काठमाडौं : चालु आर्थिक वर्षको ९ महिनामध्ये मंसिर र चैतमा धेरै नेपाली युवायुवती रोजगारी खोज्दै विदेशिएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा करिब साढे पाँच लाख युवायुवतीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकोमा मंसिर र चैत महिनामा सबैभन्दा बढी नेपाली विदेशिएका हुन् ।
वैदेशिक रोजगार विभागको चैत महिनाको प्रगति विवरणअनुसार उक्त महिनामा मात्रै ७० हजार ९ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । त्यसमा म्यानपावर कम्पनी अर्थात संस्थागतरुपमा गएकाको संख्या ३३ हजार ३ सय ६९ रहेको छ । बाँकी ३७ हजार ५ सय ६४ जना पुनः श्रम स्वीकृति, व्यक्तिगत, सरकारी प्रक्रिया जीटुजीका प्रक्रियाबाट गएका हुन् । गत मंसिरमा ७१ हजार २ सय ७६ जनाको श्रम स्वीकृति भएकोमा म्यानपावर कम्पनीमार्फत २५ हजार ४५ जनाको मात्रा श्रम स्वीकृति भएको थियो ।
विभागका अनुसार अघिल्ला महिनाहरूमा जस्तै चैत महिनामा पनि वैदेशिक रोजगारीका लागि यूएई जाने क्रम अग्रपंक्तिमा छ । विभागको तथ्यांकअनुसार चैतमा १७ हजार ८ सय १८ जना नेपाली रोजगारीका लागि यूएई पुगेका छन् । त्यसमा म्यानपावर कम्पनीबाट जानेको संख्या ९ हजार ५ सय ९३ रहेकोे छ । दोस्रोमा साउदी अरब रहेकोे छ । समग्रमा १३ हजार ६ सय ४१ जना गएको साउदीमा म्यानपावर कम्पनीमार्फत ५ हजार ९ सय ८९ जना गएका छन् ।
कतारमा चैत महिनामा ११ हजार २ सय ४ जना गएका छन् । त्यसमा म्यानपावर कम्पनीमार्फत जानेको संख्या २ हजार ३ सय २४ मात्रै रहेकोे छ । मलेसियामा १२ हजार ६ सय २ जना पुगेका छन् । त्यसमा म्यानपावर कम्पनीमार्फत १० हजार २ सय ५७ रहेकोे छ । यसले नेपाली कामदारको श्रम गन्तव्य खाडी र मलेसिया नै मुख्यरूपमा रहेकोे देखाएको छ ।
चैत महिनामा कुवेतमा ४ हजार ७६ जना पुगेकोमा म्यानपावर कम्पनीमार्फत २ हजार ५ सय १५ जना गएका छन् । त्यसमा महिला कामदारको संख्या ५ सय २९ रहेको छ । अर्को खाडी मुलुक बहराइनमा ९ सय ६४ जना पुगेका छन् । उक्त मुलुकमा म्यानपावर कम्पनीमार्फत ३ सय ९७ जना गएका छन् ।
चैतमा युरोपेली मुलुकमध्ये रोमानियामा २ हजार २ सय सय ९९ जना गएकोमा म्यानपावर कम्पनीमार्फत ४ सय ५७ जना, क्रोएसिया गएका ९ सय ६० मध्ये म्यानपावर कम्पनीबाट ५८ जना, ७ सय ८१ जना नेपाली गएको साइप्रसमा म्यानपावर कम्पनीमार्फत ६ सय ७७ जना, १ हजार ३ सय ५१ जना गएको जापानमा म्यानपावर कम्पनीमार्फत ७० जना, ४ सय ९३ जना गएको माल्दिभ्समा म्यानपावर कम्पनीमार्फत एक जना, ६ सय २० जना गएको मौरिससमा म्यानपावर कम्पनीमार्फत ३ सय ६५ जना र दक्षिण कोरियामा १ सय ५७ जना, उज्वेकिस्तानमा २० जना, युद्धग्रस्त रसियामा म्यानपावर कम्पनीमार्फत १ सय १ जना रोजगारीका लागि गएका छन् । त्यसैगरी मकाउमा २२ जना, जोर्डनमा १ सय ८९ जना, हङकङमा १३ जना, ब्रुनाईमा ६९ जना गएका छन् ।
चैतमा सरकारले खुला गरेकामध्ये ८८ देशमा नेपाली कामदार वैदेशिक रोजगारीमा पुगेकोमा म्यानपावर कम्पनीहरूले २० मुलुकमा मात्रै कामदार पठाएको विभागको तथ्यांक रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies