काठमाडौं : रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा थप ७ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेको हो ।
मृत्यु हुनेहरुमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर वि.क, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो । सरकारले यसअघि रुसी सेनामा भर्ती भएका १४ जनाको मृत्यु भएको सूचना सार्वजनिक गरेको थियो । योसँगै रुसी सेनामा भर्ती भएर मर्ने नेपालीको संख्या २० पुगेको छ ।
काठमाडौं : कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान महबुला क्षेत्रमा कारले ठक्कर दिँदा तीन जना नेपालीको घटनास्थलै मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौं सानो भर्याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् ।
कुवेतको पापाजोन कम्पनीमा कार्यरत उनीहरू साथीलाई भेट्न गएका थिए । फर्किने क्रममा बाटो काट्दा कारले ठक्कर दिएपछि मृत्यु भएको नेपाली दूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिए ।
मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड र विभिन्न व्यक्तिहरुलाई अमेरिका पठाइदिन्छु भनि थप एक करोड गरी ५ करोड ठगी गरेर फरार रहेका व्यक्तिलाई बौद्धस्थित हायात क्यासिनोबाट पक्राउ गरेको छ ।
प्रहरीले सप्तरी कन्चनरुप वडा नं. ८ घर भएका टोकनाथ साहलाई बुधबार बिहान पक्राउ गरेको हो । साहले नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ४ करोड १४ लाख ८४ हजार कर्जा लिइ उक्त कर्जा नतिरी फरार भएपछि उच्च अदालत विराटनगरले उनलाई ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ बिगो र ३ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
त्यसका अतिरिक्त साह विभिन्न व्यक्तिहरुलाई वैदेशिक रोजगारका अमेरिका पठाउने भनि एक करोड रुपैयाँ ठगी गरेर फरार भएका थिए । उनी हायात क्यासिनोमा आएको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका डीएसपी गोविन्द पन्थीको नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । साहले युवा युवतीहरुलाई विदेश पठाउने प्रलोभनमा पार्न रवाफपूर्ण व्यवहार देखाउने, आफू अमेरिकाका सम्पूर्ण ठाउँ घुमे जसरी व्याख्या गर्ने र डिमाण्डको कोटा थोरै भएकाले पहिला जो आउँछ उही जान्छ भनि दबाब प्रभावमा पारी ठगी गर्ने गरेको खुलेको प्रहरीले बताएको छ ।
त्यतिमात्र नभइ आफूलाई दिपक सोनी भनेर पनि चिनाइ विभिन्न व्यक्तिलाई प्रयोग गर्ने गरेको र साहले विभिन्न कम्पनीका १५ थान सिम प्रयोग गरेको खुलेको पनि प्रहरीले बताएको छ । साहलाई उच्च अदालत विराटनगरबाट भएको ३ वर्ष कैद र ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ बिगो फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले बताएको छ । साह पक्राउ परेपछि अपराधबाट बच्न एकछिन भागे पनि सधैं उम्कन नसकिने दृष्टान्तको पुनःपुष्टि भएको भन्दै डीएसपी पन्थीका कार्यशैलीले चर्चा र प्रशंसा भएको छ ।
काठमाडौं : वैदेशिक रोजगारका क्रममा मलेसियामा कार्यरत रहँदा मानसिक समस्यामा परेका बझाङको केदारस्यूँ गाउँपालिका – ७ निवासी दिपक बहादुर धामी लामो प्रयासमा नेपाल फर्किएका छन् ।
मान्यता प्राप्त चिकित्सकको प्रेसक्रिप्सन नभएको भन्दै नेपाल एयरलाइन्सले आफ्नो फ्लाइटमा चढाउन नमानेपछि दुई दिनभन्दा बढी समय मलेसियाको क्वालालम्पुर विमानस्थलमा अड्किएका धामीलाई मलेसियास्थित नेपाली दूतावासको पहलपछि हिमालय एयरलाइन्सको उडानमार्फत बुधबार बिहान नेपाल ल्याइएको हो ।
मानसिक समस्यामा परेका धामी नेपालबाट गएको कम्पनी छोडेर काम गर्न गएका कारणले प्रक्रिया मिलाउन नै एक हप्ता लागेको थियो । व्यक्तिगत र गैरसरकारी पहल गर्दा कम्पनीले धामीलाई नेपाल फर्कन नदिएपछि नेपाली दूतावासले नै कम्पनीसँग कुरा गरेपछि मात्रै धामीलाई नेपाल पठाउन कम्पनी सहमत भएको थियो ।
धामीलाई नेपाल फर्काउन शुरुवातमा १५ सय रिंगेट जम्मा गरेका नेपालीले मलेसियामा यताउता गर्दा उक्त रकम सकिएपछि थप १ लाख ८० हजार नेपालबाट मगाएर टिकट लिनुपरेको उद्धारमा सक्रिय समाजसेवी चक्र मल्लले बताएका छन् । मानसिक समस्यामा परेका धामीलाई नेपाल फर्काउन उनलाई पठाउने म्यानपावर कम्पनी लालधनुष इनन्टरनेशनल सर्भिस प्रा.लि., मलेसियास्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, मलेसियास्थित विभिन्न व्यक्ति तथा सामाजिक संघसंस्थाले महत्वपूर्ण सहयोग गरेका छन् ।
त्यस्तै दूतावासका प्रथम सचिव प्रेम बहादुर बुढथापा र बलिराम प्रसाद धामी, टेक बहादुर बुढा, सुदूरपश्चिम मलेसिया तथा साउदी समाजमा आबद्ध सदस्यहरु, प्रवासी नेपाली मञ्च मलेसिया र राष्ट्रिय स्वतन्त्र पार्टी मलेसियाले उनको उद्धारका लागि विशेष पहल गरेका थिए ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो कार्यकालमा दिएका १६ बुँदे निर्देशन कार्यान्वयनमा लैजान सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रालयले बुधबार सहसचिव गोविन्द प्रसाद रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यमा उपसचिव मेघनाथ रिमाल र शाखा अधिकृत प्रकाश पन्थी रहेका छन् ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हालैका दिनमा वैदेशिक रोजगारी व्यवस्थापनसँग सम्बन्धित विशेषगरी पूर्वप्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुनेसम्बन्धी विषय, दक्षिण कोरियामा ईपीएस प्रणालीबाट कामदार पठाइरहेको अवस्थाका बीच ई७ भिसामा समेत कामदार पठाउने विषय, विभिन्न देशबाट कामदार माग भइ आएकोमा मन्त्रालयबाट गठन भएको समितिबाट माग प्रमाणीकरण गर्ने विषयलगायतका सम्बन्धमा आएका समाचार, कामदारका गुनासा र सरोकारवाला संघसंस्थाबाट उठान भएका सवालहरु सम्बोधन गर्न समिति गठन गरेको बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीको कार्यकालमा भएका शुल्क वृद्धिसम्बन्धी विषयहरु तत्काल कार्यान्वयन नगर्न एवम् कतिपय विषयहरु विस्तृत अध्ययन गरेर कार्यान्वयन गर्न निर्देशन दिएका थिए । समितिलाई २१ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश छ ।
काठमाडौं : भिजिट भिसाको सेटिङमा पठाएर मानव तस्करीमा संलग्न रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले धादिङ त्रिपुरासुन्दरी घर भइ हाल काठमाडौंको माछापोखरी बस्ने लक्ष्मी भन्ने बबि श्रेष्ठ र भविलाल थापालाई पक्राउ गरेको हो ।
प्रहरीले थापालाई सेटिङ मिलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएको अवस्थामा पक्राउ गरेको हो भने श्रेष्ठलाई थापाको बयानका आधारमा पक्राउ गरेको हो । श्रेष्ठ र थापाले ३ जना महिलालाई भिजिट भिसामा दुबई पठाइदिन्छु भनि प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले ६ लाख रुपैयाँ लिएको समेत खुलेको प्रहरीले बताएको छ ।
त्यसैगरी खिमा डाँगीसमेत २ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनि ६० लाख रुपैयाँ लिइ सम्पर्कविहीन भइ ठगी गरेकोे उजुरीका आधारमा प्रहरीले उदयपुरको त्रियुगा घर भइ हाल काठमाडौंको टोखा बस्ने लोक बहादुर राउतलाई पनि पक्राउ गरेको छ ।
उनले अमेरिका पठाउन प्रतिव्यक्ति ८० लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि प्रतिमहिना ७ लाख ५० हजार रुपैयाँ तलब हुने प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनि विश्वास दिलाइ पटक–पटक गरी उक्त रकम हात पारेको प्रहरी बताएको छ । राउतलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको तथा थापा र श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान शाखा पठाइएको प्रहरीले बताएको छ ।
काठमाडौं : बुढानीलकण्ठस्थित जासेप कलेजले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेललाई सम्मान गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले महासचिव भुर्तेललाई सम्मान गरेका हुन् ।
महासचिव भुर्तेललाई वैदेशिक रोजगारमार्फत आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । वैदेशिक रोजगार व्यवसायमा लामो समयदेखि सक्रिय रहेका महासचिव भुर्तेल सयपत्री टोल सुधार समितिका अध्यक्ष पनि हुन् । अध्यक्ष भुर्तेललको सक्रियतामा उक्त टोल व्यवस्थापनको कार्यमा उल्लेख्य प्रगति हासिल भएको बताइएको छ ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचलमा छापा मारेको छ । विभागमा कार्यरत नायब सुब्बा लेखापाल प्रमोद निरौलाले म्यानपावर कम्पनीको धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियार टोली मंगलबार बिहानै विभागको कार्यालय पुगेको थियो ।
धरौटी फिर्ताको निवेदन दिएका म्यानपावर कम्पनीका सञ्चालकबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा लेखापाल निरौला पक्राउ परेका हुन् । अख्तियारले लेखापाल निरौलाबाट स्रोत नखुलेको ७१ हजार ६ सय २० रुपैयाँ पनि बरामद गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
लेखापाल निरौला सानातिना मामिलामा पनि घुसका लागि जबरजस्ती गर्ने कर्मचारीका रूपमा बदनाम थिए । विभागमा अन्तिम श्रम स्वीकृति दिने अन्य केही कर्मचारीहरू पनि निरौलाको शैलीलाई उछिनेर घुसका लागि मरिहत्ते गर्ने गरेको भन्दै केही वैदेशिक रोजगार व्यवसायी अख्तियारले त्यस्ता कर्मचारीलाई पनि निगरानीमा राख्नुपर्ने बताउँछन् ।
घुससहित रंगेहात पक्राउ परेका सरकारी कर्मचारीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ३ तथा दफा ९ बमोजिमको कसुरमा उक्त ऐनको दफा ८ को उपदफा ३ तथा दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइ विशेष अदालतमा मुद्दा चलाउने गएको छ । आयोगले लेखापाल निरौलाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौं : झुक्याएर रुसी सेनामा भर्ती गराइएका पाँच जना नेपाली युवाले उद्धार गरिदिन भारत सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत हिन्दी भाषामा एक भिडिओ सन्देश सार्वजनिक गरी उनीहरुले नेपाली राजदूतावासको तुलनामा भारतीय राजदूतावासको प्रभाव र पहुँच बलियो रहेकोे भन्दै छिमेकी देशको नागरिकको नाताले पनि आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् ।
उनीहरुले आफूहरुलाई स्वदेश फिर्ता गर्न नेपाली राजदूतावासले चासो नदिएको गुनासो समेत गरेका छन् । शुरुवातमा ३० जना नेपाली युक्रेनसँगको युद्ध मोर्चामा खटिएको, तर हाल आफूहरु ५ जनामात्र एक ठाउँमा रहेकोे उनीहरुले बताएका छन् ।
आफूहरुसँगै तीन जना भारतीय नागरिकहरु पनि रुसी सेनाका लागि काम गरिरहेको अवस्थामा उनीहरुलाई उद्धार गरी भारत सरकारले फिर्ता लगेको उल्लेख गर्दै नेपाली युवाहरुले आफूहरुलाई पनि त्यहाँबाट निकालिदिन आग्रह गरेका हुन् । उनीहरुले हिन्दी भाषामा पोष्ट गरेकोे भिडियो हाल भारतीयहरुले एकआपसमा सेयर गरिरहेका छन् ।
तनहुँ : भ्रमण (भिजिट) भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन् ।
भिजिट भिसामार्फत रुसी सेनामा गएका तनहुँका आठ युवा सम्पर्कविहीन भएपछि खोजी दिन पीडितका परिवारले माग गरेका छन् । खोजीका लागि परिवारले निवेदन दिएका छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रुसी सेनामा भर्ना हुन गएका सात र युक्रेनमा भर्ना हुन गएका एक गरी आठ युवा सम्पर्कविहीन भएपछि खोजीका लागि परिवारजनले निवेदन दिएको जानकारी दिइन् ।
उनले भनिन्, ‘व्यास, देवघाट, भानु, शुक्लागण्डकीका सात जना रुसी सेनामा भर्ना हुन जाँदा बेपत्ता भएको र म्यादेका एक जना युक्रेनी सेनामा भर्ना हुन जाँदा सम्पर्कविहीन भएको भन्दै खोजी दिन उहाँहरुको परिवारजनले निवेदन दिनुभएको छ । उहाँहरुको खोजीका लागि प्रयास गर्ने हो ।’
परिवारसँग नै सम्पर्कविहीन भएका व्यक्तिका परिवारजनले खोजी तथा उद्धारको मागसहित यहाँ निवेदन दिएको उनले बताइन् । उनले भनिन्, ‘रुसमा दूतावास भएको भए सहजरुपमा खोजी तथा उद्धारका लागि कागजात पठाउने थियौं । तर प्रत्यक्ष काम गर्न नपाउँदा सहज चाहिँ छैन । दूतावास नभएकाले खोजीका लागि कन्सुलर विभागलाई पठाएका छौँ । खोजतलासीमै छौँ प्रक्रियामा नै रहेका छौँ भन्ने जवाफ आउने गरेको छ ।’ गैरकानुनी रुपमा गएकाले पूर्णरुपमा काम गर्न सहज नभएको उनले बताइन् ।
आप्रवास स्रोत केन्द्रकी परामर्शदाता गोमा तिवारीले सम्पर्कविहीन भएका व्यक्तिलाई छिटोभन्दा छिटो नेपाल झिकाइ पाउँ भनेर निवेदन दिएको जानकारी दिइन् । सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको कागजातसहितका सम्पूर्ण कागजात पठाइसकिएको तिवारीले बताइन् ।
रुसमा बेपत्ता भएका व्यक्तिको खोजीका निम्ति पहल भइरहेको उनले जानकारी दिइन् । युक्रेनमा सम्पर्कविहीन भएका व्यक्तिको त्यहीँ दूतावास नभएकाले रुसी कन्सुलर विभागमार्फत नै खोजी कार्य भइरहेको आप्रवासी स्रोत केन्द्रले जनाएको छ । दुई/तीन महनिायतादेखि परिवारसँग नै उनीहरु सम्पर्कमा नभएकाले खोजीको पहल भइरहेको सामीले जनाएको छ ।
भिजिट भिसामा अवैधानिक बाटोमार्फत् गएका व्यक्ति परिवारसँग नै सम्पर्कविहीन भएपछि खोजीका निम्ति निवेदन दिएका हुन् । अवैधानिक बाटो हुँदै रुसी सेनामा भर्ना हुन गएका व्यक्ति त्यहीँ भर्ना भए पनि त्यहाँबाट फर्केर आउन सहज भने नभएको बताइएको छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies