काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन काउन्सिलर श्रम तथा श्रम सहचारीहरुलाई निर्देशन दिएका छन् ।
मन्त्री अर्यालले सोमबार नेपालका श्रम गन्तव्य मुलुक मलेसिया, कतार, साउदी अरब, यूएई, बहराइन, ओमान, दक्षिण कोरिया र कुवेतका श्रम सहचारी तथा श्रम काउन्सिलरसँग श्रमिकको समस्याका विषयमा भर्चुअलरुपमा छलफल गरेका थिए ।
त्यस्तै मन्त्री अर्यालले श्रम गन्तव्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्यांक उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिएका छन् । दोस्रो पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री अर्याल सोमबार वैदेशिक रोजगार बोर्डको निरीक्षणमा गएका थिए । बोर्डसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्थाको विषयमा सरकार जानकार हुनुपर्ने बताउँदै श्रमिक बन्दीगृहमा पर्नुको कारण र समस्या समाधानका विषयमा समेत जानकारी गराउन निर्देशन दिएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
सबै गन्तव्य मुलुकबाट तथ्यांक संकलन, उद्धार तथा समस्या समाधानको योजना बनाइने बताउँदै मन्त्री अर्यालले विदेशी अस्पतालमा रहेका श्रमिकको नेपालका स्थानीय अस्पतालसँग सहकार्य गरी नेपालमा नै उपचार गरिने व्यवस्था मिलाइने उल्लेख गरे । मन्त्री अर्यालले बन्दीगृहमा रहेका श्रमिकलाई कानूनी उपचारका लागि आवश्यक सहयोग गर्ने र विदेशमा अड्किएका शवलाई पनि जतिसक्दो छिटो नेपाल झिकाइने व्यवस्था गरिने बताए ।
बोर्डका कर्मचारीसँगको छलफलमा मन्त्री अर्यालले विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बीमाको सुविधाका विषयमा पनि पहल गर्न बोर्डलाई निर्देशन दिएका छन् । मन्त्री अर्याललाई उद्धृत गर्दै निजी सचिवालयले भनेको छ, ‘विदेशी मुलुकले आप्रवासी श्रमिकलाई बीमाको सुविधा प्रदान गरेका हुन्छन् । तर सबै नेपाली श्रमिकलाई यस विषयमा जानकारी नहुन सक्छ । त्यसैले धेरै श्रमिक यो सुविधाबाट बञ्चित भएको सुनेको छु । यस्तो सुविधाबाट नेपाली श्रमिकले पाउने अर्बौं रुपैयाँ बाँकी रहेको जानकारी पाएको छु ।’
यस्तै श्रम सचिव केवल प्रसाद भण्डारीले वैदेशिक रोजगार बोर्डलाई श्रमिकको कल्याणकारी कार्यमा संवेदनशील हुन आग्राह गरेका छन् । उनले भने, ‘बोर्डले श्रमिकको मुद्दामा संवेदनशील नभएको गुनासो छ । त्यसैले आफ्नो जिम्मेवारीप्रति सचेत हुनुहोस् ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies