काठमाडौं : वैदेशिक रोजगारमा गएका कामदारबाट जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा करिब २ अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको फागुनसम्मको विवरणअनुसार १० वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेखबाट १ अर्ब ९९ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क असुली गरेका छन् ।
वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यापार गरेको छ । उक्त कम्पनीले वैदेशिक रोजगार बीमालेखबाट पछिल्लो ८ महिनाको अवधिमा ४९ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क असुली गरेको छ ।
धेरै असुली गर्ने कम्पनीको दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले ४३ करोड ५३ लाख रुपैयाँ असुली गरेको छ । तेस्रोमा रहेको आइएमई लाइफले २२ करोड ६४ लाख रुपैयाँ असुली गरेको छ । चौथोमा रहेकोे एसियन लाइफले १८ करोड ८५ लाख रुपैयाँ, पाँचौंमा रहेकोे नेशनल लाइफले १७ करोड ५१ लाख रुपैयाँ, छैटौंमा रहेकोे सूर्यज्योति लाइफले १४ करोड २४ लाख रुपैयाँ, सातौंमा रहेकोे सानिमा रिलायन्स लाइफले १३ करोड ८८ लाख रुपैयाँ र आठौंमा रहेकोे रिलायबल नेपाल लाइफले ११ करोड ८४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् ।
नवौं स्थानको सिटिजन लाइफले ७ करोड ४४ लाख रुपैयाँ र अन्तिममा रहेकोे प्रभु महालक्ष्मी लाइफले १६ लाख ६३ हजार रुपैयाँ कूल बीमा शुल्क असुली गरेका छन् ।
देश र उमेरअनुसार म्यादी बीमाको रकम फरक–फरक तिर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा साउदी अरेबिया, कतार र यूएईसहित खाडीका देश र मलेसिया जाने कामदारहरूले म्यादी बीमावापत १ हजार ५ सयदेखि ४ हजारसम्मको म्यादी बीमा गर्नुपर्ने व्यवस्था छ । यस्तै कोरिया र इजरायल जाने कामदारले २ हजार ५ सयको बीमा गर्नुपर्ने व्यवस्था छ ।
बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति २ वर्षको जारी भएपनि खाडी मुलुक र मलेसिया जाने कामदारको श्रम स्वीकृतिभन्दा १ वर्ष बढी अवधिको म्यादी बीमा गराउँदै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies