गोरखाः सत्तरी वर्षीया बृद्धाको हत्याका तीन अभियोगी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० वर्षीया बृद्धा सुनमाया लामाको हत्याका अभियोगीलाई जिल्ला अदालतको आदेशमा बिहीबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
कारागार चलान हुनेमा सोही ठाउँका २९ वर्षका कर्माछिरिङ लामा, १९ वर्षका साने भनिने सुपराज लामा र १९ वर्षकै अन्जय लामा गुरुङ रहेका छन् । गत भदौ २८ गते साँझ घरमा एक्लै भएको मौका छोपेर कर्मा र सुपराज मिलेर सुनमायाको हत्या गरेका थिए । अन्जयले भने हत्यापछि उनीहरू भगाउन भूमिका निर्वाह गरेको पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
हत्या भएको दुई दिनपछि भदौ ३० गते बिहान एककोठे कच्ची घरमा शङ्कास्पद अवस्थामा झुण्डिएको सुनमायाको शव फेला परेकाले आङ्शकामा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूले गरगहना लुटपाट गर्ने उेद्दश्यले वृद्धाको हत्या गरेको खुलेको उनको भनाइ थियो ।
प्रहरी निरीक्षक शेखर खड्को नेतृत्वको टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरूले भदौ २८ गते करिब साँझ ६ बजे सुनमायालाई घरमै घाँटीमा दुवैतिरबाट डोरीले कसेर हत्या गरी घटनालाई घटना ढाकछोप गर्न घरभित्र कोठाको बलोमा मृतकको शव झुण्ड्याएको पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले उल्लेख गरे । ।
हत्यापछि कर्मा र सुपराजले मृतकको कानमा रहेको सुनका रिङसमेत लुटेर भागेका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत तिनै जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान कसुरमा मुद्दा दायर गरेको थियो । सोही क्रममा अदालतले घटनामा संलग्न सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश थियो । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies