यूएईबाट मदनकुमार श्रेष्ठ, रेशमराज पौडेल/मध्यान्ह
वैदेशिक रोजगार व्यवसायीबीच चीर प्रतीक्षित यूएई रोजगार मेला ‘जव फेयर’ २०२४ शनिवार प्रारम्भ हुँदैछ । मेला उद्घाटनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीसहितको सरकारी प्रतिनिधिमण्डल शुक्रबार साँझ अबुधाबी आइपुगेको छ ।
यूएईका मानव संशाधन तथा इमिराइटेशन मन्त्री अब्दुलमानन अल अवारले पनि सम्बोधन गर्ने कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री र बोर्डका निर्देशक टिकाराम ढकाल पनि सहभागी हुने आयोजक नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव तथा मूल आयोजक समितिका सदस्य सचिव मेघनाथ भुर्तेलले मध्यान्हलाई जानकारी दिए । मेलाको सम्पूर्ण तयारी पूरा भएको र व्यवसायीको उत्साहजनक सहभागिता रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
जव फेयरमा ६६ वैदेशिक रोजगार व्यवसायीले भाग लिन स्टल बुक गरेका छन् । यूएईमा कामदार पठाउने म्यानपावर कम्पनीसहित मलेसिया र युरोपेली मुलुकमा शून्य लागतमा कामदार पठाउने वैदेशिक रोजगार व्यवसायीहरुले पनि स्टल बुकिङ गरेर जव फेयरको महत्व र आकर्षण बढाएका छन् । व्यवसायीले आ–आफ्ना स्टलमार्फत यूएईमा पठाउन सक्ने श्रम जनशक्तिका बारेमा यूएईका रोजगारदाताहरुलाई जानकारी गराउनेछन् ।
संघले पावर प्वाइन्ट प्रिजेन्टेसनमार्फत नेपालको समग्रमा श्रम जनशक्तिको विषयमा जानकारी गराउने तयारी गरेको महासचिव भुर्तेलले जानकारी दिए । स्टलमा म्यानपावर कम्पनीका सञ्चालक र कर्मचारीसहित सय जनाभन्दा बढीको सहभागिता हुने जव फेयरका संयोजक, संघका प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर डिक बहादुर खत्रीले बताए ।
यूएईस्थित नेपाली दूतावाससँगको सहकार्य रहेको जव फेयरमा यूएईस्थित रोजगारदाताहरु, सबै स्टेटका चेम्बरहरु, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, बिजनेस कम्युनिटी, एचआर एशोसिएसन र आधिकारिक नेपाली चेम्बरहरुसहित सयभन्दा बढी स्थानीय रोजगारदाताहरुले अवलोकन गर्ने तय भएको पनि संयोजक खत्रीले जानकारी दिए ।
यूएईमा नेपालीका लागि धेरै क्षेत्रमा रोजगारीको सम्भावना भएपनि विचौलियाहरुका कारण समस्या रहेको र त्यसको निराकरण गरेर अन्य रोजगारदाताहरुसँग नेपाली म्यानपावर व्यवसायीहरुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न जव फेयर आयोजना गरिएको संघले बताएको छ । मेला मूल आयोजक समितिका संयोजक खत्री तथा संघको यूएई संयोजक नारायण भुसाललगायत व्यवसायी तयारीका लागि एक हप्ता अगाडिदेखि यूएई रहेर तयारी गरेका छन् भने अध्यक्ष राजेन्द्र भण्डारी तथा महासचिव भुर्तेलसहितको व्यवसायी टोली बुधबार यूएई आएको थियो ।
नेपालले नेपाली कामदारका लागि नयाँ क्षेत्र खोजी गर्न १७ वर्षअघि २००७ को जुन ६ तारिकमा दुबईमै जव फेयर गरेको थियो । त्यसपछि यूएईको विकास तथा व्यापारी क्षेत्रमा ठूलो परिवर्तन भएपनि नेपालले जव फेयर गरेर बदलिएको परिस्थितिको अपडेट लिने र रोजगारदाताहरुलाई नेपालमा उपलब्ध श्रम जनशक्तिका बारेमा जानकारी गराउन पाएको छैन ।
यूएईस्थित नेपाली दूतावासमा कार्यरत काउन्सिलर श्रम दीनबन्धु सुवेदीले यूएईको रोजगारीमा प्रविधिका कारण धेरै परिवर्तन भएकाले जव फेयर छोटो समयमा हुनुपर्ने बताए । उनले नेपालले १७ वर्षको अन्तरालमा जव फेयर गरेपनि फिलिपिन्सजस्ता कामदार पठाउने मुलुकले छिटोछिटो जव फेयर गरेर रोजगारदाताहरुलाई आफ्नो देशमा रहेका जनशक्तिको बारेमा जानकारी गराउने गरेका कारण उक्त मुलुकले लाभ उठाएको बताए । नेपालबाट पररम्परागत निर्माण कामदार, सुरक्षागार्ड, सर्भिस तथा हस्पिटालिटी क्षेत्रमा गरी ५ लाख बढीले काम गरिरहेको पनि काउन्सिलर श्रम सुवेदीले मध्यान्हलाई बताए ।
यूएई नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकका रुपमा रहेको छ । यूएई र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ । सम्झौतामा कामदारले कुनै पनि शुल्क भुक्तानी गर्नु नपर्ने भएपनि रोजगारदाताको कमीकमजोरीका कारण कतिपय अवस्थामा कामदार शुल्क तिरेर जाने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies