१५ वर्षपछि नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेस फर्किएको भोलिपल्टै आज (बिहीबार) प्रतिनिधिसभाको बजेट अधिवेशन अन्त्य गरिदैछ । अर्थात् संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी अध्यादेश यसपटक पनि पारित हुन सकेन । जबकी टीआरसी टुंग्याउन भनेरै संसद् अधिवेशन लम्ब्याइएको थियो । तर दलहरुबीच सहमति हुन नसक्दा विधेयक अगाडि नबढाउँदै अधिवेशन अन्त्य गरियो । जबकी नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको मुख्य चासो शान्ति प्रक्रियासँगै जोडिएको थियो । संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्दा पनि महासचिव गुटरेसले शान्ति प्रक्रियाबारे आफ्नो धारणा राखेका थिए । प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँगको भेटमा त महासचिव गुटरेसले शान्ति प्रक्रिया टुंग्याउन आवश्यक आधार समेत सुझाएका थिए । उनको सुझाव थियो, शान्ति प्रक्रिया टुंग्याउँदा अन्तर्राष्ट्रिय कानून, सर्वोच्च अदालतको फैसला र पीडितहरुको न्यायलाई ध्यान दिन आवश्यक छ ।
शान्ति प्रक्रिया टुंग्याउन संयुक्त राष्ट्रसंघले आवश्यक सहयोग गर्ने पनि उनले आश्वासन दिएका थिए । गुटरेसले सुझावसहित सहयोगको बचन दिइरहँदा संसद् बैठकमा बसेर ताली बजाएका नेताहरुले टीआरसी विधेयक भने फेरि अलपत्र पारेका छन् । यो विधेयक अलपत्र पर्न थालेको पनि झण्डै दशक भइसकेको छ । जबकी कानूनकै अभावमा २०७१ मा बनेको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबीन आयोगले काम गर्न सकेको छैन । मेलमिलाप आयोगमा ६४ हजार उजुरी परेकोमा चार हजारको प्रारम्भिक अनुसन्धान हुनु र बेपत्ता परेका तीन हजारको उजुरी लिने काम मात्रै अहिलेसम्म भइरहेको छ ।
तर पीडितहरुले न्याय मागेर बर्षौदेखि संगठित प्रदर्शन समेत गरिरहेका छन् । गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आममाफी दिन नहुने मागसहित संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसलाई पनि ध्यानाकर्षण गराइएयो । सर्वोच्च अदालतले गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा सामेलहरुलाई आममाफी नदिन आदेश दियो । तर दलहरुको स्वार्थका कारण शान्ति प्रक्रिया टुंग्याउने काम दुई दशकदेखि अलपत्र पर्दै आएको छ । शान्ति प्रक्रियालाई कसरी टुंग्याउने भन्नेमा दलहरुको अलग–अलग अडान र धारणाकै कारणले कानून बन्न सकेको छैन । कतिसम्म भने सत्ताका निम्ति जस्तासुकै राष्ट्रिय सहमति जुटाउने दलहरुबीच यो मामिलामा सधैं अन्तरविरोध रहँदै आएको छ । त्यसको प्रत्यक्ष असर भने पीडितमाथि परिरहेको छ भने अन्तर्राष्ट्रिय जगतमा मुलुकको लज्जा बनिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies