विश्वब्यापी आर्थिक संकटले पारेको असर बाहेक यस वर्षको दशैं सामान्य अवस्थामै मनाइएको थियो । रुस–युक्रेन र इजरायल–प्यालेस्टाइन युद्धका कारणले विश्व अर्थतन्त्र प्रभावित हुँदा त्यसको असर नेपालमा पनि परेको थियो । तर राजनीतिक, प्राकृतिक र अरु अनेक दृष्टिले हामीले सामान्य अवस्थामै दशैं मनाइएको थियो । विशेषगरी ७० को दशकमा नेपालले निकै ठूल्ठूला संकटहरु खेप्नु परेको थियो । ०७२ मा महाभूकम्प, त्यसपछि भारतीय नाकाबन्दी, कोरोना महामारी अनि फेरि संसद् विघटन प्रकरणले निम्त्याएको राजनीतिक संकटका कारणले लामो समय ढुक्कले दशैं मनाउने अवसर मिलेको थिएन । तर यसपटक त्यस्ता कुनै समस्या थिएन, सामान्य अवस्थामा हाँसीखुशी दशैं मनाइएको थियो । तर तिहार नलाग्दै जाजरकोट केन्द्र भएर भूकम्प गयो ।
६.८ म्याग्निच्यूडको भूकम्पबाट १५७ जनाको ज्यान गयो भने झण्डै चार सय घाइते भए । नेपाल प्रहरीका अनुसार, भूकम्पबाट ५,५७३ घर पूर्ण क्षतिग्रस्त भएको छ भने ११ हजार वटामा आंशिक क्षति पुगेको छ । यसबाट हजारौ मानिस सडकमा पुगेका छन् । कतिपय गाउँ नै शोकमा डुबेको छ । यस्तो अवस्थामा प्रभावित क्षेत्रमा तिहार रंगहीन बन्न पुगेको छ । बाँकी भूगोलमा पनि तिहार खल्लो बनेको छ । तर चोट बिर्सिएर नयाँ संकल्पसहित तिहार मनाइदैछ । भूकम्प प्रभावित क्षेत्रका लागि आ–आफ्नो क्षेत्रबाट सकेको मद्दत गरिदैछ । सरकारले पूरा शक्ति लगाएर उद्धार, उपचार र अस्थायी पुनस्र्थापनाको काम गरिरहेको छ ।
राजनीतिक दलहरुले पनि पीडितहरुको सहयोगका लागि राहत पठाउनेदेखि पुनस्र्थापनाका लागि कार्यकर्ता परिचालन गरिरहेका छन् । अरु सामाजिक क्षेत्रबाट पनि सहयोग संकलनको काम भइरहेको छ । यस्तो बेला हामी तिहार मनाउँदैछौं । हाम्रो तिहार पनि भूकम्प प्रभावितहरुलाई सहयोग पुग्नेगरी मनाइनु राम्रो हुन्छ । किनकि नेपाली संस्कृति नै सहयोगी हो । चाडबाँड आफैमा सद्भाव साट्ने अवसर हो । वर्षौदेखि त्यसरी नै चाडहरु मनाइदै आएको छ । यसपटक हामीलाई भूकम्प पीडितहरुको पुनस्र्थापनामा सहयोग पुग्नेगरी तिहार केन्द्रीत गर्दा हाम्रो संस्कृतिको परिचय फराकिलो हुनेछ भने राष्ट्रिय एकता मजबुत हुनेछ । बिगतदेखि नै तिहारलाई सामाजिक विकास केन्द्रीत गर्दै आएको नजीर पनि त्यही हो । तसर्थ आफ्नो विरासत कायम राख्दै तिहार मनाउनु राम्रो हुनेछ । तिहारको शुभकामना !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies