मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : इलाम २ बाट प्रतिनिधि सभा सदस्य हुन २० जनाले उम्मेदवारी दिएका छन् । तर, एक जना पनि महिला उम्मेदवार छैनन् ।
निर्वाचन आयोगका उपसचिव एवम सहायक प्रवक्ता राम दत्त पाण्डेयका अनुसार निर्वाचन कार्यतालिका अन्तर्गत शनिवार उम्मेदवारको मनोनयन दर्ता भएको छ । इलाम २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको हो । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहेका छन् ।
बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । जसमध्ये १ जना महिला र ११ जना पुरूष रहेका छन् ।
२०७८ सालको जनगणना अनुसार नेपालमा महिलाको संख्या पुरुषको भन्दा बढी छ । ४८.९ प्रतिशत पुरुष र ५१.०४ प्रतिशत महिला छन् । तर, निर्वाचनमा भने महिला उम्मेदवारको संख्या न्युन हुँदै आएको छ ।
आगामी वैशाख १५ मा हुन लागेको उपनिर्वाचनमा पनि महिला उम्मेदवार इलाम २ मा शून्य हुन पुगेको छ ।
उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएको छ । चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, चैत २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।
चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको छ । २८ चैतदेखि १२ वैशाखसम्म प्रचारप्रसारको समय छ भने १५ वैशाखमा मतदान हुनेछ ।
उपेन्द्र र बाबुराम एकैठाउँ !
उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई एकै ठाउँ भएका छन् । दुवै नेता विगतमा एउटै पार्टीमा थिए । छुट्टिएर अगाडि बढिरहेका उनीहरु इलाम २ को उपनिर्वाचनमा एकै उम्मेदवारको पक्षमा उभिएका छन् ।
पहिचान पक्षधर समूहरु कोशी प्रदेशको नामाकरणको विषयलाई इलाम–२ को उपचुनावसँग जोडिरहेका छन् । पहिचान पक्षधरबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार छन् । जसपा र नेसपाले डकेन्द्रसिंहलाई उम्मेदवार मानेका हुन् ।
इलाम २ मा नेपाली कांग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । उनी कांग्रेस इलामका सभापति पनि हुन् ।
एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ बाट प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको थियो । त्यसक्षेत्रमा एमालेले उम्मेदवार नेम्वाङकै कान्छा छोरा सुहाङलाई बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies