सुर्य प्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क : नेकपा एमालेले लुम्बिनी प्रदेशका सबै पालिकामा संगठन निर्माणलाई तीव्रता दिने भएको छ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र लुम्बिनीको बुटबलमा सम्पन्न पूर्ण बैठकले प्रदेशभित्र रहेका सबै पालिकामा जनसंगठन निर्माण गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय गरेको एमाले नेता शोभाखर पन्थीले जानकारी दिए ।
बैठकले नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रदेश अधिवेशन वैशाखमा सम्पन्न गर्ने तथा अवधि पुगेका जनसंगठनका अधिवेशनहरु असार मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको पन्थीले बताए । बैठकले जनसंगठनको सदस्यता वितरणलाई तीव्रताका साथ अगाडि बढाउने, जनसरोकारका विषयमा आवाज उठाउने, असार साउनमा व्यापक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णयहरु गरेको प्रेस चौतारी नेपालका इन्चार्ज मोहन चापागाईंले जानकारी दिए । कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले नेपाली जनताको आशा र भरोसाको केन्द्र केवल नेकपा एमाले मात्र भएको बताउँदै संगठन निर्माणमा लाग्न निर्देशन दिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा जनसंगठन संयन्त्रका केन्द्रीय सहजकर्ता भूमिश्वर ढकालले जनसंगठन सिर्जनशिल र गतिशील हुनुपर्ने बताए । आजका जन संगठनका नेताले नै भोलि पार्टी हाक्ने भएकाले कार्य कुशलता र नेतृत्व क्षमता बढाएर निरन्तर संगठन निर्माणको काममा जुट्न कार्यकर्तालाई उनले आग्रह गरे ।
उनले जनसंगठन पार्टीको मेरुदण्ड भएको बताउँदै पार्टी कति बलियो बन्दैछ भन्ने कुरा जनसंगठनको सक्रियताले निर्धारण गर्ने जिकिर गरे ।
केन्द्रीय सदस्य ढकालले नेकपा एमालेले मुलुकलाई असफल राष्ट्र हुनबाट बचाएको दाबी गरे । उनले अघिल्लो गठबन्धनका कारण मुलुकमा धेरै समस्या भएको बताउँदै संगठन निर्माणमा लाग्ने बताए । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक लक्ष्मण आचार्यको अध्यक्षता र सह–संयोजक नरेश भण्डारीले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, उपसचिव लिला राना, कार्यालय सचिव कृष्ण खनाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जनसंगठनका अध्यक्षहरुले कामको रिपोर्टिङ र आगामी योजना प्रस्तुत गर्नुका साथै पार्टी नेताहरुले आवश्यक सुझाव तथा सल्लाह प्रदान गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies