शोभाखर पन्थी/मध्यान्ह
अर्घाखाँची : नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य बोमबहादुर बि.क.ले नयाँ गठबन्धन निर्माणले जनतामा आशा पलाएको बताएका छन् । नेकपा एमाले सन्धिखर्क विशेष इलाका कमिटीद्वारा शनिबार आयोजित आधारभूत प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उनले अग्रगामी वामपन्थी शक्तिहरु सम्मिलित वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
अघिल्लो गठबन्धन अप्राकृतिक र अस्वभाविक रहेको भन्दै उनले त्यो गठबन्धनलाई ढाल्नु नै मुलुकका निम्ति ठूलो उपलब्धि भएको दाबी गरे । सरकारको काम गर्ने शैलीमा धेरै परिवर्तन आएको भन्दै उनले वर्तमान सरकारले परिणाममुखी काम गर्ने बताए । केन्द्रीय सदस्य बि.क.ले नेकपा एमाले सामाजिक न्यायसहितको विकास र समृद्धिको पक्षमा रहेको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले एमालेबाट मात्रै मुलुकको समृद्धि सम्भव रहेको बताए । उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शुरुवात गरेको विकास निर्माणको कामलाई वर्तमान सरकारले निरन्तरता दिनुका साथै जनताको पक्षमा थप योजना अगाडि ल्याउनेमा आफूहरु आसावादी रहेको बताए ।
अध्यक्ष भुसालले आगामी निर्वाचनमा एमालेलाई मुलुकको कुनै तागतले हराउन नसक्ने भन्दै त्यसको निम्ति अहिलेदेखि नै संगठन बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष भुसालले कार्यकर्ताको चौतर्फी विकासको निम्ति विभिन्न समयमा पार्टीले सञ्चालन गरेका प्रशिक्षण फलदायी भएको बताए । अहिलेको प्रशिक्षणले कार्यकर्तामा उत्साह थपेको उनको भनाइ थियो ।
नेकपा एमाले सन्धिखर्क विशेष इलाका कमिटीका अध्यक्ष खुबिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसाल, जिल्ला कमिटी सचिव तोजबहादुर रायमाझी, उपसचिव शम्भु प्रसाद पोख्रेल, कार्यालय सचिव लिलबहादुर बि.क., एमाले पाणिनी पालिका कमिटीका अध्यक्ष कमल घिमिरे, अनेरास्ववियूका स्थायी कमिटीका सदस्य प्रदिप नेपाली, एमाले जिल्ला कमिटी सदस्य कमल भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies