काठमाडौं : वैदेशिक रोजगारमा गएका १० जना नेपालीको एकैदिन असामयिक निधन भएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा थप ७ जना र कुवेतमा तीन जना नेपालीको मृत्यु भएको हो ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भएका धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर वि.क, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको जनाएको छ । यसअघि सरकारले रुसी सेनामा भर्ती भएका १४ जना नेपालीको मृत्यु भएको सार्वजनिक गरेको थियो । योसँगै रुसी सेनामा भर्ती भएर मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ ।
उता कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान महबुला क्षेत्रमा कारले ठक्कर दिँदा तीन जना नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो भ¥याङका सुजन कार्की, पन्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् ।
कुवेतको पापाजोन कम्पनीमा कार्यरत उनीहरू साथीलाई भेट्न गएका थिए । फर्किने क्रममा बाटो काट्दा कारले ठक्कर दिएपछि उनीहरुको मृत्यु भएको नेपाली दूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिए । मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतमा तीन जना नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको विषयमा जानकारी लिएको मन्त्रालयले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन् ।
मन्त्री अर्यालले मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतस्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशनसमेत दिएका छन् ।
नेपाली दूतावासले मृतकहरूले पाउने क्षतिपूर्तिको निमित्त घटनाको प्रकृतिको सम्बन्धमा थप बुझ्न स्थानीय कानून व्यवसायीलाई परिचालन गरिएको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies