काठमाडौं : प्रहरीले वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनि दर्जनौं व्यक्तिको ६ करोड रूपैयाँभन्दा बढी ठगी गरेको उजुरीका आधारमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएपश्चात विदेश नपठाइ सम्पर्कविहीन भएका झापाको कमल गाउँपालिका ७ घर भइ हाल काठमाडौं कागेश्वरी मनोहरा बस्दै आएका ३७ वर्षीय केदार चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीले सुमन राईसमेत ३५ जनालाई वैदेशिक रोजगारका लागि बेलायत पठाइदिन्छु भनि प्रतिव्यक्ति ९ लाखदेखि २० लाख रूपैयाँ उठाइ भारतका विभिन्न स्थानमा पुर्याउने र नेपाल फर्काउने गरेको खुल्न आएको प्रहरीले बताएको छ । उनले एक्सपर्ट कन्सल्ट्यान्सी खोलेर कतिपयलाई अजरबैजानसम्म पुर्याइ रकम असुली गरेको पाइएको प्रहरीले बताएको छ ।
वैदेशिक रोजगार विभागमा हाल शैक्षिक कन्सल्ट्यान्सी, ट्राभल्स एजेन्सी र व्यक्तिगतरूपमा युरोपेली मुलुकमा पठाउने भन्दै ठूलो परिणामको रकम ठगी भएको जाहेरी पर्ने गरेका छन् । केदार चौधरीले ६ करोड ठगी गरेको उजुरी पनि ठूलो बिगोको उजुरी अन्तर्गत रहेको प्रहरीले बताएको छ ।
यसअघि ठूलो अंक बिगोको वैदेशिक रोजगार ठगी घटनामा विकास वाइबा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङ पक्राउ परेका थिए । वैदेशिक रोजगार न्यायाधिकरणको आदेशमा हाल पुर्पक्षका लागि थुनामा रहेका उनीहरूले तीन सय ३७ जनाको ५ करोड ५० लाख भन्दाबढी रकम ठगी गरेको अभियोग न्यायाधिकरणमा दर्ता भएको थियो ।
तामाङद्वयले पनि हाल पक्राउ परेका चौधरीले जस्तै युरो विइङस एजुकेसन कन्सल्ट्यान्सी नामको संस्थाको आडमा वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्याडलगायत देशमा पठाइदिन्छौं भन्दै प्रलोभन दिएर उक्त रकम ठगी गरेको अभियोग छ । ठूलो रकम ठगीको पछाडि केही म्यानपावर सञ्चालक छद्मरूपमा पर्दा पछाडिबाट लागेको पनि वैदेशिक रोजगार विभागको आशंका छ । विभागमा म्यानपावर कम्पनीविरूद्धका ठगीका उजुरी भने घट्दै गएको बताइएको छ ।
त्यसैगरी प्रहरीले वैदेशिक रोजगारका लागि सुमन कुमार बस्नेतलाई फ्रान्स पठाउने प्रलोभन देखाएर ११ लाख ६० हजार ठगेको उजुरीका आधारमा बाँकेको कोहलपुर घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका जिवराज केसी र वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भनि ७ लाख ६७ हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा म्याग्दी घर भइ हाल कास्कीको पोखरा लेकसाइड बस्दै आएकी नन्द देवी पुन पनि पक्राउ परेका छन् । उनीहरू सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरीले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies