तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतार लगातार दोस्रो पटक एएफसी एसियन कपको च्याम्पियन बनेको छ । शनिवार राति घरेलु भूमिमा अवस्थित लुसेल रङ्गशालामा भएको फाइनल खेलमा जोर्डन माथि ३-१ को जित निकाल्दै कतार लगातार दोस्रो पटक एसियन च्याम्पियन बनेको हो ।
कतारका लागि स्ट्राइकर अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टी मार्फत गरेका थिए । अफिफले प्रतियोगिता अवधिभर ८ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बन्न सफल भएका छन् । कतारले खेलको २२औँ मिनेटमा अग्रता लिएको थियो । अफिफ आफैमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । ६७औँ मिनेटमा जोर्डनले बराबरी गोल गर्यो । यजन अल नैमतले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको ७२औँ मिनेटमा र इन्ज्युरी समयको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा अफिफ चुकेनन् र ह्याट्रिक गरे । लगातार दोस्रो उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीन विरुद्ध जित निकालेको थियो भने अन्तिम १६ मा प्यालेस्टाइन माथि २-१ को जित निकालेको थियो । क्वाटर फाइनलमा उज्बेकिस्तान विरुद्ध टाई ब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई परास्त गरेको थियो ।
यसअघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो । कतार लगातार दोस्रो पटक एसियन कप जित्ने चौथो देश बनेको छ । यस अघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एसियन कप जितेको थियो । योसँगै पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ ।
काठमाडौं : एसीसी महिला प्रिमियर कप क्रिकेट–२०२४ अन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।
पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको थियो । यस जितसँगै नेपालको २ खेलमा ४ अंकभएको छ । भुटानले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले ११ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि सीता रानामगरले अविजित ३२ रन बनाइन् । तेस्तै रुविना क्षेत्रीले १७ रन बनाइन् । तेस्रो विकेटका लागि सीता र रुबिनाले अविजित ४८ रनको साझेदारी गरेका थिए ।
कविता कुँवरले ५ रन बनाइन् भने इन्दु बर्मा १ रनमा आउट भइन् । भुटानका लागि अन्जु गुरुङ र अन्जुली घलेले समान एक÷एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ६५ रनको योगफल बनाएको थियोे । भुटानका लागि नवाङ छोडेनले सर्वाधिक २५ रन जोडिन भने, कप्तान डिचेन वाङ्मोले १७ रन बनाइन् । त्यस्तै, छिङि जाङमोले १६ रन बनाइन् ।
नेपालका लागि कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले समान एक÷एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल आगामी फागुन १ गते माल्दिभ्सको सामना गर्नेछ ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरमा सम्पन्न दोस्रो वडा अध्यक्ष फुटबल गोल्डकपको उपाधि दुधौली फुटबल समूहले हात पारेको छ ।
वडा युवा तथा खेलकुद विकास समिति त्रियुगा नगरपालिका-१० बोक्से नयाँबस्तीको आयोजना तथा फ्यूजन समूहको समन्वय र त्रियुगा नगरपालिकालगायत संघ संस्थाहरुका सहयोगमा १६ गतेदेखि भएको प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा दुधौली र तालतलैयाबीच समय अवधिभर बराबर भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा दुधौली फुटबल समूह सिन्धुलीले ४-२ को गोल अन्तरले तालतलैया फुटबल समूह सुनसरीलाई पराजित गरेको हो । प्रतियोयोगितामा प्रथम र द्वीतीय हुने समहलाई त्रियुगा नगरपालिकाको उपमेयर महेश्वरी राई वडा अध्यक्ष किरण पाण्डेलगायत अतिथिहरुले विजेता समूहलाई १ लाख १ हजार १११ र द्वितीय हुने समूहलाई ५१ हजार १११ रुपैयाँ नगदसहित क्रमश: ट्रफी, मेडल र तक्मासहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
माधवप्रसाद घिमिरे/मध्यान्ह
ललितपुर : ललितपुरकाे नाखिपाेटमा सञ्चालित आईकेओ क्युकाेशिनकाई डाेजाे नखिपाेटकाे बेल्ट टेष्ट सम्पन्न भएको छ । शनिबार आइकेओ क्युकाेशिनकाई करातेका ४५ जना खेलाडीहरुकाे बेल्ट टेष्ट सफलतापूर्वक सम्पन्न भएको डाेजाेका प्रमुख प्रशिक्षक समीर श्रेष्ठले जानकारी दिए । शुक्रबार र शनिबार भएकाे बेल्ट टेष्टमा प्रमुख प्रशिक्षक सेन्सेई समिर श्रेष्ठ, प्रशिक्षकहरु सेन्सेई उत्तम स्थापितले खेलाडीहरुकाे परीक्षा लिएका थिए ।
बेल्ट टेष्टमा सहभागीहरुमध्ये २ जनाले ब्ल्याक बेल्ट, ५ जनाले ग्रीन, १० जनाले एल्लाे, १२ जनाले ब्लु र १३ जनाले अरेन्ज बेल्ट प्राप्त गरेकाे प्रमुख प्रशिक्षक श्रेष्ठले बताए । आईकेओ क्याेकुशिनकाई नेपालका ब्रान्च चिफ शिहान दिपक लामाले बेल्ट टेष्टबाट खेलाडीहरुकाे क्षमता पहिचान हुनुका साथै उनीहरुमा खेल क्षमताको अभिवृद्धि हुने बताए । 'बेल्ट टेष्टबाट खेलाडीहरुकाे क्षमताको पहिचान हुन्छ । प्रतिस्पर्धा गर्न सक्ने खुबी वृद्धि हुँदै जान्छ । उनीहरुले पाउने बेल्टकाे महत्व र बेल्ट अनुसारको क्षमताकाे जानकारी हुन्छ,' लामाले भने ।
अत्यन्तै कडा मेहनत र अनुसाशनमा राखेर प्रशिक्षित हुन सफल भएका खेलाडीहरुकाे मात्रै बेल्ट परीक्षा लिएर स्तराेन्नति गरिएको प्रमुख प्रशिक्षक श्रेष्ठले बताए । '६० दिन हाजिर भएका याेग्य खेलाडीहरुलाई मात्रै बेल्ट टेष्टमा सहभागी गराएका छाैं, लिखित परिक्षा, बेसिक (किहाेन) मापदण्डहरुकाे परीक्षण, स्टेपिङ, काता, कुमिते परीक्षामा पूरा गरेकाहरुलाई बेल्ट टेष्टमा सहभागी गराउँछाैं । ६० दिन हाजिर भएर पनि राम्रोसँग खेल्न नसकेकाहरुलाई बेल्ट टेष्टमा सहभागी गराइएको छैन,' श्रेष्ठले भने । प्रत्येक तीनदेखि चार महिनाभित्र बेल्ट टेष्ट हुने डाेजाेका प्रमुख प्रशिक्षक श्रेष्ठले बताए ।
काठमाडौं : नेपाली युवा टोलीले चिनियाँ युशु युवा टोलीलाई फराकिलो अन्तरले पराजित गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा भएको खेलमा नेपाली युवा टोलीले युशु युवा टोलीलाई ५-१ ले पराजित गरेको हो ।
नेपालका लागि समिर तामाङले दुई गोल गरे भने सन्जीब विष्ट, छिरिङ लामा र निराजन धामीले एक-एक गोल गरे । युशु युवा टोलीका लागि झाछी पेंगकुओले सान्त्वना गोल गरे ।
काठमाडौं : घरेलु टोली नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिज एक खेल अगावै जितेको छ । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा क्यानडालाई ४ विकेटले हराएसँगै लगातार दुई जित निकालेको नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो । क्यानडाविरुद्ध लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको सिरिज २-० ले सिरिज जितेको हो । पहिलो खेलमा बिहीबार नेपाल ७ रनले विजयी भएको थियो ।
क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा तीन खेलाडीले अर्धशतकीय इनिङ खेले । कप्तान रोहित पौडेलले १०१ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाए । यस्तै देव खनालले ८१ बलमा ७ चौका र २ छक्काको मद्दतमा ७६ रन बनाए भने ओपनर अनिलकुमार साहले २० बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए ।
त्यस्तै भीम सार्कीले २१ बलमा ४ चौकाको मद्दतमा २३ रन बनाए भने पवन सर्राफले ८ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाए । यस्तै आसिफ सेखले १६ बलमा १ चौकाको मद्दतमा १० रन बनाउँदा कुशल मल्ल र सोमपाल कामीले समान ९-९ रन जोडे । क्यानडाका लागि इश्वरजोत सोहीले २ तथा हर्ष ठाकर, साद बिन जफर र दिलप्रित बज्वाले १-१ विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रनको योगफल बनाएको थियो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्बाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्कासहित ६५ रन बनाएका हुन् ।
त्यस्तै नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए । पर्गत सिंहले ३८ रन बनाए भने निकोलस कीर्तन र उदय भगवान्ले समान २०-२० रन जोडे । दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए । नेपालका लागि रोहित पौडेल र कुशल मल्लले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिए ।
काठमाडौं : क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितका लागि नेपालले २८६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको हो ।
क्यानडाका आरोन जोनसनले अर्धशतकीय इनिङ खेले । उनले ६५ रनको योगदान दिए । यस्तै नवनीत धालीवालले ४६ रन बनाए । परगत सिंहले ३८ र निकोलस किर्टनले २० रनको योगदान गरे । श्रेयश मोभाले ४०, दिलप्रीत बाजवाले १९ र उदय बागवानले नटआउट २० रन बनाए ।
नेपालका रोहित पौडेल र कुशल मल्लले समान २ तथा सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सरार्फले समान एक एक विकेट लिए ।
सरु भुसाल/मध्यान्ह
प्युठान : प्यूठानमा १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । गणतान्त्रिक खेल मैदान बिजुवार प्यूठानमा शुरु भएको प्रतियोगितामा प्यूठानका नौ वटै स्थानीय तहबाट खेलाडीहरु छनोट भएर सहभागी भएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
तर खेल उद्घाटन सत्रमा कार्यक्रम सञ्चालनलगायतका विषय अव्यवस्थित र भद्रगोल भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका यातायात व्यवस्था मन्त्री रोज राँणाले दुःख व्यक्त गरे । उनले राज्यको रकमलाई अव्यवस्थितरुपमा खर्च गर्न कसैलाई पनि अधिकार नहुने भन्दै आक्रोश व्यक्त गरे । कार्यक्रममा सहभागी नौ वटै स्थानीय तहबाट सहभागी विद्यार्थी खेलाडीहरुलाई उनले सफलताको शुभकामना व्यक्त गरे ।
रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्सका सबै खेलहरु खेलाइने आयोजकले जनाएको छ । खेल सञ्चालनका लागि प्रत्येक स्थानीय तहबाट ८० हजार रुपैयाँका दरले, प्यूठान नगरपालिकाले २ लाख रुपैयाँ, प्रदेश सरकारबाट करिब ३ लाख ५० हजार रुपैयाँको व्यवस्थापन गरिएको खेलकुद समितिको संरक्षक रहेका जिल्ला समन्वय समितिका प्रमुख धरम जिसीले बताए ।
काठमाडौं : एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ । बिहीबारदेखि काठमाडौंमा शुरु भएको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको हो ।
नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २ सय १७ रनमा समेटियो । क्यानडाका लागि निकोलस कीर्तोनले सर्वाधिक ६८ रनको योगदान दिए भने प्रगत सिंहले ५० रन बनाए ।
नेपालका लागि डेब्यू खेलमा रिजन ढकालले एक विकेट लिए । कप्तान रोहितले सर्वाधिक ४ विकेट लिएको खेलमा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी, पवन सरार्फ र कुशल मल्लले समान एक एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए । क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।
काठमाडौं : दक्षिण कोरियामास्पोर्टस ग्लोबल टुरिजम कन्भेन्स सम्पन्न भएको छ । खेल पर्यटनमार्फत नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरणअनुसारको पर्यटक खेलकुदलाई सम्बर्द्धन तथा प्रवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियमा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन २०२४’ (एसजीटी–२०२४) को सम्मेलन आयोजना गरिएको हो ।
मंगलबार राजधानी सोलस्थित हान्याङ विश्वविद्यालयमा नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउण्डेसन र हान्याङ विश्वविद्यालयको संयुक्त आयोजनामा सम्पन्न सो सम्मेलनलाई नेपालका प्रधानमन्त्री प्रचण्डदेखि विभिन्न व्यक्तिहरुले शुभकामना दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा शुभकामना सन्देश दिँदै अपार सम्भावना बोकेको नेपाली खेलकुद पर्यटनको विकासका लागि चाँसो र सोचसहितको सम्मेलन गरेकोमा आफू निकै खुसी व्यक्त गरे । विश्वमा एक सुन्दर पहिचान बोकेको नेपालसँग एक अर्को महत्वपूर्ण आर्थिक र समृद्धिको आधर खेलकुद पर्यटनको सम्मभावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो राष्ट्रको उन्नतिको लागि खेलकुद पर्यटनको अपार सम्भावनालाई सदुपयोग गर्ने हाम्रो यात्रामा यो सम्मेलन एउटा महत्वपूर्ण कोसेढुंगातर्फ सावित हुनेछ ।’
प्रधानमन्त्रीले खेल क्षेत्रको व्यापकता खेलमा मात्रै नभएर यसले आर्थिक, सामाजिक र संस्कृतिक विकास र उन्नतिमा पनि उत्तिनै महत्वपूण भूमिका खेल्ने भएकोले यसलाई नेपाल जस्तो अपार सुन्दरतासँग जोडेर लग्न सकिने भएपनि अझै नसकिएको उल्लेख गरिएको छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले पनि सम्मेलनलाई शुभकामना दिँदै दक्षिण कोरियाले औद्योगिक र प्रविधिमा मात्रै विकास नगरेर खेलकुदको क्षेत्र र संस्कृति तथा पर्यटन क्षेत्रमा पनि अभूतपूर्व विकास गरेको र नेपालीले त्यसबाट धेरै सिक्न सकिने बताएका छन् । नेपाल पनि अथाह पर्यटकि खेलको सम्मभावना बोकेकोले यस विषयमा सम्मेलन गरेकोमा आयोजकलाई धन्यबादसमेत दिएका छन् ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सेर्पाली ठकुरीले सम्मेलनमा सरोकारवाला पक्षकारुपमासँगै बसेर छलफल गर्न पाउँदा निकै खुसि भएको बताइन् ।
त्यसैगरी राष्ट्रिय खेलकुन परिषदका सदस्य सचिव टंकलाल घिसिङले आयोजकलाई धन्यवाद दिँदै नेपाल बिस्तारै खेल क्षेत्रमा प्रगति गर्दै गरेको मुलुक भएको र पर्यटन खेलकुदमा पनि जोड दिएको बताए ।
सम्मेलनका मुख्य वक्ता ग्लोबल एनआरएनए फाउण्डसनका संरक्षक डा.शेश घलेले नेपालजस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण देशको विकासका लागि पहिलो कुरा उचित नीति–नियम अख्तियार गर्ने, त्यपछि पर्यटन क्षेत्रका क्षमतावान तथा जानकार मान्छे भर्ति गर्ने र विश्वभरीका पर्यटनसँग सम्बद्ध ख्याति प्राप्त संघसंस्थासँग सहकार्य गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा एनआरएन आईसीसीका अध्यक्ष विनोद कुँवारले सम्मेलनको मुख्य उद्देश्य नै पर्यटनमा खेलक्षेत्र जोडेर आर्थिक, सामाजिक र संस्कृतिक क्षेत्रको उन्नती गरेर नेपाललाई समृद्धिका साथै विश्वमा थप परिचय बनाउनु रहेको धारणा राखे ।
अयोजक संस्था ग्लोबल एनआरएन फाउण्डेसनका अध्यक्षसमेत रहेका कुँवरले हिमालयमा गल्फ, प्याराग्लाइडिङ, ह्वाइट वाटर र्फ्टीङ, साहसिक खेलहरु लगायतका खेलहरु खेलेर विश्वभरबाट पर्यटक भित्र्याउन सकिने धारणा राखे । हिमाली स्वर्गकोरुपमा विश्मा परिचित नेपालका हिामाली तथा पहाडी क्षेत्रमा अनेकन खेलहरु खेल्न सकिने धारणा व्यक्त गरे ।
सम्मेलनमा कोरियाको हान्याङ विश्वविद्यालयका अध्यक्ष डा.कि–जेओङ लीले खेलकुद पर्यटनको लागि निकै नै सम्भावना भएको नेपालको बारेमा आफ्नो विश्वविद्यालयमा सम्मेलन गर्न पाउँदा निकै खुसि लागेको बताए । खेल र पर्यटन क्षेत्रबीच आन्योन्याश्रीत सम्बन्ध हुनेभएकाले त्यको उजागर गर्न सम्मेलन सफल हुने विश्वास लिए ।
कार्यक्रममा एनआरएन आईसीसीकी महासचिब जानकी गुरुङले अफूरुले विश्वभरका नेपालीहरुलाई नेपालको पर्यटनलाई खेलक्षेत्रमा जोड्न सहयोगको लागि अपिल गरिन् ।
नेपाल खेलकुद अनुसन्धान तथा प्रवर्द्धन प्रतिष्ठान(नेस्पो)का अध्यक्ष साम्राज्यविक्रम पाण्डेले बहुआयामीक उद्देश्यसहित भएको सम्मेलनले नेपाल र नेपालीको आर्थिक तथा सांस्कृतिक क्षेत्रमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे ।
एनआरएन आईसीसी कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङले सम्मेलनले कोरिया र नेपालबीचको सम्बन्धलाई अझै प्रगढ बनाउन सहयोग पुग्ने धारणा राखे ।
हान्याङ विश्वविद्यालयका खेलकुद उद्योग तथा विज्ञान विभाग प्रमुख तथा कार्यक्रम अध्यक्ष डा.जोङ–ही किम, सो वश्वविद्यालयका एसोसियट प्रोफेसर तथा कार्यक्रम संयोजक सिद्धार्थ विक्रम पाण्डे र सो विद्यालयमा ‘ग्लोबल हेल्थ एण्ड डेभलपमेन्ट’विषयमा विद्यावारिदी गरिरहेकी तथा कार्यक्रमकी सह–संयोजक संगिता कुवरले स्वागत मन्तव्य दिएका थिए ।
हान्याङ विश्वविद्यालयको कलेज अफ पर्फमिङ अर्टस एण्ड स्पोर्टसका डिन प्राध्यापक सेओङ–नो लीले केभिड–१९ पछि विश्मा आर्थिक, सामाजिक र संस्कृतिक हरेक हिसाबले परिवर्तन भएको परिवेशमा मानव जीवनलाई त्यही ढंगले अगाडी बढाउनु पर्ने धारणा राखे ।
सम्मेलनमा सेजोङ विश्वविद्यालयका डिपाटमेन्ट अफ होटल एण्ड टूरिजम म्यानेजमेन्टका प्रोफेसर होयुङगोङ किमले पछिल्लो समयमा पर्यटन क्षेत्रमा सबैभन्दाबढी समस्या आएकोले यसलाई माथि उठाउन खेलकुद क्षेत्र जोड्दा सफल हुने धारणा राखे ।
ग्लोबल एनआरएन फाउण्डेसन उपाध्यक्ष भोमादेवी लिम्बुले नेपाल प्राकृतिक तथा संस्कृतिक सम्पदाको धनी देश भएकाले यसमा पर्यटन जोड्दा अझ बढी सफलता मिल्ने बताईन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी उपसचिव कृष्णकुमारी श्रेष्ठले सन २००८ को १५ औं आवधिक नीति तथा कार्यक्रममा नेपालको मुख्य अर्थिक आधारका रुपमा पर्यटनलाई पनि मानिएको र त्यसमा खेलक्षेत्र जोड्दा थप बिलयो हुने विश्वास रहेको बताइन् ।
डालिम् मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सोङ्ग बु–सोपले अटोनोमस ड्राइभिङ मोनोरेल सिस्टम हिमाली तथा पहाडी क्षेत्रमा उचित हुने र नेपालमा त्यस किसिमको प्रविधी सहतिको मोनोरेलको व्यवस्थाले पर्यटनमा सघाउने सुझाए ।
पुसान न्यास्नल युनिभर्सिटीका डिपार्टमेन्ट अफ स्पोर्टस साइनसका प्रोफेसर डा.डेभि ओसुलिभानले सम्मेलनको सत्र सञ्चालन गरेका थिए ।
हान्याङ विश्वविद्यालयका डिभिजन अफ स्पोर्टस इन्डस्ट्री एण्ड साइन्सका प्राध्यापक डा.सुङ मिन किम,अमेरिकाको वासिङ्टन राज्यका लागि नेपालका अवैतनिक महावाँणिज्य दूत एसी र्षेर्पा, अमेरिकाको ३६० भ्यू रिसोर्ट एलएलसीका निर्देशक स्यामबहादुर तामाङले नेपाल खेलकुद पर्यटनको लागि अति उत्तम भएकाले त्यसको विकासमा ध्यान पुर्याउन सुझाए ।
त्यसैगरी, हान्याङ विश्वविद्यालयको ग्लोबल हेल्थ एण्ड डेभलपमेन्टका अध्याक्ष डा.दोङउन हान, सिओल न्यास्नल युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्राध्यापक तथा सोलुसनएक्स को.लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा.सेवान चोई, एमआईटी ग्रुप पाउण्डेसनकी फाउण्डर जमुना गुरुङलगायतले खेलकुद पर्यटन सम्मेलनले आर्थिक, सामाजिक तथा संस्कृतिक क्षेत्रको बहुआयामिक विकासमा नयाँ दृष्टिकोणको विकास गरेको धारणा राखेका थिए ।
दक्षिण कोरियाको राजधानी सियोलस्थित हान्याङ विश्वविद्यालयमा भएको सम्पन्न सम्मेलनको कोरियाका लागि नेपाली राजदूतावास सियोल, ग्लोबल एनआरएन फाउण्डेसन, हान्याङ यूनिभर्सिटी र एमआईटी ग्रुप फाउण्डेसन मेलबर्न अस्ट्रेलियाले संयुक्तरुपमा आयोजान गरेका थिए भने नेपाल खेलकुद अनुसन्धान तथा प्रबद्धन प्रतिष्ठान (नेस्पो)ले सहजकर्ताको भूमिका खेलेको थियो ।
सम्मेलनको प्रायोजन मेल्बर्न इन्स्टीच्युट अफ टेक्नोलोजी, एभरेष्ट १०० रेष्टुरेन्ट दुबाई, मे, इन्टरनेष्नल शेर्पा गाईडस, नेस्पो, ह्युमेन केयर रोबोट सिस्टम, यूनिभर्षल टुर्स एण्ड ट्राभल्स, माया मार्ट किन कर्पोरेसन, योर सक्सेस आओर प्रारिटी, नेपाल मोनोरेल, ट्राभल्स एण्ड टुर्स, दर्शन नमस्ते इण्डियन एण्ड नेपाली फूड रोष्टुरेण्ट, नेकोमज, लाईफ साइन्स टेक्नोलोजी, केम फोरेक्स रेमिट्यान्स, फास्ट पोङग, योर बिल्डिङ काउन्टस वाइवीसी सर्भिस वेलायत, रिति र विभिन्न कोरियन संस्थाहरुले प्रायोजन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies