शिव विक/मध्यान्ह
काठमाडौं : नेकपा एमालेले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकले इलाम–२ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेका उपाध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो । त्यस क्षेत्रमा एमालेले हाल तय गरेको उम्मेद्वार सुहाङ सुवाष नेम्वाङका कान्छा छोरा हुन् ।
केही समय अगाडि मात्रै एमालेमा कानून विभाग सदस्य भएका सुहाङ व्यवसायीका रुपमा कार्यरत छन् । यसअघि नै उनले उपनिर्वाचनका लागि आफ्नो गतिविधिलाई अघि बढाएका छन् ।
आगामी वैशाख १५ गते बझाङ १ मा पनि सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । यो क्षेत्रमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । भण्डारी हाल एमाले पार्टीको जिल्ला अध्यक्ष पनि हुन् ।
कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलले पनि उपचुनाव केन्द्रित गतिविधि अघि बढाएका छन् ।
कांग्रेसको सम्बन्धित पार्टी कमिटीले इलाम–२ र बझाङ १ का लागि उम्मेदवारहरुको सिफारिस गरिसकेको छ । कांग्रेसको क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले ६ जनाको नाम सिफारिस गरेको हो ।
जसमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ छन् । आचार्य २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए भने खड्का ४ मंसिर २०७९ को आमचुनावमा नेम्वाङसँगै पराजित भएका थिए ।
बझाङको उपनिर्वाचनका लागि जिल्ला कार्यसमितिले आकांक्षी १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ । पृथ्वीबहादुरका छोरा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, जगतप्रसाद जोशी, शान्ति बोहरा, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडाको नाम सिफारिस भएको छ ।
कांग्रेसले नाम सिफारिसका लागि तोकिएको समय सकिएको छ । केही दिनमा उम्मेदवारबारे निर्णय लिने कांग्रेसको तयारी छ । इलाम २ का लागि आगामी शनिबार उम्मेदवार घोषणा गर्ने रास्वपाको तयारी छ । निर्वाचन आयोगले उपचुनावको मिति तय गरेसँगै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम २ मा खटाएको थियो भने मत सर्वेक्षण गर्न ६ जना सांसद पनि गएका थिए ।
राप्रपाले इलाम २ मा चुनावी गतिविधिका लागि रवीन्द्र लिङ्देनको नेतृत्वमा टोली परिचालन गरेको छ भने लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने तयारी गरेको छ । राप्रपाले बझाङमा उम्मेदवारी दिँदैछ ।
एकीकृत समाजवादीले पनि दुबै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार उम्मेदवारीको तयारी हुँदैछ ।
दुवै क्षेत्रमा हुने दलहरुसँग समीकरणबारे हुने निर्णयपछि निर्णय लिने माओवादी केन्द्र केन्द्रको भनाइ छ । माओवादी केन्द्रका सम्बन्धित कमिटीले समेत उपचुनावको तयारीबारे अनौपचारिक छलफल चलाइरहेका छन् ।
उपचुनावको खर्च १० करोड
उपनिर्वाचन सम्पन्न गर्न सरकारले १० करोड रुपैयाँ विनियोजना गरेको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको हो ।
आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हुन लागेको उपनिर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० करोड रकम मागेको थियो । मागे जति नै रकम स्वीकृत भएको छ ।
आयोगले मतदाता नामावली अद्यावधिक गर्ने र निर्वाचन सामग्री व्यवस्थापनको काम गरिरहेको छ । निर्वाचन हुने जिल्लामा कति सामग्री छ, नपुग्ने भए अर्को जिल्लाबाट कति लैजानुपर्छ भनेर निर्वाचन सामग्री व्यवस्थापन भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया बताउँछन् ।
उनका अनुसार मुख्य निर्वाचन अधिकृत तोक्नका लागि नाम माग्ने तथा कार्यालय व्यवस्थापन गर्ने लगायतका काम भइरहेको छ । सूक्ष्म रूपमा सुरक्षा संयन्त्र प्रयोग गरेर सुरक्षा अवस्थाको आँकलन, मतदाताको उत्साह, दलहरूप्रतिको दृष्टिकोण, शान्ति सुरक्षा सम्बन्धी अवस्थाको अध्ययन गर्ने काम भइरहेको छ । यही चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन, २४ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies