मंगलबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुराना दलका शीर्ष नेताहरु सम्मिलित बैठक राखे । १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने दलका शीर्ष नेताहरू सम्मिलित छलफलमा गत मंसिरको चुनावबाट उदाएका नयाँ राजनीतिक दलहरू सोमल थिएनन् । तर १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने दलहरु भनेर बोलाइएको बैठकको एजेण्डामा हेर्दा भने नयाँ दलहरु सहभागी नहुनुपर्ने पुष्टि हुन्न । किनकि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्तिले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशिता जस्ता एजेण्डाको विपक्षमा मत राखेका छैनन् । यी दलहरुले संविधानकै परिपालनाकै एजेण्डा राखेका छन् । अप्रत्यासित मत पाएका मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्रै अहिलेको व्यवस्थाको विपक्षमा छ । त्यसैले प्रधानमन्त्रीले बोलाएको छलफलमा राप्रपा छुट्नु स्वभाविक हुन्थ्यो ।
तर राप्रपा मात्रै नभएर रास्वपा, जनमत र नागरिक उन्मुक्ति पनि पुराना दलहरुको छलफलमा छुटे । तसर्थ सिंहदरबारमा राखिएको छलफलको उद्देश्य व्यवस्था उल्ट्याउने चलखेलप्रति नभएर नयाँ दलहरुमा देखिएको आकर्षणप्रतिको चिन्ता रहेको समेत बुझ्न सकिन्छ । हुनपनि अहिलेका नयाँ दलहरुले पुराना दल र तिनका नेतृत्वप्रति असन्तुष्टि जनाएर मत मागेका थिए । जनमत उनीहरु आफैले राखेको अपेक्षा भन्दा धेरै पाए । अहिले पनि मुलुकको नेतृत्व नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र जस्ता पुराना दलहरुले नै चलाइरहेका छन् । केही समय सत्तारुढ बनेको एमाले अहिले प्रमुख प्रतिपक्षी भूमिकामा हुँदा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले पालैपालो सरकारको नेतृत्व गर्ने सहमति छ ।
चार दशकदेखि राष्ट्रिय राजनीतिको केन्द्रमै रहेका नेताहरुले आगामी चार वर्ष पनि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति हुँदा आमनागरिकमा निराशा बढ्दो छ । सरकारको कार्यशैली र दलहरुबीच हुने भागबण्डाको सहमतिले बढिरहेको निराशाको लाभ चाहिँ नयाँ दलहरुले नै उठाइरहेको छ । नयाँ दलहरुले पनि राजनीतिक लाभ उठाउन नागरिकलाई उकास्ने गतिविधिलाई जोड दिइरहेका छन् । यस्तो बेला पुराना दलहरुले राजतन्त्रविरुद्ध जुटेको १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने दलहरुको बैठक बस्नुलाई चासोका साथ हेरिएको छ । जबकी प्रमुख दलहरुले भनेजस्तो व्यवस्था उल्ट्याउने अवस्थामा अहिलेको राप्रपा देखिदैन । किनभने गत मंसिरमै राप्रपाले पाएको मतका आधारमा पनि व्यवस्थाकै विपक्षमा जनमत छैन, तर पुराना दलहरुप्रति वितृष्णा बढेको चाहिँ पुष्टि हुन्छ । तर पुराना दलहरुले आफ्नो कार्यशैली सुधारको साटो नागरिक निराशालाई व्यवस्थासँग जोडेका छन् । यस्तो शैली पक्कै पनि सही होइन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies