– पाउलिन राई
हामीले पनि लडेका हौं युद्ध इतिहासमा
एउटा शासकहरूले हामीलाई साथ लिएर
अर्को शासकहरूको विरुद्ध लडाए
हामी पनि जन्मभूमि, मातृभूमि भन्दै शहीद भएका हौं
पराधीनबाट स्वाधीन हांै, शोषकबाट मुक्त
हामी सर्वहारा सबै शोषित हौं भन्दै
इनकलाबको नारा गाउँदै हामी हिँडेका हौं
अर्को शासकहरूको ढाल भएर उभिएका हौं ।
कराईबाट निस्केपनि झुप्रोमा झरे जस्तै,
एउटा शासकबाट उम्के पनि
अर्को शासकको कब्जामा परेका छौं
स्वाधीनताले कति मुक्ति दियो हामीलाई ?
हिजो पनि दास थियौं आज पनि दास छौं
हाम्रो आकांक्षा बिना शासकहरूको हस्ताक्षरमा
एक शासकबाट अर्को शासकको रैती भएका छौं
तर पनि यस भूमिलाई आमा भन्दै प्राण दिएकै छौं
तिरंगालाई छात्तीमा टाँसेर घर आएका छौं
किन मुक्तिको गीत गाउनु ? जब म पराधीन नै छु
शासकहरूले देखावटी दिएको भावनामा
संविधानले मौलिक अधिकार भन्दै पहिराई दिएको खास्टोमा
मैले मेरो मानव अधिकार गुमाएकी छु ।
तिनीहरूले छात्तीमा लगाई दिएको तक्मा भिर्दैमा
हामीलाई वीर भन्दैमा, हामी वीर पटक्क होइनौ
हामी त तिनीहरूले ल्याबमा पालेको
पुस्टिएका गिनिपिग हौँ
जसलाई समय भएपछि एक्सपेरीमेन्ट गरिन्छ ।
पुस्टिएको गिनिपिगको कुनै मुक्ति गान हुँदैन
शासकको मुहार फेरिएरता पनि शोषण शैली फेरिन्दैन
आफ्नै निम्ति जबसम्म लड्न सिक्दैनौ
हामी वीर हुँदै होइनौ
हामी स्वतन्त्र छँदै छैनौं
जबकी हाम्रै माटो हाम्रो छैन ।।
काठमाडौं : उपन्यासकार शंकर भारतीको ‘अनुपम देवता’ उपन्यासको तेस्रो संस्करणको अन्तरक्रिया शुक्रबार सम्पन्न भएको छ ।
उपन्यास समाज नेपालको आयोजनामा सामाजिक विकास समाज अनामनगर काठमाडौंमा कार्यक्रम सम्पन्न भएको हो । पहिलो संस्करण २०२७ सालमा प्रकाशित भएको थिया ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षता तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा ‘अनुपम देवता’ उपन्यास बारे चर्चा गरिएको थियो ।
कार्यक्रममा सो उपन्यासबारे समालोचकहरु डा. दामोदर पुडासैनी, डा.शान्तिमाया गिरी, डा.रामप्रसाद ज्ञवाली, डा.मधुसूदन लामिछाने, डा.दिनबन्धू शर्माले आ–आफ्नो पाठकीय मन्तव्य राखेका थिए ।
यसैगरी उपन्यासकार शंकर भारतीले आफ्नो उपन्यास लेखनबारे चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव धनप्रसाद सुवेदी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोक, महासचिव देवीका तिमिल्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीले स्वागत तथा विष्णुबहादुर सिंहले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गरेका थिए । वि. स.२०१३ सालमा डिल्लीबजार काठमाडौंमा जन्मिएका भारतीको ‘अर्को जुनी,’ ‘प्रेम तपस्या,’ ‘अनुपम देवता,’ ‘महापुरुषको सन्तान’ र ‘अग्नि परीक्षा’ उपन्यासहरु प्रकाशित रहेका छन् ।
पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : वरिष्ठ साहित्यकार कल्पना पौडल ‘जिज्ञासु’को कथासंग्रह 'कचहरी' एक कार्यक्रमका बीच शनिबार नेपालगञ्जमा विमोचन गरिएको छ । कल्पना फाउण्डेसन नेपाल, बाँकेद्वारा यहाँ आयोजित एक विशेष समारोहमा 'कचहरी' विमोचन कार्यक्रमका साथै दुई जनालाई पुरस्कार तथा सम्मान पनि प्रदान गरिएको थियो ।
लुम्बिनी प्रदेश विश्वविद्यालय आयोग सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा फाउण्डेसनकी अध्यक्ष जिज्ञासुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मीलाई साहित्यतर्फ 'मनिकर्णा–टिकाराम स्मृति पुरस्कार'द्वारा सम्मानित गरिएको थियो । त्यसैगरी समाजसेवातर्फ मानव सेवा आश्रम, बाँकेका संयोजक उर्विन सापकोटामार्फत 'देउकला–टीकानिधि स्मृति पुरस्कार'द्वारा मानवसेवा आश्रम नेपालगञ्जलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. घिमिरे, विशिष्ठ अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्की, पूर्व प्राज्ञ सनत रेग्मी, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारी, भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिना, मानव सेवा आश्रम, बाँकेका संयोजक उर्विन सापकोटा, साहित्यकार किरण आचार्य, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि ‘कोपिला’, प्रगतिशील लेखक संघ बाँकेका पूर्व अध्यक्ष पंकज श्रेष्ठ, साहित्यकार मणि अर्याललगायतले कथा संग्रह 'कचहरी'बारे आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा वक्ताहरुले कचहरी कथा संग्रहमा रहेका १५ वटै कथाहरुले समाजको यथार्थ चित्रण गर्न सफल भएको, उत्पीडनमा परेका महिला, वृद्धाहरुका समस्या, वैदेशिक रोजगारका समस्या, मधेशी, मुस्लिम, थारु र पहाडी समुदायका समस्याहरुलाई सामाजिक विषयवस्तु बनाएर कथाको वनोटमा बुनिएकोले कथाहरु पठनीय रहेको, विषयवस्तु महिलावादी र प्रगतिवादी रहेको, विषयवस्तु र भाषा शैलीको हिसाबले कथा उत्कृष्ट रहेको भन्दै कृतिकारलाई बधाई तथा कृति सफलताको शुभकामना दिएका थिए ।
साहित्यकार चरित्रा शाहले कचहरी कथा संग्रहको परिचयात्मक मन्तव्य दिएकी थिइन् भने संस्थाकी अध्यक्ष तथा कृतिकार जिज्ञासुले आफ्नो कृतिको बारेमा संक्षिप्त धारणा राख्दै सम्मानित व्यक्ति तथा संस्थालाई बधाई दिएकी थिइन् ।
हिमालय टाइम्सका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको समेत उपस्थित रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार तथा फाउण्डेसनका संस्थापक सदस्य ऋषिराम सापकोटाले दिएका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव लेकप्रसाद प्याकुरेलले गरेका थिए ।
फाउण्डेसनका संस्थापक सदस्य ऋषि राम सापकोटाका माता पिताको नाममा स्थापना गरिएको 'देउकला–टीकानिधि स्मृति पुरस्कार तथा सम्मान' र जिज्ञासुका माता पिताको नाममा स्थापित 'मनिकर्णा–टिकाराम स्मृति पुरस्कार तथा सम्मान' हरेक वर्ष दुई जनालाई प्रदान गर्ने गरिएको छ । पुरस्कारको राशी रु.५ हजार एक सय एक रहेको फाउण्डेसनकी अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंंघ, नेपालकी अध्यक्ष जिज्ञासुले जानकारी दिइन् ।
अध्यक्ष जिज्ञासुले गत वर्ष फाउण्डेसनबाट साहित्यतर्फ खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारीलाई र समाजसेवातर्फ नील सागर सेवा आश्रमलाई सम्मान गरिएको बताउँदै यस वर्षदेखि सम्मानका साथै पुरस्कार पनि वितरण गर्न थालिएको बताइन् । अध्यक्ष जिज्ञासुका अनुसार फाउण्डेसनले २०७० सालदेखि चितवनको चेपाङ बस्ती र नवलपरासीका गरिब असहाय बालबालिकाहरुलाई पढ्नका लागि छात्रवृत्ति प्रदान गर्न शुरु गरेको थियो । संस्थाले सहयोग गरिरहेका बालबालिकाहरु एसईई. परीक्षामा उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण भइसकेका छन् । फाउण्डेसनले बागलुङ र बाँकेमा समेत गरिब असहाय बालबालिकाहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन सत्रमा ‘राष्ट्र कवि माधवप्रसाद घिमिरे गीत पुरस्कार’ नगद २१ हजारसहित वरिष्ठ सर्जक यादव खरेल र मररोपरान्त प्रेमध्वज प्रधानलाई प्रदान गरिएको थियो ।
प्रेमध्वज प्रधानलाई प्रदान गरिएको पुरस्कार प्रधानका भान्जी एलिसा मास्केलाई हस्तान्तरण गरिएको थियो । यसैगरी वरिष्ठ कलाकार तथा स्रष्टा मदनदास श्रेष्ठलाई ‘अनेसास विशिष्ट सम्मान’ प्रदान गरिएको थियो ।
यसैगरी अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्ष गीता खत्री, अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइलालाई पनि सम्मानपत्रसहित सम्मानित गरिएको थियो ।
यसैगरी राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारका संस्थापक वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा ‘शीला’, सम्पादक रमेश दाहाल, ठाडो भाका लोककला प्रतिष्ठान, नेपाल संस्कृति विश्वविद्यालय, जनकपुर उपमहानगरपालिका, गोरखकाली नगरपालिका, गोरखालाई कदरपत्र प्रदान गरिएको थियो ।
यसैगरी ‘अनेसास भानु विशेष सम्मान’ बाट भानु प्रतिष्ठानलाई र भानु सम्मानबाट कविहरु क्रमशः डा. देवी नेपाल, प्रभा आचार्य, बलराम दाहाल र सरु बस्नेत सम्मानित भएका थिए ।
यसैगरी अनेसास नेपाल च्याप्टरले कोभिडको कारण विश्व नै लकडाउनको अवस्थामा रहेको समयमा लकडाउन संस्मरण प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा प्रथम हुने बाबुराम न्यौपानेलाई नगद रु.३० हजार, द्वितीय हुने पवित्रा अधिकारीलाई नगद रु. २० हजार र तृतीय हुने सम्झना निरौलालाई नगद रु. १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
अधिवेशनमा प्रमुख अतिथि प्रा.डा.वासुदेव त्रिपाठी, वरिष्ठ गीतकार यादव खरेल, पूर्व अध्यक्ष राधेश्याम लेकाली, प्रा.डा.गोविन्दराज भट्टराई, प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल, सल्लाहकार प्रतीक ढकाल, केन्द्रीय उपाध्यक्ष डा.रेणुका सोलु, अध्यक्ष सन्ध्या पहाडीलगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । यसैगरी कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष गोवर्धन पूजा र बिओटी अध्यक्ष पदम विश्वकर्माको शुभकामना पनि वाचन गरिएको थियो ।
सन्ध्या पहाडीको सभापतित्व सम्पन्न सो अधिवेशनको प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठी रहेका थिए । कार्यक्रमको सञ्चालन महासचिव ऋषभदेव घिमिरेले गरेको सो अधिवेशनमा उपाध्यक्ष राजेन्द केसीले स्वागत गरेका थिए ।
अधिवेसनको बन्दसत्रमा महासचिव ऋषभदेव घिमिरेले महासचिवको प्रतिवेदन र अध्यक्ष सन्ध्या पहाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो सत्रमा केन्द्रीय समितिले सदस्यता अपडेटको नाममा निर्वाचनबाट बन्चित गर्ने गरेको कार्यको व्यापक विरोध गरिएको थियो । एकपटकको आजीवन सदस्य सधैंको आजीवन सदस्य हुनुपर्नेमा जोड दिइएको थियो ।
अधिवेशनले अनेसास नेपाल कार्यसमितिको निर्वाचन पनि सम्पन्न गरेको थियो । सो निर्वाचनबाट अध्यक्षमा राजेन्द्र के. सी. निर्विरोध निर्वाचित भएका छन् । यसैगरी प्रथम उपाध्यक्षमा मन्जिला अनिल र दितीय उपाध्यक्षमा निर्मलरमण पराजुली निर्वाचित भएका छन् । समितिको महासचिवमा रन्जना निरौला, सचिवमा सुशिला खड्का हसिना र कोषाध्यक्षमा कमला रिसाल निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा क्रमशः आकाश अधिकारी, डा.शान्तिमाया गिरी, डिआर राई, शान्ति रिसाल, दुर्गाबहादुर शाह ‘बाबा’, सीता विष्ट कार्की, डा. हिरण्यलाल ज्ञवाली, सुमन वर्षा, सुचिता काफ्ले, द्वारिका कुइकेल र इन्दिरा ढकाल निर्विरोध निर्वाचित भएका छन् । शनिबारनै निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले शपथ ग्रहण गराएको थियो ।
–नेत्र सुवेदी ‘प्रयास’
राराको नाम सुन्नेबित्तिकै जो कोहीको मन फरुङ्ग हुन्छ भने त्यहाँ पाइला टेक्दा स्वर्गको परिकल्पना साक्षात् भेटेजस्तै अनुभूत हुन्छ । यहाँको प्रकृतिले हरेकलाई आ–आफ्नो अन्तःस्करणबाट अनेक भावना उद्वेलित गर्दछ । यस स्तम्भकारको मनमा पनि माथिका पंक्ति छचल्किन पुगे । धेरै पहिलेदेखिको चाहना हुँदाहुँदै पनि गत असारको पहिलो साता मात्रै पहिलोपटक देशको सबैभन्दा ठूलो ताल भनेर चिनिने मुगु जिल्लामा पर्ने रारा ताल पुगेर प्रत्यक्ष नियाल्ने र स्पर्शसमेत गर्ने अवसर मिल्यो । जीवनमा एक पटक रारामा पुग्ने धेरैको धोको हुन्छ तर, कमैलाई यो अवसर जुट्छ ।
सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लाको खलङ्गासम्म पुग्ने कर्णाली राजमार्गको नाग्म भन्ने स्थानबाट राजमार्गबाट अलग्गिएर जुम्लाको सिञ्जा उपत्यका भएर मुगु जाने बाटो अघि बढ्छ । सुन्दर पनि उत्पादनशील पनि यो उपत्यका नेपालभित्र मानव सभ्यतालाई हुर्काउने मूल ठाउँ पनि भन्ने गरिन्छ । मानवशास्त्री डोरबहादुर विष्टले लामो समय बिताएको र कर्णाली इन्स्टिच्युट स्थापना गरेको स्थान पनि यही सिञ्जा उपत्यका नै हो । अहिले यो उपत्यकाको अधिकांश भाग हिमा गाउँपालिकामा पर्दछ ।
दुईतिर हराभरा फाँट अनि अलि माथि केही लेकाली वनस्पतियुक्त जंगल अनि बस्ती भएको यो ठाउँमा मोटरबाटो बनेपछि भने बाटोको दायाँ–बायाँ आवास बनाउने क्रम बढेको छ । फाँटलाई सिञ्चित गर्दै बीचबाट बगेको हिमा नदी जुम्ला र कालीकोटको सीमास्थल नाग्ममा पुगेर तीला नदीसँग मिसिन्छ । यो सिञ्जा उपत्यकाको मनोरम दृश्यले सबैका मन रोमाञ्चित बनाउँछ । बोटविरुवा, हरियाली, हिमा नदी बनेर अविरल बगिरहेको कञ्चन हिमाली पानी यी सबै दृश्यलाई नजिक बसेर नियालिरहुँ जस्तो लाग्ने सुन्दरता ।
साँच्चीकै रारा ताल अनुपम सुन्दरताको खानी रहेछ । पढ्नु, सुन्नु र प्रत्यक्ष पुग्नुमा कति फरक छ भन्ने विषय रारा पुगेर मात्र अनुभूत हुन्छ । सदरमुकाम गमगढी नपुग्दै ताल्चा विमानस्थलको छेउबाटै रारा जाने बाटो देब्रेतिर मोडिन्छ । नाग्मबाट सिँजातिर लागेदेखि नै मोटरबाटो भने ग्राभेलयुक्त कच्ची बाटो हो तर मुगुका ठाडा भीर रहेको खण्ड नपुगुन्जेलसम्म दुर्गम जिल्लाको कच्ची बाटो यात्रा गरिरहेका छौँ भन्ने अनुभूत भएन । कालिकोट जिल्लाका भिराला अग्ला र डरलाग्दा पहाड छिचोलिसकेकाले होला जुम्लाको समथर भूभाग हुँदै मुगुसम्म पुग्दा देखापरेका मध्यमखालका हिमाली पहाडले खासै अघिल्लो दिनको अप्ठेरो बाटोको सम्झना गराउन सकेनन् । यात्रा पनि जीवनकै प्रतिबिम्बजस्तो लाग्छ दुःख, सुख अनि फेरि दुःखको चक्र अर्थात अप्ठेरा र सप्ठराहरु झेल्दै र पार गर्दै अघि बढ्नुपर्ने । पहिलोपटक पुगेको यो जिल्लाको सदरमुकाम गमगढीको अवस्थिति, कार्यालयहरु, बजार, शैक्षिक संस्थाको अवस्थिति मोटामोटी जानकारी लिएपछि रारा पुग्ने सुरमा गमगढीलाई बिदाई अभिवादन गरेर अघि बढियो ।
रारा पुग्नै लाग्दा सल्लाका रुख भएको बाक्लो बन पार गरेर खुल्ला चौरमा पुगेपछि देखिन्छ छौँ विशाल जल सतह । चौरमा नपुगुन्जेलसम्म रुखहरुका बीचबाट देखिएको ताल खण्डखण्ड परेको अपुरो देखिन्छ । जब पूरा ताल देखिन्छ, अनि त बाटाका अनेक दुःख कष्ट च्याट्टै बिसर्न मात्र होइन, शरिर नै हलुका भएर उड्न खोज्छ । मानौँ कि कुनै समुद्रको किनारमा पुगिएको छ । चारैतिर नियालिसक्दा मात्र थाहा हुन्छ कि यो ताल नै हो । खुलेको आकाशजस्तै कञ्चन तालमा स्वच्छन्दरूपमा उडिरहेका बादलका विभिन्न आकृतिसहितका टुक्राहरु छर्लङ्ग देखिन्छन् । अनि देखिन्छ मुर्माकोटतर्फको भू–भाग, बस्ती र फाट्टफुट्ट रहेका रुख बिरुवा एवं केही न केही खेती हुर्किइरहेका बारीहरु । हिँउद्मा हिउँले भरिएका डाँडाहरु देखिँदा हुन् तर, अहिले हिउँको च्यादर उतारेर उदाङ्ग छन् । लामो यात्रा गरेर आएका पर्यटक, आगन्तुक वा यात्रुहरु पनि तालको समिपमा पुगेपछि थकाई हराएजस्तो, उमङ्ग पलाएजस्तो अनुभूत गर्दछन् ।
ताल वरिपरिको परिवेश वर्णन गर्नुपर्दा नवआगन्तुक आइपुग्नासाथ घोडा चढ्ने हो ? भन्दै केही मुगाली घोडा मालिकहरु देखा पर्दछन् । धेरै अपेक्षा नभएका र खुशी अनुहारसहितका मुगाली केटाहरु । घोडा कतिबेर चढ्ने हो कहाँसम्म जानुपर्ने हो वा चौरमा केहीबेर चढेर फोटो मात्र पो खिच्ने हो कि हेरिकन तिर्नुपर्ने दररेट रहेछ । यहाँ पुग्ने प्रायः सबैले घोडा चढेर फोटो खिच्ने अवसर गुमाउन चाँहैनन् । घोडचढी बाहेक तालसँगै रमाउने अर्को माध्यम भनेको १२ बजे अगाडि नै डुङ्गाबाट ताल वारपार गर्ने वा तालको किनारैकिनार परिक्रमा गर्नु रहेछ । मध्यान्ह १२ बजेपछि भने हावाका कारण डुङ्गा चढ्ने काम असुरक्षित मानिदोरहेछ ।
तालसँगैको चौरको अर्को भागतिर भने केही बथान भेँडाहरु मज्जाले चरिरहेका देखिन्थे । प्रयोगमा नआएका घोडाहरु पनि विभिन्न दिशामा फर्केर चरिरहेको हुन्छन् । यसरी घोडा, डुङ्गा, भेँडा यी तीनवटै चिजलाई निर्देशित गर्ने अरु कोही नभएर उही मान्छे थियो । यहाँका स्थानीयहरुले ताललाई पेशासँग आवद्ध गरेका छन् भने घुम्न आउने आगन्तुकले भने नयाँ ठाउँमा आफ्नो मनलाई निर्देशित गरिरहेको, साथमा आउने साथीलाई सघाइरहेको र रमाइरहेको हुन्छ । तालको संरक्षणका लागि नेपाल सरकारका निकायहरुका साथमा स्थानीयहरुको पनि ठूलो योगदान रहेको छ ।
तालबाट उत्तरतर्फ मुर्माकोट नामक बस्ती तथा डाँडाको सर्वाधिक उच्च भागलाई मुर्माटप नाम दिइएको रहेछ । ताललाई दक्षिण पारी उक्त वस्ती र नजिकैको रिसोर्ट पुग्न कि त घोडा चढेर जानुप¥यो कि पैदल यात्रा । तालतर्फ नै फर्केको मुर्माकोटको पाखामा केही रिसोर्टहरु सञ्चालनमा रहेछन् भने मुर्माकोट बस्तीमै केही होमस्टे समेत सञ्चालनमा ल्याइएको रहेछ । तालदेखि हिँडेको करिब दुई घण्टामा मात्र रिसोर्ट भएको ठाउँ पुग्न सकिन्छ । रिसोर्ट पुग्दा असिनपसिन बनाउँछ । कहिलेकाहीँ सिमसिम पानी पर्दा जाडोले जिउ थरथर कमाउँछ । यस्तो बेला शरिरलाई तातो राख्न भित्र न्यानो ठाउँमा गएर रुमहिटर बाल्ने, तातोतातो खाना खानुपर्छ ।
भोलिपल्ट बिहान रिसोर्टबाट उकालो लाग्ने गरिन्छ मुर्माटप पुग्नका लागि । मुर्माटपमा पुगेर सूर्योदयसँगै तालको अवलोकन गर्ने धेरैको धोको हुन्छ । वर्षायाममा सूर्योदयको लालित्यमय दृश्य भेटाउन भने मुस्किलपर्दछ । डेढ दुई घण्टाको हिँडाइपश्चात् मुर्माटपमा पुग्न सकिन्छ । चारैतिरको प्रकृतिको सिर्जना नियाल्दै खासगरी आकासमै झुन्डिएजस्तो भान हुने रारा तालको दृश्यले थकान, भोकप्यास केही अनुभव हुँदैन । प्रकृतिको सुन्दरतामा रमाउन पाउँदा यी सबै कुरा बिर्सिन्छ । केही समय मुर्माटपमा बिताएर रिसोर्टमा फर्किदा तातो फापरको रोटीको स्वाद जिब्रोमै झुण्डिएको हुन्छ । यसरी राराको यात्रामा जाने जो कोहीले जीवनमा महत्वपूर्ण प्राप्ति भएको अनुभव गरेकै हुन्छन् र यो सम्झनालाई जीवनभर संगालेकै हुन्छन् ।
कर्णाली अहिले पनि टाढा छ भन्ने कुरा त रारा पुगेर काठमाडौ फर्कन सडक मार्गबाट सरासर यात्रा गर्दा पनि पूरा छ दिन लाग्दछ । राष्ट्रिय राजमार्गमा जोडिन बाँकी हुम्ला, जाजरकोट हुँदै डोल्पाको दुनैसम्म कच्ची बाटोले जोडे पनि पुलहरु बन्न बाँकी छ । सबै पालिकाहरुमा सधैँ प्रयोगमा आउने सुरक्षित सडकको उपलब्धता सम्भव हुन त केही वर्ष नै कुर्नुपर्ने देखिन्छ । यद्यपि, २०६० सालयता कर्णालीलाई उज्यालो बनाउन, कर्णालीलाई देशका बाँकी भागसँग जोड्न, शिक्षा स्वास्थ्य र उत्पादनका लागि भएको समग्र लगानी र प्रयत्न भने कम छैन ।
प्रदेशमा पहिलेको कर्णाली अर्थात कर्णाली अञ्चलबाट मुख्यमन्त्री पनि भइसके । कर्णालीका उत्पादनहरु उवा, फापर चिनो जुनेलो मार्सी चामल जडिवुटीलगायतलाई प्रवद्र्धन गर्न काठमाडौँलगायतका सहरमा पसलहरु राख्ने, यहाँका युवालाई राष्ट्रिय श्रम बजारमा बढी माग भएका सीप विकासका लागि उचित प्रवन्ध गर्ने जस्ता कामहरु गरिनुपर्दछ । रारा ताल, सिँजा, मुकुट हिमाल, मुर्माटप, चन्दननाथ रहेको जुम्ला सदरमुकामलगायत पर्यटकीय स्थानहरुलाई ‘प्याकेजिङ्ग’ गर्दै कर्णालीका खोँचहरुमा साहसिक पर्यटन सञ्चालन गर्ने ध्येयका साथ पुलहरु निर्माण गर्न सके स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने देखिन्छ ।
कर्णालीबाट बग्दै आएका नदीहरु जलविद्युत्, सिँचाइ, जलपर्यटनका लागि दिगो स्रोत पनि हुन् । हवाई यातायातका पूर्वाधारलाई थप सुदृढ बनाएर पनि थप पर्यटक भित्र्याउन सकिन्छ । यार्चागुम्बा जस्ता बहुमूल्य जडिवुटी प्रशोधन र प्याकेजिङ्ग गरेर विश्व बजारमा पठाउने सम्भावना त छँदैछ । यी सम्भावनाको अधिकतम् प्रयोग गर्न तीनै तहका सरकारहरु चुक्नु हुँदैन । फेरि पनि रारा तालको आफ्नो मौलिकता कायम राख्दै विश्व पर्यटन बजारमा पर्याप्त प्रचारप्रसार गरी नेपालकै नाम “द कन्ट्री अफ रारा लेक” भनेर समेत राख्न सकिने सम्भावना उत्तिकै छ । विदेशमा रहँदै आउनुभएका नेपालीले पनि राराको प्रचार गर्नमा पछि पर्नु हुँदैन । यसमा सञ्चार माध्यमहरुले पनि प्रचारात्मक भूमिका खेल्न सक्नुपर्छ ।
पुरानो सभ्यताको प्रमाणका साथै ‘भर्जिन’रूपमै उपलब्ध प्राकृतिक सम्पदा र क्रमिक विकासको ज्वलन्त प्रमाण हो कर्णाली । कर्णालीको सुन्दरता सबै नेपालीले देख्न पाउनुपर्दछ र सँगसँगै कर्णालीको व्यथा पनि काठमाडौंमा बसोवास गर्नेले बुझ्ने र सम्बोधन गर्ने प्रयत्न गर्नुपर्दछ । रारा ताल कर्णालीका थुप्रै आकर्षक पर्यटकीय गन्तव्यमध्ये एक अनुपम प्राकृतिक सौन्दर्यतासहित आगन्तुकलाई स्वागत गरिरहेको छ । समय र अनुकूल मौसम मिलाएर सबैले जीवनमा कम्तिमा एकपटक जीउँदै स्वर्ग देख्न सकिने यस ठाउँमा पुग्न भुल्न हुँदैन ।
(लेखक, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुन् ।)
–प्रकाश सिलवाल
नेपाली साहित्य र राजनीतिक व्यक्तित्व मोदनाथ प्रश्रितको बहुविधामा उल्लेखनीय योगदान रहेको छ । उनको सांस्कृतिक र साहित्यिक यात्रा अविराम छ ।
प्रश्रितले ‘पचास रुपैयाँको तमसुक’, ‘आमाको काखमा’, ‘सपनाहरु उपहार देशलाई बलिदान’, ‘बुद्ध र चाण्डाल युवती’, ‘जनताको देश र सहिदको सपना’ जस्ता नाटक लेखेर तत्कालीन समाज र पञ्चायत सरकारविरुद्ध जनचेतना फैलाएका थिए । यसका साथै ‘मानव’, ‘देवासुर सङ्ग्राम’, ‘गोलघरको सन्देश’ महाकाव्य र लघुकाव्यहरुदेखि ‘नारी बन्धन र मुक्ति’, ‘देवकोटाको वैचारिकी विकास’, ‘जीवाणुदेखि मानवसम्म’, ‘अतितका पाइला’, जस्ता प्रबन्ध र निबन्ध कृतिहरुका माध्यमबाट प्रश्रित स्थापित भएका थिए ।
छुवाछूत विरोधी कानुन बन्नुअघि नै ‘मानवताको कलंकः जातपात र छुवाछूत प्रथा’ कृति लेखेर समानताको बिगुल फुक्ने प्रश्रित प्राकृतिक चिकित्सा क्षेत्रमा योगसाधकका रुपमा पनि स्थापित छन् । राजनीतिक जीवनका क्रममा तत्कालीन नेकपा (माले)को नेता र पछि नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भइसकेका र २०५२ सालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा बनेको सरकारका शिक्षा तथा संस्कृतिमन्त्री प्रश्रितको व्यक्तित्व र कृतित्वका अनगिन्ती आयाम छन् ।
प्रश्रितका बहुप्रतिभाशाली व्यक्तित्व र कृतित्वबारे विभिन्न प्रकाशन र व्यक्तिले शोध, अध्ययन र प्रकाशन गर्नेक्रम जारी रहेको छ । नरेन्द्रराज प्रसाईंको लेखन र नइ प्रकाशनको प्रकाशनमा ‘मोदनाथ प्रश्रित ः भुइँदेखि शिखरसम्म’ (२०७९) जीवनीपरक कृति बजारमा आएको छ । यो कृति प्रश्रितबारे लेखिएकामध्ये फरक शैलीयुक्त, रोचक र अधिकतम आधिकारिक एवम् विश्लेषणपरक देखिन्छ, जसलाई स्वयम् प्रश्रितले ‘मेरो समग्र जीवनको एउटा स्पष्ट आकृति भएको मैले ठहर गरेको छु । आफ्नो सिद्धान्तमा बज्र र चट्टान झैँ मानिएका एउटा गैर गणतान्त्रिक लेखकबाट मेरो जीवनी कृति लेखिनु विशेष आश्चर्यको कुरा त हुँदै हो तर पनि यति निष्पक्ष र खुलस्त भएर मेराबारे लेखिएको घटनालाई अर्काे आश्चर्य नै मान्नुपर्ने हुन्छ”, भनी भूमिकामा उल्लेख गरेकोबाट स्पष्ट हुन्छ ।
पुस्तकमा प्रश्रितले आर्थिक संकट टार्न मदन पुरस्कारबाट प्राप्त पुरस्कारको चाँदी बेचेर रु दुई सय ६२ लिनुपर्दा उनी धुरुधुरु रोएको सन्दर्भदेखि प्रधानमन्त्रीसम्म हुने प्रश्रितको योग्यता भए पनि उनको नेपालवादी (राष्ट्रवादी) छविकै कारण त्यो हैसियत खोसिएको टिप्पणी गरिएको छ । हुन त ‘मानव’ महाकाव्यका लागि वि.सं. २०२४ मा प्राप्त उक्त पुरस्कारको राशि नै त्यसबेला चार हजार रुपैयाँ थियो, त्यो पाउँदा प्रश्रित निकै खुसी भएको पुस्तकमा उल्लेख छ ।
वि.सं. २०६३ को लोकतान्त्रिक परिवर्तनपछि कम्युनिष्ट र कांग्रेसले हरेक पुस २७ गतेको मनाइने पृथ्वीनारायण शाहको जयन्तीलाई बहिष्कार गरेका बेला प्रश्रितले राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गरी कविता वाचन गरेका घटना र प्रश्रितका पिता घनश्याम पौडेल नेपाली कांग्रेसको राजनीतिमा आबद्ध रहेको सन्दर्भसँगै प्रश्रित पनि सुरुमा कांग्रेसमा आबद्ध भएको विषय पुस्तकमा छ ।
अर्घाखाँचीको खिदिमस्थित हर्राबोटमा वि.सं. १९९९ असार ६ गते आर्थिकरुपमा सामान्य परिवारमा जन्मिएका प्रश्रितको बाल्यकालको नाम गौरीप्रसाद पौडेल थियो । उनी घरमै संस्कृत साहित्य, ज्योतिष, आयुर्वेद एवम् धार्मिक शास्त्रहरु पढ्ने अवसर मिलेको थियो भने विद्रोही स्वभावले चुलिएका क्रान्तिकारी रहेका प्रश्रितलाई सानोमा माटोको मूर्ति बनाउने, वेद चण्डी, रुद्री आदि पाठ गर्ने व्यक्तिका रुपमा चिनाइएको छ । उनी हरिहर संस्कृत पाठशालामा शिक्षक हुँदै पछि भारतको ‘प्रगतिशील अध्ययन मण्डल’ स्थापना र पुष्पलालसँगको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टीको काममासम्म क्रियाशील भए । नेपाल फर्केपछि पटक–पटक जेलनेल परेका प्रश्रितले प्रहरीको कुटाइबाट बेहोससम्म हुनुपरेको परिघटना मार्मिकरुपमा प्रस्तुत गरिएको छ । त्यसबेला जेलमा रहेका मोहचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, केपी शर्मा ओलीसहित सँगका बसउठका सन्दर्भ लेखक प्रसाईंले समेटेका छन् ।
यसबेला कुन नेताको स्वभाव र खानपिनको बानी कस्तो थियो भन्ने पनि यहाँ चर्चा गरिएको छ । जननेता मदन भण्डारीले ‘मेरा राजनीतिक र साहित्यिक गुरु मोदनाथ प्रश्रित हुन्’ भनेका विषय, साहित्यकार एवम् पूर्वमन्त्री शान्ता मानवीले वि.सं. २०३३ मा आफूले जोडेको कानका टप बेचेर प्रश्रितको ‘नारी बन्धन र मुक्ति’ कृति छपाएको घटना पनि जीवनीमा समेटिएको छ ।
पुस्तकमा प्रश्रित शिक्षामन्त्री भएका बेला सामुदायिक विद्यालयमा कक्षा आठसम्म निःशुल्क गराइएको, १२ वर्षदेखि ४५ वर्ष उमेरका नागरिकलाई दुई वर्षभित्र साक्षर बनाउने योजना ल्याएको, शिक्षामा मातृभाषालाई प्राथमिकता दिने नीति ल्याएको, पिछडिएका जातिका विद्यार्थीलाई छात्रवृत्तिका कार्यक्रम ल्याएको, प्राविधिक शिक्षामा जोड दिएको, राष्ट्रिय प्रतिभा पुरस्कारको थालनी भएको आदि अनेक सुधार र सांस्कृतिक रुपान्तरण कामबारे सविस्तार उतारिएको छ ।
राजनीति र साहित्यको आरोह अवरोहका क्रममा प्रश्रितले ऋणधन गरेर स्वयम्भूपारी पहिलो घर ‘गौँथलीको गुँड’ बनाएको र पछि त्यसलाई बेचेर थानकोटको वाणास्थलीमा एक रोपगी जग्गा किनेर नयाँ घर बनाउन पुगे । पछिल्लो दशकका नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य पनि भएपछि प्रश्रितको आर्थिक जीवन सहज भएको देखिन्छ भने उनका छोरा डा. विजय पौडेल आफ्नै व्यवसाय र राजनीतिक क्षेत्रमा पनि आबद्ध भएकाले पनि थप सहजता भएको हुनसक्छ ।
समग्रमा प्रश्रितका बाल्यकालदेखि हालसम्मका राजनीतिक, साहित्यिक, सांस्कृतिक र सामाजिक मोर्चाका मुख्य–मुख्य घटना र सन्दर्भलाई प्रसाईंले केस्राकेस्रा केस्रा केलाएका छन् । प्रश्रितकका कृतिको संक्षिप्त परिचय र उनको संयोजकत्वमा सम्पन्न महाकवि देवकोटाको शतवार्षिकी समारोहका गतिविधिसमेत समेटिएका छन् । मोदनाथ प्रश्रितको जीवनी र व्यक्तित्व, नेपालको कम्युनिष्ट इतिहास, नेपालका सांस्कृतिक रुपान्तरण र महिला तथा जातीय मुक्तिका अभियानमा चासो राख्ने र अध्ययन गर्नेका लागि यो पुस्तक उपयोगी देखिन्छ ।
–राजकुमार राजभण्डारी ‘खोटाङ्गे’
१.
सिंहदरबार परिसरभित्र भेटियो अचम्मको मान्छे
बैठक बसि भत्ता रकम लेखियो अचम्मको मान्छे
सानो कर्मचारी हटाई आपसमा गर्थे खुसामत
तस्कर हो या मन्त्री मेचमा देखियो अचम्मको मान्छे ।।
२.
संसदलाई किर्ते प्रमाणपत्र भनी थुनेको खास कुरा के हो
गृहमन्त्रीको राजिनामा माग्यो भन्ने सुनेको खास कुरा के हो
झन् बुझ्यो बुझ्नै कठिन के भएको नि यो देशमा
भ्रष्ट भएछ विकासप्रेमी भनी चुनेको खास कुरा के हो ??
–बलराम तिमल्सिना
भो फाइल नखोल
फाइलभित्र कमरेड हुनुहुन्छ
फाइलभित्र कमरेड नाङ्गै हुनुहुन्छ
फाइलभित्र नाङ्गै बसेर
कमरेड समृद्धिको सपना देख्दै हुनुहुन्छ !
भो फाइल नखोल
फाइलभित्र कमरेडका छोरा छन्
फाइलभित्र कमरेडनी पनि हुनुहुन्छ
कमरेडनी पनि कान्छी कमरेडनी
तिनीहरू पनि नाङ्गै छन्
फाइलभित्र नाङ्गै बसेर तिनीहरू
कमरेडको समृद्धिको बिरुवामा
मल हाल्दै छन्÷पानी हाल्दै छन् ।
फाइल नखोल भनेको सुनेनौ ?
फाइलभित्र जय नेपाल जी हुनुहुन्छ
फाइलभित्र जय नेपाल जी नाङ्गै हुनुहुन्छ
नाङ्गै बसेर जय नेपाल जी
तपस्या गरिरहनु भएको छ
शुशासनको तपस्या
ऐले फाइल खोल्यौ भने
तपस्या भङ्ग हुन्छ
शुशासन भरङ्ग हुनेछ ।
फाइलभित्र
जयनेपालजीका
स्वास्नी छोराछोरीहरू पनि छन्
ती पनि चरि नाङ्गै छन्
फाइलभित्र चरि नाङ्गै बसेर
तपस्यारत जय नेपाल जीलाई
ती चमर हम्किरहेछन् !
भएभरका फाइल खोल्यौ भने
नेपाल ह्वाङ्गै देखिन्छ
सबै नाङ्गै देखिन्छन्
हाकिम, न्यायधीश
उद्योगपति, व्यापारी
सबै नाङ्गा नाङ्गै देखिन्छन् !
फाइल खोलेर हेर्न बानी परेपछि
कपडा लगाएका मान्छे देख्दा पनि
तिमीलाई अनौठो लाग्न थाल्ने छ
तिमी आफैले पनि
कपडा लगाएको छु भनेर यकिन गर्न
पटक–पटक जीउ छाम्नु पर्नेछ
पटक–पटक ऐना हेर्नु पर्ने छ ।
कम्ता गाह्रो छ
फाइलभित्र लुकेर बस्न
त्यो पनि नाङ्गै बस्न !
कुन बेला भूइँचालो आइदिन्छ
र नाङ्गै भुतुङ्गै दौडनु पर्छ ।
यसरी मान्छेलाई
नाङ्गै दौडनु पर्ने काम गर्दै नगर
भो अब फाइल खोल्ने काम गर्दै नगर ।।
प्रिय पुत्र
प्रेम अनि आदर
विषय : मेरो देश, म र तँ
उपरोक्त सम्बन्धमा, छोरा म र मेरो छोटो जीवनी र तेरो भविष्यको कुरा गर्न चाहन्छु ।
मैले सरकारी जागिर खाएको र भ्रष्टाचारमा परेर जेल आयको कुरा तिमीलाई बताउनै परेन ।
छोरा मेरो सपना र गन्तव्य जेल थियौ, छोरा मेरो कल्पना र सफलता भ्रष्टाचारमा थिएन, यो सबै मलाई थाहा भएको कुरो हो कुनै नौलो विषय होइन ।
म भ्रष्टाचारमा समातिँदा पनि त्यति त्रसित भइनँ किन कि एक दिन त्यो हुनु नै थियो ।
डिग्रीको पढाइ सकेर लोक सेवाको सपना देखें, लोक सेवा पढेर पहिलो नम्बरमा नाम निकालें, मेरा बा आमा र गाउँलेहरूले मलाई अबिर जात्रा गरेर बधाई दिए ।
त्यो दिन मेरो जीवनकै खुसीको दिन थियो, मैले राष्ट्रको सेवा गर्न पाउनु अहोभाग्य सम्झेको थिएँ ।
काम गर्दै गएँ, सेवा दिँदै गएँ, अधिकृतमा नाम निकालेर सरकारी कार्यालयको प्रमुख बन्न पाउनु, म गाउँमा आमाले चामल बेचेर घ्यु बेचेर पठाएको पैसोले अध्ययन गरेर यो स्थानसम्म आउनु चानचुन कुरो हुँदै होइन ।
सोचेको थिएँ दु:ख त पढ्ने बेलासम्म मात्र हो, पढाइ सकेपछि त सुखै सुख र खुसी नै खुसी थपिन्छ ।
तर छोरा त्यस्तो होइन्छ, त्यो सोच गलत रच ।
जागिर खाएको पहिलो वर्ष अन्धाधुन्ध जबरजस्त खुसी र सुखी हुने प्रयत्न गरियो, त्यो अस्वाभाविक पनि थिएन, दर्जनौं कर्मचारीको सलाम र सयौं उपभोक्ता सर्वसाधारणको नमस्तेले खुट्टाले जमिन छोडेर आकाशमा उडेको महसुस हुनु म जस्तो गाउँले मान्छेलाई सामान्य नै हो ।
जागिरको दोस्रो वर्ष बिहे गरें, एउटा अधिकृतले बिहे गर्दा थोरै तामझाम सहित बिहे गर्नु बाध्यता थियो, किन कि एउटा कार्यालय सहयोगीले पनि आफ्नो छोराको बिहेमा ८/१० लाख खर्च गर्नु हाम्रो समाजको रितीरिवाज अनुसार सामान्य नै हो । पढाइमा लागेको ऋण नतिर्दै फेरि बिहेको ऋण थपियो र हाम्रो परिवारमा ऋण बाढेर दाजु, भाइ, बा, आमाबिच छुट्टीबन्ध भयो । म घरको जेठो छोरो हुनुको नाताले बुढ्यौली घर कटेरा भाइलाई छोडिदिएर अलि बढी ऋण मेरो थाप्लामा बोकाइयो ।
यसै क्रममा ५ वर्ष बित्यो, मैले तेरी आमालाई पनि सँगै क्वाटरमा राख्न थालेको थिएँ, एक दिन गर्भमा तँ बसेको खबर आमाले मलाइ दिइ, त्यो दिन दुखद मेरो जीवनमा तेरो आगमनको खुसी थपियो ।
तेरी आमाले थोरै बिलासी जीवन उपभोग गर्न खोजेको महसुस गरेको थिएँ । भेट्नी चिन्निले भन्दा हुन हाकिमनी भनेर ।
नभन्दै उसले टिभी फ्रिज को डिमान्ड गरी र तँ गर्भमै हुँदा मैले टिभी र फ्रिज किनेर घर ल्याएँ ।
पैसो कहाँबाट आयो भन्लास्, हाम्रो कार्यालयमा काम गर्ने सहयोगी स्थानीय थिए । उनले नै ऋण काढेर ल्याइदिएका थिए ।
बिस्तारै दश मैना पुग्यो र तँ जन्मिस्, तँ जन्मेपछि खुसी त थपियो र चिन्ता पनि थपियो । अब के गरेर हुर्काउने बढाउने पढाउने ? तँ जन्मेको छ महिना भएको थियो कि ? तीजको बेला थियो आमाले रानी हार किन्ने सपना देखिच ।
एक दिन जिल्लाका कार्यालय हाकिमहरूको बैठक थियो, त्यो बैठकमा मैले मेरा मनका साथीहरूलाई मेरो समस्या सुनाए । तलबले कुनै हालतमा घर चलाउन र सन्तानलाई पढाउन नपुग्ने भएपछि मैले जागिर छोडेर प्रदेश जाने निधो गरेको सम्मको कुरो साथीहरूलाई सुनाए ।
साथी गललल हाँसे, मैले कुरो बुझिनँ, र प्रश्न तेर्साएँ, किन मैले कुनै गलत कुरा बोलेँ र ?
उनीहरूले आँखा झिम्काउँदै भने, जुन काम नियम कानूनअनुसार बन्दैन भनेर इमानदारिताको पगरी गुथेर लगाउनु भा छ नि ? त्यो पगरी फालेर नियमले नमान्ने काम गरिदिनुस् न पैसो को के कमी हुन्छ र ? त्यस्पछि त पैसै पैसा ।
आखिर यो देशमा कानूनमुनि बसेर इमानदारिताका साथ काम गर्ने कति छन् र ? के तपाईं इमानदारी बन्दा मात्र देश बन्छ त ? नेताले करोडमा अरबमा भ्रष्टाचार गर्दा नि भएकै छ । हाम्ले त उपभोक्ताको मन खुसी बनाएर बक्सिस लिने त हो ? यो के अपराध हो र ? अपराध त सानो ठूलो होला तर देशद्रोह होइन ।
त्यो दिन साथीहरूबाट पाएको राय सल्लाह सुनेपछि भोलिपल्टबाट मैले प्रक्रिया नपुगेका कुनै काम पनि फर्काइनँ ।
कागजी प्रक्रिया नपुगेका काम खरदारलाई भेट्न भनेर पठाउँथे, उनीहरूले बार्गेनिङ गरेर पुनः काम गरिदिन्थे ।
त्यसपछि बिस्तारै घरको आर्थिक अवस्था सुध्रियो, आमालाई रानी हार पनि किनिदिएँ, सहयोगीले मिलाइदिएको ऋण पनि तिरें । बिस्तारै म बिलासी जीवनमा फस्दै गएँ ।
एघार वर्षपछि मेरो पदवि बढ्यो र म एक तह माथि पुगेँ ।
त्यस्पछि मेरो सरुवा पनि भयो र म जिल्ला इन्चार्ज भएर जिल्ला प्रस्थान गर्ने भएँ ।
यहाँसम्म ठिक थियो, तर यहाँबाट मेरो जीवन मोडियो ।
एउटा फोन आयो मैले फोन उठाएँ, उताबाट आवाज आयो नमस्कार, मैले नमस्कार फर्काएँ, उसले बधाई दियो मैले धन्यवाद फर्काएँ ।
सर हजुर जिल्ला जाँदै हुनुहुन्छ, एक पटक अन्तिममा हजुरलाई भेट्ने तीव्र इच्छा जागेर आयो । मलाई त्यो सौभाग्य दिनुहुन्छ ? मैले यसो सोचें र उत्तर दिएँ ।
सरि म आउन पाउँदिन फेरि कुनै दिन भेटौंला, फेरि मैले तपाईंलाई चिन्न पनि चिनेको छैन ।
हैन के सर म फलानो ? हजुरले मेरो फलानो काम गर्दिनु भाथ्यो नि ? जाने बेला यसो उपहार दिऊँ कि भनेर मात्र भेट्न खोजेको ।
ओके म मेरो कर्मचारी पठाइदिन्छु है त उनीससँग भेटेर के गर्ने हो गर्नु ।
उताबाट आवाज आयो, हुँदैन हजुर, हजुर आउने भए आउनुस् नत्र ठिकै छ ।
मैले सोचें, उसको मन किन दुखाउनु, जाने बेला ? ठिकै छ भेटिदिउँ न ।
ल भन्नुस् तनि म कहाँ आउन परो ? उताबाट कल आयो सर कलंकी चोकमा श्री विनायक होटेलमा म हजुरको प्रतीक्षा गरिरहन्छु आउनुस् ल ।
ओके भनेर मैले फोन काटिदिएँ र मोटरसाइकल चढेर म उसले बोलाएको स्थानमा पुगें । म मोटरसाइकल पार्किङमा रोकेर भित्र छिरेँ । उ पब्लिक स्थानमा बसेको रहेछ । मलाई देखेपछि उ उठ्यो र नमस्ते गर्दै नजिक आयो र खल्तीबाट पैसा झिकेर मेरो खल्तीमा ठोसिदियो ।
खल्तीमा पैसो हालिदिएपछि उ हाँस्यो उसको हाँसो सकिन नपाउँदै क्यामेरा र केही मान्छेहरू आए, ती मान्छे अख्तियारबाट रहेछन्, उनीहरूले मेरो खल्तीबाट मलाई पैसो झिक्न लगाए, मैले पैसो झिकें, पैसो झिक्दा पैसोमा दलेको पाउडर मेरो हातमा लागेछ । त्यस्पछि उनीहरूले मेरो हात पानीमा चोबे मेरो हात रातो भएर आयो ।
खै कस्तो पाउडर थियो त्यो म आफैं अचम्ममा परेँ ।
मलाई रङ्गेहात समातेर प्रहरीको गाडी बोलाएर प्रहरी भ्यानमा लगेर गए । र, मलाइ कस्टडिमा थुनिदिए ।
चौबिस दिनपछि मलाई थुनछेक बहसबाट पुर्पक्षका लागि कारागार पठाइयो ।
म कहाँ नेर चुकें भने मैले त्यो पैसो खल्तीबाट झिक्न हुने थिएन, अख्तियार कै कर्मचारीलाई झिक्न लगाउँदा म बच्ने सम्भावना हुन्थ्यो र त्यो मलाई फसाउने मान्छेलाई दुई चड्कन अन द स्पट हानेर मलाई फसाउन खोज्छस् भनेको भए केसले आर्को मोड लिन्थ्यो । तर त्यो बेला ममा त्यति बुद्धि पलाएन । र, मलाई योसम्मको सजाय हुन्छ भन्ने कल्पना पनि त थिएन नि ।
छोरा आज ठिक ७ वर्ष भएछ, म यो बन्दी जीवनमा बाँधिएको । र, आजकै दिन तिमीले १२ को परीक्षामा राम्रो अंक ल्याएर पास गरेछौ, बधाई तिमीलाई ।
छोरा मेरो तिमीलाई एउटै सुझाव छ, देशको सेवा गर्ने कल्पना तिम्रो दिमागमा कहिल्यै न आओस् बरु बाबु सक्छौ भने अब आईएल्ट्स गरेर अस्ट्रेलिया, क्यानडा, अमेरिका कहाँ जान सक्छौ जाऊ । जाऊ छोरा मैले जस्तो जिन्दगी तिमीले भोग्न नपरोस्, मेरो जस्तो भाग्य तिम्रो न भैदियोस् । छोरा जहाँ गयो त्यही मातृभूमि जहाँ गयो त्यही राष्ट्रियता, जे भाषा बोल्यो त्यही राष्ट्रिय भाषा ।
दुनियाँ यति सानो भइदियो कि गुगल म्यापबाट एक मिनेटमा विश्व अध्ययन गर्न सकिन्छ, चाहेको मान्छेलाई क्षणभरमै सम्पर्क गर्न सकिन्छ । र, सन्तान जहाँ छन् अभिभावक पनि त्यो ठाउँमा सजिलै पुग्न सकिन्छ भने हामीले किन अवसरबाट aञ्चित हुने ? पैँतिस हजारको जागिरले जिन्दगी बिताउन त सकिन्छ तर रोएर ।
अनि हामी रोएर जीवन बिताउनी, हाम्रा नेताले खर्बौंमा भ्रष्टाचार गर्नी ? हाम्रो त्याग योगदान र आँशुको मूल्य खै त ? कसैले ज्युँदै मर्नुपर्ने, कोही मरेर नि सरकारी पैसोको भरमा बाच्नुपर्ने ? के यो न्याय हो ? के यही समानता हो ?
बाह्र बर्से जङ्गलको तपस्याको उपलब्धि यही हो भने हामीलाई चाहिँदैन यो उपलब्धि ।
छोरा म आर्को वर्ष जेलमुक्त हुने छु, त्यो दिन तिमीलाई सतीले सरापेको देशमा होइन, एक जना नारी पनि सती जान नपरेको देशमा देख्न चाहन्छु, अन्त्यमा आमालाई दु:ख नदिनु आमाको ख्याल गर्नु छोरा अहिलेलाई बिदा हस् त । बाइ बाइ ।
नकुल ढकाल "नवीन"
म्याग्दी बेनी l
(यो कथाका पात्र र विषयवस्तु काल्पनिक हुन्, कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुने छ ।)
काठमाडौं : टुक्का साहित्य समाजले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा पुस्तक विमोचन तथा सम्मान समारोह सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा समाजले वार्षिकोत्सवका साथै पुस्तक विमोचन तथा सम्मान समारोह सम्पन्न गरेको हो ।
सो अवसरमा प्रमुख अतिथि राईले कविहरूले अभिव्यक्त गर्ने नयाँ कला र चिन्तनको रूपमा टुक्का कवितालाई लिन सकिने बताए । उनले भने, 'कवितालाई जति टुक्रयाए पनि कविता नै रहन्छ । छोटोभन्दा छोटोे उपक्रम वा अंशको रूपमा टुक्का कविता देखा परेको छ । यसको सैद्धान्तिकीकरणबारे बहस गर्दै मौलिक नेपाली काव्य उपविधाको रूपमा विकास गर्नुपर्छ ।'
यसैगरी विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले काव्यका उपविधाहरूमा हाइकुले जस्तै टुक्का कविताले पनि व्यापकता पाइसकेको बताए । उनले यसलाई विभिन्न भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रिय तहसम्म पुर्याउन सक्नुपर्ने बताउँदै कविताका लघुत्तम स्वरूपबारे बहस गरेर निचोडमा पुग्नुपर्ने आवश्यकता रहेको बताए ।
यस्तै विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा अनुवाद विभाग प्रमुख हंसावती कुर्मीले हाइकु जसरी हिमाल, पहाड र मधेशमा फैलिएको छ, त्यसरी नै टुक्का कविता फैलिनुपर्ने बताए ।
यसैगरी विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले प्रयोगको रूपमा कविताका अनेकौं उपविधाहरू देखा परिरहेको बताए । उनले भने, 'यस सिलसिलामा टुक्का कविता पनि देखा परेको छ । छोटो अवधिमै नेपाली मौलिक टुक्का कविता कविहरू माझ लोकप्रिय बनेको छ ।यो नै खास उपलब्धि हो । टुक्का सैद्धान्तिक र सिर्जनात्मक मूल्यसहित हाइकुजसरी विश्वव्यापी हुने गरी अघि बढ्न सक्नुपर्छ ।'
समाजको वार्षिकोत्सवको अवसरमा ८४ जना स्रष्टा र द्रष्टाहरू सम्मानित भएका छन् । प्रमुख अतिथि राईले संयुक्त टुक्का संग्रहको दोस्रो संस्करण 'ऐतिहासिक टुक्का यात्रा', प्रथम व्यंग्यात्मक संयुक्त टुक्का संग्रह 'व्यंग्य कन्तुर', राजेन्द्र प्रधानकृत भारतीय प्रथम टुक्का संग्रह 'तरंगित छालहरू', म्यामराज राईकृत जापानी र बान्तवा राई भाषामा रचित 'महक' टुक्का संग्रह, पुष्पा राईकृत 'पुष्पश्री' प्रथम नारी टुक्का संग्रह, रामप्रसाद पुरीकृत 'टुक्का सुधा' र भगवती दवाडी (अधिकारी)कृत 'बन्धन' र नागेन्द्रप्रसाद यादवकृत अवधी कविता संग्रह 'कथरी'सहित ८ वटा कृतिको विमोचन गरे ।
यस्तै प्रमुख अतिथि राईले अरूणबहादुर खत्री 'नदी', पदमा शर्मा आँचल, निमा छिरिङ भुटिया, शर्मिला श्रेष्ठ, अच्युत घिमिरेलाई ऐतिहासिक प्रवल टुक्का साहित्य सम्मान-२०८० द्वारा पुरस्कृत गरे । यसैगरी प्रमुख अतिथि राईले राजेन्द्र प्रधान पासा, म्यामराज राई, रामप्रसाद पुरी, पुष्पा राई र भगवती दवाडीलाई 'टुक्का साहित्य समृद्धि सम्मान -२०८०'बाट सम्मान गरे ।
यसै सिलसिलामा डा. सावित्री श्रेष्ठ, डा. देवी पन्थी, वसन्त अनुभव, रचना शर्मा प्रतीक्षा, राजेशराज गड्तौला, चूडा निर्भीक, जमुना आचार्य, होमप्रसाद नेउपाने, बेदु नेउपाने, शोभा आचार्य गौतम, रामशरण न्यौपाने, अनिल खग्रास, नानीबाबा अधिकारी, जगत थापा, उषा केसी, श्रीकृष्ण शर्मा, विमुन्स पौडेल, रुपा रिसाल, रुपा पौडेल, नरेशलाल अमात्य र सुमिना तिमल्सिना 'टुक्का साहित्य प्रवर्द्धन सम्मान -२०८०'बाट सम्मानित भए ।
यसैक्रममा अनुग्रह राना मगर 'पुष्प', अम्बिका अधिकारी, अर्जुनप्रसाद चौलागाई, कमला देवकोटा, केशवप्रसाद ढकाल प्रीतबीज, कृष्णकुमारी क्षेत्री, गुणनिधि घिमिरे, डम्बर थामी 'अनुपम', दुर्गा आचार्य, दुर्गा भट्टराई, नवशिला, नागेन्द्रप्रसाद यादव, पवनकुमार बुढाथोकी, पुष्पा सुवेदी, प्रद्युम्न चालिसे, प्रमोद भट्टराई प्रतीक, प्रेम थापा 'मन', बाबुराम गौतम, बाबुराम पाण्डे, बुद्धिमान दनुवार, भेषकुमारी लामिछाने, मन्दिरा सेढाई, मित्र उराठी गौतम, रचना मोक्तान 'यात्री', रश्मी रिमाल, राजकुमार राजभण्डारी, राजेश्वरी राजोपाध्याय, रुना कर्माचार्य दाहाल, सन्जना शर्मा, सरिता सेढाई, सहयात्री शोभा अर्याल, सुरेशकुमार पाण्डे, साधना पौडेल, हन्नाह क्षेत्री, त्रिलोचन भण्डारी, गंगा खड्का, विक्रमतिरुवा सलिन, विनिता विश्वकर्मा, अरुणकुमार भुजेल, सुशीला पौडेल, रामकृष्ण दुवाडी, गोपालकृष्ण डंगोल, लक्ष्मी श्रेष्ठ, परिक्रमा श्रेष्ठ, धनुष न्यौपाने, ललिता अभागी, पुष्पाशायरा, विनोद रिजाल, चिरञ्जीवी ढकाल, इन्दिरा देवकोटा, घनश्याम पौडेल, पूर्णबहादुर श्रेष्ठ र कल्पना भण्डारीले टुक्काश्री साहित्य सम्मान-२०८० प्राप्त गरे ।
यसैगरी कल्पतरु द्वैमासिक, साहित्यपोस्ट डटकम, प्रभातफेरी साप्ताहिक, हिमालय दृष्टि र संसार न्युज डटकम गरी ५ वटा पत्रिका र अनलाइनलाईसमेत टुक्का समाजले सम्मान प्रदान गरेको थियो ।
यसै सिलसिलामा विशिष्ट अतिथि तथा समालोचक डा. देवी पन्थीले 'ऐतिहासिक टुक्का यात्रा (३९ जना सर्जकको संयुक्त टुक्का कवितासंग्रह)को समीक्षा गर्दै दुई हरफको लघुत्तम संरचनाभित्र रही अर्थपूर्ण र प्रतीकात्मक अभिव्यक्ति बोध भएको बताए ।
यसैगरी पुष्पा राईकृत 'पुष्पाश्री' टुक्का संग्रहको समीक्षा कृष्ण रानाले, म्यामराज राईकृत 'महक' टुक्का संग्रहको समीक्षा अरुण खत्री नदीले, भगवती दवाडीकृत 'बन्धन' टुक्का संग्रहको समीक्षा कृष्णशरण अधिकारीले, रामप्रसाद पुरीकृत टुक्का 'सुधा'को समीक्षा तीलमाया पुरीले र राजेन्द्र पासाकृत 'तरंगित छालहरू'को समीक्षा शरद प्रधानले र नागेन्द्रप्रसाद यादवकृत 'अवधी' कविता संग्रह कथरीको समीक्षा विक्रममणि त्रिपाठीले गरे ।
यस्तै वार्षिकोत्सवका अवसरमा समाजका सचिव जमुना आचार्य कोइरालाले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष रचना शर्मा प्रतीक्षाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास भएको छ। यसैगरी कार्यक्रम समापन गर्दै समाजका अध्यक्ष तथा टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईंले टुक्का कविताको पृष्ठभूमि, इतिहास, विकास र संरचनाबारे बताए ।
टुक्का कविता प्रारम्भ २०७७ साल साउन २५ गतेबाट भएको हो । टुक्का दुई हरफमा बराबरी अक्षरमा रचिन्छ । नेपाली मौलिक लघुत्तम काव्य उपविधा टुक्का कविता लेखनप्रति कविहरूको आकर्षण बढ्नु लयात्मक र गेयात्मक पक्ष महत्वपूर्ण रहेको छ । यस टुक्का कविताको सिर्जना विभिन्न भाषामा अनुवाद भइ अन्तर्राष्ट्रियस्तरमा पुगेको चापागाईंले बताए ।
प्रस्तुत कार्यक्रममा समाजका उपाध्यक्ष वसन्त अनुभवले स्वागत मनतव्य र महासचिव चूडा निर्भिकले कार्यक्रम सञ्चालन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies