दश वर्षपछि टी–२० विश्वकपमा नेपाल छनोट भएपछि सरकारले क्रिकेटर र क्रिकेटको विकासमा तदारुकता देखाएको सन्देश जानेगरी केही निर्णय लिएको छ । त्यसमा क्रिकेटरलाई पुरस्कारदेखि त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइट जडानको ठेक्का समेत छन् । पहिले घोषणा गरेर पनि नपाएको खेलाडीको पुरस्कार रकम निकासा, राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा नयाँ पुरस्कार घोषणालाई अगाडि बढाएर सरकारले क्रिकेटप्रति गम्भीर रहेको सन्देश दिन खोजेको देखिन्छ । तर बिगतका नजीरले भने सरकारको तदारुकताप्रति विश्वास गरिहाल्ने अवस्था छैन । किनभने यसअघि पनि ठूलो प्रतियोगिता जितिरहँदा क्रिकेट मैदानमै पुग्ने अनि क्रिकेटरलाई आफ्नै निवास बोलाएर प्रतिबद्धता जनाउने, तर प्रतिबद्धता अधुरै छोड्ने गरेको अनेक उदाहरण छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कुरा गर्दा पनि गएको चैतमा आफै कीर्तिपुर पुगेर फ्लडलाइटको काम तत्काल अगाडि बढाउने बताएका थिए । तर टी–२० क्रिकेटको विश्वकप नेपाल छनोट भएपछि प्रधानमन्त्री कीर्तिपुर पुग्दा अघिल्लोपटक गरेको प्रतिबद्धता अधुरै थिए ।
जबकी त्यसबीचमा क्रिकेटरहरुले घोषणा भएको पुरस्कार समेत नपाएको गुनासो धेरैपटक सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा देखिएको थियो । तर त्यसतर्फ चासो समेत नदिएका प्रधानमन्त्री नेपाली क्रिकेटमा आमसाधरणको आकर्षण देखेपछि दौडिएर कीर्तिपुर पुगे । फर्किएर ‘बम्पर उपहार’ शैलीमा क्रिकेट केन्द्रीत निर्णय गरिरहेका छन् । तर विडम्बना ! अहिलेकै निर्णयहरू कार्यान्वयनले समयमा सार्थकता पाउने कुनै आधार छैन । जबकी दोस्रोपटक विश्वकपमा पुगेर मात्रै नभएर यसअघि अरु थुप्रै प्रतियोगिता जितेर नेपाली क्रिकेटर देशको नाम संसारमा चिनाइरहेका छन् ।
अझ राष्ट्रिय एकताको सन्देश पनि क्रिकेट अहिले मुख्य खेल बनिरहेको छ । त्यो भनेको मुलुकका अरू निराशाजनक भइरहँदा क्रिकेटले नेपालीमा उत्साह भरिरहेको छ । यस्तो बेला सरकारले क्रिकेटको दीर्घकालीन विकासमा जोड दिन आवश्यक छ । तर सरकारको नियत क्रिकेटको विकास भन्दा पनि त्यसमा देखिएको आकर्षणको लाभ उठाउने रहेको टिप्पणी गर्नु विगतका अनुभवले पर्याप्त आधार दिन्छ । किनभने जब फुटबलको आकर्षण थियो, त्यसबेला फुटबल विकासमा सरकार केन्द्रीत रहेको प्रतिबद्धता सुनिन्थे । तर फुटबलको विकासमा आवश्यक ध्यान नपुग्दा अहिले राष्ट्रिय फुटबल टीम धरायसी बनेको छ । क्रिकेटको विकासमा पनि सरकारको ओठे प्रतिबद्धता हुन थालेको सहजै बुझ्न सकिन्छ । जबकी यसबेला दीर्घकालीन विकासका कार्यक्रम सरकारको बजेटमै आउन जरुरी छ । सँगै, अरु खेल क्षेत्रलाई पनि ध्यान दिन आवश्यक छ । किनकि खेल क्षेत्रले मुलुकको झण्डा संसारमा चिनाउने मात्रै नभएर मुलुकलाई एकताको सूत्रमा बाँध्दै नागरिक स्वास्थ्यमा ठूलो योगदान गर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies