काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निजी क्षेत्रका म्यानपावर कम्पनीले दक्षिण कोरियामा दक्ष कामदार पठाउन पाउने गरी कार्यविधि जारी गरेको छ । म्यानपावर कम्पनीहरुले कार्यविधिमा तोकिएको मापदण्डभित्र रहेका ई–७ भिसामा कामदार पठाउन पाउने छन् ।
ईपीएस प्रणालीअन्तर्गत भाषा परीक्षा पास गरेका कम दक्षता प्राप्त विदेशी कामदारले पाउने ई–९ भिसा हो भने ई–७ भिसा विशेषगरी मेकानिकल इन्जिनियरिङ, हार्डवेयर, सफ्टवेयर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक, विकासलगायत विभिन्न क्षेत्रमा विशेषज्ञता भएका कामदारहरुलाई दिने गरिएको छ ।
ईपीएसमार्फत जाने श्रमिकहरुले न्यूनतम मासिक दुई लाख रुपैयाँ कमाउने गरेका छन् भने ई–७ भिसामा जानेहरुको न्यूनतम पारिश्रमिक पनि ईपीएसमार्फत गएकाहरुको भन्दा धेरै हुने गरेको छ । कोरियाको ई–७ भिसामा जाने आप्रवासी श्रमिकको मासिक तलब तीन हजार अमेरिकी डलर अर्थात चार लाख नेपाली रुपैयाँ हाराहारी हुने र उनीहरुले साथमा परिवार पनि लैजान पाउने बताइएको छ ।
मन्त्रालयले जारी गरेकोे कार्यविधिमा यसअघि जापानमा कामदार पठाउने म्यानपावर कम्पनीको जस्तै ई–७ भिसामा कोरिया पठाउने म्यानपावर कम्पनीको आफ्नै स्वामित्वको वा पूर्णकालीन उपयोग गर्न सकिने गरी करार सम्झौता गरेकोे तालिम केन्द्र हुनुपर्नेलगायतका प्रावधान राखिएको छ ।
ई–७ भिसामा पनि कोरियाले ईपीएस प्रणालीमार्फत श्रमिक लैजाँदै आएका विभिन्न १६ मुलुकबाटै श्रमिक लैजाने गरेको छ । हाल ईपीएसबाट दक्षिण कोरिया गएका दक्ष भइसकेका नेपाली कामदारले सीप परीक्षा उत्तीर्ण गरी ई–७ भिसा लिएर पनि काम गर्न सक्ने कोरियाले बताएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो संस्थाको निरन्तरको माग र प्रयासपश्चात नेपाल सरकार र कोरिया सरकारबीच भएको श्रम सम्झौताअनुसार ईपीएस प्रणालीभन्दा बाहेक अन्य क्षेत्रहरुमा ई–७ भिसामार्फत इजाजतपत्रवाला संस्थाहरुले कोरियामा कामदार पठाउन पाउनुपर्ने माग सम्बोधन गरिएको भन्दै श्रम मन्त्रालयलगायत मातहतका निकायप्रति आभार व्यक्त गरेको छ ।
संघका महासचिव मेघनाथ भुर्तेलले एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्रले दक्षिण कोरियामा दक्ष कामदार पठाउन पाउने गरी सरकार सहजकर्ता भएर इजाजतपत्रवाला व्यवसायीलाई अनुमति दिने कार्यले निजी क्षेत्रका व्यवसायीको व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गरिएको महसुस भएको उल्लेख गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies