हत्या अभियोगमा दोषी ठहर भएर सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा.कुमार चुडालको पूर्ण इजलासले सरकारको निर्णय बदर गर्दै रिगललाई गिरफ्तार गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश लगत्तै रिगल पक्राउ परेका छन् । उनलाई बाँकी कैद सजाय गर्न पनि आदेश दिइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर रिगलको कैद मिनाहा गरिदिएका थिए । २८ असार २०७२ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय भोगिरहेका रिगललाई जेलमुक्त गर्ने निर्णयविरुद्ध चर्को विरोध भइरहेको थियो । मानन्धरकी पत्नीले गएको १७ असोजबाट अनशनमै बसेकी थिइन् । अनशनकै क्रममा उनी बेहोस् समेत भइन् ।
संघीय संसद्मा सांसदहरुले पनि रिगललाई जेलमुक्त गर्ने निर्णयको चर्को विरोध भइरहेको थियो । संसद र सडकबाट चर्को विरोध भइरहेको सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारको निर्णय बदर गरी जेल सजाय भोग्न बाँकी ११ वर्ष ११ महिना ५ दिन थुनाको अवधि समेत प्रष्ट पारिदिएको छ । सर्वोच्चले रिगललाई पुनः कैद पठाउने मात्रै नभएर संविधान दिवसका दिन सरकारले दिदै आएको आममाफी र कैद मिनाहाबारे दीर्घकालीन अर्थ राख्नेगरी फैसला सुनाएको छ । यो फैसलाबाट कैद मिनाहाबारे सरकारलाई सचेत मात्रै गराएको छैन, त्यस्तो प्रकृतिको मुद्दाका निम्ति नजीर समेत बनेको छ ।
विशेषगरी कैद मिनाहाको निर्णय गरिरहँदा पीडितको सहमति र न्यायको अनुभूतिलाई भुल्न नमिल्ने तर्क फैसलाले गरेको छ । कतिसम्म भने लोकतान्त्रिक अभ्यास र विधिको शासनमा अब कुनैपनि सरकारलाई मनमौजी निर्णय गर्न छुट नभएको फैसलाले प्रष्ट पारिदिएको छ । बिगतमा राजाहरुले गर्ने निर्णय पुनरावलोकन हुन नसक्ने भएपनि अब त्यस्तो व्यवस्था नरहेको समेत दलहरुलाई सर्वोच्चले प्रष्ट पारिदिएको छ । २०६३ सालको जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भएपछि संविधानको सर्वोच्चता कायम रहेको भएपनि वर्षेनि ठूलो संख्यामा सरकारले कैद मिनाहाको निर्णय गर्दै आएको थियो । तर त्यस्तो प्रवृत्ति नचल्ने फैसलालाई लोकतन्त्रको सवलीकरण र संविधानवादको रक्षाकै रुपमा लिन सकिन्छ । मुख्यगरी संविधान भन्दा माथि कोही छैन भन्ने तथ्य सर्वोच्चको फैसलाले राजनीतिक नेतृत्वलाई फेरि एकपटक सम्झाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies