शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाडाँ केन्द्र भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले पश्चिम नेपालमा ठूलो मानवीय क्षति भएको छ । मध्यरात र परम्परागत शैलीका घर भएकाले मानवीय संकट बढी हुन पुग्यो । नेपाल प्रहरीले आइतबार राति अवेरसम्म दिएको जानकारी अनुसार, भूकम्पबाट १५७ जनाको मृत्यु र ३७५ जना घाइते भएका छन् । उद्धार कार्य चलिरहेकाले यो संख्या बढ्न सक्ने अनुमान गरिन्छ । स्थानीय प्रशासनका अनुसार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सवैभन्दा धेरै मानवीय क्षति भयो । उक्त नगरपालिकामा ४२ जना र सानी भेरी गाउँपालिकामा १० जनाको भूकम्पबाट मृत्यु भयो । भूकम्पमा परेकाहरुमा स्थानीय सरकार र समुदाय रातभर परिचालित भएका थिए । शनिबार बिहानसम्म नजिक रहेका स्वास्थ्य संस्थाहरुमा धेरैजसो घाइते लगिएको थियो । बिहानै प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र पुगेर सम्पूर्ण शक्ति परिचालित हुन निर्देशन दिए ।
भूकम्पमा परेकाहरुको उद्धारमा सुरक्षाकर्मी र स्थानीय समुदाय परिचालित भए । सरकारी अधिकारीहरुका अनुसार, भूकम्पमा परेकाहरुको उद्धार कार्य लगभग सकिएको छ । तर घाइतेहरुको उपचार र प्रभावितहरुलाई राहत तत्काल आवश्यक परेको छ । फेरि भूकम्प जाने त्रासदीले प्रभावित क्षेत्रलाई थप पीडा दिएको छ । हजारौंले घर गुमाएका कारण सडकमा रात बिताउनुपर्ने अवस्था आइलागेको छ । एकपटक भूकम्प गएपछि त्यसको पराकम्प केही समय आइरहने अनुभवले पनि उनीहरुलाई सुरक्षित स्थानमा लैजानु सरकारको दायित्व बनेको छ । तर त्यो दायित्व सरकार एक्लैले गर्न सक्ने अवस्था हुन्न । यस्तो बेला सबै क्षेत्रबाट सहयोगी हातहरु अगाडि बढ्न आवश्यक छ ।
राजनीतिक दलहरुले आफ्नो पार्टी पंक्तिलाई परिचालित हुन अपिल गरेका छन् । अरु सामाजिक संघसंस्थाले उद्धार, राहत र पुनस्र्थापनामा सहयोग गर्ने बचन दिइरहेका छन् । पक्कैपनि संकटका बेला आफ्नो सामथ्र्यले भ्याउने सहयोग गर्नु मानवीय दायित्व हो । अहिले जाजरकोट, पश्चिम रुकुम सहित प्रभावित जिल्लाहरुमा मानवीय सहयोग नै बढी आवश्यक छ । पुनस्र्थापनाबारे सरकारले आवश्यक निर्णय पक्कै लिनेछन् । तर उद्धार र राहतलाई नै तत्काल प्राथमिकतामा राख्नुपर्नेछ । वास्तविक सूचना सबैतिर पु¥याउनु र पीडितहरुलाई आवश्यक मद्दतमा जुट्न ढिलाइ गर्न हुन्न । विशेषगरी उपचारका निम्ति चिकित्सक, बस्नलाई अस्थायी सामग्री र खाने बन्दोबस्त तत्काल जुटाउन कार्यमा सम्पूर्ण पंक्ति एकाकार हुन जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies