काठमाडौं : रोजगारीका लागि मलेसिया जाँदा म्यानपावर कम्पनीलाई आफन्त र साथीभाइले ठूलो रकम खर्च गरेको देखेका धनुषाका नथुनी धानुक आफू जाने बेलामा म्यानपावर कम्पनीले उल्टै बैंक एकाउन्टमा १५ हजार पठाएपछि छक्क परे ।
उनीमात्रै नभइ फ्युजन इन्टरनेशनल प्रा.लि.बाट मलेसियाको सेलङ्गोर राज्यमा रहेको नेचर ग्रिन एसडीएन बिएसडी कम्पनीमा जान लगेका अन्य २२ जना पनि शून्य लागतमा जान पाउँदा खुसी थिए ।
उक्त रकम मेडिकल गर्दा लागेको ९ हजार ८ सय ९० रुपैयाँ, अन्तर्वार्ताका लागि आउँदा जाँदा र तीन दिन काठमाडौंमा बस्दाको ४ हजार ४ सय १४ रुपैयाँ र अभिमुखीकरण तालिमलगायतमा कामदारले गरेको खर्चअन्तर्गत कम्पनीले फिर्ता गरेको रकम हो ।
वैदेशिक रोजगारीका लागि मलेसिया जानुअघि मंगलबार रोजगारदाता कम्पनीले जुममार्फत ‘कसैले भर्ना प्रक्रियामा राहदानी बनाउनेबाहेक कुनै रकम खर्च गरेको भए भन्नू’ भनेर प्रश्न राख्दा कसैले कुनै रकम खर्च नगरेको बताएका थिए । फ्युजन इन्टरनेशनल प्रा.लि.का सञ्चालक कुमुद खनालले प्लाष्टिकका सामान उत्पादन गरी युरोपेली बजारमा सप्लाइ गर्ने नेचर ग्रिन एसडीएन बिएसडीबाट फ्याक्ट्री वर्करअन्तर्गत आएको शून्य लागतको डिमाण्डमा मंगलबार दोस्रो समुह पठाएको बताए ।
उनले शून्य लागतमा जाने कामदार छनोट प्रक्रियामा धेरै सावधानी अपनाउनुपर्ने देखिएको अनुभव पनि सुनाए । सबै मासिक न्यूनतम १५ सय रिंगेट तलबमा गएका हुन् । म्यानपावर सञ्चालक खनालले ओभरटाइमको धेरै चर्चा हुने गरे पनि दाबी गरेर आन्दोलन र हडताल नगर्न उनीहरूलाई आग्रह गरे ।
त्यस अवसरमा इशारा नेपालकी अनुजा रिमाल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)का निवर्तमान अध्यक्ष हरि थापा, इप्यान अध्यक्ष लक्ष्मण भट्टराई, मध्यान्ह दैनिकका पत्रकार रेशम राज पौडेलले शून्य लागतमा जाने कामदारको जिम्मेवारी, उपलब्धि र दायित्वका बारेमा जानकारी गराएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies