भक्तपुरः नेवार समुदायले बुधबार गुन्हुँपुन्ही पर्व मनाउँदैछ । नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ ।
गुन्हुँपुन्हीमा क्वाटी खानेमात्र नभई धानबारी, कुवा, इनार, धारालगायत खोलामा गएर भ्यागुतालाई पुज्ने र खाना खुवाउने परम्परा छ । साथै नेवार समुदायले यस दिन पञ्चतत्व अर्थात् होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । यसकारण एकै दिन दुई पर्व मनाउन व्यवहारिक कठिनाइ उत्पन्न भएकाले नगरपालिकाले सरोकारवालासँग आवश्यक छलफल गरी आज गुन्हुँपुन्ही मनाउने निर्णय गरेको थियो । सोहीअनुसार मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले पनि आजै गुन्हुँपुन्ही मनाउने निर्णय गरी नगरपालिका मातहतका कार्यालयमा सार्वजनिक बिदासमेत दिएको छ ।
नेवार समुदायमा गुन्हुँपुन्हीमा पञ्चतत्वसहितको डोरो बाँध्दा भूतप्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशतः क्षेत्री बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताए । नेवार समुदायमा डोरो बाँध्दा बलि राजाबाट रक्षा गरोस् भन्ने श्लोक वाचन गरी महिलाको बायाँ र पुरुषको दायाँ हातमा डोरो बाँध्ने गरिन्छ ।
नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा यसको नाम गुन्हुँपुन्ही रहन गएको र नवौँ महिना भएकाले नेवार समुदायले कम्तीमा नौ थरिका गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत नौ थरि गेडागुडीको मिश्रणबाट तयार गरिन्छ ।
रोपाइँ र धानबाली गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए । ‘खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् । यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो’, उनले भने ।
भ्यागुताको पूजा
श्रावण शुक्ल पूर्णिमाको अवसरमा नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरू प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् ।
वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर धानखेत र पानीको स्रोत भएका ठाउँमा गई भ्यागुतालाई पूजा गरी भोजन गराउने परम्परा रहेको प्रा.डा. श्रेष्ठ बताउँछन् । जसलाई स्थानीय भाषामा ‘ब्याचा जाः नक वानेगु’ भनिन्छ ।
‘मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो’, उनले भने ।
भक्तपुरका कुण्डमा मेला
जनैपूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला लागेको छ । भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको गोसाइँकुण्डकै प्रतीक मानिने प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरबार स्क्वायरस्थित शिलु महादेव (फसी देगः)को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।
कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् । गुन्हुँपुन्हीको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताए ।
कास्कीः कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उनले कोदोको पिठो सधैँ घट्टमै पिस्छिन् । उनी मात्र नभएर सिदिङ गाउँका अधिकांश कोदो पिसाउन घट्टमै धाउँछन् । पछिल्लो समयमा पानी नपुग्ने तथा भएका घट्टको संरक्षण नहुँदा देउकुमारी चिन्तामा छिन् ।
आफूले थाहा पाउने समयमा गाउँमै तीन घट्ट भएकामा अहिले एउटा मात्र चालु अवस्थामा रहेको उनले सम्झिइन् । ‘पहिले गाउँले सबैले घट्ट प्रयोग गर्थे । अहिले मिल आएको छ । त्यसले गर्दा यसको महत्व घट्दै गएको छ’, देउकुमारीले भनिन्, ‘हाम्रै गाउँमा पनि तीन घट्ट थियो । अहिले एउटा भत्किसक्यो । अर्को चल्दैन । अब एउटा बाँकी छ । यो पनि कहिलेबाट नचल्ने हुन्छ ।’
सिदिङकी सरस्वती अधिकारीको परिवारले अझैसम्म पानीघट्ट सञ्चालन गरेकी छिन् । परिवारको प्रमुख आयस्रोत पानीघट्टबाट हुने आम्दानी रहेको उनले बताइन् । ‘गाउँमा जग्गा/जमिन धेरै हुनेले खेती गर्छन्, हामीले घट्ट चलाउँछौँ’, अधिकारीले भनिन्, ‘प्रतिपाथी पिसेको अन्नको ज्यालाबापत तीन पाथीको दुई माना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ ।’
परम्परागतरुपमा अन्न पिसानीका लागि घट्ट, जाँतो, ओखल तथा ढिकी प्रयोग हुने गर्थ्यो । पुर्खाले प्रयोग गरेको पानीघट्टले पिसेको पिठो स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफूहरुले पनि यसलाई निरन्तरता दिएको उनको भनाइ थियो । प्रविधिको विकाससँगै बिजुलीबाट चल्ने मिलमा पिस्न छिटो हुने भएकाले पानीघट्टप्रतिको आकर्षण घटेको उनले बताइन् ।
विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा कास्कीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । कतिपय ग्रामिण भेगमा घट्ट लोप भइसकेको बताउँदै घट्ट सञ्चालिका अधिकारीले यसको संरक्षणका लागि सरकारी पक्षबाट योजना बनाउनुपर्नेमा जोड दिइन् ।
पछिल्लो समय आफूले आयस्रोतका लागि भन्दा पनि रैथानै सीप र प्रविधि जगेर्ना गर्ने उद्देश्यले घट्ट चलाइरहेको उनले बताइन् । यो सञ्चालनका क्रममा धेरै समस्या भोग्नुपरेकाले यसको संरक्षण गरी निरन्तरताका लागि सरकारले सहयोग गरिदिए आभारी हुने उनको भनाइ थियो ।
‘हाम्रो गाउँमा भएका तीन घट्टमध्ये अहिले हामीले मात्र चलाएका छौँ । यसमा पनि कहिले पानी पुग्दैन । काठको मदानी छ बेलाबेलामा भाँच्चिन्छ’, अधिकारीले भनिन्, ‘पानीका लागि पाइप अनि फलामको मदानी पाइन्छ कि भनेर वडामा भनेका छौँ । फलामको मदानी किन्न अनुदान पाइन्छ कि भन्ने आशा छ तर अहिलेसम्म पाएका छैनौँ ।’ अघिल्लो जनप्रतिनिधिका समयमा अनुदानका लागि वडामा गएको भन्दै पनि नयाँ जनप्रतिनिधि आएपछि नगएको उनले सुनाइन् ।
पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक रहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर अधिकारीले बताए । उनले घट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर रैथाने सीपको संरक्षण गर्नुपर्नेमा जोड दिए । वडाभित्र रहेका घट्ट सञ्चालनका लागि पानीको स्रोत सुनिश्चितता गर्ने योजना रहेको उनले जानकारी दिए ।
वडाले फलामको मदानी दिने योजना बनाइरहेको भन्दै पानीको स्रोत, फलामको मदानीलगायत आवश्यक सामग्रीका लागि सहयोग गरिने वडाध्यक्ष अधिकारीले बताए । ‘हाम्रो वडामा भएका तीन वटै घट्ट सञ्चालनमा ल्याउनका लागि पानीको सुनिश्चितता गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘हिउँदमा पनि चलाउन सकुन् भनेर पानीका लागि पाइपको व्यवस्था गर्ने तयारी भइरहेको छ ।’ रासस
नवलपुरः खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन ।’
गुरुङको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ मा बसोबास रहेको छ । उमेरले ९६ वर्ष पुगेकी उनलाई सम्मानले बोलाउने नाम बनेको छ ‘पियारी आमा’ । पियारी आमाको घर सानो भए पनि मन भने ठूलो छ । उनले आफूसँग भएको सबै सम्पत्ति विद्यालयलाई हस्तान्तरण गरेकी हुन् ।
पियारी आमाले कावासोती–४ स्थित सरस्वती माविलाई आफ्नो नाममा रहेको सबै आठ कठ्ठा जग्गा दान गरेकी हुन् । निःसन्तान उनी श्रीमानको मृत्यु भएपछि एक्लै बस्दै आएकी छिन् । पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घर मात्रै छ ।
विद्यालयलाई दिएको जग्गामै उनको घर रहेको छ । खेतमा हुने सबै उब्जनी पियारी आमाले विद्यालयलाई दिने गरेकी छिन् । ‘मैले दान दिएकी हुँ, दान दिएको फेरि आफूले लिनहुन्न, त्यसैले यहाँ जे–जे लगाउँछु पछि विद्यालयलाई लगेर बुझाउने गरेको छु’, उनले भनिन् ।
पियारी आमाले आफूसँग भएको जग्गामात्रै होइन, उनका श्रीमान् भारतीय सेनाबाट निवृत्त भएकाले आउने पेन्सनसमेत अरुलाई सहयोग गर्छिन् । विशेषगरी विद्यालयलाई दान दिनमै उनको रुचि छ ।
पियारी आमाले विद्यालयमा विभिन्न समयमा आफूसँग भएको पैसा ल्याएर दिने गरेको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पौडेलले बताए । ‘अरुलाई सहयोग गरौँ भन्ने उहाँको भावना छ, विद्यालयमा बेला–बेलामा सहयोग प्रदान गर्नुभएको छ’, उनले भने । अरुबाट केही आश नगर्ने, केही लिन नखोज्ने तर आफूले भने सहयोग गर्ने स्वभाव उनको छ । शिक्षा क्षेत्रमा आफूसँग भएको सबै रकम दान गरेकाले विद्यालयले पियारी आमालाई सर्वस्वदाताका रुपमा सम्मानसमेत गरेको छ ।
शिक्षाको विकासका लागि निस्वार्थ भावमा आफ्नो सबै जायजेथा दान गरेकाले उनको सम्मानमा अहिले पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागिएको छ । पियारी आमाको घरछेउमा स्मृतिस्तम्भ निर्माण गर्न लागिएको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले बताए । ‘शिक्षाको विकासमा बिनास्वार्थ पियारी आमाले गरेको दान ठूलो छ, हामीले दाताको हौसला बढाउनुपर्छ, यसैले सम्मानस्वरुप पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागेका हौँ’, उनले भने । रासस
सुर्खेतः अपाङ्गता भएका व्यक्तिले स्थानीय तहले दिने सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव दिएका छन् । सुर्खेतको सिम्ता गाउँपालिकामा गरिएको सार्वजनिक बहस कार्यक्रमका सहभागीले स्थानीय सरकारले दिने सेवा र संरचनालाई अपाङ्गतामैत्री बनाउन आग्रह गरेका हुन् ।
कार्यक्रमका सहभागी सिम्ता गाउँपालिकाका ऐनबहादुर विकले अपाङ्गता भएका व्यक्तिले सहज रुपमा सार्वजनिक निकायबाट सेवा पाउने वातावरण बनाउनुपर्ने माग गरे । उनले स्थानीय जनप्रतिनिधि यसप्रति गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।
योगेन्द्र शाहीले ‘ब्रेनलिपी’मार्फत जिज्ञासा राख्दै पालिकामा बन्दै गरेका भौतिक संरचना अपाङ्गमैत्री भए/नभएको बारे अनुगमन गर्नुपर्ने भन्दै अहिले अनुगमन गरिएको छ ? भनी प्रश्न गरे । उनले स्थानीय सरकारले गरिरहेका कामको अनुगमन गरे प्रभावकारी नतिजा पाउन सकिने विचार राखे ।
रुविन शाहीले सार्वजनिक निकाय अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्ति सेवा लिन आउँदा समस्या हुने गरेको बताए । गाउँपालिकामा डिजिटल नागरिक वडापत्र राखिएको भन्दै उनले पालिकाले उपलब्ध गराउने सेवालाई अडियोमार्फत जानकारी दिने व्यवस्था मिलाइ दिन आग्रह गरे ।
‘अहिले डिजिटल बोर्डको व्यवस्था गरिएको छ, यो राम्रो पक्ष हो’, शाहीले भने, ‘दृष्ट्रिविहीनको सहजताका लागि यहाँबाट उपलब्ध गरिने सेवाका बारेमा अडियोमार्फत जानकारी दिने व्यवस्था गरिदिन म अनुरोध गर्दछु ।’ स्थानीय वीरेन्द्र ओलीले पालिकामा अपाङ्गतामैत्री शौचालय नभएको भन्दै त्यतातर्फ ध्यान दिन आग्रह गरे ।
कार्यक्रमका सहभागीले पालिकाभित्र सबै अपाङ्गता भएका व्यक्तीले परिचयपत्र नपाएको भन्दै यस विषयमा गम्भीर भएर काम गर्न पालिका तथा जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले पालिकाबाट उपलब्ध हुने सेवालाई अपाङ्गमैत्री बनाउने प्रयास गरिएको भन्दै डिजिटल बोर्डमा अडियोको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले अहिले सबै सेवा डिजिटल बोर्डमार्फत जानकारी दिइरहेका छौँ’, उनले भने, ‘त्यसमा अडियो राख्न मिल्छ भन्ने लागेको छ । आगामी दिनमा अडियोको व्यवस्था पनि गर्नेछौँ ।’
गाउँपालिकाकी उपाध्यक्ष गोमा शर्मा रेग्मीले अपाङ्गता भएका व्यक्तिलाई आर्थिक रुपमा मजबुत बनाउने गरी पालिकाले योजना बनाइरहेको जानकारी दिँदै अब पालिकाभित्र बन्ने हरेक भवन अपाङ्गतामैत्री हुने बताइन् । ‘यसअघि के भयो भन्दा पनि अब यहाँ बन्ने हरेक सार्वजनिक भवन अपाङ्गमैत्री बनाउने छौँ”, उनले भनिन्, ‘हामी निर्वाचित भएर आएपछि बनिरहेका भौतिक संरचना अपाङ्गमैत्री नै बनिरहेका छन् ।’
अन्य सेवालाई पनि अपाङ्गमैत्री बनाइने उनको भनाइ थियो । विसं २०७८ को जनगणनाअनुसार सिम्ता गाउँपालिकामा पाँच सय ७२ अपाङ्गता भएका व्यक्ति छन् ।
चितवनः बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् ।
साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन् ।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष गङ्गा गिरीका अनुसार अहिले सौराहामा दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म पर्यटक रहेको अनुमान छ । तीमध्ये आधा विदेशी छन् । विदेशीमा पनि चिनियाँको सङ्ख्या बढ्दो छ । सौराहामा एक सय २५ होटल छन् । ती होटलको क्षमता छ हजार दुई सय जनाको रहेको छ ।
क्षमताको हिसाबले पर्यटक न्यून भए पनि बेमौसममा समेत आएको यो सङ्ख्याले व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ छ । यस बेला चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल वाकबाहेकका गतिविधि रोक्ने गरिन्छ । सामुदायिक वनमा सफारीका गतिविधि सञ्चालन हुने गर्दछन् ।
अहिले दैनिक एक सय जनाभन्दा बढीले हात्ती सफारी गरिरहेको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए । यसरी हात्ती चढ्नेमा धेरै विदेशी छन् । कोभिडपछि पहिलोपटक चिनियाँ आएकाले हात्ती सफारीमा उनीहरुको ध्यान बढी हुने गरेको छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे सडकको अवस्था राम्रो नहुँदासमेत आएको पर्यटकको यो सङ्ख्यालाई राम्रो मान्छन् । कतिपय होटलमा कार्यक्रम चलिरहेका छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारीकरण गर्नसक्ने होटलमा पर्यटक बढी रहेका छन् । उनले भने, ‘विगतको बर्सातको तुलनामा यो वर्ष पर्यटकको सङ्ख्या राम्रो छ ।’ चिनियाँ आउन थालेकाले अबको हिउँदपछि क्रमश पूर्ववत् अवस्थामा पर्यटन व्यवसाय फर्कनेमा उनी विश्वस्त छन् ।
होटल व्यवसायी गुणराज थपलियाले यो बेमौसम भएकाले पर्यटक राम्रो छ भन्न नसकिए पनि विगतको भन्दा सुधार हुँदै गएको बताए । उनले भने, ‘सङ्केत राम्रो छ । अबका दिनमा पक्कै पनि पर्यटकको माहोल राम्रो बन्छ ।’ विगतको तुलनामा कोभिडको प्रभाव क्रमशः घट्दै गएको उहाँको बुझाइ रहेको छ । यहाँ स्वदेश र विदेशबाट चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा सफारी गर्न पर्यटक आउने गर्दछन् ।
चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । चितवन भित्रने अधिकांश पर्यटकको रोजाइ सौराहा हुने गर्दछ । पछिल्ला वर्षहरुमा खर्चिला पर्यटक पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा जान रुचाउने गरेका छन् । भूकम्प, नाकाबन्दी, कोभिडका कारण थला परेको पर्यटन व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्कने अपेक्षा व्यवसायीकोे छ ।
जाजरकोटः लगातारको वर्षाका कारण यहाँका ग्रामीण क्षेत्रका सडक बन्द हुन थालेका छन् । खलङ्गा–बारेकोट, खलङ्गा–कुशे, पश्चिम जुनिचाँदेलगायत अन्य दर्जन बढी सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् ।
हिउँदयाममा जथाभावी खनिएका सडक वर्षायाममा पानी पर्न थालेपछि भत्किएर ग्रामीण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका हुन् । सदरमुकामदेखि भेरी करिडोरअन्तर्गत पर्ने डोल्पाको दुनैसम्मको सडक ठाउँ–ठाउँमा अवरुद्ध हुँदा गाडी बदलेर यात्रा गर्नुपरेको यात्रु मोहन शाहीले बताए ।
जिल्लाभित्रका अधिकांश सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या आएको बारेकोट गाउँपालिका–५ का विवेक सिंहले बताए । उनका अनुसार आन्तरिक तथा लामो दुरीका लागि सञ्चालन भएका सडकमा पुल निर्माण नभएकाले खोला बढ्दा यातायात सेवा अवरुद्ध भएका हुन् ।
नयाँ खनिएका २८ र पुराना गरी ५६ सडक बन्द भएका सिंहले बताए । यातायातका साधन नचल्दा सदरमुकामसम्म आवागमनमा सास्ती हुने गरेको उनको भनाइ थियो । ‘सडक अवरुद्ध भएकाले यातायातका साधन सञ्चालनमा समस्या छ । सदरमुकामसम्म यात्रा गर्न धेरै दिन लाग्ने गरेको छ’, उनले भने, ‘बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन पनि सास्ती भइरहेको छ ।’
हिउँदमा निर्माण गरिएकासडक वर्षाको पानीले बगाउँदा क्षतिसमेत भएको सिंहको भनाइ छ । निरन्तरको वर्षाले हवाई सेवासमेत प्रभावित भएको छ । नेपालगन्ज–डोल्पाको हवाई सेवा अवरुद्ध भएको छ ।
टेलिफोन सेवा अवरुद्ध
लगातार परेको पानीका कारण बारेकोट गाउँपालिका–५ मा रहेको टेलिफोनको टावरमा समस्या आएपछि गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि यहाँका सर्वसाधाण सञ्चार सेवाबाट वञ्चित भएका वीरेन्द्र एश्वर्य माविका प्रधानाध्यापक गोखरबहादुर सिंहले जानकारी दिए । नेपाल टेलिकम जाजरकोटले टावरमा समस्या आएकाले मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको जनाएको छ । रासस
बेनीः बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई बुधबार उद्धार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५० वर्षीय विकलाई उद्धार गरिएको हो । बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले विकलाई ओडारबाट उद्धार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको जानकारी दिइन् ।
‘एक वर्षदेखि ओडारमा बस्दै आउनुभएका राहुलको अवस्था नारकीय थियो । धेरै पटकको प्रयासपछि आज आश्रममा जान मान्नुभयो’, उनले भनिन्, ‘घरका सदस्य नभएका र सामाजिक बहिष्करणमा पर्नुभएका उहाँलाई पुनर्स्थापना पना नहुँदासम्म मानव सेवा आश्रममा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौँ ।’
शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामिछाने र नगरप्रहरीको टोलीले उद्धार गरेका थिए । छोराहरुको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य भएका राहुलका बारेमा २०७९ साल फागुन ८ गते राससमार्फत समाचार सार्वजनिक भएको थियो ।
‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरे’ राहुलले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कंदासाथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्नु परेको हो ।’ उनले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका थिए ।
सो ओडर बेनीबजारदेखि करिब एक किलोमिटर नजिकको दूरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरीर चिसोले सुन्निएको छ । काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुङ्गानाले बताए । ‘मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थाल्नुभएको डेढ वर्ष जति भयो, काम गर्न सक्दिन । मलाई यही ठीक छ भन्दै अन्यत्र जान मान्नुभएको थिएन’, उनले भने ।
राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा र पानीको बाछिटा सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर रहेको थियो । रासस
तनहुँः तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती सूचनाहरु अब गाउँपालिकाका विभिन्न स्थानमा ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ ।
बन्दीपुर घुम्न आएका पर्यटकहरुलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए । मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सुचना गाउँपालिका अध्यक्ष थापालाई बुधबार हस्तान्तरण गरेका छन् ।
गन्तव्यबारे जानकारीहरु नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको अध्यक्ष थापाले बताए ।
सूचना हस्तान्तरण भएसँगै अब बन्दीपुर गाउँपालिकाका ती पर्यटकीय गन्तव्यहरु मदानी मिडियाअन्तर्गतको ‘टुरिजमपाना डटकम’मा पढ्न/हेर्न तथा सुन्न सकिने भएको छ । गाउँपालिकाका अध्यक्ष थापाले भने, ‘बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल हुन्छ । विदेशी पर्यटकलाई पनि सहज होस् भनेर विभिन्न भाषामा सामग्री तयार गरिएको हो ।’
बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ । रासस
सिन्धुलीः स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् । सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो ।
मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि मङ्गलबार शिलान्यास गरिएको छ । सांसद लेखनाथ दाहालले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरे । आगामी आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा सक्ने गरी स्काइ विल्डर्स प्रालि नयाँबानेश्वर, काठमाडौंले भवन निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनीले २०७९ पुस २५ गते अस्पताल भवन निर्माण सम्झौता गरेको थियो ।
रु. १६ करोड ७१ लाख ५८ हजारको लागतमा निर्माण हुने भवन तीन तलाको हुनेछ । उक्त लागत बजेट सङ्घीय सरकारले उपलब्ध गराएको हो । चार हजार सात सय ४० दशमलव ८४ वर्गमिटर क्षेत्रफलमा अस्पताल निर्माण कार्य अगाडि बढेको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताए ।
सात वडा रहेको मरिणमा छ सामुदायिक स्वास्थ्य एकाइ, दुई स्वास्थ्यचौकी, एक–एक प्रथामिक स्वास्थ्य केन्द्र र आयुर्वेदिक औषधालय छन् । मरिण–६ छापस्थित पाँच शय्याको अस्पताल भवनबाट १५ शय्याकै स्वास्थ्य सेवा कठिनपूर्वक प्रदान हुँदै आएको थियो । अब १५ शय्याकै अस्पताल भवन निर्माण हुने भएपछि मरिणवासीले स्वास्थ्य सेवा सहजरुपमा पाउने मरिण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले बताए ।
यसैगरी जग्गा विवादका कारण दुई वर्षदेखि १५ शय्याको अस्पताल भवन निर्माणको काम रोकिएको सुनकोशी गाउँपालिकामा अहिले निर्माण प्रक्रिया अगाडि बढेको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाले जानकारी दिए । सात वडा रहेको सुनकोशीमा ११ स्वास्थ्य संस्था छन् । अब दुई सामुदायिक स्वास्थ्य एकाइ थप गर्नुका साथै १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरी सेवा विस्तार गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन खोजिएको उनले बताए ।
यसैगरी गोलञ्जोर गाउँपालिकामा पनि यस वर्ष आधारभूत अस्पताल निर्माणका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भएपछि कार्यपालिकाको बैठकपछि निर्माण प्रक्रिया अगाडि बढाइने स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र पैकराले जानकारी दिए ।
फिक्कल गाउँपालिका–३ चनौटेमा १० शय्याको अस्पताल भवन निर्माणाधीन छ । दुई वर्षअघि निर्माण सुरु भएको उक्त भवनको ८० प्रतिशत काम सकिएको स्वास्थ्य शाखा प्रमुख लेखनाथ फुँयालले बताए । निर्माणको काम सम्पन्न गर्न यस वर्ष रु. ९० लाख बजेट थप भएर आएको उनले सुनाए । छ वडा रहेको फिक्कलमा छ स्वास्थ्यचौकी र १० सामुदायिक स्वास्थ्य एकाइ छन् । हालसम्म उक्त गाउँपालिकामा दक्ष चिकित्सकसहितको अस्पताल नहुँदा बिरामीले भरपर्दो उपचारका लागि अन्यत्र धाउनु परिरहेको छ ।
यसैगरी हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरमा १५ शय्याको आधारभूत अस्पताल निर्माणाधीन छ । सिर्नजी राजदेवी भक्त आरपी जेभीले निर्माणको जिम्मा लिएको छ । आठ वडा रहेको हरिहरपुरगढीमा चार स्वास्थ्यचौकी, पाँच सामुदायिक स्वास्थ्य एकाइ र चार आधारभूत केन्द्र छन् । यी नामका मात्रै स्वास्थ्य संस्था छन् । राम्रो उपचार गर्न बिरामीलाई अस्पताल खोज्दै अन्यत्र जानुपर्ने अवस्था छ । पालिकाले आफ्ना नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन १५ शय्याको अस्पताल बनाउन शुरु गरेको छ ।
दुधौली नगरपालिका–५ सिर्थौलीमा १५ शय्याको अस्पताल निर्माणाधीन छ । अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डलले बताए । ‘अस्पताल भवन निर्माण पूरा गरेर अबको एक महिनाभित्र सञ्चालनमा ल्याउने योजना छ’, उनले भने । सङ्घीय सरकारको रु. १६ करोड लागतमा अस्पताल निर्माण भइरहेको छ । यहाँ हाल १६ स्वास्थ्य संस्थामार्फत सेवा प्रदान गरिँदै आएको छ । तर भरपर्दो सेवा नहुँदा बिरामीले अन्यत्र धाउनुपर्ने बाध्यता छ ।
घ्याङलेख गाउँपालिका–३ सोलाभञ्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन । जग्गा विवादका कारण रोकिएको निर्माणकार्य चाँडै सुल्झाएर निर्माण अगाडि बढाइने पालिकाले जनाएको छ । पाँच वडा रहेको दुर्गम पालिकामा पाँच स्वास्थ्यचौकी र पाँच सामुदायिक स्वास्थ्य एकाइ छन् । पन्ध्र शय्याको अस्पताल निर्माण भएर प्रभावकारीरुपमा सञ्चालनमा आए सामान्य बिरामी हुँदा पनि सदरमुकाम धाउन नपर्ने स्थानीयवासी बताउँछन् ।
सिन्धुलीकै सबैभन्दा ठूलो सिन्धुली अस्पताल जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा छ । यहाँ सात स्वस्थ्यचौकी र नौ आभारभूत स्वास्थ्य केन्द्र छन् । जिल्लामा सञ्चालनमा रहेकै अस्पताल तथा स्वास्थ्य संस्थाले पनि सहजरुपमा गुणस्तरीय सेवा दिन सकेका छैनन् । सामान्य बिरामी हुँदासमेत अन्य सहरका स्वास्थ्य संस्था तथा अस्पताल धाउनुपरेको स्थानीयवासीको गुनासो छ । सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था आवश्यकताअनुरुको बजेट, पर्याप्त दक्ष जनशक्ति तथा औषधि र उपकरणको अभावैअभावमा जेलिएका छन् । भवन बनाएर मात्र स्वास्थ्य सेवा उपलब्ध नहुने स्थानीयको गुनासो छ । राधिका बुढाथोकी/रासस
म्याग्दीः म्याग्दीको धवलागिरि गाउँपालिका–४ बोवाङका ४० वर्षे लुद्रबहादुर पुर्जा यतिबेला परम्परागत खेती छाडेर जडीबुटीमा रमाउन थालेका छन् । लामो समय विदेशी भूमिमा काम गरेपछि उनले फर्किएपछि परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटी र ओखरखेती गरेका हुन् ।
‘विदेशमा गर्ने दुःख यहीँ गरेर स्वरोजगार हुने लक्ष्यका साथ जडीबुटी र ओखरखेती सुरु गरेको हुँ’, उनले भने, ‘हाल कूल १३ रोपनी पाखोबारीमा ओखर र सतुवाखेती गरिरहेको छु ।’
हाल लालीगुराँस आधुनिक कृषि फार्म स्थापना गरी काम गरिरहेका पुर्जाले रोजगारीका लागि छ वर्ष साउदी र तीन वर्ष कतारमा काम गरे । टर्कीबाट प्रतिगोटा एक हजार सात सय ५० का दरले बिरुवा किनेर तीन हजार दाँते जातको ओखरका बिरुवा रोपेको पुर्जाको भनाइ छ । चार रोपनीमा ताप्लेजुङ र म्याग्दीको तोरीपानीबाट ५० हजार गाना सतुवाको बिरुवा ल्याएर लगाएका हुन् ।
समुन्द्री सतहदेखि करिब दुई हजार तीन सय मिटर उचाइमा रहेको बोवाङको चिसो हावापानी भएको भूगोल सतुवा र ओखरखेतीका लागि अनुकूल मानिन्छ । बोवाङको जङ्गलमा प्राकृतिकरुपमा पनि सतुवा उत्पादन हुँदै आएको थियो ।
पुर्जाको फार्ममा हाल २० हजार सतुवाका बिरुवा तयार भएका छन् । सतुवाको बिरुवाको बजार मूल्य प्रतिगोटा रु. ४७ पर्छ । सतुवाको बजार मूल्य हाल प्रतिकिलो सातदेखि आठ हजार छ । तीन वर्षअघि प्रतिकिलो सतुवाको मूल्य रु. २५ हजार थियो ।
‘करिब ५० हजार गानाबाट पाँचदेखि छ क्विन्टल सतुवा निकाल्ने भए पनि बजार भाउ राम्रो नभएकाले उत्खनन गरेको छैन’, उनले भने, ‘राम्रो बजार भाउ पाए सतुवा बिक्री गर्नेछु ।’ सतुवा र ओखरखेती गर्नुअघि पाखोबारीमा जौ, उवा, गहुँ, मकै र कोदोखेती हुने गरेको थियो ।
परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटी र ओखरखेती गरेको पुर्जाले भने । पुर्जालाई कृषि ज्ञानकेन्द्रले फार्मको घेराबार गर्न अनुदान सहयोग गरेको थियो । काठ र फलामको तारले फार्म घेराउ गर्ने पुर्जाको तयारी गरेका छन् ।
यसैगरी सतुवाको बिरुवा भएको पल्टमा प्लास्टिकको टनेल बनाउन सकेमा तापक्रम सन्तुलित बनाउन, हिउँ, असिना र रोगकिराबाट बचाउन सकिने पुर्जाको अपेक्षा छ । औषधि बनाउन प्रयोग हुने सतुवा पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिषले विष सेवन गरेको बेलामा प्रयोग गर्ने चलन छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies