तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतार लगातार दोस्रो पटक एएफसी एसियन कपको च्याम्पियन बनेको छ । शनिवार राति घरेलु भूमिमा अवस्थित लुसेल रङ्गशालामा भएको फाइनल खेलमा जोर्डन माथि ३-१ को जित निकाल्दै कतार लगातार दोस्रो पटक एसियन च्याम्पियन बनेको हो ।
कतारका लागि स्ट्राइकर अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टी मार्फत गरेका थिए । अफिफले प्रतियोगिता अवधिभर ८ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बन्न सफल भएका छन् । कतारले खेलको २२औँ मिनेटमा अग्रता लिएको थियो । अफिफ आफैमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । ६७औँ मिनेटमा जोर्डनले बराबरी गोल गर्यो । यजन अल नैमतले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको ७२औँ मिनेटमा र इन्ज्युरी समयको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा अफिफ चुकेनन् र ह्याट्रिक गरे । लगातार दोस्रो उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीन विरुद्ध जित निकालेको थियो भने अन्तिम १६ मा प्यालेस्टाइन माथि २-१ को जित निकालेको थियो । क्वाटर फाइनलमा उज्बेकिस्तान विरुद्ध टाई ब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई परास्त गरेको थियो ।
यसअघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो । कतार लगातार दोस्रो पटक एसियन कप जित्ने चौथो देश बनेको छ । यस अघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एसियन कप जितेको थियो । योसँगै पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies