काठमाडौंः नेपाली सेना र सशस्त्र प्रहरी बलले दशैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जानकारी गराएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादशैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार सडक सञ्जालको पहुँच पुगेका स्थानमा सवारीसाधन (बस) मार्फत चार सय २१ जनाले हालसम्म सेवा पाएका छन् । यस्तै सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रलगायत लामो दूरीका गन्तव्यमा हवाई उडानमार्फत छ सय पाँच जना गरी हालसम्म एक हजार २६ जना सकलदर्जा एवं आश्रित परिवारले सेवा पाएका जानकारी दिइएको छ । उक्त सुविधा सेनाले यही कात्तिक २ गतेसम्म उपलब्ध गराउने छ ।
सशस्त्र प्रहरीले भने निःशुल्करूपमा शुरु गरेको सेवा आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार सशस्त्र प्रहरी बल नेपालले बडादशैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई लक्षित गरी निःशुल्क दुई बस सञ्चालन गरेको छ ।
चाडपर्वका बेला घरबिदा जाने सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कन्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताए । यसअघि सशस्त्र प्रहरीले बडादशैँका अवसरमा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
काठमाडौंः जिल्ला प्रहरी परिसर काठमाडौंले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन अनुरोध गरिएको छ ।
नवलपरासीः जिल्ला प्रहरीले दश लाखबराबरको अवैधरूपमा ल्याइएका औषधि बरामद गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधि बरामद गरेको हो ।
दुईवटा कार्टुनमा राखेर अवैधरूपमा ल्याउँदै गरेको माईकोफेनोलेट, हेप्रिन इन्जेकसन पि, साइक्लोसपोरिन आइपी, माईकोफेनोलिक एसिड, टेलमिस्टार्टन, माईकोफोनोलेट, आर्थोरोपोईटिन इन्जेक्सन, डर्विपोइटिन अल्फा इन्जेक्सनलगायत औषधि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
ती औषधि नौ लाख ८१ हजार ६२ बराबरको रहेको उनको भनाइ थियो । भारतबाट एक व्यक्तिले पैदलै ल्याउँदै गरेको कार्टुनलाई प्रहरीले देख्नासाथ नजिक जाँदा औषधि छोडेर मान्छे फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद गरिएको उक्त औषधिलाई महेसपुरस्थित भन्सार कार्यालयमा पठाइएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मुस्ताङः मुस्ताङमा ५ वर्षीया वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लोमान्थाङ गाउँपालिका–३ बस्ने २६ वर्षीय जप्याङ गुरूङ बिहीबार बेलुकी पक्राउ परेका छन् ।
गुरूङले ती बालिकालाई थासाङ गाउँपालिका–२ स्थित विद्यालयको कक्षाकोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लोमान्थाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गोरखाः सत्तरी वर्षीया बृद्धाको हत्याका तीन अभियोगी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० वर्षीया बृद्धा सुनमाया लामाको हत्याका अभियोगीलाई जिल्ला अदालतको आदेशमा बिहीबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
कारागार चलान हुनेमा सोही ठाउँका २९ वर्षका कर्माछिरिङ लामा, १९ वर्षका साने भनिने सुपराज लामा र १९ वर्षकै अन्जय लामा गुरुङ रहेका छन् । गत भदौ २८ गते साँझ घरमा एक्लै भएको मौका छोपेर कर्मा र सुपराज मिलेर सुनमायाको हत्या गरेका थिए । अन्जयले भने हत्यापछि उनीहरू भगाउन भूमिका निर्वाह गरेको पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
हत्या भएको दुई दिनपछि भदौ ३० गते बिहान एककोठे कच्ची घरमा शङ्कास्पद अवस्थामा झुण्डिएको सुनमायाको शव फेला परेकाले आङ्शकामा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूले गरगहना लुटपाट गर्ने उेद्दश्यले वृद्धाको हत्या गरेको खुलेको उनको भनाइ थियो ।
प्रहरी निरीक्षक शेखर खड्को नेतृत्वको टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरूले भदौ २८ गते करिब साँझ ६ बजे सुनमायालाई घरमै घाँटीमा दुवैतिरबाट डोरीले कसेर हत्या गरी घटनालाई घटना ढाकछोप गर्न घरभित्र कोठाको बलोमा मृतकको शव झुण्ड्याएको पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले उल्लेख गरे । ।
हत्यापछि कर्मा र सुपराजले मृतकको कानमा रहेको सुनका रिङसमेत लुटेर भागेका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत तिनै जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान कसुरमा मुद्दा दायर गरेको थियो । सोही क्रममा अदालतले घटनामा संलग्न सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश थियो । रासस
काठमाडौंः काठमाडौं जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फर्छ्यौट गर्ने भएको छ ।
दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फर्छ्यौट गर्ने जनाएको हो । हाल उक्त अदालतमा दुई हजार नौ सय ८७ वटा दुई वर्ष पुराना मुद्दा छन् ।
अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं अदालतका जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले दुई वर्ष पुराना सबै मुद्दा असार मसान्तसम्ममा फर्छ्यौट गर्ने लक्ष्य रहेको र ती मुद्दामा पेसी स्थगित नहुने गरी सुनुवाइ गरिरहेको बताए । उक्त अदालतमा दुईवर्ष पुरानासहित हाल ३१ हजार तीन सय ३६ मुद्दा विचाराधीन छन् ।
मकवानपुरः हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई दुई लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही दुई लाखका दरले धरौटी माग गरेको थियो ।
अदालतले माग गरेको धरौटी बुझाएर छ जना बुधबार नै तारेखमा छुटेका जिल्ला अदालत मकवानपुरले जनाएको छ । हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकलाई भदौ २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा थप एकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका–१२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौँडा–१० बाट पक्राउ गरेको जनाएको छ ।
काठमाडौंः सांसदहरुले आसन्न दसैँ, तिहार, छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गरी सहजरुपमा उपभोग्य वस्तु उपलब्ध गराउने वातावरण बनाउन सरकार समक्ष माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले विगतका वर्ष झै यसवर्ष पनि दसैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा उपभोक्ता ठगिने गरेको, व्यापारीले कृतिम अभाव सिर्जना गरेर बजारमा उपभोग्य अभाव गराएकाले त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्न आग्रह गरे।
सांसद प्रदीप पौडेलले चाडबाडका बेला सधैँजसो बजारमा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना हुने गरेको र कालोबजारी मौलाउने गरेको भन्दै यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाही गरी उपभोग्य वस्तुसहज रुपमा उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।सांसद प्रतिमा गौतमले दसैँ, तिहार, छठ नजिकिएको र यात्रुहरु गन्तव्यतर्फ लागिरहेको अवस्थामा महँगो भाडादर तिर्नु परेको, अखाद्य वस्तुको उपभोग बढेको, बजारमा महँगी बढेको र कृतिम अभाव सिर्जना गरेको भन्दै महँङ्गी नियन्त्रण गराउन जोड दिइन् ।
सांसद पदम गिरीले चाडपर्वको मुखमा चिनीको कृतिम अभाव सिर्जना गरिएको र बजारमा कालोबजारी बढेकाले उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले स्थानीय तहका कर्मचारीको माग सम्बोधन गर्न सरकार समक्ष माग गरे । सांसद प्रेमबहादुर महर्जनले दसैँ नजिकिँदै जाँदा महँगी र अभाव हटाउन तथा गन्तव्यमा पुग्ने यात्रुलाई सहज यातायातको व्यवस्था मिलाउन माग गरे ।
सांसद बलराम अधिकारीले चाडपर्वको मुखमा स्थानीय कर्मचारीको समस्या सम्बोधन गर्न, उपभोग्य वस्तुको सहज आपूर्ति मिलाउनका लागि पहल गर्न आग्रह गरे । सांसद ठाकुर गैरेले पाल्पाली जनताले स्वास्थ्य बीमामार्फत स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारबारे आफूले सदनमा पटक–पटक कुरा उठउनाका साथै स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदा पनि जिल्लामा चिकित्सक अभाव रहेकामा कार्यान्वयनका लागि चासो नदिएको गुनासो गरे ।
उनले जिल्ला अस्पतालमा चिकित्सकका लागि अनेक पहल गर्दा बल्लबल्ल एक चिकित्सक पुगे पनि हालै अन्यत्र सरुवा गराइएकाले यस्तो अवस्था किन सिर्जना गरियो भने । उनले वीर अस्पतालमा सयौँ स्वास्थ्यकर्मी निष्कासित भएको, बिरामीलाई शय्या अभाव भएको तथा चिकित्सकहरुले राजिनामा दिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । सांसद डोलप्रसाद अर्यालले संविधानको व्यवस्थाअनुसार गैर आवासीय नेपालीले अहिले पनि नागकिरता पाउन नसकेको र लामो समयपछि नियमावली राजपत्रमा प्रकाशित भएको एक महिनासम्म पनि नागरिकता दिने तयारी नगरिएकामा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद तारा लामा तामाङले बझाङ्गी जनता अहिले पनि भूकम्पको त्रासमा रहेको अवस्थामा तिनलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन सरकार समक्ष माग गरिन् । यही असोज १६ गते बझाङमा छ दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो ।
त्यसैगरी सुदूरपश्चिममा दुग्ध विकास संस्थानले असारदेखि असोज महिनासम्म दुग्ध किसानलाई भुक्तानी नदिँदा दसैँको मुखमा किसानले पैसा नपाएर चिन्तित बनेकाले तत्काल भुक्तानीका लागि पहल गर्न माग गरे । सांसद दीपक खड्काले सङ्खुवासभाको अरुण तेस्रो मार्गमा पर्ने झङ्कुटी दिदिङ सडकखण्डमा मुआब्जा नपाएर ४१ दिनदेखि सडक सङ्घर्षमा रहेको रहेकाले दसैँको मुखमा उनीहरुलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद दामोदर पौडेल बैरागीले इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थी र सबै नेपालीको उद्धारका लागि सरकार तदरुकताका साथ लाग्नुपर्नेमा जोड दिए ।
काठमाडौंः काठमाडौंको बौद्धमा प्रहरीको गोली लागेर बिहीबार लुटेरा समूहका एक जना घाइते भएका छन् । योसँगै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनले भने, ‘लुटेरा समूहले हाम्रो प्रहरी टोलीमाथि आक्रमण गर्दा आत्मरक्षाका लागि जवाफी फायर गर्दा घनाल घाइते भएका हुन् ।’ घाइते भएका घनालको एनएम्स अस्पताल जोरपाटीमा उपचार भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यसैगरी उक्त घटनामा शान्त लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै उनीहरुको साथबाट सात राउण्ड गोली, एउटा पेस्तोलसहित दुई वटा मोटरसाइकल बरामद गरिएको प्रवक्ता रेग्मीले बताए
चितवनः चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो ।
नगरप्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको बताए । उनले नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजा पाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गरे ।
‘बजारमा प्रशस्त प्लास्टिकजन्य फूलको सामग्री हुन्छन्, किसानले उत्पादन गरेको फूलले बजार पाएका छैनन् । पालिकाले गरेको यस निर्णयले नगरभित्र उत्पादित फूलले बजार पाउने आशा छ’, सापकोटाले भने । प्लास्टिकजन्य फूल तथा मालासैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ ।
दसैँमा चितवन प्रहरी चौबिसै घण्टा हाइअलर्टमा
नजिकिँदै गरेको दसैँ, तिहार र छठमा चितवन प्रहरी चौबिसै घण्टा ‘हाइअलर्ट’मा रहने भएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरेर चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै चितवन प्रहरीले चाडपर्वमा भरपर्दो शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले बसपार्कलगायत मानिसको भीडभाड हुने ठाउँमा हाइअलर्टमा रहने जनाएको हो ।
चाडपर्वमा हुनसक्ने लुटपाट, डकैती, सवारी दुर्घटना र समाजमा हुनसक्ने चोरी, लुटपाट, मादक पदार्थ सेवन गरी होहल्ला, झै–झगडा, गुण्डागर्दी जस्ता आपराधिक गतिविधिहरुलाई दृष्टिगत गरी त्यस प्रकारका कुनै पनि घटना हुन नदिने तयारी प्रहरीको सुरक्षा योजनामा समावेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार समाजलाई भयमुक्त वातावरण बनाउने र कुनै अप्रिय घटना घटेमा तत्काल सुरक्षा कारबाही गरी भरपर्दो शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले चाडपर्व लक्षित विशेष सुरक्षा योजना निर्माण गरिएको हो ।
प्रनाउ पण्डितले सुरक्षा योजना सार्वजनिक गर्दै सहरका भीडभाड हुने ठाउँ र बसपार्कहरुमा चौबिसै घण्टा प्रहरी अलर्टमा रहने बताए । प्रहरीले बसपार्कमा यात्रुको पीरमर्का बुझ्न यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ । उनका अनुसार जिल्लामा पुलचोक, पोखरा बसपार्क, केन्द्रीय पारस बसपार्क, मुग्लिन बजारमा सहायता कक्षा रहने छन् ।
‘यस्तै चितवनका एक सय १७ टोलसुधारसँग समन्वय गरेर प्रहरीले सुरक्षाको रणनीति बनाइएको छ । प्रहरीको सुरक्षा योजनामा कमान्ड पोष्ट, रिजर्भ, स्ट्रइकिङ, क्युआरटी परिचालन, सिमानामा चेकजाँच, अस्पतालमा उद्धार टोली र १२ वटा समूहमा ट्राफिक सहितको संयुक्त चेकिङ हुनेछ’, प्रनाउ पण्डितले भने, ‘प्रहरीले दसैँतिहार र छठलाई लक्षित गरेर ठाउँठाउँमा सरप्राइज चेकिङ, सवारीसाधनद्वारा मोबाइल गस्ती, पैदल गस्ती, पिकेट डिउटी, राजमार्ग गस्ती सञ्चालन गर्नेछ ।’
प्रहरीले चितवनका धार्मिक र पर्यटकीयस्थलको सुरक्षा गर्नाका साथै बैङ्क, सुनचाँदी र आर्थिक कारोबार हुने स्थानको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ । सादा पोसाकमा चेकजाँच र बजार अनुगमन गर्नाका साथै मापसे चेकजाँचलाई पनि सञ्चालन गर्ने प्रहरीले जनाएको छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies