दिलमाया शाही/मध्यान्ह
जुम्ला : माओवादी केन्द्रका जनप्रतिनिधिले कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । निर्वाचित भएको दुई वर्ष पुग्न थालेको भन्दै यस अवधिभित्र गरेका कार्यप्रगति विवरण पत्रकार भेटघाट गरी सार्वजानिक गरेका हुन् ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) जुम्लाका जनप्रतिनिधिहरुलाई यही २८ गतेभित्र र (ख) का लाई २९ गते दुई वर्षको प्रगति विवरण सार्वजनिक गर्नका लागि पार्टीले निर्देशन गरेको थियो । जसअन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा (क) का ३० वटा वडाध्ये ९ वटा वडामा माओवादी केन्द्रका जनप्रतिनिधिहरु रहेका छन् । तातोपानीमा १, उपाध्यक्षसहित एक वडा, गुठीचौरमा १, पातारासीमा एक उपाध्यक्ष र ३ वटा र चन्दननाथ नगरपालिकका ४ वटा वडामा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि रहेका छन् ।
त्यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर ५, ९ र १० नम्बर वडाका ध्यक्षहरुले दुई वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष विर्ख बहादुर कार्कीले आफ्नो वडाले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए ।
उनले पाँच वडाका सबै नागरिकको स्वास्थ्य बीमालाई वडाले गरेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा वडामा प्राप्त भएको ६० लाखमध्ये १० लाख कार्यालय सञ्चालनमा, पुँजीगततर्फ २२ लाख र प्रवद्र्धनात्मक कार्यक्रममा २८ लाख खर्च भएको बताए । उनले गत वर्ष वडाका सबै नागरिकको स्वास्थ्य बीमा गराउँदा ७ लाख ५० हजार रुपैयाँ खर्च भएको बताए । वडाध्यक्ष कार्कीका अनुसार यस वर्ष ९ लाख १४ हजार रुपैयाँ बीमाका लागि खर्च हुने देखिएको छ । आफ्नो कार्यकालभरी नागरिकको बीमा वडाले नै गरिदिने बताएका छन् । यस वर्ष चन्दननाथ नगरपालिकाले पाँच वडाको लागि भनेर २४ लाख रुपैयाँ पठाएको छ ।
अध्यक्ष कार्कीले भने, ‘पहिले १६ लाख दिने भनेको थियो । हामीले स्वकार नगरेपछि ८ लाख थप गरी २४ लाख रुपैयाँ वडामा आएको छ ।’ बस्तिस्तरका योजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको उनको दाबी छ ।
त्यस्तै वडा नम्बर १० का वडाध्यक्ष नमराज शाहीले गत वर्ष वडामा ७२ लाख रुपैयाँ प्राप्त भएको सार्वजानिक गरे ।
उनले उक्त रकम मध्ये प्रवद्र्धनात्मकतर्फ ४० लाख, प्रशासनिक खर्चतर्फ ८ लाख र विपद्बाट भत्केका योजनाको मर्मतमा २५ लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।
वडाध्यक्ष शाहीले ७२ लाख रुपैयाँबाट १० वटा योजना निर्माण भएका बताए । उनका अनुसार खल्ला गाउँका २० वटा घरमा एक घर, एक धारा निर्माण भएको छन् । वडावासीलाई शुद्ध पानी उपलब्ध गराउनका लागि वडाले एक घर, एक धारो अभियानलाई निरन्तरता दिएको बताए । उनले खानेपानी आयोजनाबाट झण्डै ३ सय जनाले लाभ लिएको बताए ।
त्यस्तै वडा नम्बर ९ का वडाध्यक्ष भीमबहादुर रावतले गत वर्षमा नगरपालिकाबाट वडामा ७२ लाख रुपैयाँ प्राप्त भएको बताए । उनले प्रशासनिक खर्चतर्फ ७ लाख, प्रवद्र्धनात्मकतर्फ २२ लाख, पूर्वाधारतर्फ ३३ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । कार्यपालिका सदस्य दुई जनाको नाममा १० लाख, मेयर र उपमेयर कार्यक्रमबाट १० लाख रुपैयाँ वडामा आएको रावतले बताए । वडाध्यक्ष रावतका अनुसार, यस वर्ष चालुतर्फ १५ लाख, प्रवद्र्धनात्मक र पूर्वाधारतर्फ २४ लाख रुपैयाँ वडामा आएको जानकारी दिए ।
यो वर्ष मेयर र उपमेयर कार्यक्रमबाट ४ लाख ५० हजार रुपैयाँ र कार्यपालिका सदस्यको नाममा ६ लाख रुपैयाँ वडामा आएको उनको भनाइ छ ।
उनले महिला स्वयम सेविकालाई मोबाइल बितरण शिक्षा स्वास्थ्य र महिला बालबालिका लक्षित कार्यक्रम गर्दै आएको बताए । उनले दुई वर्षको अवधिमा श्रीढुस्का गाउँभित्र जाने बाटो निर्माण, उम्गाडदेखि चिहान घाटसम्म जाने बाटो निर्माण, बयालकाटिया गाउँको पहिरो राकथाम र तलिउम गाउँमा हिलोमुक्त गोरेटो बाटो निर्माण लगायतको काम सम्पन्न गरेको बताए । त्यस्तै माओवादीबाट निर्वाचित भएका गुठीचौर ५ का वडाध्यक्ष कमल बहादुर महतले शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएको बताए ।
उनले विद्यालयमा स्वच्छ खानेपानी निमार्ण सिँचाइ, कुलो आरसीसी लगायतका काम भएको बताए । यस वर्ष सडक नपुगेका ठाउँका सुत्केरी महिलालाई अस्पतालसम्म लैजानका लागि स्टेचर वितरण गरिएको उनले बताए ।
वडामा बजेट अभावका कारण जनअपेक्षा अनुसार काम गर्न नसकिएको उनले बताए । उनका अनुसार गत वर्ष ६० लाख आएकोमा यस वर्ष ५५ लाख वडामा आएको छ । उनले आगामी दिन महिला र बालबालिका हक अधिकारका लागि काम गर्ने सोंच बनाइएको बताए ।
त्यस्तै प्रदेश (ख) मा १० वटामा माओवादी केन्द्रका वडाध्यक्षहरु छन् । तिलामा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहित २, हिमामा २, वडा, सिंजामा अध्यक्ष उपाध्यक्षसहित २ वडा र कनकासुन्दरी गाउँपालिकामा ४ वडामा जना माओवादी केन्द्र निजकटका जनप्रतिनिधि रहेका छन् । यही २८ गते उनीहरुले बिहीबारका दिनमा प्रगति विवरण सार्वजनिक गर्ने भएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies