काठमाडौं : वरिष्ठ लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मंसिर ८ गते राष्ट्रिय नाचघर जमलमा 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ' हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अन्नपूर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको सहआयोजक काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्स्ट्रक्सन प्रा.लि. रहेका छन् ।
५ दशकभन्दा बढी समयदेखि नेपाली लोकगीतमा निरन्तर लागिरहेकी लोकगायिका थापा पहिलोपटक एकल सांगीतिक साँझमार्फत गुञ्जिन लागेकी हुन् । स्वर्णिम साँझमा गायिका थापाले ‘म त खाँदिन कुवाको पानी हो’, ‘ढुङ्गे बगर माया’,‘झम्के फूली नाकैमा बुलाकी’,‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’,‘बारीको डिलमा ओखरबोट’,‘माछी मार न हे दाइ हो’ लगायतका २ दर्जनजति गीतहरु प्रस्तुत गर्दैछिन् ।कार्यक्रममा प्रवेशका लागि १ हजार, १५ सय र २ हजार रुपैयाँको टिकेट राखिएको छ ।
पत्रकार सम्मेलनमा गायिका थापाले कार्यक्रमका लागि अन्नपूर्ण चेम्बर अर्केस्टा ,काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्स्ट्रक्सन प्रा.लि.सँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । गायिका थापाका छोरा तथा संगीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिए । ‘आमाको सपना थियो, यसलाई पूरा गर्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ । हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौं । बाँकी केहीमा मैले पनि साथ दिनेछु’, संगीतकार थापाले भने ।
२०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको थालनी गरेकी गायिका थापाको हालसम्म एक हजारभन्दा बढी गीतहरु रेकर्ड भइसकेका छ्न् । विभिन्न सामाजिक सेवाको सहयोगार्थ थुप्रै पटक सांगीतिक कार्यक्रमहरूमा आफ्नो गायन प्रस्तुत गरिसकेकी गायिका थापाले प्रवल गोरखा दक्षिणबाहू मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौं सम्मान, पदक र पुरस्कारहरू प्राप्त गरिसकेकी छिन् । 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८०' कार्यक्रमले सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies