महाभूकम्प–२०७२ को सिकाइका आधारमा सरकारले जाजरकोट भूकम्प पीडितहरुलाई राहत वितरणमा एकद्वार प्रणालीको नीति लिएको छ । ९ हजार मानिसको ज्यान लिनेगरी २०७२ को गएको भूकम्प पीडितहरुलाई राहत वितरणमा ठूलो समस्या आएको थियो । आफूखूशी जोसुकैले राहत लिएर जाँदा कयौं ठाउँमा स्थानीयले खोस्ने गरेको दृष्य जताततै देखिएको थियो । तर गत १७ कात्तिक मध्यरात गएको भूकम्पका पीडितहरुलाई राहत वितरणमा सरकारले सुरुमै चासो राखेको छ । गृह मन्त्रालयले एकद्वार नीति अपनाउन भनेपछि स्थानीय प्रशासनलाई राहत सामग्री बुझाउने गरिएको छ । कतिपयले यस्तो नीतिको विरोध समेत गरेको पाइन्छ । हुनपनि स्थानीय सरकार, समुदाय र सम्बन्धित सबै पक्ष एकैसाथ खटिएर नागरिकको ज्यान जोगाउनेगरी उद्धार कार्य भएको थियो ।
तर अहिले राहत वितरणमा सबैलाई हात हाल्न दिइएको छैन । यसले पक्कैपनि असर भने पुगेको छ । भूकम्पपछिको तीन रात बितिसक्दा त्रिपाल समेत नपुगेको गुनासो छ । आफन्त गुमाएका परिवारले बढी पीडा पुगिरहेको छ । खुला आकाशमुनि क्रियापुत्री बसेको दृष्य दर्दनाक छ । चिसो मौसम भएकाले न्यानो कपडा र आवश्यक खाद्य सामग्री उनीहरुका लागि अहिले बढी जरुरत कुरा हो । तर त्यही कुराको अभाव हुँदा सरकारको अनुस्थितिको अनुभूति गरिनु स्वभाविक पनि छ । त्यसैले एकद्वार नीति अपनाएको सरकारले फास्ट ट्र्याकबाट राहत पुर्याउन आवश्यक छ । किनकि यस्तो बेला औपचारिक प्रक्रियामा मात्रै अल्मलिरहनुले पीडितलाई थप समस्या हुन सक्छ । त्यसतर्फ सरकारले ध्यान दिन आवश्यक छ ।
सरकारलाई सहयोग पु¥याउने निकाय पनि चनाखो हुन आवश्यक छ । अझ राजनीतिक नेतृत्व नै मुलुकको कार्यकारी निकायको प्रमुख हुने भएकाले पनि सरकारी संयन्त्रलाई राजनीतिक सहयोग अपरिहार्य छ । तर त्यति ठूलो मानवीय क्षति भएको भूकम्पको उद्धार समेत नसकिदै दलहरु एकअर्काविरुद्ध आरोप–प्रत्यारोप थालेको सुनिन्छ । यो बिडम्बना हो । किनकि अहिले शक्ति संघर्षको समय होइन । नागरिक जस लिने होडमा उत्रने पनि होइन । अहिले मानवीय सहयोग र सद्भावको समय हो । राजनीति र सत्ता संघर्ष भन्दा पनि मानवता माथि हुन्छ । राजनीतिक नेतृत्वको त नागरिक सुरक्षा अझ ठूलो दायित्व हो । तसर्थ अहिले जस लिनेतिर अथवा शक्ति संघर्षमा उत्रने भन्दा पनि एकद्वार प्रणालीबाट जतिसक्दो छिटो राहत पु¥याउने, छुटेको उद्धार गर्ने अनि दीर्घकालीन पुनस्र्थापनाको योजनामा केन्द्रीत हुन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies