काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सीपयुक्त वैदेशिक रोजगारी र सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । डेमोक्रेसी मिडिया नेटवर्कले बुधबार काठमाडौंमा आयोजना गरेको श्रम बजार, आप्रवास र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले देश बन्नका लागि युवाहरूको वैदेशिक रोजगारमा निर्भरता रोकेर मुलुकभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताए ।
रोजगारी सिर्जना गर्नका लागि सरकारले निजी क्षेत्रलाई संरक्षणसहित प्रोत्साहन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुने भएकाले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न मन्त्रालय तयार रहेको बताए ।
आन्तरिक रोजगारीका लागि तालिमलाई जोड दिइएको र त्यसका लागि मन्त्रालयअन्तर्गत ललितपुरको भैंसेपाटीमा रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा ६ महिनाभन्दा कम अवधिको सीपमूलक तालिम सञ्चालन गर्ने योजना बनाइएको मन्त्री अर्यालले बताए । तालिमका लागि सिटिईभिटीसँग पनि समन्वय गरिने उनले जानकारी दिए ।
वैदेशिक रोजगारीमा जान चाहने युवायुवतीलाई सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने भन्दै मन्त्री अर्यालले त्यसका लागि सञ्चारमाध्यमबाट बहस चलाउन जरुरी रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies