काठमाडौं : अभिनेत्री तथा मोडल दिपाशा बीसीको निधन भएको छ । २८ वर्षको उमेरमा बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
स्वास्थ्यमा असहज भएपछि बीसीलाई बुधबार राति नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको हो ।
बीसीले दर्जनौं म्यूजिक भिडियोका साथै केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छन् । उनको डेब्यू फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो । उनले बिरानो माया, चाल र झेली फिल्ममा पनि अभिनय गरेकी छिन् ।
काठमाडौं : गायक निकेश राईको स्वर तथा शब्द संगीतमा यो वर्षको तिहारलाई लक्षित गरेर नयाँ तिहार गीत ‘देउसी र भैलो (तिहारै आयो)' सार्वजनिक गरिएको छ । मिसेस वर्ल्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राईसहित अन्य प्रतियोगीहरु, ब्रिटिश आर्मीका मेजर योगेश कोयी राई, अनुषा राई, अनिल कोयी राईलगायतले यो गीतको विमोचन गरेका हुन् ।
निकेशको यो गीतमा उनीसहित कुसुम गुरुङ, सविन शंकर, राजु बाकोटी, नौली याम्फु, कैलाश विक, सुशील भट्टराईलगायतको स्वर रहेको छ । गीतलाई सुशील भट्टराईले संगीत संयोजन, राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
यो गीतको भिडियोमा आयुष्मा राई, योगेश कोयी राई, अनुषा राई, अनिल कोयी राईलगायतको अभिनय रहेको छ । जसमा मुकेश हुमागाईंको छायाँकन, अमृत चापागाईंको सम्पादन तथा रंग संयोजन, अनिल थुलुङको कोरियोग्राफी तथा अनिल कोयी राईको निर्देशन रहेको छ ।
काठमाडौं : मिस गुरुङ इन्टरनेशनलको पाँचौं संस्करणको ग्रयान्ड फिनाले आगामी २४ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने भएको छ । गुरुङ समुदायको कला, भाषा, भेषभूषा तथा संस्कृतिको संरक्षणका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेशनलको आयोजक मृगतृष्णा फेसन हाउसले मध्यान्ह दैनिकलाई बताएकाे छ ।
मिस गुरुङ इन्टरनेशनलको पाँचौं संस्करणमा नेपाल र भारतबाट समेत कलाकारहरुको सहभागिता रहेको र कार्यक्रममा सहभागी कलाकारहरुलाई फेसन शो, म्युजिक भिडियोलगायतका व्यावसायिक गतिविधिमा अवसर दिने आयोजक संस्थाले बताएको छ ।
विजेताहरुले विभिन्न उपाधिका साथै नगद पुरस्कार एवम् अस्ट्रेलियामा हुन गइइरहेको हेरिटेज फेसन शोमा सहभागी हुने अवसर पाउने छन् । मिस गुरुङ इन्टरनेशनल उपाधि विजेताले पाँच लाख बराबरकाे पुरस्कार, मिस पपुलर अवार्ड विजेताले तीन लाख बराबर तथा फर्स्ट रनरअपले दुई लाख बराबर, सेकेन्ड रनरअपले एक लाख र मिस ट्यालेन्ट उपाधि विजेताले २५ हजार बराबरकाे नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको अनलाइन भोटिङ पाटर्नर ओएसआर कनेक्ट रहेको छ भने प्रतियोगिताको व्यवस्थापन बी एन्ड बी इभेन्ट मानियाले गर्ने छ। मृग तिष्णा फेसन हाउसले कार्यक्रमलाई सफल बनाउन नेपाल-भारत मानव विकास एवम् मैत्री संघका अध्यक्ष सुर्य भुसाल र नेपाल-भारत आदिवासी जनजाति मैत्री संघका अध्यक्ष विनोद गुरुङलाई सल्लाहकारको रूपमा नियुक्त गरेको छ ।
काठमाडौं : वरिष्ठ लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मंसिर ८ गते राष्ट्रिय नाचघर जमलमा 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ' हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अन्नपूर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको सहआयोजक काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्स्ट्रक्सन प्रा.लि. रहेका छन् ।
५ दशकभन्दा बढी समयदेखि नेपाली लोकगीतमा निरन्तर लागिरहेकी लोकगायिका थापा पहिलोपटक एकल सांगीतिक साँझमार्फत गुञ्जिन लागेकी हुन् । स्वर्णिम साँझमा गायिका थापाले ‘म त खाँदिन कुवाको पानी हो’, ‘ढुङ्गे बगर माया’,‘झम्के फूली नाकैमा बुलाकी’,‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’,‘बारीको डिलमा ओखरबोट’,‘माछी मार न हे दाइ हो’ लगायतका २ दर्जनजति गीतहरु प्रस्तुत गर्दैछिन् ।कार्यक्रममा प्रवेशका लागि १ हजार, १५ सय र २ हजार रुपैयाँको टिकेट राखिएको छ ।
पत्रकार सम्मेलनमा गायिका थापाले कार्यक्रमका लागि अन्नपूर्ण चेम्बर अर्केस्टा ,काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्स्ट्रक्सन प्रा.लि.सँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । गायिका थापाका छोरा तथा संगीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिए । ‘आमाको सपना थियो, यसलाई पूरा गर्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ । हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौं । बाँकी केहीमा मैले पनि साथ दिनेछु’, संगीतकार थापाले भने ।
२०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको थालनी गरेकी गायिका थापाको हालसम्म एक हजारभन्दा बढी गीतहरु रेकर्ड भइसकेका छ्न् । विभिन्न सामाजिक सेवाको सहयोगार्थ थुप्रै पटक सांगीतिक कार्यक्रमहरूमा आफ्नो गायन प्रस्तुत गरिसकेकी गायिका थापाले प्रवल गोरखा दक्षिणबाहू मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौं सम्मान, पदक र पुरस्कारहरू प्राप्त गरिसकेकी छिन् । 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८०' कार्यक्रमले सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले बताएको छ ।
काठमाडौं : काठमाडौंमा बिहीबार एक विशेष समारोहबीच गीतकार एवम् साहित्यकार अनु शाहको कविताकृति ‘अनुराग’ लोकार्पण गरिएको छ । शाहको कविताकृति पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।
मिलाप मासिक र अनुराधा फिल्मस्् इन्टरनेशनल प्रा.लि.को संयुक्त आयोजनामा भएको कार्यक्रममा लोकार्पित पुस्तकमा वरिष्ठ साहित्यकार एवम् हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल र साहित्यकार तथा वरिष्ठ चलचित्रकर्मी प्रकाश सायमीले कृतिमाथि समीक्षा गरेका हुन् । ‘अनुराग’ कृतिमा १२६ पृष्ठ र ७१ वटा कविता संग्रहित छ ।
प्रकाशकका तर्फबाट अनु शाहका श्रीमान सूर्य चन्दले स्तन क्यान्सरबाट पीडित रहेकी आफ्नी श्रीमतीलाई थाहै नदिइकन यो पुस्तक तयार पारेको बताए । उनले अनुलाई सप्राइज दिनका लागि पुस्तक तयार गरेको भए पनि पछि जानकारी गराएको सुनाए । मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष एवम् अभिनेता कृष्ण मल्लले अनु एक कुशल कलाकार पनि भएको सुनाउँदै उनको कविता कृृतिको चर्चा गरेका थिए ।
कृतिकार अनु शाहले कृतिमा रहेका कविताका केही पंक्ति वाचन गर्दै सबैको साथ सहयोगका लागि धन्यवाद दिएकी थिइन् । सो अवसरमा मिलाप मासिकको कभर पृष्ठमा प्रकाशित व्यक्तित्वलाई कभर सम्मान पनि अर्पण गरिएको थियो । पूर्वप्रधानमन्त्री ओली, साहित्यकार वसन्त श्रेष्ठ, अनु शाह र संगीतकार दीपक शर्मालाई कभर सम्मान प्रदान गरिएको थियो ।
यस्तै कृतिको भूमिका लेखन, सम्पादन तथा प्रकाशनमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई ‘अनुराधा फिल्मस् इन्टरनेशनल विशेष व्यक्तित्व सम्मान’बाट विभूषित गरिएको थियो । यो सम्मानबाट वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, प्रकाश सायमी, अनेसास बोष्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त, वरिष्ठ गीतकार अमर वान्तु, कलाकार एवं कृषि अभियन्ता शेखर खनाल, नेपाल सेल्फ डिफेन्सका अध्यक्ष डा.डिबी राणपाल ‘एमएपिएचडी’, सम्पादक रमेश दाहाल, पत्रकार एवम् गीतकार गीता अधिकारीलाई सम्मान गरिएको थियो ।
यसैगरी सञ्चारकर्मी सुमन वैरागी, माधव खरेल, समाजसेवी प्रकाश श्रेष्ठ, रश्मिला श्रेष्ठ, राजेश विशुराल, दुर्गा विशुराल, नरेश पाण्डे, निकिता पाण्डे, गायक लक्षमणश्री, चर्चित ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ, युवा पर्यटन व्यवसायी बालकृष्ण खड्का लगायत सम्मानित गरिएका थिए ।
कार्यक्रममा पूर्वसांसद एवम् गायिका कोमल वली, शान्ता चौधरी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवम् साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, वरिष्ठ अभिनेत्री सर्मिला मल्ल, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, विशिष्ट कलाकार लय संग्रौला, पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडा, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका निर्वतमान अध्यक्ष रविन्द्र खड्का लगायत विभिन्न संघसंस्थाका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालको म्युजिक भिडियो ‘फूल हौ तिमी’ सार्वजनिक भएको छ । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा प्रमुख अतिथि एवम् गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षतामा वरिष्ठ गीतकार गदालको उक्त म्युजिक भिडियो शुक्रबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो ।
निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको ‘फूल हौ तिमी’मा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । मोक्तान डिजिटल युएसएको प्रस्तुति रहेको भिडियोमा निकेश धामी, श्रद्धा भण्डारीको मुख्य अभिनय रहेको छ भने अर्जुन गैरेको निर्माण, सौराम तुलाधरको निर्देशन रहेको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा गायन र नृत्य विधामा हुन लागेको गैरआवासीय नेपाली तारा सिजन चारको डिजिटल अडिसन बुधबारबाट खुला गरिएको छ । ‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ गैरआवासीय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको कार्यक्रमको डिजिटल अडिसन खुला गरिएको हो ।
गायन र नृत्य गरी दुई विधाबाट अलग अलग विजेता छानिने प्रतियोगीतामा पहिलो अडिसन डिजिटलरूपमा लिइने छ । डिजिटल अडिसनबाट ४०/४० जना तथा समूहलाई दोस्रो राउन्डमा लगिने कार्यक्रमका निर्देशक रोशन अर्यालले मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए । डिजिटल अडिसनका लागी प्रतियोगीहरूले बिना ट्र्याकमा बढीमा ३ मिनेटसम्मको कुनै पनि विधाको गीत र नृत्य विधाका प्रतियोगीहरूले ४ मिनेटसम्मको गीतमा प्रष्ट भिडियो खिचेर ३३४३१३७१ नम्बरको ह्यासपमार्फत पठाउनु पर्नेछ । गीत नेपाली भाषामा हुनुपर्नेछ ।
डिजिटल अडिसनबाट छनोटमा परेकाहरूको नतिजा फोन र सूचनामार्फत जानकारी दिइने भएको छ । १ डिसेम्बर शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा पहिलो चरणको प्रतिस्पर्धा गराइनेछ । दोस्रो चरण २२ डिसेम्बर, तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालिका रहेको छ । दोस्रो, तेस्रो र ग्राण्ड फिनालेका लागि स्थान र समयका बारेमा एक हप्ता अगाडि सूचनामार्फत जानकारी गराइने अर्यालले बताए ।
गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने आयोजकले जानकारी दिएको छ ।
यसभन्दा अगाडि सन २०१०/११ र १५ मा सफलतापूर्वक प्रतियोगिता सम्पन्न भइसकेको अवस्थामा सिजन ४ पनि भव्यरूपमा सम्पन्न हुने विश्वास आयोजकको रहेको छ । डिजिटल राउन्डमा गायन विधाबाट छनोट भएका प्रतियोगीहरूले कतारी रियाल १५१ र नृत्य विधाबाट छनोट भएका प्रतियोगीहरूले कतारी रियाल १०१ दर्ता शुल्क लाग्नेछ ।
डिजिटल चरणमा निर्णायकका रूपमा कतारमा नृत्य तथा गायन विधामा ख्याती कमाएका अग्रज व्यक्तित्व रहेका छन् भने दोस्रो चरण प्रवेशसँगै नेपालका चर्चित कलाकारहरूसहितको निर्णायक टिम रहने भएका छन् । आयोजक दुवै संस्थाको मंगलबार साँझ बसेको बैठकले मूल आयोजक समिति सहित विभिन्न उपसमिति गठन गरेको छ । मध्यान्ह राष्ट्रिय दैनिक उक्त प्रतियोगिताको सञ्चार सहयोगीका रूपमा रहेको छ ।
काठमाडौं : युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक भएको छ । बहुप्रतिभाशाली गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक भएको हो ।
दिल ब्लोन एक दशकपछि गीतसंगीतको क्षेत्रमा पुनः फर्केका हुन् । दिल ब्लोन, उषा उप्रेती आदिको अभिनिय रहेको म्युजिक भिडियोमा एरेञ्ज याकुव तामाङ, क्यामरा उत्सव दाहाल, सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहेको छ ।
काठमाडौं : दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमश्रृंखला अपी हिमालमा पहिलो पटक छायाँकन गरिएको म्युजिक भिडियो 'आए म त' सार्वजनिक भएको छ । मौसमका कारण धेरै एडभेन्चर शोहरुले समेत छायाँकन गर्न नसकेको करिब ७,१३२ मिटर उचाई रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एवम् निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका हुन् ।
काठमाडौंको बसन्तपुरदेखि दार्चुलाको अपी हिमालसम्मको दृश्यहरु समेटेर तयार पारिएको भिडियो निर्माण गर्न २ हप्ता लागेको गायक एवम् निर्देशक भट्टले जानकारी दिए ।
धनगढीकी स्थानीय कलाकार बोन्दिता धामी र दार्चुला अपीका स्थानियको साथमा राजु भट्टको अभिनय रहेको भिडियोले नेपालको प्राकृतिक सौन्दर्यता र गाउँको जनजीवनलाई एउटा दरिलो श्रव्य दृश्य मार्फत प्रस्तुत गरेको छ ।
२ युवाहरु सिनेमाटोग्राफर केशव पाण्डे र निर्देशक भट्टको एउटा अथक मेहनतबाट तयार भिडियो हेर्दा दार्चुलाको अपी क्षेत्रलगायत समग्र नेपालको पर्यटनको छेत्रको लागि एउटा कोसे ढुंगाको काम गर्ने देखिन्छ ।
संसारभर नै पछिल्लो समय युवाहरुको रोजाइमा एडभेन्चर, ट्रेकिङ एवम् ट्राभलिङसम्बन्धीको फिल्म एबम कार्यकमहरु पर्ने गरेकोमा यस म्युजिकल फिल्मले नेपालको आन्तरिक एबम बाह्रय पर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक 'आए म त' भिडियो मोबाइल एप्स मोमो एपमा समेत उपलब्ध छ । भिडियो समग्र दार्चुला जिल्ला र अपी गाउपालिकाको प्रचार प्रसार माध्यम बन्ने देखिन्छ ।
राजु भट्टको आफ्नै शब्द, संगीत र मानश्वी मालाकारको एरेन्ज रहेको 'आए म त' गीतमा राजु र ममता गुरुङको स्वर रहेको छ ।
काठमाडौं : गायिका रिता केसी र गायक भरत परियारको स्वरमा रहेको दशैं गीत ‘जमरा र टीका’ सार्वजनिक भएको छ । अस्मि अफिसियलको प्रस्तुतिमा तयार भएको गीतको शब्द र संगीत हेमराज योगीको रहेको छ ।
गीतको भिडियोमा विजय केसी, वर्षा भण्डारा, चन्द्रबहादुर केसी र रुपा थापा फिचर्ड छन् । सरोज शाहीले छायाँकन गरेको म्युजिक भिडियो अस्मि अफिसियलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
दिनेश सिंह ठकुरीको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोको सम्पादन निराजन केसीले गरेका हुन् भने एरेन्जर सञ्जय श्रीर्पाल हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies