दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद मिलेको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ दिनुपर्ने पक्षमा अडान लिँदै आएका नाउपाका संस्थापक रेशम चौधरी बदलिएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित नयाँ गठबन्धनमा सहभागी भएर सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिने नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठको लाइनमा संस्थापक रेशम सहमत भएका हुन् । यो सँगै नाउपा भित्रको विवाद मिलेको छ ।
तर, मुख्यमन्त्री कसलाई बनाउने भनी अर्को विवाद शुरु भएको छ । रेशम पक्षधर र रञ्जिता पक्षधरबीच कसले मुख्यमन्त्री लिने भन्नेमा नेताहरु विभाजित छन् ।
शुक्रबार बिहान घनश्याम चौधरीको अध्यक्षतामा रेशम चौधरी पक्षका चार जना सांसदहरुको बैठक बसेको थियो । उक्त बैठकले रेशम चौधरीको पक्षबाट लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ ।
तर, रञ्जिता पक्षबाट कैलाश चौधरी मुख्यमन्त्रीको आकांक्षी छन् । अध्यक्ष रञ्जिताले कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन फरक निर्णय लिन पहलकदमी गर्ने रेशम पक्षधर सांसद घनश्याम चौधरीलाई निलम्बन गरिदिएकी छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी छन् ।
अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक–पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद थिए । इन्दिरा गिरीलाई पार्टीले फिर्ता बोलाएपछि अहिले ६ जना छन् ।
चार सांसद कांग्रेस नेतृत्वको काम चलाऊ सरकारमा सहभागी छन् । घनश्याम चौधरी आर्थिक मामिला, खुसीराम चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री हुन् भने लक्ष्मण किशोर चौधरी सामाजिक र रामेश्वर चौधरी भूमि व्यक्ति कृषि तथा सहकारी मन्त्री हुन् । कांग्रेस सरकारमा सहभागी नभएका दुई सांसद कैलाश चौधरी र टिका थापा उक्त सहमतिमा सहभागी थिएनन् ।
कांग्रेस नेतृत्वको सरकारमा सहभागी नभएका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने नाउपाकी अध्यक्ष रञ्जिताको चाहना छ । रन्जिता श्रेष्ठले यसअघि नै संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर उक्त जिम्मेवारी कैलाश चौधरीलाई तोकेकी थिइन् । शुक्रबार घनश्याम चौधरीलाई निलम्बन नै गरेकी हुन् ।
सुदूरपश्चिममा सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले आगामी वैशाख २ गते बेलुकी ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश सरकारको नेतृत्व पाउने भएपछि सत्ता गठबन्धनबाटै सरकारमा सहभागी हुने विषयमा नाउपा एक मत भएको छ भने मुख्यमन्त्रीको विषयमा किचलो सुरु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies