शिव विक/मध्यान्ह
काठमाडौं : राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । उर्मिला अर्यालले राजीनामा दिएपछि खाली भएको पदमा बुधवार निर्वाचन भएको थियो । उपाध्यक्षको निर्वाचनमा घिमिरे नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै विजयी भएकी हुन् । उनको पक्षमा ३९ र विपक्षमा १६ मत परेको थियो । मतदानमा ५५ जना सांसद उपस्थित थिए ।
नेपलाी कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सत्ता समीकरण हुँदा एमालेले गत माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा क्षति बेहोर्यो । १९ पदका लागि भएको निर्वाचनमा एक सिटमा मात्रै जित हासिल गरेको एमालेले समीकरण बदलिँदा लाभ प्राप्त गरेको छ । राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित भएकी हुन् ।
नवनिर्वाचित उपाध्यक्ष घिमिरेले बुधबार नै सपथ लिएकी छन् भने पदभार पनि सम्हालेकी छन् । पत्रकारहरुसित कुरा गर्दै उनले उपाध्यक्ष साझा पद भएकाले सोही अनुसार सबैलाई मिलाएर लैजानेगरी तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उपाध्यक्ष घिमिरेले उपाध्यक्षको भूमिकालाई लिएर हुँदै आएका टिक्काटिप्पणी र मनोविज्ञानलाई चिर्दै क्रियाशीलताका आधारमा पदको गरिमा स्थापित गर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘संविधान र नियमावलीले दिएको भूमिकाभित्र रही थप क्रियाशील हुनेछु । राष्ट्रियसभामा महिला सदस्य सशक्तिकरणका विषयमा पनि मेरो भूमिका रहनेछ ।’
वामपन्थी खेमामा रही महिला सशक्तिकरणको अभियानमा तीन दशकभन्दा बढी समयदेखि क्रियाशील घिमिरे हाल नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन् । संसदीय अभिलेख अनुसार घिमिरे २०४६ सालदेखि नेपाली राजनीतिमा छिन् ।
२०२९ साल साउन १२ गते लुम्बिनीको कपिलवस्तुमा जन्मिएकी घिमिरेले २०४७ सालमै एमालेको संगठित पार्टी सदस्यता प्राप्त गरेकी थिइन् । अखिल नेपाल महिला संघमा आवद्ध भएर राजनीतिक जीवनको सुरुवात गरेकी घिमिरे त्यसयता निरन्तर राजनीतिमा छिन् । राजनीतिमा लागेको ३३ वर्षपछि घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष पदमा पुगेकी हुन् ।
एसएसलीसम्म अध्ययन गरेकी घिमिरेसँग राष्ट्रिय प्रतिनिधि परिषद, पार्टी केन्द्रीय स्कुल विभाग, अनेम संघ केन्द्रीय कमिटीमा रहेर काम गरेको अनुभव छ । उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय सदस्य थिइन् । एमाले र माओवादीबीचको पार्टी एकता सर्वोच्च अदालतले भंग गरिदिएपछि भएको एमालेमा घिमिरेले कपिलवस्तुको ईन्चार्ज जिम्मेवारी पाएकी थिइन् ।
राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएपछि भने उनले राजनीतिक आवद्धतता त्याग्नुपर्ने हुन्छ । दलीय आवद्धता त्यागेर निश्पक्ष भएर सोही अनुसार भूमिका निर्वाह गर्ने घिमिरेको प्रतिवद्धता रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies