काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड र विभिन्न व्यक्तिहरुलाई अमेरिका पठाइदिन्छु भनि थप एक करोड गरी ५ करोड ठगी गरेर फरार रहेका व्यक्तिलाई बौद्धस्थित हायात क्यासिनोबाट पक्राउ गरेको छ ।
प्रहरीले सप्तरी कन्चनरुप वडा नं. ८ घर भएका टोकनाथ साहलाई बुधबार बिहान पक्राउ गरेको हो । साहले नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ४ करोड १४ लाख ८४ हजार कर्जा लिइ उक्त कर्जा नतिरी फरार भएपछि उच्च अदालत विराटनगरले उनलाई ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ बिगो र ३ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
त्यसका अतिरिक्त साह विभिन्न व्यक्तिहरुलाई वैदेशिक रोजगारका अमेरिका पठाउने भनि एक करोड रुपैयाँ ठगी गरेर फरार भएका थिए । उनी हायात क्यासिनोमा आएको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका डीएसपी गोविन्द पन्थीको नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । साहले युवा युवतीहरुलाई विदेश पठाउने प्रलोभनमा पार्न रवाफपूर्ण व्यवहार देखाउने, आफू अमेरिकाका सम्पूर्ण ठाउँ घुमे जसरी व्याख्या गर्ने र डिमाण्डको कोटा थोरै भएकाले पहिला जो आउँछ उही जान्छ भनि दबाब प्रभावमा पारी ठगी गर्ने गरेको खुलेको प्रहरीले बताएको छ ।
त्यतिमात्र नभइ आफूलाई दिपक सोनी भनेर पनि चिनाइ विभिन्न व्यक्तिलाई प्रयोग गर्ने गरेको र साहले विभिन्न कम्पनीका १५ थान सिम प्रयोग गरेको खुलेको पनि प्रहरीले बताएको छ । साहलाई उच्च अदालत विराटनगरबाट भएको ३ वर्ष कैद र ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ बिगो फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले बताएको छ । साह पक्राउ परेपछि अपराधबाट बच्न एकछिन भागे पनि सधैं उम्कन नसकिने दृष्टान्तको पुनःपुष्टि भएको भन्दै डीएसपी पन्थीका कार्यशैलीले चर्चा र प्रशंसा भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies