चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै केही महत्वपूर्ण सन्देश दिएका छन् । संसद बाहिरका अभिव्यक्ति मार्फत् पनि उनले अर्थपूर्ण आह्वान विश्वजगतलाई दिएका थिए । लुम्बिनी पुगेर विश्वशान्तिको कामना गरेका गुटेरेसले काठमाडौंबाटै इजरायल र प्यालेस्टाइनबीच चर्किएको युद्ध बिरामको आह्वान गरे । एकदिन अगाडि मात्रै युद्धविराम आह्वान गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको बैठकबाट पारित गरेर नेपाल आएका उनले सार्वजनिक अभिव्यक्तिबाट गरेको आग्रहलाई विश्वजगतले ध्यान दिएको थियो । त्यसपछि पोखरा, सगरमाथा आधार शिविर लगायत ठाउँ पुगेका गुटेरेसले मंगलबार संघीय संसद्को बैठकबाट केही अर्थपूर्ण सन्देश स्वयम् नेपालकै नेताहरुलाई पनि दिए । उनले मुलतः नेपालको शान्ति प्रक्रिया र जलवायु परिवर्तनको एजेण्डाप्रति आफ्नो कुरा राखेका थिए ।
शान्ति प्रक्रिया, संविधान निर्माण र परिवर्तनका एजेण्डा सम्झदै गुटेरेसले नेपालका नेताहरुलाई आफ्नो भूमिका सम्झाए । डेढ दशक बढीदेखि अल्झिरहेको शान्ति प्रक्रिया नेपाली नेताहरुकै दायित्व भएको संस्मरण गराउँदै त्यसमा राष्ट्रसंघको साथ रहने बताए । शान्ति प्रक्रियालाई टुंग्याउने अन्तर्राष्ट्रिय कानून, सर्वोच्च अदालतको आदेश र पीडितलाई न्याय अनुभूति हुनेगरी मापदण्ड बनाउन सकिने विकल्प पनि गुटेरेसले सुनाए । सम्बोधनकै क्रममा गुटेरेसले जलवायु परिवर्तनले नेपालमा परिरहेको डरलाग्दो दृष्य प्रस्तुत गरे । बितेको तीस वर्षमा नेपालले एक तिहाइ हिम नदी गुमाइसकेको र त्यो दर बढ्दै जाँदा देशकै अस्तित्वमाथि प्रश्न उठ्ने डरलाग्दो अनुमान गरे । तर जलवायु परिवर्तनको असरबाट पुगिरहेको क्षतिबारे नेपाललाई संयुक्त राष्ट्रसंघको साथ रहने आश्वासन दिए ।
यसरी संयुक्त राष्ट्रसंघका महासचिवले १५ वर्षपछि नेपाल भ्रमण गरी नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने एजेण्डाबारे आफै गम्भीर भएको बताए । गाजा क्षेत्रको युद्धरत भूमिमा नेपाल प्रत्यक्ष पीडित भएकोदेखि नेपालको राजनीतिक तथा जलवायु परिवर्तनसम्मका एजेण्डा एठाएर गुटेरेस आज (बुधबार) फर्कदैछन् । तर उनी फर्किएसँगै जलवायु परिवर्तन, शान्ति प्रक्रिया र युद्धग्रस्त क्षेत्रबाट नेपालले भोगिरहेको एजेण्डा सुस्ताउने खतरा पनि छ । किनकि गुटेरेस नेपाल आउँदा पनि नेपालको नेतृत्व उनीसँग गर्नुपर्ने र उठाउनुपर्ने एजेण्डाप्रति एकमत थिएनन् । आ–आफ्नै प्रकृतिका स्वार्थजडित प्रशंगलाई गुटेरेससामु राखेका थिए । तर त्यसलाई बिर्सिएर गुटेरेसले विश्व मञ्चमा नेपालले उठाउनुपर्ने एजेण्डा सम्झाइदिएका छन् । अब राजनीतिक नेतृत्वले गुटेरेसले भनिदिएको एजेण्डालाई जोड दिनु उचित हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies