काठमाडौं : आकर्षक तलब पाउने लोभमा वैदेशिक रोजगारीका लागि रुस पुगेका एक व्यक्ति त्यहाँको विमानस्थलबाट फर्काइएपछि आफू ठगिएको चाल पाएका छन् ।
लमजुङ दूधपोखरी गाउँपालिका-१ घर भई हाल काठमाडौँ टोखा बस्ने विनिता गुरुङले एसएलसी उत्तीर्ण हुन नसकेका भीमबहादुर बुढालाई नक्कली कागजातसमेत बनाएर वैदेशिक रोजगारीका लागि रुस पठाइदिने बहानामा ठगी गरेको पाइएको हो ।
रुस जान रु छ लाख ५० हजार लाग्ने तथा त्यहाँ पुगेपछि रसिया सैनिकमा काम लगाइदिने र त्यसबापत मासिक रु तीन लाख तलब हुन्छ भनी विश्वासमा पारी ती महिलाले तीन लाख ४६ हजार लिएर ठगी गरेको प्रहरीको भनाइ छ ।
विनिताले उक्त भिसाका लागि आवश्यक सबै सर्टिफिकेटलगायत कागजात नक्कली बनाएको र एक हजार डलर साटेको देखाई उक्त डलर बसपार्कबाट आफैँ लिएका थिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर निजलाई रसिया पठाइएको अनुसन्धानका क्रममा पत्ता लागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनलाई रसिया पुगेपश्चात विमानस्थलबाट नक्कली कागजात भएको भनी फिर्ता पठाइएपछि मात्रै पीडितले आफू ठगिएको पत्ता पाएका थिए । त्यसपछि फर्किएर पीडितले वैदेशिक रोजगार विभाग ठगिएको भनी निवेदन दिएका थिए । विभागको पत्रअनुसार कार्यालयको प्रहरी टोलीले ठगी गरी फरार रहेकी विनिता गुरुङलाई काठमाडौंको बाँनियाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको रेग्मीले जानकारी दिए ।
रेग्मीले ठगी गरी विदेश पठाउनेको गिरोह नै रहेकाले त्यस्ता व्यक्तिको लोभमा नफस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
रेशम राज पौडेल/मध्यान्ह
यूएई : खोटाङका नेत्र बहादुर राई दुबई विमानस्थलको ड्युटी फ्रि सपमा तीन लिटर रेड लेबलको प्याक खरिद गरेपछि पनि बेचैन थिए । अफगानिस्तानबाट रोजगार गरी स्वदेश फर्कंदै गरेका राई थप तीन लिटरको प्याक खरिद गरी एकैसाथ ६ बोतल रेड लेबल नेपाल ल्याउन चाहन्थे । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना यात्रुलाई एक लिटर मदिरा बिना भन्सार ल्याउने छुट भएपनि राई साथमा आएका अन्य नेपाली यात्रुको सहयोगमा उक्त मदिरा भित्र्याउने योजनामा थिए ।
वैदेशिक रोजगारका लागि इराक पुगेर फर्केका पोखराका श्याम बरालले पनि तीन बोतलको रेड लेबलको प्याक खरिद गरे । साढे दुई वर्ष इराकमा काम गरेका बरालले आफन्तलाई उपहार दिन र साथीहरूको जमघटमा रमाइलो गर्न ह्वीस्की लैजान लागेको बताए ।
सर्लाही हरिपुरका मिश्री धानुक पनि राई र बरालसँगसँगै ड्युटी फ्रि को रेड लेबल खरिद गरी घर लैजाने योजनामा थिए । उनले भने, ‘साथीहरूबाट यहाँ ड्युटी फ्रि सपमा सस्तो रेड लेबल पाउने सुनेको थिएँ । अघिल्लो पटक नेपाल जाँदा पनि लगेको थिएँ, यस पटक पनि लैजानुपर्छ ।’
मिश्री, राई र बराल मात्रै होइन वैदेशिक रोजगार र भिजिट भिसामा यूएई वा त्यस क्षेत्रमा गएका अधिकांश नेपालीले सस्तोमा पाउने लोभमा आफ्नो पसिनाको कमाइको एकहिस्सा रकम महंगो मदिरामा खन्याउने गरेका छन् ।
उक्त विमानस्थलबाट वार्षिक ९० मिलियन यात्रुहरू आउजाउ गर्ने गरेका छन् । त्यसमा नेपालीको संख्या करिब ५ लाखमात्रै छ । तर ड्युटी फ्रिको मदिरा पसलका मुख्य ग्राहक न्यूनतम तलबमा काम गर्ने नेपाली कामदार रहने गरेका छन् ।
राष्ट्रियताका दृष्टिकोणले ग्राहकको पहिचान गर्ने हो भने नेपाली अग्रपंक्तिमा आउने ड्युटी फ्रि सपका क्यासिएर फिलिपिनी कामदार वालाङ् पासो बताउँछन् । राष्ट्रियताका दृष्टिले तपाईंका ग्राहक कुन देशका धेरै छन् भन्ने मध्यान्ह दैनिकको प्रश्नमा फिस्स हाँस्दै वालाङ्ले भने, ‘मे बि नेपाली ।’ अर्थात सम्भवतः नेपाली । ड्युटी फ्रिको मदिराका पारखीहरु वैदेशिक रोजगारमा गएका न्यून तलबका कामदारदेखि कुटनैतिक, पारिवारिक तथा पर्यटकीय उद्देश्यले उक्त विमानस्थल प्रयोग गर्ने राम्रो आर्थिक हैसियतमा रहेका नेपाली हुने गरेको पनि वालाङ् बताउँछन् ।
वालाङ् क्यासियर मात्रै हुन् । उनीभन्दा माथिल्लो पदमा काम गर्ने म्यानेजर पनि नेपाली नै रहेका छन् । उनले आकर्षक शैलीमा मदिराको बयान गर्ने र नयाँ प्याकेज अन्तर्गत केही दिनका लागि मात्रै छुटमा दिएको भनेर मदिरा पारखीहरूलाई सकेसम्म धेरै बोतल किन्न प्रेरित गर्ने गर्दछन् । जसले गर्दा नेपालमा दैनिक ठूलो परिमाणमा अनावश्यक मदिरा भित्रने गरेको छ ।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री नेपालमा रहेको मदिरा संस्कृतिको दुष्प्रभावले सस्तोमा पाउने लोभमा कामदारहरू परिश्रमको कमाइ खन्याउन हौसिने प्रवृत्ति रहेको बताउँछन् । घर बिदामा स्वदेश फर्किंदै गरेका राजदूत क्षेत्रीले भने, ‘नेपालबाट वैदेशिक रोजगारमा जानु अघिको अभिमुखीकरण तालिममा यस विषयमा पर्याप्त जानकारी नदिएका कारण नेपाली कामदार मदिराको आशक्तिमा परेको देखिन्छ । महंगो मूल्यको मदिरा किन्नु उचित होइन भनि काममा जानेहरूलाई सिकाउन जरुरी छ ।’
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन फेरेर मन्त्रिपरिषद् पुनर्गठन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आफू मातहत राखेपछि विदेश भ्रणमा रहेका शरतसिंह भण्डारी बीच बाटोमै पदमुक्त भए । भण्डारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजित जव फेयरमा भाग लिन शुक्रबार श्रममन्त्रीको हैसियतमा त्यसतर्फ गएका थिए ।
शनिबार कार्यक्रमको औपचारिक उद्घाटन गरेका भण्डारी मंगलबार स्वदेश फर्किने तरखरमा थिए । तर त्यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरी मन्त्रालयको जिम्मेवारी आफैंले लिएपछि १२ पटक मन्त्रीको जिम्मेवारी सम्हालेका भण्डारी पदमुक्त भए । निवर्तमान मन्त्री भएपछि भण्डारी सोमबार नै स्वदेश फर्किए ।
फ्रि भिसा फ्रि टिकटको करिब दश वर्ष पुरानो निर्णय अव्यवहारिक भएकाले त्यसलाई परिवर्तन गरी वैदेशिक रोजगार व्यवसायीले लामो समयदेखि उठाउँदै आएको मागबमोजिम कामदारको एक महिनाको तलब बराबरको सेवा शुल्क तोकिनुपर्ने मान्यता राख्दै आएका उनी उक्त दूरगामी महत्वको कामलाई पूर्णता दिन नपाउँदै जिम्मेवारीबाट बाहिरिन बाध्य भए ।
उनको कार्यकालमा इजरायल तथा जापानमा निजी क्षेत्रका म्यानपावर कम्पनीबाट कामदार पठाउन पाउने निर्णय भने भएका छन् । कार्यान्वयनमा आइनसकेको भएपनि भण्डारीको कार्यकालमा विदेशस्थित नेपाली दूतावासमा १५ दिनसम्म पनि प्रमाणीकरण नभएका मागपत्र श्रम मन्त्रालयबाट प्रमाणीकरण गर्ने निर्णय पनि भएको थियो ।
वैदेशिक रोजगारको तत्कालै विकल्प नभएकोमा ‘कन्भिन्स’ देखिएका निवर्तमान मन्त्री भण्डारी वैदेशिक रोजगार क्षेत्रलाई स्वच्छ, मर्यादित र व्यवस्थित गर्न व्यवहारिक नीतिका पक्षमा उभिएका थिए ।
भण्डारी बाहिरिएपछि निवर्तमान श्रममन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल मन्त्रिपरिषदमा भित्रिएका छन् । उनैले श्रम मन्त्रालयको जिम्मेवारी पाउने या नपाउने भन्नेबारे एकिन भने भएको छैन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्या र समाधानका विषय प्राविधिक प्रकृतिको भएको र लामो समय लगाएर समस्या बुझाएको मन्त्री पदबाट बाहिरिँदा नयाँ मन्त्रीलाई पुनः प्रारम्भिक चरणबाट जानकारी गराउँदा समय लाग्ने अवस्था उत्पन्न हुनु चिन्ताको विषय भएको बताए ।
मलेसिया : मलेसियाले अवैधानिक अवस्थामा रहेका ६ लाखभन्दा बढी विदेशी कामदारलाई स्वदेश फिर्ता गर्ने कार्यक्रममा बिचौलियाको चलखेल निषेध गरिने बताएको छ । मलेसियाले मार्च १ तारिकबाट शुरुवात भएको घर फिर्ताको कार्यक्रम आगामी डिसेम्बर ३१ तारिकसम्म जारी राख्ने बताएको छ ।
त्यस अवधिमा आवश्यक कागजपत्रविहीन ६ लाखभन्दा बढी विदेशी कामदारलाई कानूनी कारबाही अर्थात जरिवानाबिना नै स्वदेश फर्किन मौका दिइएको छ । उनीहरुलाई अध्यागमन ऐनअन्तर्गत केही अपराधहरुका लागि मात्र जरिवाना हुने मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले बताएका छन् । गृहमन्त्री सैफुद्दीनले अवैधानिक अवस्थामा रहेका आप्रवासीहरुले घर फिर्ती कार्यक्रममा सहभागी हुन प्रयोग गर्ने एजेन्टको सेवा प्रतिबन्ध गरिएको बताए । एजेन्टहरुले स्वदेश फर्किन चाहने विदेशी कामदारलाई ठगी गर्ने नियतले अध्यागमन कार्यालयमा दर्ता शुल्क लाग्ने बताएर लेनदेन गर्ने गरेकोे भन्दै उनले घर फिर्ती कार्यक्रममा निवेदन दिन आफैं आउन अवैधानिक अवस्थाका कामदारलाई आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘सरकारले एजेन्टहरु वा तेस्रो पक्षबाट गरिने कुनै पनि अनुरोधलाई स्वीकार गर्दैन, यो कार्यक्रमले ओभरस्टे भएका वा मान्य अनुमति नभएका विदेशीहरुलाई स्वदेश फर्किन अवसर प्रदान गर्दछ । आप्रवासी स्वदेश फिर्ता कार्यक्रमको उद्देश्य कागजात नभएका विदेशी कामदारहरुलाई स्वेच्छिकरुपमा स्वदेश फर्कन अनुमति दिने हो ।
काठमाडौं : राजनीतिक परिवर्तनका कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी विदेश भ्रमणकै क्रममा पदमुक्त हुने भएका छन् । नेपाल वैदेशिक राेजगार व्यवसायी संघद्वारा संयुक्त अरब इमिरेट्स (यूएई) मा आयाेजित जव फेयर उद्घाटनका लागि गएका मन्त्री भण्डारी यूएईमै छन् ।
मंगलबार स्वदेश फर्किने तरखर गररिहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साेमबार नै नयाँ गठबन्धन गर्दै मन्त्रिपरिषद पुनर्गठनकाे निर्णय लिएपछि श्रममन्त्री भण्डारी पदमुक्त हुन लागेका हुन् ।
फ्रि भिसा फ्रि टिकटको करिब दश वर्ष पुरानो निर्णय अव्यवहारिक भएको मान्यता राख्दै आएका मन्त्र भण्डारी त्यसलाई पूर्णता दिन नपाउँदै बाहिरिन बाध्य भएका हुन् । उनकाे कार्यकालमा इजरायल तथा जापानमा निजी क्षेत्रबाट कामदार पठाउन पाउने निर्णय भने भएका छन् । मन्त्री भण्डारी वैदेशिक राेजगारलाई स्वच्छ, मर्यादित र व्यवस्थित गर्न व्यवहारिक नीतिका पक्षमा उभिएका थिए ।
मदनकुमार श्रेष्ठ/मध्यान्ह
यूएई : विभिन्न कारणले पुग्ने नेपालीको संख्या बढ्दै जाँदा यूएईको दुबईमा कन्सुलर कार्यालयको माग बढेको छ । यूएईको दुबई तथा बरदुबई क्षेत्रमा वैदेशिक रोजगारी, भिजिट वा व्यवसायका लागि गएका नेपालीको उपस्थिति दिन प्रतिदिन बाक्लिँदै गएको छ ।
नेपाली कामदार र व्यवसायीले मात्रै नभएर नेपालबाट औपचारिक भ्रमणमा जाने मन्त्रीदेखि प्रधानमन्त्रीसम्म तथा यूएईस्थित नेपाली दूतावासले पनि दुबईमा कन्सुलर कार्यालयको माग गर्ने गरेको छन् । विदेशमा रहने नेपालीले नयाँ राहदानी बनाउने र नवीकरण गर्ने, ट्राभल्स डकुमेन्ट बनाउने, मागपत्र प्रमाणीकरण गर्ने, अधिकृत वारेसनामा प्रमाणित गर्ने, मृतकको शव स्वदेश पठाउने, क्षतिपूर्तिका लागि पहल गर्नेलगायतका सेवा प्रदान गर्ने गरेको छ । त्यसमध्ये राहदानी नवीकरणको काम पछिल्ला महिनामा ठूलो संख्यामा हुने गरेको छ ।
यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री दुबईमा कन्सुलर कार्यालय स्थापनाका लागि नेपाली उच्चस्तरीय प्रतिनिधिहरुका सबै भ्रमणमा यस विषयमा पटक–पटक आग्रह गरेको र बजेट विनियोजनका लागि परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पनि लिखत अनुरोध गरिएको बताउँछन् । राजदूत क्षेत्रीले यूएईमा कामदारको संख्या बढेसँगै राहदानी नवीकरण गर्नेहरु बढेका कारण पनि सेवा प्रवाहमा चाप रहेको बताए ।
दुबईमा कन्सुलर कार्यालय स्थापना भएमा दूतावासले प्रदान गर्ने सेवा लिनका लागि अबुधाबीसम्म जाने यातायात खर्च र समयको बचत भइ नेपालीलाई राहत हुने पनि राजदूत क्षेत्रीले मध्यान्हलाई बताए ।
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा यूएईमा आयोजित जव फेयरमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीको व्यापक खोजी भयो ।
जव फेयरको उद्घाटन शत्रमा वैदेशिक रोजगार बोर्डको काम, कर्तव्य र अधिकारबारे प्रष्ट्याएका कार्यकारी निर्देशक उप्रेती श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीद्वारा वैदेशिक रोजगार व्यवसायीका स्टल अवलोकन गर्ने समयमा देखा नपरेपछि सचिव केवल प्रसाद भण्डारीलगायतले सोधखोज गरे । तर कार्यक्रमस्थलमा नदेखिएपछि कतिपयले उनी डेजर्ट सफारीमा गइसकेको बताए ।
यसअघि मलेसियाको निजी क्षेत्रसँग गरेको सम्झौताका कारण उप्रेती विवादमा आएका थिए । ओमानमा आयेजित गैर आवाशीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय सम्मेलनका बेला सॉझको एक कार्यक्रममा सहभागी नभइ डा. उप्रेती रात्रीकालिन मनोरन्जनमा ब्यस्त थिए । कतिपयले जव फेयरमा पनि बोर्डको भूमिका आवश्यक प्रभावकारी नभएको टिप्पणी गरेका छन् ।
मदनकुमार श्रेष्ठ, रेशम पौडेल/मध्यान्ह
दुबई, यूएई : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मर्यादित र स्वच्छ प्रक्रियाको पुुनः परिभाषित गरेर वैदेशिक रोजगारलाई सम्मानित बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार बोर्डको सहकार्यमा यूएईमा आयोजना गरेको रोजगार मेला ‘जव फेयर २०२४’को उद्घाटन गर्दै मन्त्री भण्डारीले उक्त भनाइ राखेका हुन् ।
मन्त्री भण्डारीले यूएईले हासिल गरेकोे विश्वस्तरको उपलब्धिमा नेपाली कामदारको उच्च योगदान रहेकोे भन्दै नेपाली कामदारको सम्मान र सुविधा वृद्धि गरिनुपर्ने बताए । विज्ञान र प्रविधिको प्रयोगले अवसर र चुनौती दुवै सिर्जना गरेकाले चुनौतीको सामना गर्न बजारको मागअनुसार श्रमिकको सीप क्षमताको विकासमा नेपालले लगानी गर्न चाहेको बताए ।
उनले भने, ‘हामी कामदारको अधिकार, सुरक्षा र सम्मानको विषयमा पारदर्शी क्लिन एण्ड क्लियर होस् भन्ने चाहन्छौं ।’ मन्त्री भण्डारीले सुरक्षाको वातावरण र द्विपक्षीय सम्झौता भए हाल पुरुष कामदार पठाइएको घरेलु काममा महिला पनि पठाउन नेपाल तयार रहेकोे प्रष्ट पारे ।
रोजगार मेलामा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, यूएईका श्रम डिभिजन प्रमुख अहमेद अल यासी, इन्टरनेशनल रिलेसन स्पेसियालिष्ट अब्दुल लाजिज अल शामसीले नेपाली कामदारको सीप, उनीहरुले निर्वाह गर्ने जिम्मेवारीको भूमिकाका बारेमा आ–आफ्ना धारणा राखे ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले रोजगारदाताहरुसँग नेपाली म्यानपावर व्यवसायीहरुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न जव फेयर आयोजना गरिएको बताए । कार्यक्रममा संघका कार्यसमिति सदस्य नारायण भुषालले पावर प्वाइन्ट प्रिजेन्टेशनमार्फत नेपालको समग्र श्रम जनशक्तिको विषयमा जानकारी गराए ।
रोजगार मेलामा ६४ म्यानपावर कम्पनी र कर्मचारीसहित १ सय १० जनाभन्दा बढीको सहभागिता रहेकोे थियोे । जव फेयरका संयोजक, संघका प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर डिक बहादुर खत्रीले जव फेयरमा नेपालका नयाँ तथा पुराना व्यवसायी उत्तिकै उत्साहका साथ सहभागी भएको बताए ।
मन्त्री भण्डारीले जव फेयरमा रहेका सम्पूर्ण स्टल अवलोकन गरी उत्साहित भइ काम गर्न र नयाँ अवसरको खोजी गर्न आग्रह गरे ।
अग्रज व्यवसायी दि रिभर ओभरसिज प्रा.लि.का सञ्चालक रघुनाथ पुरीले नेपालीका लागि धेरै क्षेत्रमा रोजगारीको सम्भावना भएपनि बिचौलियाहरुका कारण समस्या रहेको अवस्थामा त्यसको निराकरणका लागि जव फेयरले सहयोग गर्ने बताउँदै नेपालबाट एक–एक वर्षको अन्तरालमा जव फेयर गर्नु उचित हुने बताए ।
कञ्चन ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक किरणकिशोर घिमिरेले दीर्घकालीनरुपमा नेपाली कामदारको हित हुने भएकाले जव फेयरको महत्व रहेकोे बताए ।
जव फेयरमा यूएईस्थित रोजगारदाताहरु, सबै स्टेटका चेम्बरहरु, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, बिजनेस कम्युनिटी, एचआर एशोसिएसन र आधिकारिक नेपाली चेम्बरहरुसहित स्थानीय रोजगारदाताहरुलाई अवलोकनका लागि आमन्त्रण गरिएको थियोे । तर राजदूत क्षेत्रीले समय चापले अपेक्षित तयारी पूरा हुन नसकेका कारण अपेक्षित संख्यामा रोजगारदाता सहभागी नभएको बताए ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नेपालले १७ वर्षअघि २००७ को जुन ६ तारिकमा यूएईमै जव फेयर आयोजना गरेको थियोे । नेपाली दूतावास यूएईमा कार्यरत काउन्सिलर श्रम दीनबन्धु सुवेदीले यूएईको रोजगारीमा प्रविधिको प्रयोगका कारण धेरै परिवर्तन भएकाले जव फेयर छोटो समयमा हुनुपर्ने बताए ।
उनले नेपालले १७ वर्षको अन्तरालमा जव फेयर गरेपनि फिलिपिन्सजस्ता कामदार पठाउने मुलुकले छिटोछिटो जव फेयर गरेर रोजगारदाताहरुलाई आफ्नोे देशमा रहेका जनशक्तिको बारेमा जानकारी गराउने गरेका कारण उक्त मुलुकले लाभ उठाएको बताए । नेपालबाट पररम्परागत निर्माण कामदार, सुरक्षागार्ड, सर्भिस तथा हस्पिटालिटी क्षेत्रमा गरी ५ लाख बढीले काम गरिरहेको पनि काउन्सिलर श्रम सुवेदीले जानकारी दिए ।
यूएई नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकका रुपमा रहेको छ । यूएई र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ । सम्झौतामा कामदारले कुनै पनि शुल्क भुक्तानी गर्नु नपर्ने भनिएपनि रोजगारदाताको कमीकमजोरीका कारण कतिपय अवस्थामा कामदार शुल्क तिरेर जाने गरेका छन् ।
जव फेयरमा यूएईमा कामदार पठाउने म्यानपावर कम्पनीसहित मलेसिया र युरोपेली मुलुकमा शून्य लागतमा कामदार पठाउने वैदेशिक रोजगार व्यवसायीहरुले पनि स्टल बुकिङ गरेका थिए । आयोजक संघको बारम्बार आग्रहका बाबजुत स्टल बुकिङ नगरेका केही व्यवसायीले भने बाहिर–बाहिर कार्ड बाँड्ने र खानाका लागि प्लेट थाप्न अरु भन्दा अगाडी सर्ने गरेको पनि देखिएको थियो ।
मदनकुमार श्रेष्ठ/रेशम राज पौडेल
दुबई, यूएई : वैदेशिक राेजगार व्यवसायीबीच चीर प्रतिक्षित यूएई राेजगार मेला `जव फेयर´ २०२४ प्रारम्भ भएको छ । राेजगार मेला आयाेजना गरिएको हाेटल मरिनामा ६४ व्यवसायीले स्टल राखेका छन् ।
श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले स्थानीय समय अनुसार मध्यान्ह १२ बजे औपचारिक उद्घाटन गर्ने र यूएईका मानव संसाधन तथा ईमिराईटेशन मन्त्री अब्दुलमानन अल अवार तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राेजगार मेलामा सचिव केवल प्रसाद भण्डारी वैदेशिक राेजगार वाेर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती उपस्थित छन् । नेपाली प्रतिनिधि मण्डल सहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार यूएई आइपुगेकाे छ।
नेपाली राजदूत तेजवहादुर क्षेत्री र बाेर्डका निर्देशक टिकाराम ढकाल सहभागी छन् । जव फेयरमा यसअघि यूएईमा कामदार पठाउने म्यानपावर कम्पनी सहित मलेसिया र युरोपेली मुलुकमा शुन्य लागतमा कामदार पठाउने वैदेशिक राेजगार व्यवसायीहरूले पनि स्टल बुकिङ गरेका छन् । आआफ्ना स्टल मार्फत यूएईमा पठाउन सक्ने श्रम जनशक्तिको बारेमा यूएईका राेजगारदातालाई जानकारी गराउनेछन् ।
स्टलमा म्यानपावर कम्पनीका सञ्चालक र कर्मचारी सहित एक सय दशजना भन्दा बढीको सहभागिता हुने जव फेयरका संयाेजक, संघका प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय काेअर्डिनेटर डिक बहादुर खत्रीले जानकारी दिए। जव फेयरमा नेपालका नयाँ तथा पुराना व्यवसायी उत्तिकै उत्साहका साथ सहभागी छन् । अग्रज व्यवसायी दि रिभर ओभरसिज प्रा लि का सञ्चालक रघुनाथ पुरीले नेपालीका लागि धेरै क्षेत्रमा राेजगारीकाे संभावना भएपनि विचाैलियाहरूका कारणले समस्या अवस्थामा त्यसको निराकरणका लागि जव फेयरले सहयोग गर्ने भएकोले नेपालबाट एकएक बर्षकाे अन्तरालमा जव फेयर गर्नु उचित हुने बताए ।
कन्चन ह्युमन रिसाेर्स प्रा.लि.का सञ्चालक किरणकिशाेर घिमिरेले दीर्घकालीन रूपमा नेपाली कामदारको हित हुने भएकोले जव फेयरकाे महत्त्व रहेकोे बताए ।
संघले पनि राेजगारदाताहरूसँग नेपाली म्यानपावर व्यवसायीहरूकाे प्रत्यक्ष सम्बन्ध स्थापित गर्न जव फेयर आयाेजना गरिएको बताएको छ। शनिबारको जव फेयरमा संघले पावर प्वाइन्ट प्रिजेन्टेसन मार्फत नेपालकाे समग्र श्रम जनशक्तिको विषयमा जानकारी गराउने तयारी गरेको महासचिव दता मेला मुल आयाेजक समिति सदस्य सचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।
यूएईस्थित नेपाली राजदूतावासको सहकार्य रहेकाे जव फेयरमा यूएईस्थित रोजगारदाताहरु, सवै स्टेटका चेम्वरहरु, ईण्डियन ईन्भेष्टमेन्ट ग्रूप, बिजनेस कम्युनिटी , एचआर एशाेसिएसन र आधिकारीक नेपाली चेम्वरहरू सहित स्थानिय राेजगारदाताहरूले अवलोकन गर्ने तय भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।
नेपालले नेपाली कामदारका लागि नयाँ क्षेत्र खाेजी गर्न १७ बर्षअघि २००७ काे जुन ६ तारेखमा जव फेयर गरेकाे थियोे ।त्यसपछि यूएईकाे विकास तथा व्यापारीक्षेत्रमा ठूलो परिवर्तन भएपनि नेपालले जव फेयर गरेर बदलिएको परिस्थितिकाे अपडेट लिएको र राेजगारदातालाई नेपालमा उपलब्ध श्रम जनशक्तिको बारेमा जानकारी गराउन पाएको छैन । नेपाली राजदूतावास यूएईमा कार्यरत काउन्सिलर श्रम दीनबन्धु सुवेदीले यूएईकाे राेजगारीमा प्रविधिको कारण धेरै परिवर्तन भएकोले जव फेयर छाेटाे समयमा हुनुपर्ने बताए । उनलेे नेपालले १७ बर्षकाे अन्तरालमा जव फेयर गरेपनि फिलिपिन्स जस्ता कामदार पठाउने मुलुकले छिटोछिटो जव फेयर गरेर राेजगारदाताहरूलाई आफ्नोे देशमा रहेकोे जनशक्तिको बारेमा जानकारी गराउने गरेका कारणले उक्त मुलुकले लाभ उठाएको बताए ।
नेपालबाट पररम्परागत निर्माण कामदार , सुरक्षागार्ड , सर्भिस तथा हस्पिटिल्यालिटी क्षेत्रमा गरि ५ लाखबढीले कामलगरिरहेकाे पनि काउन्सिलर श्रम सुवेदीले जानकारी दिए । यूएई नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकका रूपमा रहेको छ। यूएई र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ ।संझाैतामा कामदारले कुनै पनि शुल्क भुक्तानी गर्नु नपर्ने भएपनि रोजगारदाताको कमिकमजोरीका कारण कतिपय अवस्थामा शुल्क तिरेर जाने गरेका छन् ।
यूएईबाट मदनकुमार श्रेष्ठ, रेशमराज पौडेल/मध्यान्ह
वैदेशिक रोजगार व्यवसायीबीच चीर प्रतीक्षित यूएई रोजगार मेला ‘जव फेयर’ २०२४ शनिवार प्रारम्भ हुँदैछ । मेला उद्घाटनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीसहितको सरकारी प्रतिनिधिमण्डल शुक्रबार साँझ अबुधाबी आइपुगेको छ ।
यूएईका मानव संशाधन तथा इमिराइटेशन मन्त्री अब्दुलमानन अल अवारले पनि सम्बोधन गर्ने कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री र बोर्डका निर्देशक टिकाराम ढकाल पनि सहभागी हुने आयोजक नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव तथा मूल आयोजक समितिका सदस्य सचिव मेघनाथ भुर्तेलले मध्यान्हलाई जानकारी दिए । मेलाको सम्पूर्ण तयारी पूरा भएको र व्यवसायीको उत्साहजनक सहभागिता रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
जव फेयरमा ६६ वैदेशिक रोजगार व्यवसायीले भाग लिन स्टल बुक गरेका छन् । यूएईमा कामदार पठाउने म्यानपावर कम्पनीसहित मलेसिया र युरोपेली मुलुकमा शून्य लागतमा कामदार पठाउने वैदेशिक रोजगार व्यवसायीहरुले पनि स्टल बुकिङ गरेर जव फेयरको महत्व र आकर्षण बढाएका छन् । व्यवसायीले आ–आफ्ना स्टलमार्फत यूएईमा पठाउन सक्ने श्रम जनशक्तिका बारेमा यूएईका रोजगारदाताहरुलाई जानकारी गराउनेछन् ।
संघले पावर प्वाइन्ट प्रिजेन्टेसनमार्फत नेपालको समग्रमा श्रम जनशक्तिको विषयमा जानकारी गराउने तयारी गरेको महासचिव भुर्तेलले जानकारी दिए । स्टलमा म्यानपावर कम्पनीका सञ्चालक र कर्मचारीसहित सय जनाभन्दा बढीको सहभागिता हुने जव फेयरका संयोजक, संघका प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर डिक बहादुर खत्रीले बताए ।
यूएईस्थित नेपाली दूतावाससँगको सहकार्य रहेको जव फेयरमा यूएईस्थित रोजगारदाताहरु, सबै स्टेटका चेम्बरहरु, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, बिजनेस कम्युनिटी, एचआर एशोसिएसन र आधिकारिक नेपाली चेम्बरहरुसहित सयभन्दा बढी स्थानीय रोजगारदाताहरुले अवलोकन गर्ने तय भएको पनि संयोजक खत्रीले जानकारी दिए ।
यूएईमा नेपालीका लागि धेरै क्षेत्रमा रोजगारीको सम्भावना भएपनि विचौलियाहरुका कारण समस्या रहेको र त्यसको निराकरण गरेर अन्य रोजगारदाताहरुसँग नेपाली म्यानपावर व्यवसायीहरुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न जव फेयर आयोजना गरिएको संघले बताएको छ । मेला मूल आयोजक समितिका संयोजक खत्री तथा संघको यूएई संयोजक नारायण भुसाललगायत व्यवसायी तयारीका लागि एक हप्ता अगाडिदेखि यूएई रहेर तयारी गरेका छन् भने अध्यक्ष राजेन्द्र भण्डारी तथा महासचिव भुर्तेलसहितको व्यवसायी टोली बुधबार यूएई आएको थियो ।
नेपालले नेपाली कामदारका लागि नयाँ क्षेत्र खोजी गर्न १७ वर्षअघि २००७ को जुन ६ तारिकमा दुबईमै जव फेयर गरेको थियो । त्यसपछि यूएईको विकास तथा व्यापारी क्षेत्रमा ठूलो परिवर्तन भएपनि नेपालले जव फेयर गरेर बदलिएको परिस्थितिको अपडेट लिने र रोजगारदाताहरुलाई नेपालमा उपलब्ध श्रम जनशक्तिका बारेमा जानकारी गराउन पाएको छैन ।
यूएईस्थित नेपाली दूतावासमा कार्यरत काउन्सिलर श्रम दीनबन्धु सुवेदीले यूएईको रोजगारीमा प्रविधिका कारण धेरै परिवर्तन भएकाले जव फेयर छोटो समयमा हुनुपर्ने बताए । उनले नेपालले १७ वर्षको अन्तरालमा जव फेयर गरेपनि फिलिपिन्सजस्ता कामदार पठाउने मुलुकले छिटोछिटो जव फेयर गरेर रोजगारदाताहरुलाई आफ्नो देशमा रहेका जनशक्तिको बारेमा जानकारी गराउने गरेका कारण उक्त मुलुकले लाभ उठाएको बताए । नेपालबाट पररम्परागत निर्माण कामदार, सुरक्षागार्ड, सर्भिस तथा हस्पिटालिटी क्षेत्रमा गरी ५ लाख बढीले काम गरिरहेको पनि काउन्सिलर श्रम सुवेदीले मध्यान्हलाई बताए ।
यूएई नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकका रुपमा रहेको छ । यूएई र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ । सम्झौतामा कामदारले कुनै पनि शुल्क भुक्तानी गर्नु नपर्ने भएपनि रोजगारदाताको कमीकमजोरीका कारण कतिपय अवस्थामा कामदार शुल्क तिरेर जाने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies