जाजरकोटको रामीडाडाँ केन्द्र भएर शुक्रबार मध्यराति गएको भूकम्पबाट कयौं गाउँ शोकमग्न बनेको छ । भूकम्पमा परी ज्यान गुमाउनेहरुको सामूहिक दाह संस्कारको दृष्य हेर्न कठिन पर्छ । विशेषगरी जाजरकोट र पश्चिमका केही गाउँपालिकामा ठूलो मानवीय क्षति भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार १५७ जनाको भूकम्पमा परी मृत्यु भएको छ । घाइते संख्या अढाइ सय बढी छन् । घाइतेहरुको काठमाडौं, नेपालगञ्ज, सुर्खेत, दाङ लगायतका अस्पतालमा उपचार भइरहेको छ । भूकम्प गएको दोस्रो दिनसम्म संकलित विवरण अनुसार, झण्डै तीन हजार घरमा क्षति पुगेको छ । जसमध्ये ९१० वटा घर पूर्ण रुपमा भत्किएको गृह मन्त्रालयले जनाएको छ । अर्थात् तत्काललाई बस्न पनि तीन हजार घरपरिवारले खुला आकाशको साहरा लिनु परिरहेको छ ।
पराकम्पको भयले घरमा क्षति नपुगेकै मानिसहरु पनि खुला आकाशमुनि बसिरहेका छन् । भूकम्पमा आफन्त गुमाउनेहरुको पीडा अनुमान गर्न गाह्रो पर्दैन । एकातिर आफन्त गुमाएका छन् भने अर्कातिर तत्कालको जिविका चलाउने आधार छैन । दुई दिन लगाएर उद्धारको काम भएपनि तत्काललाई चाहिने राहतको काम आवश्यक गतिमा हुन सकेको देखिदैन । भूकम्प गएको रात उद्धारमै बिताएका प्रभावितहरु दोस्रो दिन भयग्रस्त मनोविज्ञानमा बिताए । मृतकका आफन्तहरु शोक र भोकमा पर्न थालेको त्यहाँ पुगेर देख्नेहरुले भनिरहेका छन् । यस्तो बेला तत्काल राहत पुग्न आवश्यक छ । विशेषगरी त्रिपाल, लत्ताकपडा र खाद्यन्न त्यहाँ पुर्याउन आवश्यक छ । त्यसपछि पुनस्र्थापनाको व्यवस्थित योजनालाई प्राथमिकतामा राख्नुपर्छ ।
तर बिगतको हाम्रो अनुभव त्यति राम्रो छैन । ९ हजार बढी नागरिकको ज्यान जानेगरी २०७२ मा गएको महाभूकम्पको उद्धार, उपचार, राहत र पुनस्र्थापनामा असाध्यै धेरै समय लागेको थियो । अहिले पनि भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण टुंगिएको छैन । सार्वजनिक र नीजि संरचना बनिसकेका छैनन् । त्यसबेला राजधानी उपत्यकासहित मध्य नेपाल क्षतिग्रस्त बन्दा संघीय सरकार आफै हल्लिएको थियो । तर त्यो भूकम्पबाट आवश्यक शिक्षा सरकार र समुदाय कसैले पनि लिएको देखिदैन । भलै उद्धार कार्यमा स्थानीय सरकार र समुदायको भूमिका प्रशंसनीय नै छ । तर भूकम्प प्रतिरोधी संरचनाको तयारी र भूकम्पपछिको उद्धारबारे आवश्यक तयारी देखिएन । अब त्यसतर्फ कुरा गरेर तत्काललाई केही हुनेवाला छैन । तर प्रभावित क्षेत्रमा सरकारले अहिलेको भन्दा थप रफ्तारका साथ तत्काल राहत पुर्याउनु र व्यवस्थित पुनस्र्थापनामा ध्यान दिन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies