले नेपाली कथालाई आफ्नै कथामा ढालेर हेर्न र बुझ्न सकिने कला भएर दर्शक भावुक हुन्छन् । हाम्रा नाटकमा गाउँ र सहर दुवै छ अनि कला र वास्तविकता समेटिएको हुन्छ । हाम्रो देशको अद्वितीय कला संस्कृति, भेषभूषा, जातीय भाषिक विविधता र हाम्रो अलौकिक भौगोलिक बनावट पनि हुनसक्छ हाम्रा नाटकले विश्वका दर्शकले आफ्नै कथा मानेर हेर्न सक्ने बताउने गरेका छन् ।
चलचित्र र नाटकमा फरक छ । हुनत नाटकभन्दा बढी मास मिडियामा फिल्म पुग्ला । तर नाटक त्योभन्दा पनि बढी जीवन्त हुन्छ । तुलनाको हिसाबले कुरा गर्दा नाटक जीवन्त हो । फिल्मलाई बनाइएका कथा मानिन्छ तर यसले पनि समाजमा सन्देश त उस्तै नै दिन्छ । तर नाटकबाट मानिसहरु बढी प्रभावित र भावुक हुन्छन् । यसको मापन गर्दा पनि त्यो अवस्था भेटिन्छ ।
(कुराकानीका आधारमा तयार गरिएको लेख ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies